कम छैन नेपाली मदिरा

- साप्ताहिक संवाददाता

आश्विन १०, २०७४-

ग्लोबल ब्रान्डहरूले नेपालका स्थानीय स्वादहरूलाई विस्थापन गर्दै लगेका छन् । सडकको पहुँच, सञ्चार, बसाइँसराइजस्ता कारणले स्थानीय पेयपदार्थहरू पनि संकटमा पर्न थालेका हुन् । बढ्दो सहरीकरण एवं आधुनिकीकरणको मार नेपाली मौलिक परिकारहरूमा समेत पर्न थालेको छ । यद्यपि अहिले पनि केही मौलिक परिकारको बजारलाई ग्लोबल ब्रान्डहरूले चुनौती दिन सकेका छैनन्, अन्यथा सिएनएनको ५० सर्वाधिक स्वादिष्ट पेयपदार्थको सूचीमा नेपालको लोकल रक्सी (अयला) ले कसरी स्थान बनाउन सक्थ्यो ?  

अयला त एउटा उदाहरण मात्र हो, विदेशी मिडिया र नेपालकै ठूलो जनसंख्याको नजरमा नपरेका कैयौं मौलिक नेपाली मदिरा छन्, जसको अनौठो स्वाद र अग्र्यानिक बनौट सबैलाई मोहित तुल्याउने खालको छ । चाहे मार्फा ब्रान्डी होस् वा पश्चिम नेपालको दाङ उपत्यकामा प्रसिद्ध निगार, यी सबैको उत्पादन शैली त अनौठो छ नै, स्वाद र स्वास्थ्यका दृष्टिकोणले समेत यी मदिरा उत्तिकै प्रभावकारी छन् । यी रैथाने मदिरा अझै पनि स्थानीय स्तरमा निकै लोकप्रिय छन् । साप्ताहिकले दसैंको यो अवसरमा १० किसिमका रैथाने मदिरा प्रस्तुत गर्दैछ । यी १० वटै मदिरामध्ये मार्फा ब्रान्डीलाई मात्र ब्रान्डिङ गरेर विश्वबजारमा पुर्‍याइएको छ । स्थानीय जिब्रोमा झुन्डिएका अन्य मदिरा अझै पनि स्थानीय स्तरमै सीमित छन्, जसको आफ्नै छुट्टै बजार छ । 

 

अयला 

सीएनएनले सन् २०१७ को जुलाईमा प्रकाशित गरेको रिपोर्टमा विश्वका ५० सर्वाधिक स्वादिष्ट ड्रिक्समा नेपालको अयला ४१ औं स्थानमा छ । सीएनएनले अयलाको बयान गर्दै लेखेको छ, ‘चामल र कोदोबाट तयार पारिने अयलाको कडा गन्ध नाकमा ठोकिन्छ र सीधै घाँटी हुँदै तल जान्छ । यसले अचम्मलाग्दो नरम र आनन्ददायक अनुभूति प्रदान गर्छ ।’ अयला नेपालको लोकल पेय हो । यो खासगरी नेवार समुदायमा प्रचलित मदिरा हो । चामल, कोदो तथा गेडागुडीलाई कुहाएर पकाइन्छ र त्यसलाई डिस्टिल गरेर अयला तयार पारिन्छ । अयलालाई शुद्ध र कडा रक्सी मानिन्छ । अयला पम्परागत तवरबाट मात्र बनाइन्छ । 

मार्फा 

मुस्ताङको चर्चित मदिरा हो— मार्फा ब्रान्डी । मार्फा गाउँको नामबाट नामाकरण गरिएको यो मदिरा स्याउ, नासपाती आदि फलफूलबाट तयार पारिन्छ । मार्फा विश्वमै कहलिएको ब्रान्ड हो । मार्फा ब्रान्डीमा अल्कोहलको मात्रा ४०–४५ प्रतिशतसम्म हुन्छ । स्थानीय स्तरमै डिस्टिलरीमार्फत उत्पादन हुने यो मदिरा विश्वबजारमा समेत निर्यात हुने गरेको छ । 

रातो जाँड 

ललितपुरको काँठ क्षेत्रका नेवारहरूमा प्रचलित रातो जाँड पनि काठमाडौं उपत्यकाको मौलिक पेय हो । नेवार समुदायको पुजापाठमा प्रयोग गरिने रातो जाँड भुटेको धानमा जडिबुटी हाली कुहाएर तयार पारिन्छ । रातो जाँड बनाउन ६ महिनादेखि १ वर्षसम्म लाग्छ । 

निगार

पश्चिम नेपालको प्रसिद्ध दाङ उपत्यकाका थारु समुदायमा प्रचलित निगार स्थानीय अनादिको चामलको भात कुहाएर बनाइन्छ । यो एक प्रकारको जाँड हो । यो अन्य जाँडभन्दा कुन अर्थमा फरक छ भने निगार घ्याप्पोबाटै शुद्ध तरल पदार्थकै रूपमा निकालिन्छ । यसमा पानी मिसाइँदैन । 

झ्वाइँखट्टे

बाग्लुङलगायतका मध्यपश्चिम नेपालका मगरहरूले पाहुनाको सत्कारमा प्रयोग गर्ने झ्वाइँखट्टे उक्त क्षेत्रको विशेष परिकार मानिन्छ । झ्वाइँखट्टे तताइएको घिउमा चामल फुराई कोदो वा चामलको शुद्ध रक्सीलाई झानेर तयार गरिन्छ । 

स्याउको जाँड 

डोल्पाको प्रसिद्ध पेय स्याउको जाँड वास्तवमा परम्परागत नभै परिस्थितिजन्य उत्पादन हो । यातायातको अभावमा स्थानीय स्याउले बजार नपाएपछि स्याउ उत्पादकहरूले त्यसलाई कुहाएर जाँडमा परिणत गरे । सामान्यत: जुसभन्दा एक स्टेज अगाडि बढेको स्याउको जाँड गुलियो हुन्छ । सुरु–सुरुमा बाध्यात्मक परिस्थितिमा बनाइएको स्याउको जाँड अहिले डोल्पाको परिचय नै बन्न पुगेको छ । 

हिलेको तोङबा 

सदाबहार चिसो रहने धनकुटाको हिले तोङ्बाका लागि प्रसिद्ध छ । हिलेमा तोङबाको स्वाद लिन पूर्वी नेपालका सबै ठाउँदेखि सीमावर्ती भारतीय इलाकाका पारखीहरूसम्म पुग्छन् । स्थानीय कोदो तथा मर्चा प्रयोग गरी तयार पारिने तोङ्बा त्यहीं उत्पादित सुकुटीसँग खाँदा विशेष स्वादिलो हुन्छ । हिलेको चारतारे होटल द होराइजनदेखि स–साना झुपडीसम्ममा सञ्चालन भएका सबैजसो भट्टीमा तोङ्बा र सुकुटी पाइन्छ ।

वसन्तपुरको वाइन 

मिल्के, जलजले र तीनजुरे (टिएमजे) को प्रस्थानबिन्दु वसन्तपुर बजार तेह्रथुम, संखुवासभा तथा धनकुटाको संगमस्थल पनि हो । यही टिमएजे क्षेत्रमा पाइने जंगली फलफूल ऐंसेलु, चुत्रो एवं गुराँसलाई मौसमअनुसार संकलन गरी त्यसलाई वाइनका रूपमा उत्पादन गरिँदै आएको छ । टिएमजे क्षेत्रका सामुदायिक वनहरूसँग सहकार्य गरी खेर गएका जंगली फलफूल प्रशोधन गरेर वाइन तयार पारिन्छ, जुन स्वदेश तथा विदेशको बजारसम्म पुग्छ । यो वाइनको उत्पादन १० वर्षअघि प्रारम्भ भएको हो । 

तराईको ताडी 

ताडी तराईमा पाइने एक प्रकारको नरिवल प्रजातिको वनस्पति हो । ताडीको रूख कोतरेर त्यसबाट आउने चोप घैंटो अथवा कुनै भाँडामा संकलन गरिन्छ । यसलाई अवस्था हेरी एक दिनदेखि दुई दिनभित्रमा खानुपर्छ । ताडी त्यति मात नलाग्ने र जति धेरै राख्यो त्यति नै बढी नशा दिने खालको हुन्छ । ताडी विशेष गरी गर्मी मौसममा शीतलताका लागि पिउने चलन छ । हल्का नशा दिए पनि यसलाई मदिराका रूपमा भने लिइँदैन । 

मुस्ताङे कफी 

हिमालपारिको जिल्ला मुस्ताङमा अति नै चिसो हुन्छ । चिसोबाट जोगिन र शरीरमा ताप भर्न बिहानै पिइने कफी र मदिराको संयोजनबाट तयार पारिने कफीलाई मुस्ताङे कफी भनिन्छ । अग्र्यानिङ उवाको रक्सीलाई मनतातो बनाएपछि त्यसमा कफी हालेर मुस्ताङे कफी तयार गरिन्छ । अग्र्यानिङ उवाको रक्सीसँगै कफीको संयोजनपछि बन्ने मुस्ताङे कफीले जीउमा ताप त भर्छ नै, यसले जिब्रोलाई मीठो स्वादसमेत दिन्छ । मुस्ताङे कफी पारखीहरूको पहिलो रोजाइ बन्दै आएको छ । 

 

प्रकाशित :आश्विन १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्