Teej banner

दसैं बिदाको उपयोग

- अधिकारी रवीन्द्र

आश्विन ९, २०७४

 

हेर्दाहेर्दै दसैं आयो । दसैंमा लामो बिदा पनि हुन्छ, कसै–कसैलाई त घटस्थापनादेखि तिहारसम्मै एक–एक महिना ।दसैंंतिहारताका जुवातास खेल्ने चलन चलिआएको छ । तासलाई हारजितको खेल बनाएर खेल्नुभन्दा मनोरम खेलका रूपमा परिवारसँगै बसेर खेलिनुपर्छ । 

यो समयलाई अझ बढी रमाइलो बनाउन जाँड–रक्सी अनि ड्रग्स पनि सेवन गर्ने चलन युवा पुस्तामा हावी हुँदै गएको पाइन्छ । यो पर्व सामाजिक एवं पारिवारिक सुख र सफलता साटासाट गर्ने पर्व हो, जाँड–रक्सी खाएर उच्छृङ्खल क्रियाकलाप गर्ने तथा समाजमा तमासा देखाउने पर्व होइन । धेरै मानिस यो पर्वमा आनन्दको खोजीमा मादक पदार्थ पिएर इज्जत दुर्नाम गर्ने अनि अनियन्त्रित रूपमा सवारी साधन चलाएर दुर्घटनाको जोखिम बढाउने कर्ममा लाग्छन् ।

नराम्रा संस्कारलाई जरैदेखि उखलेर नयाँ सोचका साथ पर्व मनाउनुपर्छ । दसैं मनाउँदा अरूलाई हेप्ने वा आफू आनन्दमा चुर्लुम्म डुबेर अरू कसैको व्यक्तिगत जीवनलाई असर पार्ने काम गर्नु हुँदैन । दसैंं–तिहारजस्ता पर्वलाई धार्मिक सहिष्णुता प्रदर्शन गर्ने अचुक अवसरका रूपमा प्रयोग गर्न सकिन्छ । कुनै यस्तो चिज वा कार्यको कल्पना गर्नुहोस् जुन तपाईंलाई धेरै अघिदेखि गर्न मन लागेको थियो तर कार्यव्यस्तताले गर्दा गर्न पाउनुभएको छैन । हो त्यो चिज गर्न तदारुकता देखाउने समय पनि यही हो । 

तपाईंहरूमध्ये केहीलाई लाँकुरी भन्ज्याङ, पाथीभरा वा भेडेटार हिंडेरै पुग्ने चाहना थियो, बोलाउनुहोस् अरू दुई–चार साथीलाई अनि हिंड्नुहोस् एक दिन प्रकृतिको सयर गर्न । आज नहिँडेको हाइकिङ भोलि कहिल्यै हिँडिँदैन । जानका लागि धेरै सुनेको र नगएको ठाउँभन्दा कहिल्यै नसुनेको र नगएको ठाउँ बढी उत्साहवद्र्धक हुन्छ, किनभने त्यस्तो ठाउँमा आज नगए कहिल्यै गइनेछैन । अलि परका एक आफन्तले विगत केही महिनादेखि बोलाको बोलायै हुनुहुन्थ्यो, के केही समय उहाँकहाँ गएर भलाकुसारी गर्न सकिन्न ? 

खुसी यस्तो भाइरस हो जसलाई बाँडे दुईगुना–चौगुना हुँदै जान्छ नबाँडे जस्तातस्तै बस्छ । सकेसम्म बढी खुसी बाँड्नुहोस् । यो दसैंमा साँचै निराश केही मानिसको अनुहारमा दुई मिनेट खुसी ल्याउन सक्नुभयो भने सम्झनुहोस् तपाईंको यसपटकको दसैं सार्थक भयो । वृद्घाश्रममा आँसुसँग भात खाइरहेकी वृद्ध आमाहरूका लागि एक जोर कपडा लिएर जानुहोस् । आफ्ना कोही नहुनेहरूलाई सबैभन्दा दु:ख लाग्ने पर्व यही दसैं हो, एकपटक तपाईं उनीहरूको कोही भएर गैदिनुहोस् । उनीहरूको खुसीले तपाईंलाई कति गुणा बढी खुसी दिनेछ भन्ने कुरा अनुभव गरेरै थाहा पाउनुहोस् । 

नयाँ ठाउँमा जानु वा नयाँ साथीहरूसँग चिनाजानी गर्नु पनि एउटा राम्रो उपाय हो । दसैंको अष्टमी वा नवमी पारेर साथीभाइ मिली नाटक, नृत्य अथवा सांस्कृतिक प्रदर्शनी आयोजित गर्न सकिन्छ, जसबाट उठेको रकम कुनै टुहुरी बच्चीलाई छात्रवृत्तिस्वरूप प्रदान गर्न सकिन्छ । 

तपाईं कुनै साथी, आफन्त वा अरू कसैसँग विविध कारणले बोल्न वा व्यबहार गर्न छोड्नुभएको छ ? छ भने यो दसैंंलाई त्यो व्यक्तिसँग भाइचारा र मित्रताको गाँठो पुन: जोड्ने चाडका रूपमा लिनुहोस् । उसको ठेगानामा एउटा ताजा फुलको बुके पठाउनुहोस् । मेरो नादानीलाई माफ गरिदिनुहोस् र म निम्न समय, बार र ठाउँमा तपाईंसँग भेट्न चाहन्छु भनेर उसलाई निमन्त्रणा गर्नुहोस् । नयाँ साथी बनाउनुभन्दा पहिल्यै चिनाजानी भैसकेका मानिसलाई पुन: साथीको लिस्टमा समावेश गर्दा समय र शक्ति दुवै बचत हुन्छ । 

फेरि याद गर्नुहोस् जति धेरै सीप तपाईंसँग छ, जीवन जिउन त्यति नै धेरै सहज हुन्छ अनि अवसरहरू पनि अरूका लागि भन्दा तपाईंका लागि बढी कुरिरहेका हुन्छन् । यो बिदाको समय कम्तीमा एउटा सीप बढाउनुहोस् । तबला वा हार्मोनियम सिक्नुहोस्, गाडी सिक्नुहोस्, चङ्गा उडाउन सिक्नुहोस, पौडी खेल्न सिक्नुहोस, चित्र बनाउने कला सिक्नुहोस् । 

कुनै–कुनै काम यस्ता छन् जुन जीवनमा दैनिकजसो गर्नुपर्छ तर त्यसका लागि तपाईंले अरू कसैमाथि निर्भर हुनुपर्छ । सीप भनेको नसिकेसम्म कसैलाई आउँदैन । जो आफ्नो फिल्डमा एक्स्पर्ट छन्, सीप सिक्नुअघि आफूजस्तै नजान्ने थिए । आइस हक्की वा गल्फ नै सिक्नुपर्छ भन्ने छैन अब कपडा पट्ट्याउन, टाइ लगाउन, कपडा आइरन गर्न, भ्याकुम लगाउन आफंै जान्नुहोस् । आफ्नो किचेन र बाथरुमको कुना काप्चा सफा गर्नुहोस्, करेसाबारीमा फुल रोप्नुहोस्, ग्यारेज सफा गर्नुहोस् अथवा बाथरुमको बिग्रिएको सिन्क वा धारा बनाउनुहोस् । समयको केही अंश कुनै इच्छा लागेको पुस्तक वा उपन्यास पढेर पनि खर्च गर्न सकिन्छ । त्योभन्दा बढी चाखलाग्दो कुरा नयाँ भाषा सिक्नुहोस, आफ्नो अंग्रेजी कमजोर भए बलियो बनाउनुहोस् । 

कम्प्युटरको एउटा सीप थप्नुहोस् । एक्सेल, ग्राफिक डिजाइनिङ, फोटोसप, अटोक्याड वा वेप पेज डिजाइनिङमध्ये कुनै चाख लागेको सीप विकास गर्नुहोस् अथवा प्रीति फन्टमा टाइप गर्न सिक्नुहोस् । सबै थोक गर्दागर्दै पनि प्रत्येक दिन पच्चीस मिनेटमात्र भए पनि मेडिटेसन गरी मस्तिष्कलाई आराम दिनुहोस् । अध्ययनहरूबाट सिद्ध भैसकेको छ मेडिटेसनले तनाव कम गर्न, मस्तिष्कको केन्द्रिकृत गर्ने क्षमता बढाउन एवं कल्पनाशीलतामा निखार ल्याउन ठुलै मद्दत गर्छ । 

नजिकैको नर्सरीबाट केही रूखका बिरुवा लिएर उजाड ठाउँमा रोप्नुहोस् । प्रत्येक दिन प्रभातकालीन भ्रमणमा निस्कँदा पानी पनि लिएर गै उक्त बिरुवामा हालिदिनुहोस् । याद गर्नुहोस् तपाईंले एउटा रुख हुर्काउँदा विश्वका अनेकौं संकट केही सेकेन्डका लागि पर सरिरहेको हुन्छ ।

ढुंगे देवतालाई खुसी पार्न भन्दै घण्टौं किन मन्दिरमा लाइन बस्नुहुन्छ ? मानव आत्मा नै भगवान् हो, असली भगवान स्वयम् हात फैल्याई–फैल्याई मन्दिरको प्राङ्गणमा तपाईंसँग केही माग्दै हुनुहुन्थ्यो, तपाईंको मानवताको परीक्षण लिँदै हुनुहुन्छ । काल्पनिक भगवानको दर्शन पाउने नशामा तपाईंले वास्तविक भगवानलाई बाटैमा छोडि हिंड्नुभयो ।

तपाईंको अगाडि टुसुक्क बसेर हात फैल्याई–फैल्याई एक मुठी चामल माग्ने भगवानको भोको पेटलाई ख्याल नगरी कति पटक बाटो काट्नुभयो ? ती भगवान्का मानवीय स्वरूपलाई हामी माग्ने भन्छौं तर असली माग्ने हामी स्वयं हौं । हामी कुनै स्वार्थ लिएर, इच्छापूर्तिका लागि भगवान्सँग केही माग्न भनेरै लाइन लागेर मन्दिर छिर्छौ । अब फर्कनुहोस् यो दसैंमा वास्तविक भगवान्को सेवा गर्न, जो आमाबाबुका रूपमा तपाईंका जननी पनि हुन सक्छन् ।

भगवान्ले मानव चोलालाई यति सुसज्जित र सम्पन्न बनाएर पठाउनुभएको छ, अझै पनि किन हामी केही माग्न भनेर मन्दिर धाउँछौं ? मानिसले सकल जाति–प्रजातिका जीव–जीवान्तरलाई केही दिने हो, कसैसँग केही माग्ने होइन । 

 

प्रकाशित :आश्विन ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्