समृद्ध नेपाली स्वाद

- साप्ताहिक संवाददाता

आश्विन ८, २०७४

कुनै पनि समाज आर्थिक तथा सांस्कृतिक रूपले कति समृद्ध छ भन्ने कुराको छनक त्यहाँ बनाइने तथा खाइने विभिन्न परिकारले पनि दिन्छन् । परिकार बनाउनु आफैंमा एउटा संस्कार पनि हो । कलात्मक शैलीमा बनाइने यस्ता परिकार एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाँदा तिनले परिमार्जित हुने अवसर समेत पाउँछन् । मुख्य कुरा स्वादको हो, स्वादको हकमा अब्बल दरिएका विभिन्न शैलीका परिकार बनाउने सन्दर्भमा नेपालका हरेक ठाउँ र जाति वा समुदाय विशेषका मानिसहरू पोख्त छन् ।

कतिपय जातिको परिचय नै उनीहरूको परिकार भएको छ भने कतिपय परिकारले नै कतिपय स्थान वा जाति विशेषलाई समग्र राष्ट्रको मुख्य धारामा ल्याएको उदाहरण पनि छ । यिनै सन्दर्भमा नेपाली जातिले स्थान विशेषको भिन्नता वा उपलब्ध स्रोत र साधनका आधारमा परम्परागत रूपमा प्रयोग गर्दै आएका केही परिकारका बारेमा साप्ताहिकले पाठकहरूलाई जानकारी दिने जमर्को गरेको छ । यी परिकारमध्ये केही हाम्रा आफ्नै मौलिक हुन् भने केही परिकार आगन्तुक भएर पनि हाम्रो परिवेशमा रमाएका छन् ।  

भोजपुरको स्थानीय कुखुराको तिते

स्थानीय कुखुराको तिते जति स्वादिलो हुन्छ, यसलाई बनाउन त्यति नै सजिलो हुन्छ । तिते कुखुराको प्वाख डढाइएको खरानीमा सफा गरिएको भित्र्यांश, पखेटा र खुट्टा मिसाएर पकाइन्छ । यसमा आवश्यकताअनुसार नुन, तेल र मसला प्रयोग गरिन्छ । अझ कुखुराको रगत मिसाउँदा यो परिकार थप स्वादिलो हुन्छ । कतिपयले प्वाँख डढाइएको धूलोमा रगत र भात पनि मुछेर सफा गरिएको भित्र्यांश, पखेटा र खुट्टासँगै पकाउने गरेका छन् । यसलाई स्थानीय भाषामा वाचिपा भनिन्छ । वाचिपा बनाउन कुखुराको भाले भए काइदा हुन्छ । नभए धेरै प्वाँख भएको कुखुरी भए पनि चल्छ । प्वाँख डढाउन बलेको दाउराको आगोको ज्वाला चाहिन्छ । पकाउँदा पनि दाउराकै आगो नै प्रयोग गरे यो परिकार थप स्वादिष्ट हुन्छ । यो परिकार सामान्य तीतो हुन्छ । तिते पकाउन कुखुराको उमेर हेरी २० देखि ३० मिनेट लाग्छ । भोजपुरका आदिवासी किराँत–राई समुदायका मानिसहरू प्राय: चाडबाडका बेला अनिवार्य रूपमा वाचिपा बनाउँछन् ।  

धराने कालो बंगुरको सेकुवा

धरानले पछिल्लो समय कालो बंगुरको थ्रिपिस सेकुवा, कान–जिव्रोको स्वादिलो परिकारको सहरका रूपमासमेत परिचय बनाउन थालेको छ । कालो बंगुरको सेकुवाका लागि कुनै चाडपर्व वा अवसर पर्खिरहनु पर्दैन । खासगरी धरानको वगरकोट, बेसक्याम्प, बुढासुब्वा मन्दिर नजिकैको झोलुङ्गेपुल, जानकी चोक, धरान–भेडेटार सडक आसपासका होटल तथा रेस्टुराँ, रमाइलो चोक एवं बुढासुब्बा चोकमा कालो बंगुरको सेकुवा, कान–ज्रिवोका परिकारले उपभोक्ताहरूलाई पर्खिरहेका हुन्छन् ।

धरानमा कालो बंगुरको सेकुवा बेच्ने सवैभन्दा बढी रेस्टुराँ बगरकोटमा छन् । सेउती खोलाको किनारमा अवस्थित बगरकोटमा मात्र २३ वटा सेकुवा रेस्टुराँ छन् । सबैभन्दा राम्रो सेकुवा बंगुरको थ्रिपिसको हुन्छ । थ्रिपिस भनेको करङसँगै हुने केही बोसो, केही रातो मासु र केही छाला एकआपसमा टाँसिएको मासु हो । 

बलेको कोइलामा लामो समय सेकेर तयार गरिने भएकाले यसलाई सेकुवा भनिएको हो । कतिपयले राम्रोसँग पकाउन मासुलाई पहिले नै उसिनेर त्यसपछि कोइलामा सेक्छन् । धनियाँ, लसुन, स्थानीय गोलभेंडा, नुन तथा अकबरे खुर्सानी पिसेर तयार पारिएको अचारले सेकुवालाई थप स्वादिलो तिख्खर र चटाखेदार बनाउँछ । 

जनकपुरको झोरुवा 

मिथिलाञ्चलमा एउटा लोकोक्ति छ— माछ, पान आ मखना स्वर्गमे सेहो नही भेटैत छै ।’ अर्थात् माछा, पान र मखना स्वर्गमा समेत भेटिँदैनन् । त्यसैले जनकपुरको माछाको स्वाद बेजोडको मानिन्छ । माछाका दर्जनौं परिकार पाइने जनकपुरका माछाका परिकारहरूमध्ये पनि झोरुवालाई विशेष मानिन्छ । 

झोरुवाको स्वाद अनुपम हुन्छ । यो परिकार बनाउनुअघि झोल बनाउन प्रयोग गरिने मसलालाई सिलौटामा पिंधेर तयार राखिन्छ । लसुन, प्याज, रातो खुर्सानी तथा जीरालाई सिलौटामा पिंधेर पेस्ट (स्थानीय भाषामा मसला) बनाइन्छ । उक्त मसलालाई सस्र्युंको तेलमा राम्रोसँग भुटेर पानी हालिन्छ । झोल उम्लिन थालेपछि, त्यसमा पहिलेदेखि नै तारेर राखिएको माछा खन्याइन्छ । त्यस्तो माछामा उम्लिरहेको झोलको मसला र नुन छिरेपछि त्यसलाई बाहिर झिकिन्छ अनि त्यसपछि जमीरी (स्थानीय) निवुवाको रस हालेर भातसंग खाइन्छ । झोलमा जमीरी निवुवाको प्रयोग गर्ने चलन सम्भवत: मिथिलाञ्चलमा मात्र भएको संस्कृतिविद् रमेशरञ्जन झा बताउँछन् ।

 

प्रकाशित :आश्विन ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्