दसैंमा पढ्नै पर्ने केहि पुस्तक

- नरेन्द्र रौले

आश्विन ८, २०७४

 

यसपालि दसैंको पूर्वसन्ध्यामा आख्यान तथा गैर–आख्यानका प्रशस्त पुस्तक बजारमा आए । पाठकहरूले आफ्नो रुचिअनुसार पुस्तक छनौट गरेर दसैंको लामो बिदामा यिनै पुस्तकलाई साथी बनाउन सक्नुहुन्छ । 

फाइन प्रिन्टले दसैंको पूर्वसन्ध्यामा कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’, पत्रकार हरिबहादुर थापाको ‘रजगज’ तथा यज्ञशको ‘भुइँया’ बजारमा ल्याएको छ । मदनकृष्णको संस्मरणात्मक आत्मकथामा उनको बाल्यकाल, हरिवंश आचार्यसँगको सहकार्य, श्रीमतीलाई क्यान्सरले गाँजेपछि भोग्नुपरेको पीडा, पुस्तक लेख्दा–लेख्दै आफैं पार्किन्सन्स रोगले थलिएपछिको संघर्ष तथा भुइँचालोको सम्झना आदि समेटिएका छन् । 

पत्रकार थापाको ‘रजगज’ भित्र राजनीतिक दल, दरबार, अदालत तथा अख्तियारभित्रका भ्रष्टाचार खोतल्ने प्रयास गरिएको छ । भ्रष्टाचारी मन्त्री, कर्मचारी, जाँचबुझ आयोगको कर्मकाण्ड आदिका कर्तुत थाहा पाउन यो पुस्तकले सघाउँछ । ‘नेलकटर’ र ‘मोहनदास’ गरी दुईवटा कृति अनुवाद गरिसकेका पत्रकार यज्ञशको गैरआख्यान ‘भुइँया’ अर्को पठनीय कृति हो । विशेषत: भूमिहीनहरूको संघर्ष तथा दु:खको कथा हो यो । उनीहरूको कमजोर आर्थिक अवस्था, बेरोजगारीलाई मार्मिक ढंगमा उतारिएको यो पुस्तकमा पटक–पटक राजनीतिक–सामाजिक आन्दोलनहरू गरिए पनि कुनै फल प्राप्त हुन नसकेको यथार्थ उजागर गरिएको छ ।

कवि हेमप्रभास ‘उल्झन’ उपन्यास लिएर पाठकहरूमाझ झुल्किएका छन् । ‘उल्झन’ भित्र संक्रमणकालबाट गुज्रिरहेको नेपाली समाज तथा राजनीतिप्रतिको वितृष्णा, युवाहरूका समस्या एवं चुनौतीहरू समेटिएका छन् । प्रेमका असफलताहरू, त्यसबाट विरक्तिएर हिँडेका युवाहरूको कथा पनि उल्झनमा छ भने आरआर चौलागार्इंको ‘असिम पर्खाइहरू’ प्रेम, समाज, राजनीति तथा व्यंग्य समेटिएको कविता–संग्रह हो । यी दुवै पुस्तक लिपि बुक्सले बजारमा ल्याएको हो । 

मञ्जरी प्रकाशन गृहबाट ‘चारवेदको सार’, चक्रपाणि चालिसे तथा कविशिरोमणि लेखनाथ पौड्यालको ‘नेपाली संक्षिप्त भारत’ प्रकाशित छन् । वि.स. १९७५ मा पहिलो पटक प्रकाशित यो पुस्तकलाई नयाँ आवरणका साथ पुन: प्रकाशन गरिएको हो । लक्ष्मीप्रसाद देवकोटाको प्रबन्धहरू अनुवाद र ‘बेलायततिर बरालिँदा’ नयाँ कभरमा प्रकाशन भएको छ ।

बुकहिलले दसैंको छेको पारेर ‘पाठशाला’, ‘दोचा’ तथा ‘प्रेमालय’ सार्वजनिक गरेको छ । पत्रकार अश्विनी कोइरालाको ‘प्रेमालय’  दसैंपछि आउँदैछ । कुमार नगरकोटीको ‘दोचा’ मा उनका नोस्टाल्जिया एवं निजी अनुभूतिहरू संग्रहित छन् । बुक हिलका भूपेन्द्र खड्का यो पुस्तकलाई नगरकोटीको कर्म र कुकर्म भन्न रुचाउँछन् । 

तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’ स्कुले केटाको जीवनमा आउने उतार चढावमा केन्द्रित छ । यो उपन्यास पढ्दा धेरैलाई आफ्नो स्कुले जीवनको झझल्को मिल्छ । त्यस्तै अर्को ‘प्रेमालय’ उपन्यास प्रेमकथामा आधारित छ । लेखक यसलाई प्रेम दर्शनमा आधारित उपन्यास भन्न रुचाउँछन् । 

पाँचपोखरी प्रकाशन गृहले ‘श्रीकृष्णको जीवनी र लीला’, ‘जे कृष्णमूर्तिको जीवनी’ तथा ‘चाणक्यको जीवनी’ प्रकाशित गरेको छ । रोशन दाहालले धेरै पुस्तक तथा सन्दर्भ सामग्रीहरूका आधारमा यी पुस्तक तयार पारिएका हुन् । अनुपम पोखरेलको ‘सम्तत्वको सुगन्ध’ पनि बजारमा आइसकेको छ । सन्तहरूले यो समाजको आवश्यकताअनुसार ज्ञान दिन खोजेका हुन्छन् । 

 फिनिक्स बुक्सले ध.च. गोतामेका सातवटा पुस्तक घामका पाइलाहरू, यहाँदेखि त्यहाँसम्म, उत्तरोत्तर, संज्ञा सर्वनाम, सम्झनाका गल्छेडाहरूमा, कालान्तर तथा तीन वाणलाई पुन: बजारमा ल्याएको छ । ती पुराना पुस्तकलाई नयाँ कलेवर एवं साजसज्जामा पुनप्र्रकाशन गरिएको हो । फिनिक्सले नै बजारमा ल्याएका अन्य केही नयाँ कृति पनि छन् ।

चिजकुमार श्रेष्ठको पुस्तक ‘घुमिफिरी बन्दिपुर’ कुनै बेलाको गुल्जार बन्दिपुर कसरी उजाडियो ? र, केही वर्षपछि पर्यटकीय नगरका रूपमा कसरी स्थापित भयो ? भन्ने कुरामा केन्द्रित छ । सानु शर्माको उपन्यास ‘विप्लवी’ले नारी मनको भावना तथा अनुभूतिहरूसँग साक्षात्कार गराउँछ । यो उपन्यासले नारी मनोविज्ञानलाई नजिकबाट बुझ्न सहयोग पुर्‍याउँछ । दसैंअघि प्रकाशित पत्रकार रोहित भण्डारीको ‘नेपालमै सकिन्छ’ पुस्तकले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७४’ पुरस्कार नै हात पार्‍यो । साना उद्यमबाट सफलता हात पारेका व्यक्तिहरूका कथालाई लेखकले सुन्दर ढंगले उनेका छन् । नेपालमै पनि राम्रो आय आर्जन सकिन्छ भन्ने सन्देश बोकेको यो पुस्तक निकै प्रेरणादायी छ ।

 

प्रकाशित :आश्विन ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्