के नेपालमै छिन् हनिप्रित ?

- साप्ताहिक संवाददाता

आश्विन ७, २०७४- 

दुई महिलाको बलात्कारको अभियोगमा भारतीय सीबीआई अदालतबाट सजाय सुनाइएका बाबा गुरमित रामरहिम सिंहकी कथित धर्मपुत्री हनिप्रित इन्सान भारतीय मिडियाका लागि अहिले हट केक बनेकी छिन् । भारतीय प्रहरीका लागि भने त्यही नाम सबैभन्दा ठूलो टाउको दुखाइको विषय भएको छ ।  

बाबासँगै जेलसम्म पुगेकी हनिप्रितलाई त्यस दिन भारतीय प्रहरीले त्यत्तिकै छोडिदिएको थियो । यद्यपि त्यसको भोलिपल्टदेखि नै उनको खोजी सुरु गरियो । त्यति मात्र होइन, हनिप्रितले हिंसा भड्काउन भूमिका खेलेको तथा रामरहिमलाई भगाउने योजना बनाएको भन्दै हरियाणा पुलिसले उनका विरुद्ध ‘लुकआउट नोटिस’ नै जारी गर्‍यो । लुकआउट नोटिस जारी भएपछि हनिप्रित विदेश भाग्न सक्ने बाटो बन्द भएको मानिएको छ । तथापि, भारतीय प्रहरीले हनिप्रितमाथि चलाएको सर्च अप्रेसन सफल हुन सकेको छैन, जसका कारण भारतीय प्रहरीको ध्यान एक हजार किलोमिटर खुल्ला सीमा भएको नेपालतर्फ मोडिएको छ । 

नेपाल प्रहरीले अहिलेसम्म औपचारिक रूपमा यस विषयमा भारतीय पक्षले आफूसँग कुनै सम्पर्क नगरेको जनाउँदै आएको छ । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले हनिप्रितका विषयमा नेपाल प्रहरीलाई च्यानलगत रूपमा कुनै जानकारी नआएको बताए । ‘यस विषयमा नेपाल प्रहरीलाई अहिलेसम्म कुनै औपचारिक जानकारी वा सूचना दिइएको छैन,’ न्यौपानेले साप्ताहिकसँग भने । 

भारतीय प्रहरीले भने हनिप्रित लखिमपुर खिरीको जंगल हुँदै गौरीफन्टा वा महेन्द्रनगरको नाकाबाट नेपाल प्रवेश गरेको आशंका गरिरहेको छ । कैलाली प्रहरीका प्रमुख अर्जुन चन्दले भारतीय मिडियाबाट हनिप्रित नेपाल प्रवेश गरेको समाचार थाहा भए पनि औपचारिक रुपमा आफूहरूसँग भारतीय प्रहरीको कुनै सम्पर्क नभएको जानकारी दिए । ‘मैले पनि भारतीय च्यानलहरूमा हनिप्रित नेपाल प्रवेश गरेको कुरा हेरेको–सुनेको छु,’ चन्दले साप्ताहिकसँग भने, ‘तर, अहिलेसम्म औपचारिक सूत्रहरूबाट त्यसका बारेमा कुनै सूचना प्राप्त भएको छैन ।’ 

भारतीय मिडियाहरूले हनिप्रित र उनको नेपाल कनेक्सनका बारेमा दैनिक फरक–फरक सामग्री प्रसारण गरिरहेका छन् । अझ रोचक त के छ भने पछिल्ला तीन दिनयता भारतीय मिडियाहरूले हनिप्रित गौरीफन्टाको बाटो हुँदै पूर्वी नेपालको इटहरी, विराटनगरतिर पुगेको समाचार प्रसारण गरिरहेका छन् । यसैगरी एउटा अर्काे समाचारमा हनिप्रित मुग्लिन हुँदै पोखरातर्फ लागेको दाबी गरिएको छ । भारतीय टेलिभिजन च्यानल एबीपीले हनिप्रित आइतबार राति मोरङको एक पेट्रोल पम्पमा देखिएको खबरलाई एक्सक्लुसीभ रिपोर्टका बनाएको छ ।

‘हनिप्रितलाई आइतबार राति विराटनगरको पञ्जाबी पेट्रोल पम्पका नाममा महसुर विजया अटो सर्भिस सेन्टरबाट निस्किरहेको देखिएको थियो,’ एबीपीले आफ्नो समाचारमा भनेको छ, ‘मोस्ट वान्टेड घोषित गरेपछि इन्टरपोलमार्फत नेपाल प्रहरीले पनि हनिप्रितको खोजी गर्न सबै प्रहरी चौकीलाई निर्देशन दिइसकेको छ ।’ एबीपीले नेपाल र भारत दुवैतिरका पुलिसले सोमबार रातिदेखि नै खोजी जारी राखेको तथा हनिप्रित बुर्कामा विराटनगरको पेट्रोल पम्पबाट बाहिरिएको अवस्थामा देखिएपछि जोगबनीबाट भारतीय प्रहरीसमेत त्यहाँ पुगेको र नेपाल प्रहरीले पनि खोजीमा सहयोग गरेको कुरा उल्लेख गरेको छ ।  इण्डिया टुडे टिभीले हनिप्रित सोमबार बिहान ३:३० बजे मुग्लिनमा एक नेपाली नम्बर प्लेटको गाडीमा देखिएको समाचार प्रसारण गरेको छ ।

‘नेपाली नम्बर प्लेटको कालो रंगको गाडीमा सोमबार बिहान साढे तीन बजे उनी मुग्लिनमा देखिएकी थिइन्,’ इन्डिया टुडे टिभीले आफ्नो समाचारमा भनेको छ, ‘मुग्लिन ठूलो पहाडी बजार हो, जहाँ पानी किन्न गाडी रोकिएको थियो ।’ पुलिस त्यहाँ पुग्नुअगावै हनिप्रित चढेको गाडी पोखराका लागि हिँडिसकेको दाबी गर्दै उक्त टेलिभिजन च्यानलले यो खबर नेपाल प्रहरीको हेडक्वार्टरमा पुगेपछि काठमाडौंबाट सीआईबीको एक टोली उनको खोजीका लागि पोखरा पठाइएको दाबीसमेत गरेको छ ।

एबीपीले हनिप्रित हवाईमार्गबाट विदेश जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा हाई एलर्ट जारी गरिएको कुरासमेत बताएको छ । यस्तै दैनिक भाष्करले हनिप्रित बदलिएको गेटअपमा २ सेप्टेम्बरसम्म काठमाडौंभन्दा ६० किलोमिटर टाढाको एउटा गाउँमा भएको समाचार दिएको छ । भाष्करले भारतीय प्रहरीद्वारा गिरफ्तार रामरहिमका एक निकटस्थले पनि हनिप्रित नेपाल पुगिसकेको बयान प्रहरीलाई दिएको कुरा उल्लेख गरेको छ । 

यता सीबीआईका प्रमुख डिआईजी पुष्कर कार्कीले भने सीआईबीको टोली मुभ गरिएको भन्ने भारतीय टेलिभिजनको समाचारको खण्डन गरे । ‘हामीले सीआईबीको टोली पोखरा पठाएको भन्ने कुरा गलत हो,’ कार्की भन्छन् ‘तर, भारतमा ठूलो केस भएको र त्यो नेपालसँग जोडिएकाले प्रहरीले यसलाई वाच भने गरिरहेको छ ।’ 

केही सूत्रहरूले भने हनिप्रितका बारेमा उच्चतहमा भारतीय प्रहरी र नेपाल प्रहरीबीच कुरा भएको र उनको खोजी कार्यमा नेपाल प्रहरी पनि जुटेको दाबी गरेका छन् । कतिपयले प्रहरीको अनुसन्धान प्रभावित हुने भएकाले नेपाल प्रहरीले यो विषयलाई गोप्य राखेको हुने सक्ने अनुमान गरेका छन् । अर्कातर्फ भारत र नेपालबीच सपुर्दगी सन्धि नभएकाले पक्राउपछि उनलाई भारतलाई सुम्पन पनि समस्या हुने भएकाले गुपचुप रूपमै यो केस टुंग्याइन सक्ने कुरा बताएका छन् । 

यसअघि दिल्लीमा मिर्गौला चोरीको एउटा ठूलो काण्डमा फसेका भारतीय डाक्टर यसैगरी त्यहाँबाट फरार भै चितवनको सौराहामा आई लुकेका थिए । पछि ती डाक्टरलाई टेलिभिजनमा देखाइएको अनुहारका आधारमा पहिचान गरी गिरफ्तार गरेर भारत पुर्‍याइएको थियो ।

हनिप्रितको खोजी पोखरामा

भारतीय गुरु रामरहिमकी धर्मपुत्री भनिएकी हनिप्रितको खोजीलाई नेपालको सुरक्षा निकायले विशेष चासोका साथ लिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताएका छन् । हनिप्रित पोखरामा पनि हुन सक्ने आशंकामा आजतकको टिम यसै साता पोखरासमेत पुग्यो । उक्त टिमले कास्कीको सुरक्षा निकाय एवं केही स्थानीय पत्रकारसँग भेटघाट गरी सूचना संकलन गरेको थियो । 

 मोरङ प्रहरीद्वारा रातभर हनिप्रितको खोजी 

मोरङ प्रहरीको विभिन्न टोलीले सोमबार रातभर भारतका विवादित बाबा गुरमित रामरहिम सिंहकी कथित छोरी हनिप्रितको खोजतलास गरेको छ । भारतको हरियाणा राज्यको पञ्चकुलास्थित केन्द्रीय जाँच ब्युरो, सीबीआई अदालतले रामरहिमलाई गत २८ अगस्तमा दुई जना महिलाविरुद्ध बलात्कार गरेको अभियोगमा २० वर्ष लामो कैद सजाय सुनाएको थियो ।

रामरहिमलाई सजाय सुनाइएलगतै उनकी आत्मीय सहयोगी हनिप्रित उनीसँगै जेल जान खोजेकी थिइन् भने रामरहिमले पनि हनिप्रित फिजियोथेरापिस्ट भएको र आफूलाई उनको सहयोग आवश्यक पर्ने भन्दै सँगै राख्न अनुमति मागेका थिए । पछि प्रहरीले उनीहरूलाई सँगै राख्न नमिल्ने र हनिप्रितमाथि तत्काल कुनै अभियोग पनि नभएकाले प्रहरी समक्ष सामान्य कागज गरेर बाहिरिएकी हनिप्रित एकाएक बेपता भएकी थिइन् । भारतका राष्ट्रिय सञ्चारमाध्यमहरूले उनी विराटनगरमा डेरा सच्चा सौदाका अनुयायी प्रितम सिंहको घरमा बसिरहेको भनेपछि मोरङ प्रहरीले रातभरि सम्भावित र शंकास्पद थलोहरूमा उनको खोजी गरेको हो ।

‘रातभरि विराटनगरमा खोज्यौं, प्रितम सिंह नाम भएको व्यक्ति नै फेला परेन,’ मोरङका प्रहरी प्रमुख उपरीक्षक अरुण बीसीले साप्ताहिकसँग भने । हनिप्रित यहाँ छिन् भने उम्किन नदिने गरी सुराकीहरूसँगै सादा पोसाकमा प्रहरी परिचालन गरिएको विसीले जानकारी दिए । जिल्ला प्रहरीले यससँग सम्बन्धित कुनै सूचना भए वा कतै शंकास्पद गतिविधि देखे खबर गरिदिन मोरङ नागरिक समाजसँग आग्रहसमेत गरेको छ । 

 

‘उनकै कारणले हाम्रो आन्तरिक सुरक्षामा समस्या नपरोस्, अनाहकको झमेला वा अनावश्यक होहल्ला नहोस् भनेर सतर्क छौं, फेला परे नियन्त्रणमा लिन्छौं, बाँकी प्रक्रिया दुई मुलुकका सरकारले पूरा गर्ने हो,’ एक प्रहरी अधिकारीले साप्ताहिकसँग भने, ‘सीमावर्ती क्षेत्रमा कडा निगरानी राखेका छौं ।’ 

हनिप्रित धर्मपुत्रीका हैसियतले बाबा रामरहिमको हरियाणा राज्यको सिरसास्थित डेरासच्चा सौदाको मुख्य आश्रममा बस्दै आएकी थिइन् । बाबाको महत्वपूर्ण कार्य, निर्णय, यात्रा एवं समारोहहरूमा उनको मुख्य भूमिका हुन्थ्यो ।  

रामरहिमविरुद्ध फैसला हुने दिन भएको हिंसामा ४० जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए । त्यतिबेला हनिप्रित दोषी ठहरिएका बाबासँगै हेलिकप्टरमा बसेर जेलसम्म पुगेकी थिइन् । रामरहिम अहिले बन्दी नम्बर १९९७ का रूपमा जेल सजाय काटिरहेका छन् । 

उच्च महत्वाकांक्षी हनिप्रित रामरहिमद्वारा निर्मित थुप्रै चलचित्रको निर्देशक, सम्पादक एवं नायिका हुन्् । वास्तविक नाम प्रियंका तनेजा भएकी हनिप्रितको विवाह बाबाकै पुराना अनुनायी विश्वास गुप्तासँग सन १९९९ को १४ फेब्रुअरीमा भएको थियो । विवाहपश्चात् सुहागरातकै रात रामरहिमले हनिप्रितलाई विश्वासको घरबाट आफ्नो आश्रममा लिएर आएको कुरा विश्वासको हवाला दिँदै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनको नयाँ नाम हनिप्रित पनि बाबाले नै दिएको नाम हो । 

जितेन्द्र साह 

प्रकाशित :आश्विन ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्