मेरो नेपाल आइडल यस्तो होस्

- मनोज गजुरेल

आश्विन ६, २०७४-

नेपाल आइडल बन्नेहरूले आफूलाई माझ्नुपर्छ । समग्रमा यो गायन क्षेत्रको नेपाल आइडल खोज्ने कार्यक्रम हो, तर आइडलहरूले आफूलाई सिंगै देशको आइडल बनाउने प्रयास गर्नुपर्छ । नेपालकै प्रतीक भएपछि उसले आफ्नो गायन मात्र होइन, बानी–बेहोरा, खानपान, जीवनशैली एवं आदर्शलाई पनि समग्र नेपालको प्रतिनिधित्व हुने खालको बनाउनुपर्छ । नेपाल आइडलको प्रस्तुति तथा उसको जीवनशैलीमा एकरूपता भयो भने त्यो वास्तविक नेपाल आइडल हुने गजुरियल ठम्याइ छ ।

नेपाल आइडल अर्थात् उत्साह, निराशा, समर्थन, विरोध, आशा, आक्रोस, प्रतिभा र प्रतिस्पर्धाको अर्को नाम । समग्रमा नेपाली मनोरञ्जन क्षेत्रमा सबैभन्दा बढी हेरिने कार्यक्रम । सबैभन्दा बढी हेरिनुको अर्थ समाजमा बहुआयामिक अर्थ राख्ने कार्यक्रम । आउनुहोस्, नेपाल आइडलको गजुरियल विश्लेषण गरौं ।

नेपाल आइडलले छायाँमा परेका प्रतिभाहरूलाई उम्रिने, फल्ने र फुल्ने मौका दिएको छ ।

दर्शकहरूलाई विदेशी स्तरको मनोरञ्जन प्रदान गरेको छ । उद्योगहरूले आफ्ना उत्पादनको प्रवद्र्धन गर्ने ठूलो प्लेटफर्म पाएका छन् । नेपाल आइडल बन्नेले नाम, दाम र काम पाउनेछन्, तर नेपाल आइडलबाट समग्र देशले के पाउँछ भन्ने प्रश्न पनि प्रमुख हुने गजुरियल ठम्याइ छ ।

सागर आले आउट भएपछि तीन जना प्रतिभा मैदानमा छन्— प्रताप दास, निशान भट्टराई र बुद्ध लामा । गायकीका हिसाबले तीनै जना अब्बल छन् तर अब उनीहरूको हारजित गायकीमा होइन, भोटिङमार्फत मापन गरिनेछ । त्यसैले उनीहरूका प्रशंसक आफूलाई मन पर्ने प्रतिभालाई आइडल बनाउन चुनावी अभियानमा होमिएका छन् ।

आजको गजुरियल विश्लेषण कसलाई आइडल बनाउने भन्ने क्याम्पेन होइन । तीन जनामध्ये जो बने पनि उसले आफूलाई साँच्चिकै नेपालको आइडल कायम राख्न के–के गर्नुपर्छ भन्ने कुराको गजुरियल अपेक्षा हो ।

सागर आलेले आफू प्रतिस्पर्धाबाट आउट भएपछि दिएको अभिव्यक्ति साँच्चै सराहनीय थियो । हारजितलाई सामान्य प्रक्रियाका रूपमा लिने, सबैलाई समान भावले हेर्ने, समग्र नेपालको पक्षमा बोल्ने, नम्रता, सहजता र सरलता सागर आलेका सफलता हुन् । यही शैलीले अब उनलाई व्यवसायिक र सामाजिक रूपमा सफल एवं सक्षम बनाउनेछ ।

यस्तै जिम्मेवारी एवं नम्रता आगामी नेपाल आइडलबाट जनताले अपेक्षा गरेको गजुरियल ठम्याइ छ । आइडल अर्थात् प्रतीक । हुन त नेपाल आइडल एउटा गायन प्रतिभाको कार्यक्रम हो । यसले समग्र नेपालको प्रतिनिधित्व गर्दैन, तर आइडल कार्यक्रममा जन–सहभागिता देख्दा यो गायनको मात्र होइन, समग्र नेपालको प्रतीक खोज्ने कार्यक्रम पनि हो भन्न सकिन्छ ।

कार्यक्रमका आयोजक, प्रायोजक तथा सञ्चालकहरूको आ–आफ्नै व्यवसायिक स्वार्थ हुन्छ र हुनु पनि पर्छ, तर त्यहाँ प्रस्तुत हुने वा विजयी बन्ने प्रतिभाले त्योभन्दा एक स्तर माथि उठेर आफूलाई गायन अभियन्ताका रूपमा उभ्याउन सक्छ, जसले उसलाई व्यवसायिक एवं सामाजिक रूपमा सफल बनाउनेछ ।

गायनसँगै उसको सामाजिक सम्बन्ध पनि सुमधुर हुनुपर्छ । आफ्नो समुदाय र शुभचिन्तकहरूप्रति सधैं कृतज्ञ हुनुपर्छ । नेपाल आइडलले बोल्दा देशको कथा–व्यथा अभिव्यक्त हुनुपर्छ । घमन्ड र दम्भ रत्तिभर हुनु हुँदैन । नेपाल आइडलले नेपालको कथा,व्यथा र अवस्था बोल्नु, अनुभव गर्नु र गाउनुपर्छ ।

नेपाल आइडल बन्नेहरूले आफूलाई माझ्नुपर्छ । समग्रमा यो गायन क्षेत्रको नेपाल आइडल खोज्ने कार्यक्रम हो, तर आइडलहरूले आफूलाई सिंगै देशको आइडल बनाउने प्रयास गर्नुपर्छ ।

नेपालकै प्रतीक भएपछि उसले आफ्नो गायन मात्र होइन, बानी–बेहोरा, खानपान, जीवनशैली एवं आदर्शलाई पनि समग्र नेपालको प्रतिनिधित्व हुने खालको बनाउनुपर्छ । नेपाल आइडलको प्रस्तुति तथा उसको जीवनशैलीमा एकरूपता भयो भने त्यो वास्तविक नेपाल आइडल हुने गजुरियल ठम्याइ छ ।

राजनीतिले टुटाएको नेपाली मनलाई नेपाल आइडलले जोड्नुपर्छ । जातमा, क्षेत्रमा, वर्णमा विभाजित आफ्ना प्रशंसकहरूलाई एकताको धुनले एक बनाउनुपर्छ । आफ्नो मातृभाषा, संस्कृति एवं परम्पराको सम्मान गर्दै समग्र नेपाल र नेपालीको प्रतीक हुनसक्ने प्रतिस्पर्धी नै सच्चा नेपाल आइडल हो । 

प्रकाशित :आश्विन ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्