अमेरिकाले मलाई के सिकायो ?

- भबिन कार्की

आश्विन ५, २०७४-

जुलाई २००९ मा म अमेरिका पुगेको थिएँ । नयाँ परिबेश, नयाँ सूरुवात थियो मेरो लागी । नेपालमा एउटा विद्यालयमा प्रिन्सिपल हुँदाभन्दा अमेरिकामा बढी संघर्ष थियो । सूरुमा त वाल्मार्टको सामान मिलाउनेदेखि ग्याँस स्टेसनको क्यासियरका रूपमा काम गरियो । दिनको १८ घण्टा लगातार काम गर्दा नेपालमा मोजमस्ती र रमाइला दिनहरूको खुब सम्झना दिलाउँथ्यो । यादले एकदम सताउँथ्यो । फेरी अमेरिका आउँदा सुरुमा म संग निजी गाडी पनि थिएन । उकालोहरुमा साइकल कुदाउनुपथ्र्यो । त्यो झन् कठिन हुन्थ्यो ।

अमेरिका पस्दाखेरीका दु:खका ति दिन सम्झिँदा अहिल्यै नेपाल फर्किहालौं कि लाग्थ्यो । रहरले गरेको सानोतिनो कामले पनि सन्तुष्टि दिदो रहेछ, तर बाध्यता परेर सानो काम गर्नुपर्दा त आँखाबाट आँसु नै आउँथ्यो । तर पनि पाइला चाल्न छाडिएन । पछि हटिएन । एकपटक पाइला चालेपछि रोकिनेछैन । मैले संघर्ष जारी राखें ।

अब त अमेरिका आएको पनि सात वर्ष पुग्यो । नेपालमा भक्तपुरको बाल्कोटमा बसाइ थियो । अहिले अमेरिकामा म र मेरी श्रीमतीले सञ्चालन गरेको लुम्बिनी इन्कमा काम गर्छु । दु:ख त सोचाइ मात्र हो । काम गर्ने बानी भए जीवन आफैं सुखी हुँदो रहेछ । स–सानो कामको फल नै ठूलो सफलता हो । अमेरिकाले के सिकायो त मलाई ? काम, नाम, दाम अनि कर्म गर्ने बानीको विकास गरायो । विकास त सपना होइन, यथार्थ रहेछ । नेपालमा मैले यस्तो काम गर्न संस्कार भएको भए, मेरो आर्थिक विकास अमेरिकाको भन्दा धेरै राम्रो हुने थियो । अब आफूले आर्जन गरेको सफलताको प्रक्रियालाई नेपालमा पनि दिनको १०–१२ घण्टा काम गर्न साना व्यवसायीहरूमा लगानी गरेर कुनै दिन त्यो व्यवसायलाई विश्व बजारसम्म लाने योजना छ । साथमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई पनि सहयोग गर्ने तयारीमा छु । 

म र मेरो जीवनसाथी सुमित्रा सिंखडाले सञ्चालन गरेको लुम्बिनी कम्पनीअन्तर्गत चारवटा व्यवसाय सञ्चालनमा छ । हामीले अहिले जम्मा १६ जनालाई रोजगारी दिएका छौं । अमेरिकाले मेरो आर्थिक विकासमा ठूलो सहयोग दिएको छ भने नेपालको रमाइलोपन, साथीभाइ, घरपरिवार सबै मिस हुन्छ । यी र यस्तै खुसीहरू भने अमेरिकाले लुटेर लगेको छ । तर, केही कुरा भने सिकाएको छ । दिनको १८ घण्टा काम गर्दा मानिस आर्थिक रूपमा सुदृढ हुन्छ । 

कुराभन्दा काम गर्दा जीवनमा खुसी, सुख र समृद्धि आउँछ । अब संसारको जुनसुकै ठाउँमा बसे पनि मलाई दु:ख लाग्दैन । सानो व्यवसाय गर्ने व्यवसायीलाई थप लगानी गरी आफूले जानेको सीप र ज्ञान बाँड्ने हो । यो काममा मैले अन्य विदेशमा बस्ने साथीहरूलाई पनि साथमा लिनेछु ।

दसैं खुब मिस हुन्छ । साथीभाई, घर, परिवारको एकदम सम्झना आउँछ । ति दिनहरुको रमाईलो बेग्लै हुन्थ्यो । परदेशमा आफ्नो देशको जस्तो रमाइलो त हुँदैन । चाडबाड आउँदा त नेपाल फर्किहालौं जस्तो लाग्छ, तर जहाँ रहे पनि मन बुझाउनुको विकल्प भने हुँदैन ।

प्रकाशित :आश्विन ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्