ह्यान्डसम हार्डवर्कर्स

- जनक तिमिल्सिना, कृष्ण भट्टराई, सुव्रत आचार्य

आश्विन ४, २०७४-

भनाइ नै छ, काम ठूलो वा सानो हुँदैन, तर समाजमा कामलाई ठूलो अथवा सानो मान्नेहरूको कमी छैन । नेपालमा अधिकांश कामलाई सानो देखेरै ठूलो जनशक्ति वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमिमा पसिना चुहाइरहेको विडम्बना हामी सबैले देख्दै–सुन्दै आएका छौं । यति हुँदाहुँदै पनि स्वदेशमै आफ्नो श्रम–सीप खर्चेर कम लगानीमै राम्रो आम्दानी गर्ने युवाहरूको कमी छैन । साप्ताहिकले यसपटक काठमाडौंका विभिन्न क्षेत्रमा आफ्नै पेसा अँगालेर सुखमय जीवनयापन गरिरहेका पाँच भिन्न युवालाई समेटेको छ । ३० वर्ष तथा त्योभन्दा कम उमेरका यी पाँच युवामा स्वदेशमै केही गरेर देखाउने जोस छ । उनीहरू पाँचै जना पाँच भिन्न व्यवसायमा छन् र आ–आफ्नो काममा खुसी छन् ।

थानकोटका सुमनकुमार श्रेष्ठ हुन् अथवा रामेछापका सुजन कार्की, धादिङका सन्तोष अधिकारी तथा सिन्धुपोल्चोकका राजकुमार ढकाल मात्र होइन, दोलखाका रामशरण दाहालले समेत काठमाडौंलाई कर्मथलो बनाउँदै आ–आफ्नो सीपमार्फत उज्ज्वल भविष्यको सपना देखिरहेका छन् । सुमनकुमार श्रेष्ठले आफ्नै कार वास सेन्टरमार्फत आफूलाई मात्र व्यस्त बनाएका छैनन्, केही युवालाई रोजगारी नै दिएका छन् भने सुजनले थापाथलीमा चिया–खाजा घरमार्फत महिनाको ७५ हजार आम्दानी गरिरहेका छन् ।

राजकुमार विजयचोकमा स्ट्रिट फुडबाटै सन्तुष्टि हासिल गरेका छन् भने सन्तोष अधिकारी सार्वजनिक सवारी साधनको चालकका रूपमा सक्रिय छन् । रामशरणले भने पुराना फर्निचरको व्यवसायमार्फत आफूलाई उद्यमी बनाउने लक्ष्य लिएका छन् । झट्टट्ट हेर्दा चलचित्रका अभिनेताभन्दा कम नदेखिने यी पाँच जना युवाको संघर्षको कथा : 

फुड क्याफेका सुजन 

 

सुरुवाती लगानी

३ लाख 

अहिलेको पुँजी

करिब ५ लाख

मासिक आम्दानी

७५ हजार

२०६७ सालमा रामेछापको सरकारी विद्यालयबाट एसएलसी दिएपछि १७ वर्षीय सुजन कार्कीलाई बुवा–आमाले उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पठाए । काठमाडौं झरेपछि सुजनले शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा व्यवस्थापन विषयमा प्लस टुको अध्ययन प्रारम्भ गरे । बुवाले सुजनलाई आईकम उत्तीर्ण गरेपछि पल्टनमा जागिर खानु भनेर अह्राएका थिए, तर उनी ११ मा अध्ययनरत छँदै शान्तिनगरकै रमेश खाजाघरमा वेटरका रूपमा काम गर्दै पढ्दै जीवन अघि बढाउन थाले । प्लस टु उत्तीर्ण भएपछि उनले रमेश खाजाघरबाट बिदा लिए । त्यसपछि साथीभाइको सहयोगमा उनले थापाथलीस्थित एउटा थकाली भान्साघरमा एकाउन्टेन्टको काम पाए । रमेश खाजा घर तथा थकाली भान्सा घरमा दुई–दुई वर्ष काम गरिसक्दा कुशल वेटर त भएकै थिए, खाना पकाउनसमेत सिपालु भए । 

थापाथली वरपर रहेका अधिकांश कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध बनाइसकेका सुजनले २३ वर्षको उमेरमा हिम्मत गरेर आफ्नै क्याफे सञ्चालन गर्ने निर्णय गरे । २०७२ सालको भूकम्पलगत्तै उनले थापाथलीको अस्पताल लाइनमा पल्पसा क्याफे खोले । विगत साढे दुई वर्षदेखि आफैं मालिक भएका सुजन अहिले २५ वर्षका भए । ५ फिट ६ इन्च अग्ला सुजन झट्ट हेर्दा कुनै मोडलभन्दा कम छैनन् । त्यसैले त थकाली भान्साघरमा कार्यरत छँदै सुजनले केही म्युजिक भिडियोबाट अभिनय गर्ने प्रस्तावसमेत पाए, तर केही चिनेजानेका दाइहरूले त्यो क्षेत्र राम्रो छैन भनेपछि सुजनले अभिनयमा रुचि देखाएनन् । 

यतिबेला सुजन आफ्नै क्याफेमा दैनिक १२ घण्टाभन्दा बढी खटिन्छन् । बिहान ५ बजे उठेर ६ नबज्दै उनी थापाथली आइसक्छन् । साढे ६ बजेदेखि उनको क्याफेमा चिया तथा खाजा खानेहरूको घुइँचो लाग्छ ।

सुजन आफ्नो क्याफेमा दिउँसो १ बजेदेखि ४ बजेसम्म अत्यधिक व्यस्त हुन्छन् । झन्डै ७५–८० जना उनका नियमित ग्राहक नै छन् । दिनभरमा एक सयभन्दा बढी ग्राहकलाई चिया–खाजा ख्वाउँदै आएको छु भन्ने हँसिला र हेन्डसम सुजन दैनिक सरदर १० हजार रुपैयाँको व्यवसाय गर्छन् । महिनामा झन्डै साढे २ लाख रुपैयाँजतिको व्यवसाय गर्ने सुजनका अनुसार उनी सबै खर्च कटाएर मासिक ७५ हजार रुपैयाँ जोगाउँछन् । सुजन रामेछाप घर पुगेका बेला बुवा–आमालाई समेत आर्थिक सहयोग गर्छन् । सुजनकी बहिनी विद्यालयमा अध्ययरनरत छिन् भने दाजु भरखरै असईमा नाम निकालेर प्रशिक्षणको क्रममा छन् । 

केही वर्षपछि विवाह गर्ने योजना बनाएका सुजनले आफ्नो क्याफेमा कर्मचारी राखेका छैनन् । भाँडा मोल्ने केटाहरू दुई–तीन महिना पनि नटिक्ने भएकाले सुजन क्याफेमा आफैं चिया–खाजा बनाउँछन्, भाँडा पनि आफैं माझ्छन् । शनिबार उनको क्याफे बन्द हुन्छ । शनिबार सुजन घरको सरसफाइदेखि साथीभाइसँग चलचित्र हेर्नसमेत भ्याउँछन् । 

गाउँमा आफ्नो उमेरका अधिकांश दौतरी वैदेशिक रोजगारीका लागि विदेश पुगिरहेका बेला सुजन भने आफ्नै देशमा आफैंले सिर्जना गरेको रोजगारीमा रमाएका छन् । आफ्नै देशमा काम गरेर खान केको अप्ठ्यारो ? एउटा जिज्ञासामा सुजन भन्छन्– विदेशमा गएर गर्ने दु:ख आफ्नै देशमा गरियो भने महिनाको ५०–६० हजार जोगाउन खासै गाह्रो पर्दैन । आफैंले काम गर्दा–गर्दै मीठो परिकार बनाउन जानेका सुजन भविष्यमा आफ्नो क्याफेलाई विस्तार गर्ने सोचमा छन् । केही समयपछि यसलाई अझ विस्तार गर्नेछु, सुजन आफ्नो योजना सुनाउँछन्– ‘परिकारहरू थप्छु, भरपर्दो मान्छे पाएँ भने रोजगारी समेत दिन्छु ।

सुजनलाई प्लस टुभन्दा माथि पढ्न नपाएकोमा भने पछुतो छ । ‘स्नातक तहमा भर्ना हुन मन नलागेको होइन, सुजन भन्छन्— पढ्न थालें भने क्याफे बन्द गर्नुपर्छ । त्यसैले रहर हुँदाहुँदै पनि उच्च शिक्षा हासिल गर्न असमर्थ छु ।

 

स्ट्रिटका स्टार

 

सुरुवाती लगानी

७५ हजार रुपैयाँ

अहिलेको पुँजी

२ लाख ५० हजार रुपैयाँ

मासिक आम्दानी 

३५ देखि ४० हजार रुपैयाँसम्म

झट्ट हेर्दा राजकुमार ढकाल चलचित्रका नायकजस्ता देखिन्छन् । मीठो बोली, मिजासिलो स्वभावमाथि थोरै लजालु हाउभाउ उनको व्यक्तित्वका थप आकर्षण हुन् । त्यही आकर्षणले राजकुमारमाथि युवतीका नजर पनि अल्झिन्छन् । विवाहित भएकाले कसैले पर्पोज गरिहाल्लान् कि भनेर उनी आफैं पनि तर्किन्छन् यस्ता मामिलामा । 

सिन्धुपाल्चोक बतासेका २२ वर्षीय तन्नेरी राजकुमार चलचित्रका नायक नभएर ठेलागाडावाला हुन् । उनी काठमाडौंको बत्तीसपुतली, विजयचोकमा १३ महिनादेखि आधुनिक ठेलागाडामा स्ट्रिट फुड बेच्छन् । मम, ससेज, आलु स्टिक, पकौडा आदि बेचेरै मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने राजकुमारका लागि घरपरिवारको खर्च र भाइलाई पढाउन आवश्यक पर्ने रकम जुटाउने एकमात्र स्रोत यही हो । केही रकम बचत पनि गरिरहेको छु, साप्ताहिकसँगको भेटमा उनले बताए । काम सानो–ठूलो भन्ने हुँदैन ।’ श्रमप्रति सम्मान र हेयभावको दुई विरोधाभाषपूर्ण मान्यता हुर्काइरहेको नेपाली समाजमा राजकुमारजस्ता फरक सोच भएका युवाको कर्मले झट्का दिन्छ । मासु नै नखाने ब्राह्मण परिवारका राजकुमारलाई राँगाको मासु बेच्ने आफ्नो कर्मप्रति कुनै हेयभाव नहुनुले पनि त्यही प्रमाणित गर्छ । 

म्यानेजमेन्टमा प्लस टु सकेका राजकुमारले कुकिङसम्बन्धी ६ महिने तालिम पनि लिएका छन् । उनले केही वर्ष काठमाडौंका रेस्टुराँमा कुकका रूपमा पनि बिताए । १०/१२ हजार रुपैयाँ मात्र तलब भएपछि त्यसमा अडिरहन सकेनन् । वैदेशिक रोजगारीमा जाने आमयुवाजस्तै उनमा पनि रियाल टिप्ने रहर जाग्यो । स्टोर किपरको सहज काम पाएपछि फुरुङ हुँदै उनी कतार हान्निए, तर उनले 

सोचेजस्तो सहज रहेनछ कतार । चारैतिर बालुवा अरू केही पनि छैन, कतारको गर्मी भन्ने सुन्नु भएकै होला, एसी थिएन, पाँच मिनेटमा पसिना माथिदेखि तलसम्मै हुने । एकदमै गाह्रो एक वर्षभन्दा बढी टिक्नै सकिनँ । 

कतारबाट फर्कंदा उनलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । त्यही बेला सहरमा चलचित्र पशुपतिप्रसादले चर्चा बटुलिरहेको थियो । राजकुमार पनि उक्त चलचित्र हेर्न गए । चलचित्रले उनको अन्योल अन्त्य गरिदियो । पशुपतिप्रसादका नायक पशुपतिले झै स्ट्रिट फुडको व्यापार गर्न पुग्ने लगानी उनीसँग थियो । ६० हजारमा ठेलागाडा किने, अन्य आवश्यक सरसामान किन्दा ७५ हजार रुपैयाँ खर्च भयो । बत्तीसपुतलीको विजयचोकलाई उनले आफ्नो स्ट्रिट फुडको केन्द्र बनाए । ढकाल सम्झन्छन्,– म त्यहीबाट प्रेरित भएँ, मेरो स्टल हेर्नु भयो, चलचित्रमा जुन स्टाइलको स्टल छ यो पनि त्यस्तै छ । अदक्ष र अर्धदक्ष कामदारका रूपमा विदेश जानुभन्दा नेपालमै थोरै लगानीमा राम्रो आय–आर्जन गर्नु उपयुक्त हुने राजकुमारको अनुभव छ । 

जागिरबाट १ महिनामा कमाउने पैसा १५ दिन ठेलागाडा चलाएरै कमाउन सकिने उनको दाबी छ । त्यसैले रेस्टुराँ तथा होटलहरूबाट आएका जागिरका अफरहरूले उनलाई आकर्षित गर्न सकेका छैनन् । एक जनाले त उनलाई आफूले ठेलागाडा पनि किनिदिने र सहकार्यमा रेस्टुराँ चलाउने अफरसमेत गरेका थिए, तर राजकुमारले उक्त अफर पनि स्वीकार गरेनन्, किनभने उनी आफ्नै ल्याकतमा ठेलागाडाबाट सुरु गरेको स्ट्रिट फुडलाई सटरसम्म पुर्‍याउन चाहन्छन् । यसबाहेक सटरमा पुगेको दिन आफ्नो मेनुमा विभिन्न आइटम पनि थप्ने उनको योजना छ । ठीकै छ आम्दानी, मान्छेलाई जति भए पनि पैसाले पुग्दो रहेनछ, उनी मुस्कुराए, बेसिक कुरा पूरा गर्न समस्या छैन । 

उनी ठेलागाडामा मध्याह्न साढे २ बजेदेखि राति ९ बजेसम्म खट्छन् । उनको ठेलागाडामा सबै वर्ग र सबै उमेर समूहका ग्राहक आउँछन् । ती सबैलाई आफूले खुसी पार्न सकेकोमा पनि उनी दंग छन् । 

सौगात मल्लका फ्यान राजकुमार स्वयंलाई पनि ऐनाअगाडि उभिँदा लाग्छ, म कुनै चलचित्रको नायकभन्दा कम छैन, तर उनमा फिल्मी नायक बन्ने सोच भने छैन । र्‍याप, आधुनिक तथा दोहोरी सबै प्रकारका गीत गुनगुनाउने ढकाल बरु बाल्यकालमा सरकारी कर्मचारी बन्न चाहन्थे, एक समय उनलाई प्रहरी र सेनामा जाने हुटहुटी पनि नचलेको होइन, तर दुर्घटनामा परेका कारण उनको त्यो धोको पूरा हुन सकेन् । 

 

सेकेन्ड ह्यान्ड मार्केटको सपना 

 

सुरुवाती लगानी

३० हजार रुपैयाँ

अहिलेको पुँजी

१२ लाख रुपैयाँ बराबर 

मासिक आम्दानी 

८५ हजारदेखि १ लाख रुपैयाँसम्म 

 संस्कृत र समाजशास्त्रका दुईवटा डिग्री छन्— दोलखा, सुन्द्रावतीका रामशरण दाहालसँग । लागेर भिडेका भए यी ३० वर्षीय तन्नेरीले राम्रै जागिर प्राप्त गर्न सक्थे, सरकारी सेवामा नाम निकाल्न सक्थे वा विदेश उड्न सक्थे, तर उनले फरक बाटो रोजे सेकेन्ड ह्यान्ड फर्निचरवाला रूपमा । 

उनको फर्मले सेकेन्ड ह्यान्ड फर्निचरलाई पुन: प्रयोगमा ल्याउने माध्यमका रूपमा काम गरिरहेको छ । विभिन्न कारणले एकपटक प्रयोग भएको सामना अर्को पटक प्रयोगमा नआउन सक्छ, रामशरण भन्छन्– एउटा वर्गलाई अनावश्यक भएको सामान समाजको अर्को वर्गलाई अति आवश्यक 

भैरहेको हुन सक्छ । त्यही आवश्यकता पूर्ति गर्ने माध्यमका रूपमा मैले फर्निचर खरिद बिक्री केन्द्र 

खोलेका हुँ । 

निरन्तर क्रियाशीलता, कामप्रतिको स्नेह र सम्मानभावकै कारण उनी दुई वर्षमै फरक उद्यममा जम्न थालेका छन् । ३० हजार रुपैयाँमा प्रारम्भ भएको उनको व्यवसाय १५ लाख रुपैयाँको भएको छ । आफू र अंग्रेजी साहित्यमा मास्टर्स गरिरहेकी श्रीमतीबाहेक फर्ममा थप ५ जनाले रोजगारी पाएका छन् । मासिक कमाइ नै ८० हजारदेखि १ लाख रुपैयाँसम्म हुन्छ । भीमसेन गोलाको सानो पसलबाट सुरु भएको व्यवसायका लागि दाहालले भीमसेनगोलाकै अर्को एक ठाउँ र गठ्ठाघरमा थप जग्गा भाडामा लिएका छन् । उनको फर्ममा काम गर्नेहरू १३ देखि २५ हजार रुपैयाँसम्म तलब खान्छन् । 

रामशरण सेकेन्ड ह्यान्ड फर्निचरवालाका रूपमा सुरु भएको आफ्नो व्यवसायिक यात्रा यतिमै सीमित राख्ने पक्षमा छैनन् । उनले आफ्नो सेकेन्ड ह्यान्ड फर्निचरवाला को परिचयलाई सेकेन्ड ह्यान्ड मार्केटवालामा बदल्ने सपना बुनेका छन् । नेपालमा यस्तो मार्केट छैन, विकसित देशमा जस्तै सेकेन्ड ह्यान्ड मार्केटको कन्सेप्टमा काम गरिरहेको छु, दाहाल भन्छन्– त्यसमा एकै ठाउँमा साडीदेखि गाडीसम्म पाइने मार्केट बनाउने सपना छ ।

रामशरण दुई वर्षअघि कलेज पढाउँथे । मानसम्मान थियो, तर जागिरबाट हुने कमाइ र मानसम्मानमा उनी सन्तोषको सास फेर्न सकिरहेका थिएनन् । त्यही हुटहुटीले उनलाई सेकेन्ड ह्यान्ड फर्निचरवाला बनायो । दोलखाको मध्यवर्गीय परिवारमा जन्मिएका रामशरणका तीन दाजुभाइ छन् । जसमध्ये एक जना कलेज पढाउँछन्, अर्का सरकारी जागिरे छन् । बुवा गाउँमा शिक्षणसँगै जजमानी गर्छन् । त्यसो भए रामशरणले फरक कर्म किन रोजे त ? कलेज पढ्दा उनी खर्च जुटाउन बुक सेलरको काम गर्थे । त्यही क्रममा उनी राष्ट्र बैंक पुगे । राष्ट्र बैंकमा पुराना फर्निचरको ठूलो खात देखे । त्यसपछि उनको दिमाग वेस्टेज फर्निचरतर्फ मोडियो । त्यो काठ त्यत्तिकै कुहिन्छ, त्यसलाई युटिलाइज गर्‍यो भने त पैसा पनि आउँछ, काम पनि लाग्छ, उनको दिमागमा फुर्‍यो । 

उनले पाँच वर्षअघि पनि यो व्यवसायमा हात हालेका थिए, तर त्यतिबेला आफैंले कामको महत्व बुझेनन् । आफैंलाई हीनताबोध भयो, पढे–लेखेको मान्छेले यो के 

गरिरहेको हुँला भन्ने लाग्यो, उनले साप्ताहिकलाई आफ्नो पुरानो स्मरण सुनाए– त्यसपछि उनी पुन: शिक्षक भए, तर फिटिक्कै सन्तुष्ट भएनन् । त्यसपछि उनी पुन: आफ्नो पुरानै व्यवसायमा फर्किए ।

डबल डिग्री होल्डर भएर पनि सेकेण्ड ह्याण्ड फर्निचरवालाका रुपमा काम गरेर उनी समाजमा फरक सन्देश प्रवाहित गर्न चाहन्छन् । काम कहिल्यै सानो ठूलो हुँदैन् । रामशरण भन्छन्, पढे–लेखेकाहरूले जागिरै खानुपर्ने, माथिल्लै पदमा पुग्नुपर्ने र विदेशमा मात्रै पैसा छ भन्ने ढंगको मानसिकता बदल्न जरुरी भैसकेको छ । 

 

आफ्नै बस किन्ने सपना

कार्य : बस चालक (कीर्तिपुर यातायात)

कार्यरत : चार वर्षदेखि

मासिक आम्दानी : ३० देखि ४० हजार रुपैयाँ 

कीर्तिपुर क्षेत्रमा बसोबास गर्ने वा त्रिभुवन विश्वविद्यालयमा अध्ययन अध्यापन गराउने सबैजसो सन्तोष अधिकारीका यात्रु हुन् । उनी दैनिक ८ देखि १२ पटकसम्म कीर्तिपुर–पुरानो बसपार्क–कीर्तिपुरको चक्कर लगाइरहन्छन् । त्यसबाहेक यदकदा रिजर्भ गरिँदा पिकनिक वा जन्तीमा पनि यात्रु ओसार्ने काम गर्छन् । पेसाले बस चालक हुन् २४ वर्षीय सन्तोष अधिकारी अर्थात हृजन । सन्तोषको लक्ष्य भनेको एउटा आफ्नै बस किन्नु हो । त्यसको तयारीमा धेरै अगाडि बढिसकेको छु । समय र भाग्यले साथ दियो भने केही समय भित्रै काठमाडौंको सडकमा म आफ्नै बस चलाइरहेको हुनेछु । त्यसो त चिटिक्क परेर बस चलाउने सन्तोषलाई अहिले पनि यदाकदा यात्रुहरू सोध्छन्– यो तपाईंको आफ्नै बस हो ? 

प्लसटुसम्मको अध्ययन सकेर एक विद्यालयमा प्राइमरी विद्यार्थीहरूलाई अंग्रेजी पढाए उनले । उनलाई शिक्षण पेसा मन परेन, कारण एउटै थियो शिक्षकको आम्दानी । शिक्षक छँदा आम्दानीले कहिल्यै पुगेन, तलबै थोरै हुने, उनले स्पष्ट पारे । अहिले सन्तोषको मासिक आम्दानी महिनाको सरदर ४० हजार रुपैयाँभन्दा माथि हुन्छ । 

झट्ट हेर्दा कुनै चलचित्रको नायकजस्ता देखिने सन्तोषको मूलघर धादिङको किराञ्चोक हो । आफ्नो शिक्षण पेसा चलिरहेकै बेला उनले एकजना अंकलले बस चलाएर राम्रै आम्दानी गरिरहेको देखेँ । ममा काम सानो–ठूलो भन्ने भ्रम छैन । काम गरेपछि जीवन धान्न सकिने आम्दानी हुनुपर्छ । भन्ने सन्तोषले अंकलको बसमा केही समय खलासीको काम गर्दै बस चलाउन सिके । राम्रोसँग चलाउन जानेपछि चार वर्ष भयो उनले कीर्तिपुर यातायातको अल्ट्रा बस चलाउन थालेको । 

मानिसहरूले बस/ट्रक चालकलाई हेयको दृष्टिकोणले हेरेको देख्छु । बस/ट्रक चलाउनेहरूलाई धेरै स्थानमा तल्लो स्तरको काम गर्ने कामदार मानिन्छ । यसैले गर्दा बस/ट्रक चालकहरूको मनोबल गिरेको पनि पाएको छु । मेरो भने आत्मबल बलियो छ र म जुन काम गरिरहेको छु त्यसमा सन्तुष्ट छु । भन्ने सन्तोष बस चालकको पेसालाई सानो होइन, ठूलो पेसा भन्न रुचाउँछन् । सन्तोषका अनुसार बसमा अनेक थरीका मानिस यात्रा गर्छन् । उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउनु पनि एकप्रकारले सेवा हो । सन्तोष भन्छन्– बसभित्र सबैसँग एक समान व्यवहार हुन्छ । मलाई यही कुरा मन पर्छ ।

सन्तोषलाई विदेश जाउ मनग्गे आम्दानी हुन्छ भन्नेहरू पनि धेरै थिए । उनका केही साथी विदेश पुगेका पनि छन् । विदेशमा काम गर्दैमा सुन फल्ने होइन, आफ्नै भूमिमा काम गर्दा अरूको हेपाई खानु पर्दैन । मात्र मेहनत गरे स्वदेशमै राम्रोसँग बाँच्न सकिन्छ । सन्तोषले भने– मलाई विदेश जान मन छैन । म आफ्नै देशमा काम गर्छु, अरूको देश जान्नँ । 

उनले चलाउने बसलाई जनसाधारणको भाषामा लोकल बस भनिन्छ । लोकल बस चलाउने चालकलाई गुरुजी भनेर सम्बोधन गरिन्छ । त्यसोभन्दा सन्तोषलाई खासै मतलब लाग्दैन । ‘म यात्रुहरूसँग खासै बोल्दिनँ । उहाँहरूसँग मेरा सहचालक (कन्डक्टर/खलासी)ले कुरा गर्छन् । कुनै–कुनै यात्रु मसँग सीधा कुरा गर्न चाहन्छन् । त्यसो त म त्यति खुलेर बोल्ने स्वभावको मानिस पनि होइन, तर बस चलाउने क्रममा केही असल मानिसहरूसँग राम्रो सम्बन्ध पनि स्थापित भएको छ । मेरै बस कुरेर भए पनि चढ्ने केही यात्रु पनि हुनुहुन्छ । उहाँहरूले मेरो कामलाई सम्मान दिनुहुन्छ, यसले मलाई सन्तुष्टि प्रदान गर्छ ।’ 

दुई वर्षअघि प्रेम विवाह गरेका सन्तोष कीर्तिपुरमै डेरा लिएर बसेका छन् । उनी आफ्नी श्रीमतीले आफ्नो कामलाई सम्मानजनक व्यवहार गरेकोमा खुसी छन् । काठमाडौंको मुख्य समस्या नै जाम हो । अनि अर्को समस्या खाल्डाखुल्डी सडक र धुलो । सबैले आ–आफ्नो सवारी साधनलाई कन्डिसनमा राखे धुवाँको समस्या पनि हुँदैनथ्यो होला । यहाँ त सरकारी गाडीहरू पनि भुरुरु धुवाँ उडाएर हुइकिन्छन् । त्यसपछिको समस्या नियम मिचेर चलाउने निजी तथा भाडाका बाइक तथा गाडीहरू हुन् । आफ्नो लेनमा एकैछिन कुरेर चलाए त जाम पनि हुँदैन होला कि ?

वर्कसपको चाहना

 

प्रारम्भिक लगानी

१२ लाख रुपैयाँ

अहिलेको पुँजी

१५ लाख रुपैयाँ

मासिक आम्दानी

करिब २ लाख रुपैयाँ  

३० वर्षअघि चेकपोस्ट, थानकोटमा जन्मिएका सुमनकुमार श्रेष्ठलाई बहुप्रतिभाशाली युवाभन्दा फरक पर्दैन । कक्षा १० मा अध्ययनरत छँदै पढाइ छाडे पनि उनलाई कुनै पछुतो छैन, कारण उनले अध्ययनको साटो सीप रोजे । कक्षा १० को टेस्ट परीक्षा दिने बित्तिकै उनी थानकोटबाट सानेपा आएर साना सवारी मर्मत हुने वर्कसपमा ठोक्किए । टिनएजर छँदा उनमा कार मेकानिक बन्ने रहर थियो । त्यही रहर पूरा गर्न उनले उक्त वर्कसपमा झन्डै दुई वर्ष बिताए । त्यसक्रममा श्रेष्ठ कारका हरेक पार्टपुर्जासँग परिचित भए । बिग्रिएका कार बनाउन सिपालु भएपछि उनले उक्त वर्कसपबाट बिदा लिए । 

वर्कसपबाट बाहिरिएपछि सुमनले आफ्नै वर्कसप खोल्ने योजना बनाएका थिए, तर विभिन्न कारणले उनी वर्कसपको मालिक बन्न सकेनन् । ५ फिट ८ इन्च अग्लो कदले उनलाई मोडलिङतर्फ आकर्षित गर्‍यो । २०६० को दशकमा नेपालमा मोडलिङ फस्टाइरहेका बेला उनले याक एण्ड यती, उडल्यान्डसहितका होटलमा सम्पन्न फेसन शोहरूमा क्याटवाक गरे । त्यही क्रममा झन्डै आधा दर्जन म्युजिक भिडियोमा अभिनय गर्न भ्याए । नाम मात्र पाइने, दाम नपाइने भएपछि उनले मोडल साथीहरूकै सल्लाहमा लाजिम्पाटमा एउटा क्याफे सञ्चालन गरे । लश–कुश क्याफेमा उनका ग्राहक कलाकार तथा मोडलहरू नै हुन्थे । त्यही क्रममा उनले आर्यन सिग्देल, पल शाह, सुरज सिंह ठकुरी, सुशील नेपाल आदिसँग राम्रै दोस्ती गरे । सरकारले लाजिम्पाटको सडक विस्तार गर्ने योजना सार्वजनिक गरे लगत्तै उनले उक्त क्याफे बन्द गरे, मोडलिङबाट पनि हात झिके अनि लागे आफ्नै पुरानो पेसातर्फ ।

यसपटक उनले निजी कारलाई ट्याक्सीका रूपमा सञ्चालन गर्ने निधो गरे । कारसँग उनको विशेष लगाव थियो । क्याफे बिक्री गरेको पैसामा थपथाप गरेर उनले दुईवटा सेकेन्ड ह्याण्ड कार किने । ती कारलाई उनले निजी ट्याक्सीका रूपमा सञ्चालन गर्न थाले । काठमाडौंभित्र, बाहिर तथा भारतसम्म आफ्नो सेवा विस्तार गरे । यद्यपि उनलाई त्यो काममा खासै रुचि भएन । उनले पुन: वर्कसप नै रोजे । 

झन्डै तीन वर्षअघि उनले तीनकुने, काठमाडौंस्थित कुनै वर्कसपको एउटा कुनामा आफ्नै लगानीमा कार वास सेन्टर सञ्चालन गर्न थाले । कार वास सेन्टरमा उनी बिहानदेखि साँझसम्मै खटिन थाले । फूल र हाफ कार वास गरेर दिनभर व्यस्त हुने सुमनले दिनमा आठ–दशवटा कार वास गर्न भ्याए । कारको मर्मतमा समेत दक्ष सुमनले कार वास गर्न आएका ग्राहकको अनुरोधमा कार मर्मत पनि गरिदिन थाले । कार वासमा दुई वर्ष बिताएपछि उनलाई अर्काको वर्कसप सानो लाग्न थाल्यो । फलस्वरूप गएको वैशाखदेखि सुमनले नैकापमा आफ्नै लगानीमा नयाँ कार वास सेन्टर सञ्चालनमा ल्याए । 

म आफैं कार वास गर्ने भएकाले मेरा आफ्नै ग्राहक छन्, सुमन भन्छन्— मलाई कहिल्लै काम ठूलो अथवा सानो हुन्छ जस्तो लागेन । उनी बिहान ८ नबज्दै जिन्स, टिसर्ट तथा स्पोर्ट्स जुत्तामा ठाँटिएर २ सय २० सिसीको पल्सर बाइकमा आफ्नो सेन्टर पुग्छन् । त्यहाँ पुगे लगत्तै उनी सबैभन्दा पहिले लुगा फेर्छन् । वर्कसपको कामदारले लगाउने पहिरन फेरेपछि उनी कामका लागि तयार हुन्छन् । मैले वास गरेको कारका धनी मेरो कामप्रति सधैं खुसी र सन्तुष्ट पाएको छु, वार वास सेन्टरमै एउटा रेस्टुराँसमेत सञ्चालन गर्ने तयारी गरिरहेका सुमन भविष्यमा कार मर्मत गर्ने वर्कसपसमेत सञ्चालन गर्ने पक्षमा छन् । 

मलाई कहिल्लै विदेश जान मन लागेन, सुमन भन्छन्— विदेशमा ड्राइभरको काम गर्न जाने प्रस्ताव पनि नपाएको होइन तर ड्राइभरको काम गर्न गएका मानिसहरू अरू नै काम गर्न बाध्य भएको सुनेपछि त्यस्ता प्रस्ताव स्वीकार गर्ने हिम्मत भएन । तीन–चार लाख रुपैयाँ खर्च गरेर काम गर्न विदेश जान उचित लागेन, सुमन भन्छन्– त्यो पुँजीले आफ्नै सानो व्यवसाय प्रारम्भ गरेर त्यसलाई बढाउँदै लगियो भने नेपालमै जीविकोपार्जन गर्न सकिन्छ । सुमनले यतिबेला आफ्नो कार वास सेन्टरमा 

चार जनालाई रोजगारी दिएका छन् । 

‘नयाँ–नयाँ भाइहरूलाई काम सिकाइरहेको छु, सुमन भन्छन्– तर काम गर्ने मान्छे लामो समयसम्म नटिक्ने भएकाले म आफैं कामका लागि तत्पर हुन्छु । आफूसँग सीप भएपछि मान्छेले दु:ख पाउँदैन भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । 

सुमनको परिवारमा बुवा–आमा, दाजुभाइ तथा श्रीमती र दुई स–साना छोरा छन् । उनकी श्रीमतीले थानकोटको आफ्नै घरमा किराना पसल चलाएकी छिन् । मलाई धेरै पढ्न नपाएकोमा दु:ख त छ तर पश्चाताप छैन, सुमन भन्छन्— पढेको भए कुनै कार्यालयमा जागिर खाइरहेको हुन्थें होला, तर पढ्न मन लागेन । यद्यपि समयमै सीप सिकेकाले मैले नेपालमा दु:ख पाउनुपरेको छैन ।

प्रकाशित :आश्विन ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्