परम्परा धान्ने हमालको पूजापाठ

- राधिका अधिकारी

आश्विन ३, २०७४- 

 

दसैंलाई नेपालीहरूले ठूलो पर्वका रूपमा मनाउँदै आएका छन् । दसैं सबैभन्दा लामो र देशभरका सबैजसो जातजातिले मनाउने पर्व हो । दसैंमा विशेष गरेर देवी दुर्गाको उपासना गरिन्छ । विभिन्न शक्ति पीठहरूमा पूजाआजा गरी पशुबलिसमेत दिइने दसैंलाई असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा मनाइन्छ । दसैं हाम्रो समाजमा राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा चिनिँदै आएको छ । टीका, जमरा तथा आशीर्वादको पाटो त छँदैछ, धार्मिक हिसाबले पनि नौ दिनसम्म नवदुर्गाको पूजा गरिने हुँदा दसैंको छुट्टै विशेषता छ । दसैंका विभिन्न पक्षसँगै जोडिएर आउँछ, फेसन पनि । साप्ताहिकको यो अंकका लागि केही सेलिब्रेटीले दसैं विशेषका बारेमा आफ्नो रुचि सार्वजनिक गरेका छन् ।

राजेश हमाल, अभिनेता

बाबा–आमाको निधनपछिका अधिकांश दसैं अमेरिकामा मनाएका राजेश हमाल यो वर्षको दसैं भने नेपालमै मनाउने तयारीमा छन् । दसैंको टीकाकै दिन आमा गुमाएका हमाल घटस्थापना गरेर नौरथाको पूजा गरे पनि दसैंको टीका भने एकादशीका दिन लगाउँछन् । बाबुआमाको निधनपछि घरको मुख्य जिम्मेवारी सम्हाल्दै आएका हमाल टीकाको दिन आमाको श्राद्ध गर्छन्, त्यसैले भोलिपल्ट मात्रटीका लगाउँछन् । फेसनमा खासै चासो नराख्ने हमाल दसैंका बेला भने परम्परागत पहिरनमा ठाँटिन रुचाउँछन् ।

पूजा गर्दा

कुराकानीको सुरुवातमै हमालले आमा–बाबुले जति आफूले संस्कृति संरक्षणका लागि काम गर्न नसकेको बताए । आमा–बाबुले पूर्ण भक्तिभावसहित पूजा गरेको देखेका हमाल आफू भने केवल परम्परा जोगाउन मात्र पूजापाठमा संलग्न हुने कुरा बताउँछन् । पूजापाठमा उनी चोखो र सुकिलो पहिरन लगाउँछन् ।

घरमा बस्दा

हमाल घर बस्दा दसैं नै भनेर विशेष पहिरन लगाउँदैनन् । महानायक हमाल भन्छन्– घर बस्दा जे सहज र कन्फर्ट हुन्छ त्यही लगाइन्छ ।

टीका थाप्न जाँदा

हमाल पनि टीका थाप्न जाँदा सांस्कृतिक रूपले महत्वपूर्ण पहिरन लगाउन रुचाउँछन् । ठाउँ तथा आफन्त हेरेरभन्दा पनि संस्कृति जोगाउने हिसाबले सामान्य पहिरन लगाउने हमाल दसैंकै लागि भनेर पहिरन किन्दैनन् ।

मेकअप

हमाल सामान्य अवस्थामा मेकअप गर्दैनन् । आफ्नो व्यक्तिगत जीवनमा अहिलेसम्म मेकअप नगरेको बताउने हमाल दसैंमा टीका तथा जमराले नै श्रृंगारको काम गर्ने

तर्क गर्छन् ।

प्रकाशित :आश्विन ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्