नेपालीहरू शतप्रतिशत फेसनेबल छन्

- कृष्ण भट्टराई

आश्विन २, २०७४-

 

नेपालको फेसन तथा मोडलिङमा आबद्ध व्यक्तिहरूका लागि विशाल कपुर कुनै नौलो नाम होइन । कपुर भारतका सुप्रसिद्ध फेसन डिजाइनर हुन् । मुम्बईमा बसोबास गर्ने विशाल कपुरले थुप्रै बलिउड सेलिब्रेटीका लागि पहिरन डिजाइन गरेका छन् । पछिल्ला सात वर्षदेखि उनका डिजाइन नेपाली बजारमा समेत उपलब्ध छन् । सात वर्षअघि काठमाडौंको दरबारमार्गमा कपुरले पनाचे रनवे नाममा आफ्ना डिजाइनको स्टुडियो नै सञ्चालनमा ल्याएका थिए ।

 

पनाचे रनवे शीर्षकमा काठमाडौंमा केही फेसन शोसमेत सञ्चालन गरिसकेका कपुरले निकट भविष्यमै पोखरा तथा धरानमा समेत आफ्नो डिजाइनर वेयरको स्टुडियो खोल्ने योजना बनाएका छन् । दसैंको पूर्वसन्ध्या पारेर साप्ताहिकका कृष्ण भट्टराईले मुम्बईमै रहेका डिजाइनर कपुरसँग अनलाइन कुराकानी गरेका थिए । नेपालको फेसन, मोडलिङ तथा पहिरनसम्बन्धी विषयमा केन्द्रित उक्त कुराकानीको प्रमुख अंश :  

 

अहिले केमा व्यस्त हुनुहुन्छ ? 

म यतिबेला आफ्ना केही नयाँ प्रोजेक्टमा व्यस्त छु । मुम्बईमा भर्खरै एउटा नयाँ स्टोर लञ्च गरेको छु । डोर १८५ नामको यो स्टोर अत्याधुनिक अवधारणामा आधारित छ, जहाँ फेसन स्टोरसहित टि लाउञ्ज पनि छ ।

 

फेसन डिजाइनिङमा चाहिं कत्तिको व्यस्त हुनुहुन्छ ? 

विभिन्न थिम तथा अवधारणामा आधारित नयाँ डिजाइन तथा कलेक्सन सिर्जना गर्न दिन–रात तल्लीन भैरहेको हुन्छु । 

 

डिजाइनमा नयाँ के गर्दै हुनुहुन्छ ? 

डिजाइनरको दिमागमा सधैं नै नयाँ–नयाँ भिजन आइरहेको हुन्छ । ममा पनि त्यस्ता भिजन आइरहेकै हुन्छन् । म जहिले पनि नयाँ ट्ेरन्ड थालनी गर्ने प्रयत्नमा रहन्छु । समकालीन फेसन ट्रेन्डलाई ध्यानमा राख्दै निकट भविष्यमै केही उत्कृष्ट डिजाइनसहित बजारमा आउने तयारी गर्दैछु । 

 

तपाईंको विचारमा फेसन भनेको के हो ? 

फेसन भनेको स्टाइल स्टेटमेन्ट हो, जसलाई हरेक व्यक्तिले आफ्नो स्टाइलमा रूपान्तर गर्न सक्छ, ढाल्न सक्छ तथा सिर्जना गर्न सक्छ । 

 

लामो समयदेखि नेपाललाई पनि तपाईंले आफ्नो कार्यक्षेत्र बनाउनुभएको छ । तपाईंको विचारमा नेपालीहरू कत्तिको फेसनेबल छन् ? 

म विगत सात वर्षदेखि नेपालको फेसन व्यवसायमा आबद्ध छु । यो अवधिमा मैले के अनुभव गरेको छु भने नेपालीहरूमा फेसनको राम्रो सेन्स तथा टेस्ट छ । फेसन उद्योगमा आएका पछिल्ला शैलीलाई तुरुन्तै अपनाउने नेपालीहरूको बानी छ । यो असाध्यै सुखद पक्ष हो । यस अर्थमा भन्नुपर्दा नेपालीहरू शतप्रतिशत फेसनेवल छन् । 

 

नेपालमा महिला र पुरुषमध्ये कसलाई बढी फेसनेबल पाउनुभएको छ ? 

आजको समयमा कुनै पनि क्षेत्रमा महिला तथा पुरुष भनेर विभेद गरिनु उचित छैन । फेसनको प्रसंगमा त झन् छँदै छैन । किनभने महिला हुन् अथवा पुरुष, जो पनि फेसन भनेपछि हुरुक्क हुन्छन् । हरेकलाई आफू भीडमा अलग देखिउँ भन्ने चाहना हुन्छ, सबैले आफैंलाई मार्क गरून् भन्ने चाहना हुन्छ । महिला र पुरुष मात्र होइन बालबालिकादेखि वृद्ध–वृद्धासम्ममा यो कुरा लागू हुन्छ । 

 

प्राय: युवाहरूले मात्र फेसन ट्रेन्डलाई पछ्याएको पाइन्छ, अरू उमेरका व्यक्तिलाई चाहिँ फेसनेबल हुन मन नलाग्ने हो र ? 

त्यस्तो होइन । युवापुस्ता फेसन ट्रेन्डलाई पछ्याउने प्रसंगमा चाहिं सधैं अघि हुन्छ । फेसन डिजाइनरहरूले पनि युवापुस्तालाई नै ध्यानमा राखेर डिजाइन गरिरहेका हुन्छन् । यद्यपि पाका उमेरका व्यक्तिलाई पनि डिजाइनर वेयरमार्फत आकर्षक बनाउन सकिन्छ ।

 

नेपाली युवाहरूलाई कस्तो फेसन सुहाउँछ ? 

नेपाली युवाहरू त्यसै पनि स्मार्ट छन् । फेसनको प्रसंगमा त उनीहरू थप स्मार्ट पाइन्छन् । इन्टरनेट तथा सामाजिक सञ्जालका कारण युवाहरू सधैं आफूलाई अपडेट गरिरहेका हुन्छन् । त्यहाँ उनीहरूले फेसन सम्बन्धि असंख्य टिप्स तथा जानकारी पाइरहेका हुन्छन् । उनीहरूले के मात्र ध्यान दिनु आवश्यक छ भने कस्तो अवसर तथा समारोहमा कस्तो पहिरन लगाउने ? औपचारिक समारोहमा कस्तो पहिरन लगाउने, पार्टिमा कस्तो लगाउने भन्ने कुराको ज्ञान हुनु आवश्यक छ । युवाहरू साधारण अथवा स्लिम फिट टिसर्टसँग ह्याट लगाउँदा स्मार्ट देखिन्छन् भने युवतीहरू क्रप टप्ससँग स्कार्फ तथा ड्राप्ट पाइन्ट अथवा रेट्रो स्कर्ट लगाउँदा पनि स्टाइलिस देखिन्छन् ।

 

तपाईंलाई नेपालीहरू कत्तिको स्टाइलिस लाग्छन् ? 

नेपालीहरू स्टाइलिस मात्र होइन बोल्ड पनि छन् । 

 

महिला र पुरुषमा कसलाई बढी स्टाइलिस पाउनुभयो ? 

पुरुषभन्दा महिलालाई नै बढी स्टाइलिस पाएको छु । वास्तवमा पुरुषहरूका लागि डिजाइनर वेयर असाध्यै कम छन् । म के कुरामा ढुक्क छु भने यदि पुरुषहरूका लागि पनि प्रसस्त डिजाइन तथा स्टाइल तयार पारियो भने स्टाइलिस पुरुषको संख्या निश्चित रूपमा बढ्नेछ । 

 

नेपालका मोडलहरूलाई कत्तिको व्यवसायिक पाउनुभएको छ ? 

केही मोडल असाध्यै प्रोफेसनल तथा डेडिकेटेड छन्, तर त्यो संख्या औंलामा गन्न सकिने 

मात्र छ । 

 

काठमाडौंको तपाईंको फेसन व्यवसाय कस्तो चलिरहेको छ ? 

यतिबेला मेरो एउटा एक्स्क्लूसिभ शोरुम पनाचे रनवे काठमाडौंको दरबारमार्गमा सञ्चालनमा छ, जहाँको व्यवसायबाट म सन्तुष्ट छु । यसबाहेक चाँडै नै म यसलाई पोखरा तथा धरानमा समेत विस्तार गर्ने योजनामा छु । नेपाली ग्राहकहरूबाट आएको असाध्यै सकारात्मक प्रतिक्रियापछि नै म आफ्नो व्यवसाय विस्तार गर्ने निर्णयमा पुगेको हुँ । 

 

पनाचे रनवेका उपभोक्तालाई के भन्न चाहनुहुन्छ ? 

सर्वप्रथम त मेरा पहिरन मन पराइदिनुभएकोमा सम्पूर्ण नेपालीहरूलाई भित्री ह्दयदेखि नै धन्यवाद । पनाचे रनवेमा मैले सकेसम्म आफ्ना पछिल्ला सिर्जनाहरू प्रस्तुत गर्ने प्रयास गरिरहेको छु । म भविष्यमा यसलाई अझ विस्तार गर्ने पक्षमा छु र नेपालको फेसन उद्योगमा आवद्ध नयाँ–नयाँ प्रतिभाहरूलाई समेत अवसर दिइ नै रहनेछु । 

 

मुम्बईबाट काठमाडौंसम्म आफ्नो फेसन उद्योगलाई विस्तार गर्ने सोच कसरी आयो ? 

नेपाल र भारतका युवा–युवतीहरूको फेसन शैलीमा खासै अन्तर छैन । नेपालको राजधानी काठमाडौं फेसन भनेपछि हुरुक्क हुन्छ भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । यहाँका मानिसहरूको फेसन क्रेज देखेरै मैले आफ्नो व्यवसायलाई काठमाडौंमा विस्तार गर्ने योजना बनाएको थिएँ । त्यसमा म सफल पनि भएको छु । 

 

 

पछिल्लो समय मानिसहरू डिजाइनर वेयरप्रति आकर्षित छन्, यो आकर्षणलाई तपाईंले कसरी हेर्नुभएको छ ? 

वास्तवमा आकर्षक डिजाइन तथा गुणस्तरीय डिजाइनर वेयरले व्यक्तिको लुक्समै ट्विस्ट ल्याउँछ । जसले जो कसैको व्यक्तित्वलाई बेग्लै उचाइ प्रदान गर्छ । अहिले काठमाडौंमा पनि वैवाहिक समारोह, पार्टि तथा चाडपर्वहरूमा डिजाइनर वेयरको प्रचलन बढ्दै गएकोमा मलाई खुशी लागेको छ । 

 

दसैं–तिहारजस्ता पर्वलाई फेसनसँग कसरी जोड्नुहुन्छ ? 

नेपालमा होस् अथवा भारतमा दसैं–तिहारजस्ता चाडपर्वमा पहिरनको विशेष महत्व हुन्छ । नेपालमा दसैंमा बढि पहिरन खपत हुन्छ भने भारतमा तिहारमा । हामी डिजाइनरहरूले पनि यी दुई चाडपर्वलाई ध्यानमा राखेर नयाँ–नयाँ डिजाइनर तयार पार्छौं । बहुसंख्यक मानिस यी चाडपर्वमा पहिरन किन्न चाहन्छन् । यो अवसरमा गुणस्तरीय कपडाबाट तयार भएका पहिरन छनोट गर्न सक्नुपर्छ । 

 

दसैंमा नेपालीहरू अत्यधिक पहिरन किन्छन् । उनीहरूलाई तपाईं कस्तो सुझाव दिन चाहनु हुन्छ ? 

अवश्य पनि दसैं नेपालको सबैभन्दा महत्वपूर्ण पर्व हो, यतिबेला नेपालीहरू नयाँ–नयाँ पहिरनमा खर्च गर्न पछि पर्दैनन् । सबैलाई मेरो सुझाव के छ भने पहिरन किन्दा दिमागमा दुईवटा कुरा राख्नुपर्छ, पहिलो–सबैभन्दा पछिल्लो स्टाइल, त्यसमा खेलिएको रंग, कट तथा स्टाइलमा ध्यान दिनु होला । दोस्रो–तपाईंले किनेका पहिरनको डिजाइनलाई समिश्रण गर्न सकियोस् भन्ने कुरामा ध्यान दिनु होला । 

 

फेसनले व्यक्तिको व्यक्तित्वमै आमूल परिवर्तन गर्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ? 

यदि एक जना व्यक्तिलाई उसको आवश्यकताअनुसार फेसन ग्रुमिङमा आधारित भएर उचित ट्रिटमेन्ट गरिएको खण्डमा व्यक्तित्व परिवर्तन गराउन सकिने कुरामा दुईमत छैन । 

 

मानिसले आफूलाई कस्तो पहिरन सुहाउँछ भन्ने कुराको जानकारी कसरी प्राप्त गर्ने ? 

फेसनको प्रसंगमा यो असाध्यै महत्वपूर्ण कुरा हो । हरेक व्यक्तिलाई आफू कस्तो पहिरनमा स्मार्ट अथवा सुन्दर देखिन्छु भन्ने कुराको जानकारी हुनु अत्यावश्यक छ । कहिलेकाहीं प्रयोगबाट पनि राम्रो परिणाम प्राप्त गर्न सकिन्छ र सामान्यभन्दा राम्रो देखाउन सकिन्छ । यदि कसैलाई यो कुराले द्विविधामा पारेको छ भने सोझै कुनै अनुभवी फेसन डिजाइनरसंग सल्लाह माग्न सकिन्छ अथवा फेसनमा आधारित पत्रपत्रिकाबाट पनि धेरै कुराको जानकारी प्राप्त गर्न सकिन्छ । मचाहिं के भन्न सक्छु भने मोटा मानिसहरूले गोलो धर्का भएका पहिरन त्याग्नु उचित हुन्छ भने होचो कद भएका व्यक्तिले ठाडो धर्का भएका पहिरन लगाउनु पर्छ । गोलो धर्का भएका पहिरनले मोटा व्यक्तिलाई थप मोटो देखाउँछ भने होचो कदका व्यक्तिले लामो धर्का भएका पहिरन लगाउँदा उचाइ बढेजस्तो प्रतीत हुन्छ । 

 

के फेसन सबै उमेरका व्यक्तिका लागि सम्भव छ ? 

फेसन भनेको सबैका लागि हो, यसमा उमेर र लिंगका आधारमा कुनै भेदभाव हुँदैन । सुन्दर तथा आकर्षक देखिन पाउनु हरेक व्यक्तिको अधिकारको कुरा हो । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने ‘के, कसरी तथा कहाँ लगाउने ?’ पहिरनका बारेमा यी तीनवटा कुराको जवाफ थाहा पाउन सकियो भने जो कोही पनि आकर्षक तथा सुन्दर देखिन सक्छन् । 

 

नयाँ पहिरन डिजाइन गर्ने क्रममा के कुरामा बढी ध्यान दिनुहुन्छ ? 

कम्फर्ट लेभल, इलिगेन्स, कट तथा ड्रप्स विद प्रोपर फल हामी डिजाइनरहरूले ध्यान दिनुपर्ने प्रमुख चार पक्ष हुन् । कहिलेकाहीं म आफ्ना साथीभाइ तथा ग्राहकहरूबाट पनि प्रभावित भैरहेको हुन्छु । 

 

तपाईं फेसन ट्रेन्डलाई पछ्याउनुहुन्छ कि फेसन ट्रेन्डले तपाईंलाई पछ्याउँछ ? 

डिजाइनरका रूपमा म आफैं ट्रेन्ड सिर्जना गर्छु, जसलाई मानिसहरूले मन पराउनु हुन्छ र त्यसलाई पछ्याउनु हुन्छ । 

 

डिजाइनिङको क्षेत्रमा तपाईंका योजनाहरू के–के छन् ? 

म भविष्यमा पनाचे रनवेमार्फत नयाँ–नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउन चाहन्छु । यसका लागि मैले काठमाडौंलाई पनि मुख्य बजारका रूपमा लिएको छु । 

 

नेपालको फेसन डिजाइनिङ उद्योगको भविष्य कस्तो देख्नुहुन्छ ? 

मैले नेपालको फेसन उद्योगमा सात वर्ष बिताइसकेको छु । यो अवधिमा यो क्षेत्रमा आमूल परिवर्तन आएको मैले आफैंले देखेको छु । नेपालको फेसन डिजाइनिङ उद्योग दिन–प्रतिदिन उकालो चढ्दैछ । त्यसैले यसको भविष्य उज्ज्वल छ । त्यसका लागि हाम्रो पनि अझ बढि योगदान रहनेछ ।

 

अन्त्यमा, नेपालको फेसन तथा मोडलिङ क्षेत्रका बारेमा तपाईंको राय के छ ? 

सिक्ने कुरा कहिल्यै सकिँदैन, आफूलाई अपग्रेट गर्दा जहिले पनि सफलता हात लाग्छ । फेसन र मोडलिङ उद्योगमा आबद्ध हरेक व्यक्ति जस्तो एजेन्सीदेखि फोटोग्राफरसम्म, मेकअप आर्टिष्टदेखि मोडलसम्म र इभेन्ट म्यानेजरदेखि कोरियोग्राफरसम्म सबैले आफ्नो पेशाप्रति कटिबद्ध हुनु आवश्यक छ । यति भए मात्र पनि नेपालको फेसन तथा मोडलिङले अन्तर्राष्ट्रिय उचाइ प्राप्त गर्न सक्नेछ । 

 

 

 

प्रकाशित :आश्विन २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्