नेपाल आइडलका ३ टुँडिखेलमा गुञ्जिदा

- साप्ताहिक संवाददाता

आश्विन १, २०७४- 

पछिल्लो समय नेपाली गीत संगीतमा सबैभन्दा धेरै चर्चा भएको एउटा पाटो हो नेपाल आईडल । नेपाल आईडलको अन्तिम प्रतिस्पर्धाका लागि ३ जना प्रतिस्पर्धामा छन् । तिनै जनाको आफ्नै प्रकारको खुशी र फ्यान छन् । उनीहरु विभिन्न कन्सर्टमा विभिन्न जिल्लामा छुट्टाछुट्टै सहभागीता जनाएर काठमाडौं फर्किए लगत्तै शनिबार राजधानीको टुँडिखेलमा एकै पटक मञ्चमा उपस्थित भए । नेपाल आईडलको मञ्च पछि उनीहरु सँगै उपस्थित भएको यो नै पहिलो मञ्च हो । 

सैनिक मञ्च टुँडिखेलमा भएको कन्सर्टमा नेपाल आइडलका टप थ्री प्रतियोगी प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पालैपालो प्रस्तुत भएका थिए । लोकप्रियताको शिखरमा रहेका तिनै जनालाई हेर्न दर्शक निक्कै बेचैन देखिएका थिए । साधना कला केन्द्र, म्युजिक एसोसिएन अफ नेपाल र वेल डान्स सेन्टरले सयुक्त रुपमा आयोजना गरेको उक्त कन्सर्टमा ललितपुरका प्रतापले नेपथ्य ब्यान्डको ‘रेस्सम...’बाट गायनको सुरुवात गर्दै बाँझो खेतसम्म पुगेका थिए । 

प्रतापपछि मोरङका निशान भट्टराईले मञ्चमा उक्लिएर आफूलाई टप थ्रि सम्म ल्याउने आफ्ना फ्यानलाई धन्यवाद दिए ।  उनले बिनाट्रयाक ‘आमाभन्दा छोरी तरुनी...’ सुनाइदिएका थिए । कुमार बस्नेतको उक्त गीतपछि उनले ‘तुलसी आागनमा रोपौंला...’ भन्दै दर्शक झुमाउन थाले । निशानले ‘यो मन त मेरो नेपाली हो...’ गाइरहादा दर्शक राष्ट्रिय झन्डा फहराइरहेका थिए ।

पोखराका बुद्ध लामा स्टेजमा आउँदा उनीसहित प्रशंसक पनि बुरुक्कबुरुक्क उफ्रिए । उनले प्रशान्त तामाङको गीत ‘अरे क्यानम...’ मार्फत प्रस्तुति सुरु गरे । आइडलमा गाएको ‘ऊ जितेर गई...’ पनि गुनगुनाउन भ्याएका बुद्धलाई प्रताप र निशानले पनि साथ दिएका थिए ।

तीनै जनाले एकअर्काको प्रस्तुतिमा सहकार्य गरिरहेका थिए । सेप्टेम्बर २२ मा कतारमा हुन लागेको ग्रयान्ड फिनालेका लागि सबै प्रतियोगीले भोट मागे । 

प्रकाशित :आश्विन १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्