एक सहर जनकपुर

- किशोर नेपाल

भाद्र ३१, २०७४-

 

 

 

संघीय गणतन्त्र नेपालको मधेस प्रदेश (२ नम्बर) अहिले चुनावमा व्यस्त छ । वीरगन्ज, कलैया, निजगढ, चन्द्रनिगाहपुर, गौर, नवलपुर, मलंगवा, लालबन्दी, बर्दिबास, गौशाला, जलेश्वर, पिपरा, जनकपुरधाम, ढल्केबर, मिर्चैया, गोलबजार, लहान, राजविराज, भारदहलगायतका सहर–बजार चुनावी संगीतले गुन्जिएका छन् । कोसीदेखि गण्डकसम्म फैलिएको मधेस प्रदेश सांस्कृतिक रूपले सम्पन्न मात्र छैन, कतिपय हिसाबले मौलिक पनि छ । जसरी अरू प्रदेशका चारित्रिक एवं भाषिक विशेषता छन् त्यसरी नै मधेस प्रदेशका पनि आफ्नै चारित्रिक विशेषता छन् । यो स्पष्ट हुनु जरुरी छ, मधेस प्रदेशको प्रभाव २ नम्बरमा मात्र सीमित छैन । परासी, भैरहवा, तौलिहवा, लुम्बिनी, कृष्णनगर, नेपालगन्ज, बर्दिया, कैलाली र कञ्चनपुरका भूभागमा पनि मधेस संस्कृतिको बाहुल्य छ । यो नै नेपाल हो । यो नै नेपालको विशिष्टता र विचित्रता दुवै हो ।

 

विराटनगर, जनकपुर, वीरगन्ज र नेपालगन्ज— मधेस तराईका यी चार सहरको पहिचान राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको बनिसकेको छ । यी चार सहरलाई कुनै एक क्षेत्रसँग जोडनुभन्दा पूरै देशसँग जोड्नु न्यायोचित हुनेछ । जुन बस्तीहरूमा फैलिने चरित्र हुन्छ ती सहरका रूपमा विस्तार हुन्छन् । देश–विदेशका ठूला सहरहरू विविध राष्ट्रियताका प्रतिनिधि हुन् । हाम्रो काठमाडौं र पोखरा, भारतको मुम्बई, जयपुर, कोलकाता र अन्य सहर, चीनको साङ्घाई, बेइजिङ र हङकङ, अमेरिकाको न्युयोर्क र लसएन्जेल्स, फ्रान्सको पेरिस, बेलायतको लन्डन, जर्मनीको बर्लिन : सहरका आ–आफ्नै स्वरूप छन् । संसारमा कति नयाँ सहर जन्मिँदैछन्, कति पुराना सहर खण्डहर भैसके, यो सानो स्तम्भमा ती सबैलाई समेट्न सम्भव पनि छैन । 

 

जनकपुरको कथा बेग्लै छ । यो सहर मात्र नभएर मानिसको आस्थाको धाम हो । त्रेतायुगको कथाअनुसार अयोध्या नरेश दशरथका छोरा रामले मिथिला नरेश राजर्षि जनककी कन्या सीतासँग विवाह गरेका थिए आफ्नो शक्ति र सामथ्र्यको प्रयोग गरेर । रामले शिवको धनुष भाँचिदिएका थिए । राजर्षि जनकले उक्त प्रतिस्पर्धालाई धनुषको प्रतिष्ठासँग जोडी दिएका थिए । सम्भवत: त्यही बेलादेखि रोटी–बेटीको सम्बन्ध पनि सुरु भयो । हाम्रा ‘बेटी’ उताका रोटी खान गए । उनका ‘बेटी’ यताको भात खान आए । कथा त मिथ नै हो । मिथ भए पनि यसको सत्य अनावृत भैसकेको छ । कतै न कतै सत्यको अंश नभै कथा त बन्दै बन्दैन ।

 

जनकपुरधाम खुला सहर थियो । अहिले पनि यो खुम्चिएको छैन । बाह्र बिघा सार्वजनिक मैदान खुम्चिएर कति बिघामा झर्‍यो ? त्यसको हिसाब–किताब अहिलेसम्म भएको छैन । खुला सार्वजनिक मैदान मिचेर त्यहाँ समुदायका लागि आवश्यक सरकारी भवन बनाउनु गलत हो । यो गल्ती सरकारले पटक–पटक गरेको छ । मन्दिर भनेको राजादेखि रंकसम्म, सबै मानिसको आस्थाको शिविर हो । त्यस्तो धरोहर कसैको अधीनमा रहनु राम्रो होइन ।

 

जानकी मन्दिरलाई महन्तहरूको सामन्तवादबाट मुक्त गरेर स्वतन्त्र मानिसहरूको ट्रस्टले सञ्चालन गर्ने व्यवस्था हुनुपर्छ । मन्दिरको आम्दानी मन्दिरकै विकासमा लगाइनुपर्छ । त्यसले मन्दिरलाई मात्र होइन, विशाल र उदार मिथिला संस्कृतिको पनि संरक्षण हुन्छ । मन्दिरलाई महन्तको राजनीतिबाट मुक्त गर्नु संघीय राजनीतिको पहिलो आवश्यकता हो ।

 

हाम्रा साथी पत्रकार रामाशिष यादव अहिले जनकपुरको कायाकल्प गर्न सक्रिय छन् । उनी गंगासागरलाई व्यवस्थित गरेपछि धनुषाधामको सुधारमा लागेका छन् । गंगासागरको परिसर अहिले सफा छ र पानी कञ्चन छ । साँझ जनकपुरवासी गंगामैयाँको आरतीमा समावेश हुन्छन् ।

 

यो नियमित आरतीले एउटा सन्देश प्रवाहित गरेको छ जनकपुरवासीको जीवनमा । अहिले सुधार कार्यको विस्तार हुँदै गएकाले थोरै समयमा जनकपुर महत्वपूर्ण धामका रूपमा स्थापित हुने निश्चित भएको छ । तीर्थाटनका लागि जनकपुर जाने जो–कसैका लागि पनि ‘परिक्रमा’ एउटा प्रमुख धार्मिक गतिविधि हो । रामाशिष यादव र उनका सहयोगीहरूले यो तथ्यलाई मनन गरेर सवारी साधनबाट परिक्रमा गर्न सकिने स्थिति सिर्जना गरे भने जनकपुरको आकर्षणमा गजबको आकर्षण थपिनेछ ।

 

असोज २ गतेको चुनावमा जनकपुरवासीले आफ्नो सहरका लागि मेयर छान्दैछन् । उनीहरूले छान्ने मेयरमा पक्कै पनि सहरी विकासको सुझबुझ हुनेछ । नयाँ नेतृत्वमा जुनसुकै दलको जो–सुकै चुनिएर आए पनि विगतको जस्तो ‘जे पायो त्यही’ विकास गर्ने परिपाटीको अन्त्य हुनुपर्छ । त्यसो भएन भने यो जनकपुरको दुर्भाग्य हुनेछ । जनकपुर सहर मात्र होइन । यो एउटा आकर्षण हो । यो धर्म हो । यो मीठो रोमान्स हो । यो मानव जातिको इतिहासको साक्षी सहर हो । यसलाई नयाँ पुस्तासँग जोड्नु आवश्यक छ । सहर इतिहाससँग जोडिएर मात्र बाँच्न सक्दैन । भविष्यसँग नजोडिएसम्म कुनै पनि सहर पूर्ण हुँदैन ।

 

 

प्रकाशित :भाद्र ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्