फेसनमा डिफरेन्स लुक

- साप्ताहिक संवाददाता

भाद्र २९, २०७४-

 

यतिबेला फेसनको रंग, आयतन र बान्कीमा थरीथरीका शैली भित्रिएका छन् । कोही अस्वभाविक लामो टिसर्ट, लुज पाइन्ट, खुट्टाको आकारभन्दा ठूलो जुत्तामा ठाँटिएका छन्, कोही निख्खर कालो रंगमा पोतिएका छन् भने कोही ब्ल्याक एन्ड ह्वाइट कम्बिनेसनमा सजिएका छन् । यस्तो पहिरन शैलीसँग हेयर स्टाइलदेखि एक्सेसरिजसम्मको बेजोड तालमेल देखिन्छ ।

 

साप्ताहिकले काठमाडौंको स्ट्रिट (सडक) फेसनको खोजीनिती गर्ने क्रममा दरबारमार्गमा एक विचित्रका किशोर भेटिए, जो बब मार्ली चित्रांकित कालो टिसर्ट, कम्मरमा बाँधिएको प्रिन्टेट सर्ट बाँधेका, कालो फिटिङ्स धुजा–धुजा पाइन्टमा ठाँटिएका थिए । सिउँदो छाडेर दुवै कान माथिको केस खौरिएका, सिउँदोलाई धारिलो बनाएर ठड्याएका ती किशोरको गर्धनमा चराको ट्याटु खोपिएको थियो । उनकै भाषामा यो ‘पंकी स्टाइल’ हो ।

 

एकथरी किशोर पुस्ताले आफ्नो आवरण पंकी स्टाइलमा ढालेका छन्, अर्काथरीले गोथेक शैलीमा रंगाएका छन् । घतलाग्दो त के छ भने, यस्तो शैली मध्ययुगतिरै देखा परेको थियो, जसलाई आधुनिक पुस्ताले फेरि ब्युँताएको छ । फेसनविज्ञहरू भन्छन्— उनीहरूको यो रहस्यमय गेटअप प्राचीन फेसनको पुनरावृत्ति हो ।

 

फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियाको टिप्पणी छ– ‘समयसँगै फेसनमा नयाँ कुरा भित्रिने होइन, बरु पुरानै कुरा दोहोरिने हो ।’ फेसनको यही चक्रले बजारलाई सधैं चलायमान बनाइरहेको हुन्छ । तेन्जिनले भनेजस्तै अहिले किशोर पुस्ताको फेसन स्टाइलमा प्राचीन फ्लेवर भेटिन्छ । जस्तो कि गोथेक शैली ।

 

यतिबेला निख्खर कालो लुगा र जुत्ता लगाउने शैली छाएको छ । त्यसमाथि कालो नेलपोलिस, कालो गाजल तथा कालै लिपिस्टिकले उनीहरूको गेटअप विचित्रको देखिन्छ । हातमा बोक्ने झोला होस् वा गलामा लगाउने माला नै किन नहोस् सबै कालै हुनुपर्छ । मध्ययुगिन फेसनको यस्तो शैली खासगरी ‘भूतमा विश्वास गर्नेहरू’ले रुचाउने तर्क पनि गरिन्छ ।

 

श्वामश्वेत रंगलाई शान्त वा निराशाको प्रतीक मानिन्छ । यद्यपि अहिले एउटा ठूलो जत्था छ, जो ब्ल्याक एन्ड ह्वाइट फेसनमा रमाइरहेको छ । एकरूपता झल्कने गरी सेतो पाइन्ट र कालो टिसर्टमा ठाँटिन्छन्, उनीहरू । यसमा जुत्ता वा चप्पलको रंग संयोजन पनि मिलाइएको हुन्छ । कतिसम्म भने, मुख छोप्ने माक्समा समेत कलर कम्बिनेसन देखिन्छ । यस्तै गेटअपमा भेटिएकी थिइन्— रुमी बस्नेत ।

 

जोरपाटीको बज्र कलेजमा अध्ययनरत रुमीले समर सिजनसँगै आफूलाई ब्ल्याक एन्ड ह्वाइटमा ढाँलेकी हुन् । ‘यस्तो कम्बिनेसनले ट्रेन्डी देखाउँछ’ रुमीको अनुभव छ– ‘साथै कम्र्फटेबल पनि ।’ उनीसँग यस्तो पहिरनको केही कलेक्सन छ । त्यस्तै अर्का पात्र हुन्— विजय राई । छड्के पारेर लगाइएको हिपहप क्याप, सेतो टिसर्ट, कालो पाइन्ट र कालै चप्पल पहिरिएका राईले देखासेखीमा यस्तो कम्बिनेसन मिलाएको बताए । रुमी र विजय जस्तै ‘ब्ल्याक एन्ड ह्वाइट’मा ठाँटिनेहरू अहिले बग्रेल्ती फेला पर्छन् ।

 

किशोर–किशोरीका कतिपय जत्था यस्ता हुन्छन्, जसको पहिरन एकअर्कासँग दुरुस्तै मिल्छ । जोडीमा हिँड्ने यी किशोरहरूको पहिरनको रंगमा मात्र एकरूपता हुँदैन, प्रिन्ट र आकार–प्रकार पनि उस्तै हुन्छ । 

 

यस क्रममा कतिपय तन्नेरीको फेसन शैली एकदमै पृथक पाइन्छ । उनीहरूको हेयरस्टाइल तथा मेकअप अनौठो छ । शरीरभरि ट्याटु खोपाएका अनि नाक, कान, जिब्रो तथा आँखीभौंमा पियरसिङ गराएका एकाध तन्नेरी यही गेटअपका कारण सेलिब्रेटीजस्तै चर्चामा समेत छन् ।

 

फेसनको सर्वव्यापी धारणा के छ भने, यो समयानुकूल हुनुपर्छ । यद्यपि, अहिलेको फेसनेवल पुस्तालाई ती कुराको ‘वाल मतलब’ छैन ।

 

नेपालमा गार्मेन्ट

नेपालमा सन् १९८० को दशकमा गार्मेन्ट उद्योग भित्रिएको पाइन्छ । ८० को दशकदेखि २००२ सम्मको कालखण्डलाई गार्मेन्ट व्यवसायको स्वर्णिम युग मानिन्छ । उक्त अवधिमा औपचारिक रूपमा १५ सयभन्दा बढी उद्योग दर्ता भएका थिए । नेपालबाट निर्यात हुने हुने वस्तुमा तयारी पोसाकजन्य वस्तु दोस्रो स्थानमा थियो । 

 

फेसन फ्याक्ट

 

 विश्वको मुख्य चार फेसन सहरका रूपमा न्युयोर्क, लन्डन, मिलान र

पेरिस प्रख्यात छन् ।

 

 पुरुषको सर्टको बटन दायाँतिर हुन्छ भने महिलाको देब्रेतिर हुन्छ ।

 

 संसारमा वर्षमा २ विलियन टिसर्ट बिक्री हुन्छन् ।

 

 फेसन उद्योगबाट संसारमा बर्सेनि औसत २० मिलियन डलर राजस्व संकलन हुने गरेको छ ।

 

 दोस्रो विश्वयुद्धसम्म महिलाले सर्ट लगाउनु स्वीकार्य थिएन ।

 

 पाँच सबैभन्दा आम कपडामा लिनन, कपास, पोलिस्टर तथा रेयन हुन् ।

 

 विभिन्न समय र सन्दर्भमा भिन्न–भिन्न पहिरन उपयोगमा ल्याइन्छ ।

 

 विश्वमा पहिरनको अनेक शैली एवं ढाँचा प्रचलित छन् ।

 

 जब हामी दुखी वा खुसी हुन्छौं, त्यही मुडअनुरूप आवरण पनि परिवर्तन गर्न चाहन्छौं ।

 

 औसत अमेरिकीसँग ७ थान नीलो रंगको जिन्स पाइन्ट हुन्छ ।

 

 फेसनको अर्थ शैली र गुणस्तर पनि हो । 

 

फेसन सुरु गर्नेहरू

फ्रान्सका राजा लुइस तेह्रौंले आफ्नो तालु खुइले टाउको छोप्न नक्कली केश लगाएका थिए । त्यसको केही समय बित्न नपाई युरोपेली कुलिन वर्गले आफ्नो टाउको मुडुलो पारेर नक्कली केस लगाउन थाल्यो । यो स्टाइल एक शताब्दीभन्दा लामो समयसम्म कायम रह्यो ।

 

१९ औं शताब्दीमा महिलासम्बन्धी पत्रिकाले फेसनलाई थप व्यापक बनायो । त्यसपछि चलचित्र तथा टेलिभिजनको प्रभावले फेसनमा नयाँ–नयाँ अभ्यास भए । लोकप्रिय व्यक्तिहरूले उग्र स्टाइल अपनाउन थाले जसलाई युवाहरूले तत्काल अनुसरण गर्दै गए ।

 

पहिरनको इतिहास 

 

मानिस सभ्यताको प्रारम्भसँगै पहिरनमा अभ्यस्त हुन थालेको पाइन्छ । प्रारम्भिक चरणमा 

मानिसले रुखको बोक्रा, पात र जनावरको छालाले आफ्नो शरीर ढाकेको इतिहास छ । आफ्नो आवरण राम्रो देखाउने मनोविज्ञानले नभै चिसो, तातो, झरी आदिबाट ज्यान जोगाउन त्यसो गरिएको अनुमान गरिन्छ । 

 

प्राचीन मिश्रमा स्थानिय प्रविधिबाट उत्पादित पारदर्शी कपडा धेरैले रुचाएका थिए । उक्त पहिरन गर्मी मौसमका लागि धेरै उपयोगी मानिन्थ्यो । रंगाउन नमिल्ने सेतो सुती कपडालाई त्यसको रूपरेखा राम्रो होस् भनेर मुजामुजा बनाइन्थ्यो । यसरी सबैभन्दा चिरकालीन स्टाइलको जन्म भयो ।

पहिलो शताब्दीतिर नयाँ कपडा र रंग उपलब्ध भैसकेको थियो । यद्यपि ती कपडा असाध्यै महँगा हुन्थे, जसलाई कुलिन वर्गले मात्र खरिद गर्न सक्थे । बुनेको रेसम निकै महँगो कपडा मानिन्थ्यो र त्यो धनाढ्यहरूले मात्र लगाउँथे ।

 

टायरको रंगीन ऊन पनि महँगो फेसनेबल पहिरनमा दरिएको थियो । त्यसको मूल्य यति महँगो थियो कि उक्त मूल्य चुकाउन एक जना साधारण कामदारले ६ वर्ष लगातार काम गर्नुपर्ने हुन्थ्यो । १९ औं शताब्दीमा धनी र गरिब सबैका लागि पहिरन उत्पादन गर्ने कारखानाहरू खुले । यस क्रममा सुती कपडा उत्पादन गर्ने मेसिनको आविष्कार भयो भने कपडा बुन्ने उद्योगहरू खोलिए । यससँगै कृत्रिम रंगहरूको उपलब्धताले कपडाको मूल्य घटाइदियो । सन् १८५० को तयारी पहिरन बिक्री हुन थाले । १९ औं शताब्दीमा चाल्र्स फ्रेडरिक वर्थले फेसन शोको सिलसिला सुरु गरे । २० औं शताब्दीमा रेयन, नाइलन तथा पोलिस्टरजस्ता नयाँ–नयाँ कृत्रिम रेसाको प्रयोगबाट थरीथरीका कपडा बनाइन थालियो ।

 

 

 

प्रकाशित :भाद्र २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्