नेपालमा गाडीका अनौठा सौखिन छन्

- जनक तिमिल्सिना

भाद्र २७, २०७४- 

काँकडभिट्टाका आशिष प्रसार्इं अटो मोबाइल्स, एभिएसन तथा एम्युनेसन भनेपछि हुरुक्कै हुन्छन् । सानैदेखि बीबीसी टेलिभिजनबाट प्रसारण हुने ‘टप गेयर’ कार्यक्रम हेर्दै हुर्किएका आशिषले पछि कान्तिपुर टेलिभिजनमा ‘लाइसेन्स टु ड्राइभ’ शीर्षकको अटोमोबाइल्ससम्बन्धी कार्यक्रम चलाए । आशिषले जापानको आईएमएस कलेजबाट अटो मोबाइल्सको औपचारिक शिक्षासमेत हासिल गरे । उनले नेपालमा आइडिया फ्याक्ट्री लिमिटेड नामक कम्पनी स्थापना गरेका छन्, जसले अटोमोबाइल्ससम्बन्धी आइडिया जेनरेट गर्ने, रिसर्च गर्ने तथा कन्सल्ट्यान्ट सेवा उपलब्ध गराउने काम गर्छ । ‘नेपाल लाइट आर्मर भेइकल’ नेपाल आफैंले बनाउने कन्सेप्टसहितको प्रपोजल उनले नेपाल आर्मीलाई बुझाएका छन्, जसमा नेपाली सेनालाई युद्धमा चाहिने गाडीहरू नेपालमै बनाउन सकिने अवधारणा समेटिएको छ । ‘उक्त प्रपोजल पास पनि भएको थियो, सम्भवत: चाँडै काम सुरु हुन्छ,’ उनले सुनाए । आशिषसँग साप्ताहिकले दसैंको यो सेरोफेरोमा गाडीसम्बन्धी नै कुराकानी गरेको थियो ।

 

नेपालमा गाडी चढ्नेहरू ह्वात्तै बढ्नुको कारण के होला ? 

गाडी त्यसै पनि फेसन तथा ग्ल्यामरसँग जोडिएको हुन्छ । गाडी रहरभन्दा पनि आवश्यकता भैसकेको छ । गाडी चढ्ने व्यक्तिको पर्सनालिटी झल्कन्छ, गाडी चढ्ने मानिसलाई समाजले अलि फरक तरिकाले लिन्छ । गाडी चढ्दा सामाजिक प्रतिष्ठामा समेत फेभर हुने भएकाले मानिसहरू यसतर्फ आकर्षित भएका पाइन्छन् । फाइनान्सको भरमा सजिलै गाडी उपलब्ध हुने भएकाले पनि गाडी चढ्ने मानिसहरू ह्वातै बढेका हुन् । 

गाडी किन्दा के कुरामा ध्यान पुर्‍याउनुपर्छ ? 

आफ्नो घरमा पार्किङ स्पेस कत्रो छ, आफ्नो एक महिनाको कमाइ कति छ, गाडी कुन प्रयोजनका लागि चढ्न लागिएको हो, परिवारमा कति सदस्य छन् जस्ता आधारमा कस्तो गाडी किन्ने निर्णय लिनुपर्छ । नेपालमा थोरै मात्र मानिसलाई यसको आइडिया छ । विदेशतिर गाडी किन्नुअघि कन्सल्ट्यान्टको सहयोग लिइन्छ । त्यहाँ गाडी किन्नुअघि काउन्सिलिङ लिन पाइन्छ । नेपालमा अहिलेसम्म त्यस्तो व्यवस्था छैन । विभिन्न अफर तथा स्किम आदि देखेर मानिसहरू नयाँ आएका गाडीतर्फ आकर्षित भैरहेका छन् । गाडी किन्ने र गाडी चढ्ने सही तरिका अनि आफ्नो आवश्यकतालाई विश्लेषण गरेर, आफ्नो आम्दानी र गाडीको खर्च क्याल्कुलेसन गरेर तथा गाडीको प्रयोगलाई डिटेल रूपमा रिसर्च गरेर मात्र गाडी चढ्नेहरू भने निकै कम छन् । 

ट्राफिक जामको समस्या पनि उत्तिकै छ नि होइन ? 

नेपालमा गाडीको ट्याक्स निकै उच्च छ । राज्यले राजस्व आउँछ भने नयाँ गाडी थपिरहेको छ तर ती गाडीलाई व्यवस्थापन गर्न त्यो आधारमा सडक निर्माण एवं मर्मत–सम्भार गरिरहेको छैन । काठमाडौंको भ्याली अनि हाइवे छाडेर भित्र कुनै पनि सडकको अवस्था दुरुस्त छैन । सडक व्यवस्थापन छैन, ट्राफिक लाइट तथा ट्राफिक कानुन फ्लो गर्नेहरू निकै कम छन् ।  ट्राफिक व्यवस्थापनका लागि नेपालले जस्ता कानुन तथा नीति बनाउनुपथ्र्यो, त्यो बनेको छैन । भएका नियम–कानुनहरू पनि कार्यान्वयन भएका छैनन् । कार्गो गाडी र लेन आदिलाई कसरी विभाजन गर्ने भन्ने कुरासम्म बल्ल प्रयोगमा आउन थालेको छ । 

२ सय ५० प्रतिशत भ्याट तिर्नुपरे पनि मानिसहरूमा गाडी मोह बढ्नुलाई कसरी लिन सकिन्छ ? 

नेपालले डब्लूटीओमा हस्ताक्षर गरेको छ । नेपालमा मानिसहरू यति धेरै ट्याक्स हुँदा पनि गाडी चढिरहेका छन् । भारतमा १५ लाख पर्ने गाडीलाई नेपालमा ६०/७० लाख पर्न जान्छ, नेपालीहरू त्यति चर्को मूल्य तिरेर पनि गाडी चढिरहेका छन् । यहाँ मिनिमम ब्याजमा गाडी लिन पाइन्छ । त्यसैले पनि मानिसहरू गाडी किनिरहेका छन् । भ्याटको हिसाबले हेर्दा नेपालको जस्तो देशमा सेकेन्ड ह्यान्ड गाडी चलाउनुपर्ने हो । अफ्रिकन मुलुक, बंगलादेश आदिले जापानबाट सेकेन्ड ह्यान्ड गाडी इम्पोर्ट गर्छन् तर नेपालमा अहिलेसम्म सेकेन्ड ह्यान्ड गाडी इम्पोर्ट गर्ने काम भएको छैन । भारतीय गाडीको सेल्स घट्ने भएका कारण अनि नेपाल भारतको पोलिसीमाथि बढी डिपेन्डेन्ट हुनुपरेका कारण नेपालमा सेकेन्ड ह्यान्ड गाडी आउन दिइँदैन । यदि जापानजस्तो देशबाट सेकेन्ड ह्यान्ड गाडी इम्पोर्ट गर्न सके हामीलाई नै फाइदा हुन्छ । त्यसरी गाडी इम्पोर्ट गर्ने धेरै प्रयास भए तर सफल भएन । त्यसमा राम्रै चलखेल भयो । यदि १०–१५ लाखमा मर्सिडिज बेन्च चढ्न पाइन्छ भने २५ लाख हालेर किन भारतीय चढ्ने ? यसले भारतीय गाडीको मार्केट डम्प हुने भयो । अहिलेको दिनमा नेपालमा भारतको भन्दा चीनको गाडी सस्तो पर्छ । रनर बाइक बंगलादेशको चर्चित ब्रान्ड हो । जेस भेइकलले (ब्याट्रीवाला) नेपाल आउन धेरै प्रयास गर्‍यो, जुन नेपालका लागि सुटेबल पनि छ । यस्ता कुरामा सरकारले पोलिसी बनाउन सक्यो भने नेपाली जनतालाई नै फाइदा हुन्छ । 

नेपालको सडकमा कस्ता गाडी सुहाउँछन् ? 

नेपालीहरू सेडान, स्मोथ सलुन गाडीहरू चढ्न रुचाउँदैनन्, किनभने तिनको ग्राउन्ड क्लियरेन्स कम हुन्छ । सानो खाल्टोमा पनि गाडी टच हुन्छ । मानिसहरूका लागि गाडी आफ्नो शरीरको अंगजत्तिकै प्यारो हुन्छ । जस्तोसुकै गाडी चढे पनि मानिसहरू त्यसलाई निकै माया गर्छन् । नेपालका सडकलाई मध्यनजर गरेर प्राय:जसो नेपालीले ग्राउण्ड क्लियरेन्स धेरै भएको गाडी रोज्छन् । काठमाडौंको सडकलाई टार्गेट गरेर नेपालीहरूले अहिले ह्यास ब्याकमा कुपे गाडीहरू, स्मल सेडान, कम्प्याक्टर आदि गाडी रोजिरहेका छन् । पार्किङमा सजिलो, स्पेस बढी भएको ह्यास ब्याक छ भने त्यस्ता गाडी बढी बिक्री हुन्छन् । बिजनेस पर्सन तथा शो बिजनेसका मानिसहरू स्मुथ गाडी अर्थात् सेडान प्रयोग गर्छन् । कन्स्ट्रक्सनमा लागेकाहरू टोयटा, ल्यान्डक्रुजर जस्ता फोर ह्विल गाडी प्रयोग गरिरहेका छन् । नेपालको सडकमा यही नै गाडी सुट हुन्छ भन्न सकिँदैन । पहाडी एरियामा स्कारपियो, म्याक्स, बलेरोजस्ता गाडी 

उपयुक्त हुन्छन् । 

 

नेपालमा गाडीका सौखिनहरू कस्ता–कस्ता छन् ? 

धनाढ्य मानिसको एउटा बिजनेस कार हुन्छ, जसलाई उसले अफिसका लागि प्रयोग गर्छ । अर्को फ्यामिली कार हुन्छ, जुन वाइफ तथा नानीहरूका लागि प्रयोग हुन्छ । एउटा अप्सनल, कनभर्टेबल र टुसीटर कार हुन्छ, त्यो गाडीलाई होलिडेमा युज गर्ने गाडीका रूपमा राखिएको हुन्छ । नेपालमा कार कलेक्सन गर्ने धनाढ्यहरू पनि छन् । एन्टिक गाडीदेखि युनिक गाडीहरू घरमा सजाउने तथा अटो मोबाइल्समा रिसर्च गर्ने मानिसहरूको पनि कमी छैन । नेपालमा अटो मोबाइल्सप्रतिको क्रेज कतिसम्म छ भन्ने कुरा त नाडा अटो शोले नै देखाउँछ । भुइँचालो आएको साल पनि अटो सो सफल भयो । सौखका हिसाबले गाडीको अप्सन फरक–फरक हुन्छ । नेपालमा एक्पेन्सिभ गाडी इम्पोर्ट गर्न गार्‍हो छ, किनभने ट्याक्स निकै धेरै छ । महँगा गाडीका सौखिनहरू त्यस्ता गाडी होलिडे मनाउन विदेश जाँदा महँगो मूल्य तिरी रेन्टमा चलाएर फर्कन्छन्, त्यस्ता मानिस नेपालमा निकै छन् । नेपालमा विदेश गएर गाडीका शो रुमहरू भिजिट गर्ने, गाडी चढ्नका लागि मात्र विदेश जाने, अटो शोहरू हेर्न जानेहरू पनि प्रशस्तै छन् । 

नेपालीहरूले रुचाएको उत्कृष्ट पाँच ब्रान्ड कुन–कुन होलान ? 

मारुती सुजुकी सबैभन्दा बढी बिक्री हुन्छ । सस्तो सेगमेन्टको तथा स्मल साइजजस्ता कारणले यसलाई धेरैले मन पराइरहेका छन् । मारुतीका अल्टो, भेगनार, ब्रेजा, सेडान आदि गाडीहरू बढी बिक्छन् । दोस्रोमा टाटाको स्मल सेगमेन्टका गाडीहरू चलिरहेका छन् । युरोपियन गाडीमा स्कोडा, फियट पनि बिक्री हुन्छन् । सबै गाडी राम्रै बिक्री भैरहेका छन्, यही नै उत्कृष्ट छ भन्न मिल्दैन । अहिले ह्यासब्याग ट्रेन्डमा छैन, तर सेल्स त भैरहेकै छ । चल्दै नचलेको स्टेसन भ्यागन हो । जिपमा स्कारपियो, एसयुबी ५००, हाइलक्स, स्याङ योङ, फोर्डको रेन्जर आदि पनि नेपालीहरूद्वारा रुचाइएका गाडीमा पर्छन् । नेपालीहरूले किन्न सक्छन् भन्ने कुरा अनुसन्धानमार्फत पत्ता लगाएर नै डुकाटीजस्तो टु 

ह्वीलर पनि सफल भैरहेको छ । किन्न सक्ने क्षमता नभएको भए डुकाटीजस्तो ब्रान्ड कसरी नेपाल आउँथ्यो ? बेनिली आयो, बीएमडब्ल्यू आउँदैछ । साउथ अफ्रिकामा डम्प भएका केही गाडी नेपाल, भुटान, बंगलादेशजस्ता सेटिङ गर्न सकिने 

देशमा पठाइन्छ । 

गाडीका विश्वप्रसिद्ध ब्रान्डहरू नेपाल ल्याउने ट्रेन्ड कस्तो छ ? 

एजेन्सीहरू महँगा गाडी ल्याएर बिक्री गर्न तयार छन् । भोलिको दिनमा नेपाल राम्रो मार्केट भयो भने रेन्ज रोभर र ज्यागुअर आउने सम्भावना छ तर, नेपालमा आउने तेल त्यति गुणस्तरीय छैन, नेपालीहरूको पर्चेजिङ पावर अझै पनि त्यति हाई नभएकाले ती गाडी अहिले नै नेपाल आउने सम्भावना भने छैन । औडी ब्रान्डका गाडी कहिलेकाहीँ देखिन्छ, मर्सिडिज हाई ब्रान्ड भारतबाट आउने हो । सीमावर्ती क्षेत्रका मानिसहरूले भारतमा कुदिइरहेका ठूला ब्रान्डका गाडी पनि नेपाल भित्र्याइरहेका छन् । 

नेपालमा धनीहरूले चढिरहेका प्रमुख ब्रान्ड ? 

बीएमडब्लू एसेसरिजका गाडीहरू छन्, दुई चार जनाले चढिरहेका छन् । मर्सिडिजको अथोराइज्ड एजेन्सी नेपालमा छ, त्यसैले नेपालीहरूले मर्सिडिजका हाई क्लास गाडीहरू चढिरहेका छन् । रेन्ज रोभर, इभोक, टोयटाजस्ता ब्रान्डका गाडी पनि धनी नेपालीहरूले चढिरहेका छन् । चार/पाँच करोडसम्मका गाडी चढ्ने मानिस नेपालमा छन् । एम्बेसीहरूले अक्सनबाटै भए पनि राम्रा गाडी किनिरहेको पाइन्छ । 

मेन्टेनेन्सको अवस्थाचाहिँ कस्तो छ ? 

गाडी लञ्च भएर शोरुममा आउनुअघि मेकानिक्सलाई ट्रनिङ  दिइन्छ । नेपालका कुनै पनि शो रुमले नयाँ मोडलको गाडी ल्याउँदा त्यो गाडी ल्याउने कम्पनीको चिफ मेकानिक्सलाई लिएर स्पेशल ट्रेनिङ गराउँछन् । त्यसरी ट्रेनिङ लिनेहरूले नै नेपालका अरू मेकानिक्सलाई ट्रेनिङ गराउँछन् तर काठमाडौंमा मात्र ट्रेनिङ गराएर हुँदैन, ठाउँ–ठाउँका ग्यारेज तथा शाखाहरूमा समेत तालिम गराउनुपर्छ । जापानी गाडी भने बनाउन सहज छैन । ती गाडीका लागि सर्भिस सेन्टरहरूमा पनि राम्रा र पोख्त मेकानिक्सको अभाव छ । 

गाडीमा नेपालीहरूलाई कस्ता फिचर्स मन पर्छन् ? 

कुनै पनि मोडलको गाडी लन्च गर्दा चारदेखि पाँचवटा भेराइटी दिइन्छ । कम्तिमा तीन वटा नर्मल, सेमी र फुल अप्सन । अहिले त्यसबाट पनि नभ्याएर फुल लोडेड लिने भनिन्छ । यी सबै मार्केटिङका फन्डा हुन । एउटा गाडीको एउटा सानो फिचर चेन्ज हुँदा पनि गाडीको मूल्यमा धेरै फरक पर्छ । पैसा नचिन्नेहरू अप्सनल गाडी चढ्छन् । गाडीको सबैभन्दा महत्वपूर्ण पक्ष सेफ्टी, राम्रो क्रयापल जोन भएको, क्रयाप्सेबल स्टेयरिङ, इम्प्याक्ट पोइन्टहरू राम्रो भएको, एसआरएस एरोब्याक बढी हुनु हो । गाडी खरिद गर्दा फिचरमा भन्दा बढी सेफ्टीमा ध्यान पुर्‍याउनुपर्छ । फिचरमा त राम्रो एसी, बाहिरको साउन्ड, पानी र धूलो भित्र नछिर्ने, राम्रो म्युजिक सिस्टम, सुविधासम्पन्न सिट, सबै रिमोटबाट चल्ने आदि सुविधा सबैले मन पराउँछन् । यस्तै गाडीका लागि बढी पैसा पनि तिर्नुपर्छ । 

गाडी चढ्ने नेपालीहरूको बढ्दो संख्याका सकारात्मक पक्ष के हुन् ? 

गाडीले समृद्धि र विकासलाई संकेत गर्छ । कुनै पनि देशको सोसल भ्यालुलाई पनि त्यो देशमा रहेका गाडीले देखाउँछन् । फरारी, ल्यामोजिनजस्ता गाडी नेपालमा कुद्न थाले मान्नुपर्छ कि यहाँको बाटो राम्रो भयो । यसले आर्थिक वृद्धिलाई पनि ठूलो टेवा पुर्‍याइरहेको हुन्छ ।

 

प्रकाशित :भाद्र २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्