औपचारिकतातर्फ फुटसल

- साप्ताहिक संवाददाता

भाद्र २६, २०७४- 

मनोरञ्जन र त्यसको पनि सीमा नाघेर जुवाको स्वरूप लिन थालेको फुटसल अब औपचारिकतातर्फ प्रवेश गर्दैछ । अझ भनौं, फुटसललाई गम्भीर ढंगले लिने दिन पनि आएको छ । शारीरिक रूपमा तन्दुरुस्त हुन ख्यालख्यालमै खेल्न थालिएको फुटसलबाट पनि अब देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर जुट्ने भएको छ । यी सबै पृष्ठभूमिमा नेपाली फुटसलसामु आफैंमा मनोरञ्जनका लागि खेल्ने खेलको परिचयबाट बाहिर आउने चुनौती थपिएको छ । 

अहिले राष्ट्रिय फुटसल लिग चलिरहेको छ । यो नेपाली फुटसलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो र सँगसँगै उत्तिकै महत्वको पनि । अखिल नेपाल फुटबल संघ (एन्फा) तथा इभेन्ट म्यानेजमेन्ट संस्था टर्नपाइक इभेन्ट्सले यो राष्ट्रिय लिगका लागि सहकार्य गरिरहेका छन् । लिग कम नकआउटका आधारमा चलिरहेको यो प्रतियोगितामा १६ वटा टिम सहभागी छन् । यसका लागि एन्फा र टर्नपाइकले पाँच वर्षका लागि १ करोड ५० रुपैयाँको अनुबन्ध गरेका छन् । 

अहिलेको प्रतियोगिताको अन्त्यपछि २५ जना खेलाडी छनौट गरिनेछ र उनीहरूलाई एक महिना लामो प्रशिक्षणमा राखिनेछ अनि त्यसकै आधारमा तयार हुनेछ, नेपालको पहिलो राष्ट्रिय फुटसल टिम र उक्त टिमले सहभागिता जनाउनेछ, एएफसी फुटबल च्याम्यिनसिप छनौटमा । छनौटको ड्र पनि निस्किसकेको छ भने उक्त प्रतियोगिता यही अक्टोबरमा सञ्चालन हुनेछ । असोजमा हुने उक्त छनौटमा नेपाल उज्वेकिस्तान, तुर्कमेनिस्तान एवं किर्गिस्तानको समूहमा परेको छ । छनौटको शीर्ष दुई स्थानमा रहने टिम सन् २०१८ को विश्व फुटबल च्याम्पियनसिपमा छनौट हुनेछन् । 

फुटसलका लागि एन्फा आफैं पनि तयार हुँँदैछ । एन्फाअन्तर्गत फुटसल कमिटी लामो समयदेखि रहे पनि अहिले मात्र यो सक्रिय हुन थालेको हो । यही कमिटीको सक्रियतामा एसियाली फुटबल महासंघ (एएफसी) सँग सहकार्य गरेर नेपालमै फुटसलका लागि आवश्यक प्राविधिक जनशक्ति तयार भैसकेको छ । यसै क्रममा रेफ्री तथा प्रशिक्षक कोर्सहरू सञ्चालन भएका छन् । यस अर्थमा अब नेपाली फुटसल साँच्चै औपचारिक स्वरूप ग्रहण गर्ने अवस्थामा पुगेको छ । 

सन् २०११ मा ठमेलमा फुटसल एरिनाको स्थापनासँगै नेपालमा फुटसलले औपचारिक प्रवेश पाएको मानिन्छ । त्यसयता यसले विशेषत: काठमाडौंमा कम समयमै लोकप्रियता प्राप्त गर्न थालेको हो । अहिले उपत्यकामै ८० जति फुटसल सेन्टर छन् भने मोफसलमा एक दर्जनजतिसेन्टर छन् । केही समयअघि फुटसलले जुवाको रूप लिएको र यसले सामाजिक समस्या सिर्जना गरेको आरोपमा छोटो समयका लागि प्रतिबन्ध खेपेको थियो, जुन लामो समय टिकेन । 

पछिल्लो समय यसले समग्र नेपाली फुटबललाई पनि ठूलो गुण लगाएको छ । लिग तथा नकआउट प्रतियोगिताको अभावमा धेरै नेपाली फुटबल खेलाडीलाई जीवन्त राख्ने काम यही फुटसलले गरेको छ । खासै नाम बाहिर नआए पनि व्यवसायिक रूपमा फुटसल खेलेर राम्रै कमाइ गर्ने खेलाडीहरूको संख्या पनि ठूलै छ । केही समयअघि मात्र १० लाख रुपैयाँ पुरस्कारसहितको फुटसल प्रतियोगिता आयोजित हुनुले पनि यही तथ्यलाई सिद्ध गर्छ । 

विश्व फुटसलको लामो इतिहास छ र यो सन् १९३० को हाराहारीसम्म पुग्छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पनि फुटसललाई गम्भीर ढंगले लिन थालेपछि यसको महत्त्व बढेको हो । फुटबल र फुटसलमा केही आधारभूत भिन्नता छ, नियमदेखि खेल्ने शैलीसम्ममा पनि, तर एउटा राम्रो फुटबल खेलाडी उत्पादनका लागि कम उमेरमा फुटसल खेल्नु बढी प्रभावशाली मानिन्छ । त्यसैले फिफासँगै एएफसीले यसलाई महत्त्व दिन थालेको हो । 

प्रकाशित :भाद्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्