मनका तन्नेरी भेडीखर्के साइँला

- आश गुरुङ

भाद्र २६, २०७४-

उमेरले साढे ८ दशक पूरा हुनै आँटे भेडीखर्के साइँला । खास नाम दीर्घराज अधिकारी । बूढ्यौली उमेरमा पनि टठ्यौली गीत गाउने उनको बानी । उनले गाउने ठाडोभाका हो । त्यतिबेला स्कुल थिएन । उमेर नपुगेसम्म गोठालो जानुपथ्र्यो । मेलापात जाँदा नौलो भाका गाइन्थ्यो । त्यही भाका मैले सिकें, भेडीखर्केले बताए । उनका अनुसार त्यतिबेला सुरिलो गलाका धनीहरू मेलापात सकिएपछि रोधी बस्थे ।

यही क्रममा भेडीखर्के सिन्दुरे तुर्लुङकोट वरिपरिका गुरुङ बस्ती तथा दुरा गाउँका रोधीमा रमाउन थाले । त्यतिबेला बाहुनका छोराछोरीलाई रोधी जान बन्देज थियो । त्यसैले युवाहरू बुवाआमाको आँखा छलेर रोधी जान्थें । रोधीमा नौलो भाका गाइन्थ्यो, उनले भने— त्यही भाकालाई पछि गएर ठाडोभाका भनियो । वि.सं. २०२४ सालमा आफ्ना बाबुआमाको मृत्यु भएपछि भेडीखर्के साइँलाले दिल खोलेर ठाडोभाकाका गीत गाए । १२ वर्षको उमेरदेखि ठाडोभाका गाउन थालेका दीर्घराज बुवाआमाको निधन हुँदा ३५ वर्षका थिए । बैंसका बेला तनहुँकी ज्ञानमाया थापामगरसँग करापुटारमा एकसातासम्म ठाडोभाका गीत गाएको सम्झना उनीसँग छ । 

लमजुङको सिन्दुरेको तुर्लुङकोटमा वि.सं.१९९० भदौ २९ गते बुवा बलभद्र तथा आमा नन्दकुमारीको कोखबाट जन्मिएका दीर्घराज बुवाको भेडीगोठमा बस्थे । बुवालाई स्थानीय बासिन्दाहरू भेडीखर्के भन्थे । तिनै भेडीखर्केको साइँला छोरा थिए दीर्घराज अधिकारी ।

नाम र कामले गाँजिरहे पनि दामले सधैं ठगिएका भेडिखर्के दमका बिरामी छन्, तर कुनै सभासमारोह तथा पूजापाठमा पुग्नेबित्तिकै उनी गाउन थाल्छन्— यसै मायाजाल, कर्पुटारै बजार....। यही भाकालाई ठाडोभाका भनिन्छ । यसको जननी अरू नै भए पनि यिनै भेडीखर्के साइँलाले त्यसलाई जोगाइराखेका छन् । पश्चिमाञ्चलको बहुचर्चित ठाडोभाका सिकाउन उनले धेरै प्रयास गरे । भतिजा तीर्थराजलाई धेरै समयसम्म सिकाउने खोजे । अरू पनि धेरै सिक्न आए । कसैमा कला थिएन, कसैमा गला । सुन्दा निकै सुमधुर र मज्जाको लाग्ने भए पनि जो कसैको जिब्रोमा झुन्डिन उत्तिकै अप्ठ्यारो छ यो भाका ।

२५ वर्षअघिसम्म भक्तिमाया दुरासँग ठाडोभाकामा रातदिन छर्लंगै हुने गरी गाएका भेडीखर्केले सबै सहयात्रीलाई गुमाएपछि पछिल्लो समय बन्दीपुरकी उत्तमकुमारी गुरुङसँग ठाडोभाका गीत गाउँदै आएका छन् । साढे ३ दशकको उमेरमा दौडिरहेकी उत्तमकुमारी र भेडीखर्केको उमेर पटक्कै मेल खाँदैन । छोरीजस्ती छे । उनी उतै, म यता । कसैले दुवैलाई बोलाएमात्र, भेट हुनै गाह्रो छ, उनले भने । उत्तमकुमारी पनि भेडीखर्केबाहेक ठाडोभाका गाउने अरू देख्दिनन् । बा (भेडीखर्के) लाई केही भैहाले ठाडोभाका मर्ने भयो । म गाउँछु भनेर कोही आएनन्, उनले भनिन् । यो भाका दुराडाँडाको ठूलोस्वाँराबाट देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङले सबैभन्दा पहिले गाएको भेडीखर्के बताउँछन् ।

वि.सं. १८५० तिर जन्मिएका दुरा र उनका सहयात्री गुरुङले प्रचलनमा ल्याएको यो भाकालाई टिपेर भेडीखर्केले जनमानसमा पुर्‍याए । देउबहादुरले पहिलो पटक प्रचलनमा ल्याएको यो भाका पहिले केटा–केटा मिलेर गाउँथे । केटा–केटा गाउँदा रौनक नआएपछि उनले केटीहरूलाई पनि यो भाका सिकाए । नेटा हाँडीगाउँकी मैरानी ठाडोभाका सिक्ने पहिलो महिला थिइन् । यसले गीतमा थप रौनक आयो । देउबहादुर र मैरानीको जोडी लामो समयसम्म टिक्यो । उनीहरूको जोडी पछि भेडीखर्के साइँलाले यो भाका गाउन थालेका हुन् । 

वि.सं. २०३५ सालमा पहिलो पटक यो भाका रेकर्ड गराउन भेडखर्के रेडियो नेपाल पुगे, तर स्टुडियोमा चिनेको कोही नभएपछि ठाडोभाका रेकर्ड हुन सकेन । ०५३ सालमा अल्ट्रासाउन्डले मेरो सेरोफेरो एल्बममा भेडीखर्के साइँलाको आवाजमा ठाडोभाका रेकर्ड गरेर बजारमा ल्यायो ।

प्रतिक्यासेट ३ रुपैयाँका दरले रोयल्टी दिने भनिए पनि आफूले कुनै रोयल्टी नपाएको भेडीखर्केको गुनासो छ । त्यसपछि पोखरास्थित लोककवि अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानले लमजुङे ठाडोभाका नाममा एउटा एल्बम निकाल्यो, जसमा तनहुँकी ज्ञानमायाले आवाजमा साथ दिइन् । तुर्लुङकोटबाट परेवाडाँडा सिमहार बसाइँ सरेका भेडीखर्के अहिले सुन्दरबजारस्थित जेठी छोरीको घरमा छन् ।

भेडीखर्केका १ छोरा र ३ छोरी छन् । उनका सहयात्री देवीबहादुर गुरुङ सरकारले भेडीखर्कको सबै उपचार खर्च बेहोर्नुपर्ने बताउँछन् । उनको स्वास्थ्य अवस्थाका सम्बन्धमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ छातीरोग विषेशज्ञ प्रा. डा. अर्जुन कार्कीले घरमै आएर जानकारी लिएका थिए । मैले अस्पतालमै ल्याएर उहाँको परीक्षण गराएँ । नियमित औषधी सेवनले उहाँको स्वास्थ्य अवस्थामा अवश्य सुधार ल्याउँछ, –डा. कार्कीले बताए । 

अहिले ठाडोभाका बचाउन ठाडोभाका लोककला प्रतिष्ठान नेपाल गठन गरेर कार्यक्रमहरू अघि सारिएको छ ।

प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी भन्छन्— भदौ २९ गते भेडीखर्के साइँलाको जन्मोत्सवका दिन उहाँलाई राज्यका तर्फबाट ठाडोभाका गायन शिरोमणिको उपाधि प्रदान गरिनुपर्छ । उनलाई २०६५ माघ १८ गते हिमालचुली कला साहित्य प्रतिष्ठानले नागरिक स्तरमा ‘ठाडोभाका गायन शिरोमणि’ उपाधि दिएको थियो भने २०६८ मंसिर १८ गते लमजुङ लोक संस्कृति विकास केन्द्र काठमाडौंले ठाडोभाका ‘सम्राट्’ को उपाधि प्रदान गरेको थियो । 

 

प्रकाशित :भाद्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्