चाडपर्वमा नयाँ मोबाइल

- एकराज सुवेदी

भाद्र २५, २०७४-

दसैं–तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा नेपाली मोबाइल बजार पनि तातेको छ । पछिल्लो समयमा चाडपर्वमा नयाँ मोबाइल किन्ने ट्रेन्ड नै बसेको छ । नयाँ कपडा, मीठो खानाका साथै नयाँ मोबाइल पनि अब सबैको रहर भएको छ । 

नेपालीहरू आफ्नो मोबाइलमा पनि नयाँपन चाहन्छन् । अहिले सबैले पहिलेको भन्दा फरक र अपग्रेडेड भर्सनको मोबाइल चाहन्छन् । यही कुरा मनन गरी बजारमा पनि त्यस्तै प्रकारका मोबाइल वा स्मार्टफोन उपलब्ध छन् । काठमाडौंका न्युरोड, पुतलीसडकदेखि लिएर ललितपुर मोबाइल कम्प्लेक्स जस्ता मोबाइल हबहरू हिजोआज मोबाइल किन्नेहरूको भीडले भरिन थालेका छन् । व्यवसायीहरूका अनुसार विभिन्न ब्रान्डका स्मार्टफोन यो चाडपर्वका लागि धेरैको रोजाइमा पर्न सक्छन् ।

हुवावे वाई–७ प्राइम

हुवावेको स्मार्टफोन वाई–७ प्राइममा ५ दशमलव ५ इन्चको २ दशमलव ५ डी कभ्र्ड एचडी डिस्प्ले छ । मेटालिक बडीमा उपलब्ध यो फोनमा क्वालकमको अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ भने यसमा ३ जीबीको र्‍याम तथा ३२ जीबीको इन्टरनल मेमोरी छ । हुवावे वाई–७ प्राइममा ४,००० एमएएचको ब्याट्री प्याक राखिएको छ भने यसमा स्मार्ट पावर सेभिङ टेक्नोलोजी प्रयोग गरिएको छ । तस्बिरका लागि फोनमा १२ मेगापिक्सेलको रियर क्यामेरा छ भने यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । यसमा फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटी सेन्सर, एम्बिएन्ट लाइट सेन्सर, कम्पास, ग्राभिटी सेन्सर आदि सुविधा छन् । एन्ड्रोयडको नुगट ७.० भर्सनमा आधारित ईएमयूआई ५.१ मा सञ्चालन हुने यो फोनको बजार मूल्य २४ हजार ९ सय रुपैयाँछ ।

ओप्पो एफ–३

ओप्पोले गु्रप सेल्फी ट्रेन्डलाई थप सुदृढ बनाउने सोचका साथ एफथ्रीलाई बजारमा ल्याएको छ । यो स्मार्टफोनमा १६ मेगापिक्सेलको ड्युअल फ्रन्ट क्यामेरा छ । यो फोनमा एकल सेल्फी तथा गु्रप सेल्फीका लागि उपयुक्त वाइड एंगल लेन्ससहितको क्यामेरा जडान गरिएको छ । फोनमा रहेको सिक्सपी लेन्सले न्यूनतम डिस्टोर्सनका साथ उच्च श्रेणीको व्यवसायिक तस्बिर लिन सघाउने दाबी कम्पनीको छ । यो ड्युअल सिम फोनमा अक्टा–कोर प्रोसेसर, ४ जीबी र्‍याम तथा ६४ जीबी रोम उपलब्ध छ । ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको यो फोनमा फिङ्गर प्रिन्ट रिडरसमेत छ । ५ दशमलप ५ इन्चको पातलो यो फोनको मूल्य ३३ हजार रुपैयाँ पर्छ ।

वान प्लस फाइभ

वान प्लस फाइभमा ५ इन्चको डिस्प्ले स्क्रिन छ र त्यो फुल हाई डेफिनेसन (एचडी) क्वालिटीको छ । वान प्लस फाइभमा १६ तथा २० मेगापिक्सेलका दुई रियर क्यामेरा छन् । यसमा सेल्फीका लागि १६ मेगापिक्सेलको छुट्टै क्यामेरा छ । यो स्मार्टफोन ६ जीबी र्‍यामसहित ६४ जीबी इन्टरनल मेमोरी क्षमतामा उपलब्ध छ । यसमा एन्ड्रोइडको नुगट अपरेटिङ सिस्टम प्रयोग भएको छ भने ३ हजार ३ सय एमएएच क्षमताको ब्याट्री छ । यसको अर्को उपयोगी फिचर फिङ्गरप्रिन्ट सेन्सर हो, जुन यसको अगाडि रहेको होम बटनमा हुन्छ । प्रिमियम सेगमेन्टका मोबाइल रुचाउनेहरूका लागि यो स्मार्टफोन उपयुक्त सावित हुनसक्छ । यो फोनको मूल्य ५५ हजार रुपैयाँ छ ।

एचटीसी डिजायर–१० प्रो

एचटीसी डिजायर १० प्रोमा १ दशमलव ८ गिगाहर्जको अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ भने यसमा ४ जीबीको र्‍याम छ । यो फोनमा इन्टरनलस्टोरेज ६४ जीबी छ । यसमा तस्बिरका लागि २० मेगापिक्सेलको मुख्य क्यामेरा तथा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । एचटीसी डिजायर १० प्रोमा दुईवटा सिम प्रयोग हुन्छ भने यो नन–रिमुभबेल ३००० एमएएचको ब्याट्री, जियो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडीआर, पानोरामा, फिंगर प्रिन्ट तथा एन्टिसेकयुक्त छ । यो फोनको बजार मूल्य 

२९ हजार ९ सय रुपैयाँ पर्छ । 

लाभा आर–१

लाभा आर वानमा ५ इन्चको आइपिएस डिस्प्ले छ भने यसमा गोरिल्ला ग्लास प्रयोग गरिएको छ । यो मोबाइलमा क्वाडकोर प्रोसेसर छ । त्यसैगरी यसमा २ जीबी र्‍याम तथा १६ जीबी इन्टरनल स्टोरेज उपलब्ध हुन्छ । यो फोनमा स्टोरेज क्षमता बढाउन माइक्रो एसडी कार्ड स्लट पनि छ, जसले ६४ जीबीसम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्छ । लाभा आर वानमा कस्टमाइज एन्ड्रोइड स्टार ओएस ३ दशमलव ३ प्रयोग गरिएको छ, जुन एन्ड्रोइड भर्सन ६.० मा आधारित छ । यसमा ८ मेगापिक्सलको रियर क्यामेरा प्रयोग भएको छ, जसमा सामसुङको सेन्सर प्रयोग गरिएको छ । सेल्फीका लागि यसको अग्रभागमा ५ मेगापिक्सलको क्यामेरा छ । २६२० एमएएचको ब्याट्रीयुक्त यो फोनको मूल्य १४ हजार रुपैयाँ छ ।

कलर्स पी–८५

कलर्स मोबाइलको पी–८५ स्मार्टफोन फिंगर प्रिन्ट सेन्सरयुक्त छ । अत्यन्त छरितो र स्टाइलिस डिजाइनमा उपलब्ध यो स्मार्टफोनमा फिंगर प्रिन्टका अतिरिक्त अन्य धेरै विशेषता पनि छन् । यो फोनमा तेब्बर एलईडी फ्ल्याससहित ८ मेगापिक्सेल क्षमताको मुख्य क्यामेरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । यो फोनमा १ दशमलव ३ गिगाहर्ज क्वार्डकोर प्रोसेसरसहित १ जीबी र्‍याम छ । १६ जीबी इन्टरनल मेमोरीको यो फोनलाई ३२ जीवीसम्म पुर्‍याउन सकिन्छ । ५ इन्चको एचडीआइपीएस स्क्रिनयुक्त यो स्मार्टफोनमा २५ सय एमएएचक्षमताको ब्याट्री जडान गरिएको छ । यो स्मार्टफोनको फिंगर प्रिन्टले ५ सेकेन्डमै प्रतिक्रिया जनाउँछ । कलर्स पी ८५ को मूल्य १० हजार रुपैयाँ छ । 

डीटीसीगियर म्याक्स

बारफोनका रूपमा डीटीसीको गियर म्याक्स मोबाइल लोकप्रिय छ । जम्मा २ हजार ५ सय रुपैयाँको यो मोबाइल फोनलाइ विकल्पको फोनका रूपमा बोक्न चाहनेहरू प्रशस्तै छन् । यसको ब्याट्री ३० दिनसम्म टिक्ने कम्पनीको दाबी छ । यसलाई पावर बैंकका रूपमा समेत प्रयोग गर्न सकिन्छ । यसमा एफएम रेडियो तथा डबल एलईडी लाइटसमेत उपलब्ध हुन्छ । यो फोनमा आवश्यक जानकारीका लागि एलर्ट बटन समेत छ । 

सामसुङ जे–७ म्याक्स

सामसुङ ग्यालेक्सी जे–७ म्याक्समा फिंगर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्यक्षमताका लागि ४ जिबी र्‍याम तथा ३२ जिबी मेमोरीका साथै अन्य उत्कृष्ट विशेषता छन् । यसको दुवै भागमा १३ मेगापिक्सेलको क्यामेरा छ । त्यसैगरी यसमा अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । जे–७ म्याक्समा ५ दशमलव ७ इन्चको ठूलो स्क्रिन रहेकाले यो फोन गेम खेल्न तथा मुभी हेर्न बढी उपयुक्त हुन्छ । यसको बजार मूल्य २८ हजार २ सय ९० रुपैयाँ छ ।

जियोनी ए–१ लाइट

जियोनीले ए–१ लाइटमा सेल्फीका लागि सेल्फी फ्ल्याससहित २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा प्रयोग गरेको छ । यसको सेल्फी क्यामेराबाट प्राकृतिक तस्बिर खिच्न सकिन्छ । जियोनी ए–१ लाइटमा ५ पिक्सेल सेन्टर युनिट भएको क्यामेरा छ, जसले कम प्रकाश भएका बेला तस्बिरको गुणस्तरमा सुधार ल्याउँछ । यसमा ४,००० एमएएचको ब्याट्री छ । यो स्मार्टफोनमा ५ दशमलव ३ इन्चको एचडी डिस्प्ले छ । यसमा ६४ बिट मिडिया टेकको अक्टाकोर प्रोसेसर राखिएको छ भने ३ जीबी र्‍यामका साथै ३२ जीबीको इन्टरनल स्टोरेज छ । यसमा ए वानको जस्तै अडियो क्षमता छ भने यसको फिंगरप्रिन्ट निकै तीव्र गतिको छ । यसमा केवल हलुका रूपमा छुँदा मात्र पनि यसको फिंगरप्रिन्ट रिडरले डिभाइस अनलक गर्न सक्छ । जियोनी ए–१ लाइटको मूल्य २६ हजार रुपैयाँ छ । 

आइफोन–७ प्लस

अलि महँगो र ब्रान्डेड मोबाइल चाहनेहरूका लागि एप्पलको आइफोन–७ प्लस बजारमा उपलब्ध छ । यसको स्क्रिन ५ दशमलव ५ इन्चको छ । यसमा ड्युअल लेन्स क्यामेरा पनि छ । यो फोनमा कुनै हेडफोन ज्याक छैन भने यसमा प्रेसर सेन्सेटिभ बटनसमेत प्रयोग गरिएको छैन । आइफोन–७ प्लसलाई पानी र धूलोले समेत कुनै असर गर्दैन । ३२ जीबीको आइफोन–७ प्लसको मूल्य १ लाख ५ हजार रुपैयाँ पर्छ ।  

 

प्रकाशित :भाद्र २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्