कुमालकोठीको कथा

- किशोर नेपाल

भाद्र २३, २०७४-

जुन दिन अर्थात् भदौ १६ गते कुमार नगरकोटीको डायरी सँगालो ‘दोचा’ का बारेमा छलफल हुँदै थियो, त्यो दिन निकै रमाइलो थियो । भागवत श्रवणको अन्तिम दिन, म फर्जी हिसाबले घरबाट निस्किएको थिएँ । नयाँ बानेश्वरको एउटा सभाहलको भित्री ढोकाअगाडि स्वागतको मुद्रामा उभिएका थिए, लेखक कुमार नगरकोटी तथा प्रकाशक भूपेन्द्र खड्का । हलमा कुमारका अनुरागीहरूको भीड लागिसकेको थियो । साहित्यका अनुरागीहरूमा साधक एवं आराधकहरू पनि थिए ।

‘घनचक्कर बाबा’ सञ्जीव उप्रेती लजाउँदै सभागृहमा भित्रिए । उनी हलको अलि पछाडि गएर बसे । पिंक सिटी जयपुरमा २०१६ मा भएको पुस्तकहरूको महाजात्राको एउटा सभामा सञ्जीवले भाषण गरेपछि कुमार बसेको सिटको पछाडिबाट कोकिल वाणीमा सञ्जीवको प्रशंसा भएको थियो । प्रशंसा गर्नेको अनुहार हेरेछन् कुमारले र खुसी भएछन् । स्कलर सञ्जीवले महाजात्रामा अभिव्यक्त गरेका विचारले निकै प्रभावित तुल्याएको रहेछ कोकिल वाणीलाई । उनी सञ्जीवको विचारले भन्दा पनि उनको कर्ली हेयरस्टाइलले बढी प्रभावित  भएकी रै’छिन् । 

अचेल सहरको फेसनमा लोकप्रिय शरीरमा लिपिक्क टाँसिने स्किन कलरको सुरुवाल र कुर्ता लगाएर आइन् कुमारी लामा । उनी निकै ढिलो आइपुगेकी थिइन, जुन अपेक्षित थिएन । जयपुर बजारमा कुमारलाई दोचा खोज्न उनैले सघाएकी थिइन् । उनीलगायत हामी सबै कुमारका पात्र थियौं अनि त्यहाँ हातमा कान्तिपुर दैनिक छापिएको कागजले बनेको झोलारूपी थोंगा बोकेका अर्का एक सुपात्र थिए— विप्लव प्रतीक । त्यो थोंगामा जतनसाथ राखिएको थियो एउटा कालो बट्टा । सूर्य चुरोटको इन्टरनेसनल एडिसन र, थियो काठमाडौंको भदौरे घामले पगाल्न थालेको एउटा ट्यांगो चकलेट । भूपेन्द्रले त्यही समारोहमा विप्लवको उपन्यास प्रकाशित हुने समाचारसमेत प्रसारित गरे । (उनी एक अच्छा प्रसारक हुन् ।) विप्लव कवि र गीतकारबाट उपन्यास लेखनको उकालोतिर लागे । दोचाको जमघट निकै रमाइलो हुँदै गएको थियो । 

मञ्चमा उक्लिएका भूपेन्द्रले सभा सुरु गर्दै शैलेन्द्र खरेललाई दोचामाथि विचार प्रकट गर्न बोलाए । उनले कुमार नगरकोटीलाई आफूले कुमालकोठी भन्ने गरेको अद्भुत रहस्यको उद्घाटन गरे । दोचा पढ्नेले बिस्तारै थाहा पाएको भए राम्रो हुन्थ्यो । त्यसो हुन पाएन । सभामा उपस्थित सबैले एकैचोटी यो कुरा थाहा पाएपछि म आफ्नो मनको भित्री सतहबाटै प्रफुल्ल भएँ । 

कुमार नगरकोटी नेपाली साहित्यका कुमालकोठी नै हुन् । कुमालकोठीले आफ्नो गुँड अद्भुत बनाउँछ । चिटिक्क परेको । उसको गुँड उदाहरणका रूपमा स्थापित भैसकेको छ । कुमार कुमालकोठी जत्तिकै मेहनतका साथ शब्दहरूको चयन गर्छन्, शैलीको आविष्कार गर्छन् र अभिव्यक्तिलाई आफ्नो सम्पूर्ण सामथ्र्यका साथ स्थापित गर्छन् । उनले लेखनका बारेमा दोचामैं पनि भनेका छन्— पढ्दा निबन्धजस्तो होस । गुनगुनाउँदा कविताजस्तो होस् । किताबमा आँखाले केलाउँदा आलेखजस्तो होस् । ओठ तथा मनले उच्चारण गर्दा मन्त्रजस्तो होस् । 

कुमारका डायरी, निबन्ध, उपन्यास, कथा, नाटक र कविता (उनका पढेको त छैन । लेखेका होलान् भन्ने अनुमान हो मेरो) जे भए पनि रोचक हुन्छन् । यसमा कुनै शंका छैन । उनी आफ्ना रचनामा अंग्रेजी शब्दको प्रयोग यति धेरै गर्छन् कि लाग्छ किन लेख्दैनन् उनी अंग्रेजीमा (पनि) ? जस्तो दोचाको हाफक्वार्टर त अंग्रेजीमा छ । कसो फ्रेन्च, स्पेनिस वा इटलियनमा छैन । कुमार हुन् कुन दिन इङ्लिस–स्पेनिस डिक्सनरी पल्टाएर प्रयोग गरिदिन्छन्, अनि, ठेंगा । नेपालीमा अरू कुनै पनि भाषाको शब्द प्रयोगको विरोधमा म छैन, तर नेपाली भाषाले नै अभिव्यक्त गर्न सक्ने विचार र वाक्यमा अरू भाषाको प्रयोग त्यति मीठो हुँदैन । यो त कहिल्यै कफी नपिएको मानिसलाई चिटिक्क परेको सानो कपमा एस्प्रेसो सट पिलाएर ‘कस्तो लाग्यो ?’ भनेर सोध्नु र उसले मुख बिगार्दै ‘मीठो’ भन्नुजस्तै हो ।

निश्चय पनि, कुमार नगरकोटी प्रयोगवादी हुन् । उनको प्रयोग सारगर्भित छ । संसारका कुनै पनि भाषामा यस्ता प्रयोग निरन्तर भैरहेका हुन्छन् । यो जुग पनि सञ्चारको हो । हामी नेपाली रचनाधर्मी पनि सञ्चारका हौं । यो सत्य हो, हामी मौलिक छौं तर हाम्रो मौलिकताको व्यापक आयाम छैन । हाम्रा लागि अहिले पनि बाहिरी संसारको ढोका खुलेको छैन । अन्य भाषामा नेपाली रचनाहरूको अनुवादको चलन सुरु भएको छैन । संसारका सबै देशमा पुस्तक लेखनकला परिष्कृत हुँदैछ भने नेपालको अवस्था नाजुक छ । नेपालमा त लेखकले आफ्नो कृति पढ्ने पाठकको आँखाबाट कति ग्यालन आँसु बगाउन सक्छ ऊ त्यति नै सर्वश्रेष्ठ लेखक कहलाउँछ । 

कुमारको रचनामा काल चेतना छ । लेख्नका लागि मात्र त कसैले पनि लेख्दैनन् । कुमार नगरकोटी किन लेख्छन् ? यो कुरा पत्ता लगाउने काम पाठकको हो । उनका किताब सलमान खानको फिल्म होइन, जुन एक पटक हेरेपछि फेरि सम्झिरहन पर्दैन । 

 

प्रकाशित :भाद्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्