नेपाल आइडलका उत्कृष्ट चारका चार धार

- राधिका अधिकारी

भाद्र २३, २०७४-

अहिले सामाजिक सञ्जालदेखि विभिन्न गाउँ–घरसम्म नेपाली रियालिटी शो नेपाल आइडलको चर्चा छ । देशभर छरिएर रहेका तथा गायनमा सम्भावना भएका युवा–युवतीलाई मञ्च प्रदान गर्ने नेपाल आइडल यतिबेला प्रसारणको उत्तराद्र्धमा छ । अघिल्लो शुक्रबार नै उत्कृष्ट चारबाट एक जना बाहिरिनुपर्ने भए पनि निर्णायकले एक सातासम्मका लागि चारै जना प्रतिस्पर्धी प्रतियोगितामै रहेको घोषणा गरेर उत्कृष्ट तीनको कौतूहल कायमै राखेका छन् । सम्भवत: आज रातिको कार्यक्रमबाट नेपाल आइडलका उत्कृष्ट तीनको टुंगो लाग्नेछ । 

गत माघ १२ गते नेपालगन्जबाट अडिसन प्रारम्भ भएको नेपाल आइडलमा बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर आदि स्थानबाट छानिएका गायन प्रतिभाहरू सहभागी थिए । अडिसनको चरणदेखि नै कहिले चर्चा त कहिले विवादमा रहँदै आएको यो प्रतियोगिताको सेमिफाइनलमा मोरङका निशान भट्टराई, पोखराका बुद्ध लामा, चितवनका सागर आले तथा ललितपुरका प्रताप दास पुगेका छन् । नेपाल आइडलका यी चार प्रतिस्पर्धीका आ–आफ्नै शैलीका प्रशंसक अहिले निकै बढेका छन् । उनीहरूका गलाका प्रशंसकहरू अहिले विभिन्न कित्तामा विभाजित भएका देखिन्छन् ।

समाजिक सञ्जालमा हेर्ने हो भने पूर्वमा निशान भट्टराईका प्रशंसक बढी देखिन्छन् । धेरैले सामाजिक सञ्जालमा निशानलाई भोट गरेका स्क्रिन सटहरू राखेका छन् । भट्टराईले सामाजिक सञ्जालमा मात्र होइन, आइडलका अतिथि निर्णायकहरूबाट पनि राम्रो प्रशंसा पाएका छन् । सानैदेखि गायनमा रुचि भएका निशानको पक्षमा बोलेकै कारण विवादमा आएका गायक रामकृष्ण ढकालको चर्चा अझै सेलाएको छैन् । संगीतको औपचारिक प्रशिक्षण लिइसकेका निशानको पक्षमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढिरहेको देखिन्छ । नेपाल आइडलको मञ्चमा हरेक पटक बोलाउँदा उनलाई नेपाल आइडलका शान निशान भनेर सम्बोधन गरिन्छ ।

नेपाल आइडलको मञ्चमा चर्चा पाएका अर्का प्रतिस्पर्धी हुन्— पोखराबाट अडिसन चरण पार गरेर आएका बुद्ध लामा । बुद्ध लामाको पक्षमा पनि सामाजिक सञ्जालमा राम्रै चर्चा छ । बुद्धको पक्षमा सामाजिक सञ्जालमा मात्र होइन, पोखरा र धादिङमा सडक प्रदर्शन नै भैसकेको छ । नेपाल आइडलका निर्णायकहरूको पनि राम्रो प्रतिक्रिया पाउँदै आएका बुद्धका समर्थकहरूले नेपाल आइडलमा बुद्धलाई जिताउँm भन्ने नारासहित प्रदर्शन तथा सामूहिक भोटिङ गर्ने गरेका छन् । समर्थनका हिसाबले नेपाल आइडलको उपाधि उनकै पक्षमा आउने अपेक्षा प्रशंसकहरूको छ । यसअघि पोखरास्थित बिग एफएमले आयोजना गर्दै आएको विग आइकनमा समेत भाग लिएर टप २० मा पर्न सफल बुद्ध लामा संगीतको औपचारिक प्रशिक्षणबिना नै उत्कृष्ट चारसम्म पुगेका हुन् ।

नेपाल आइडलको उपाधिका अर्का दाबेदार हुन्— प्रताप दास । केही गीतसमेत रेकर्ड गराइसकेका प्रताप गायनसँगै स्टेज कभरका हिसाबले पनि चर्चामा छन् । प्रताप दासका प्रसंशकहरूले विभिन्न स्थानमा उनको होर्डिङ बोर्डसमेत राखेका छन् । नेपाल आइडलका खास प्रताप दास उल्लेख गरिएका होर्डिङ बोर्ड काठमाडौंका विभिन्न स्थानमा समेत देख्न सकिन्छ । लुक्स र प्रस्तुतिका हिसाबले अब्बल मानिएका प्रतापका समर्थक सामाजिक सञ्जालमा समेत बाक्लै देखिन्छन् । संगीतको औपचारिक प्रशिक्षण लिइसकेका प्रतापले विभिन्न समयमा सडकमा गीत गाउँदै हिँडेको समेत भेटिएको छ ।

स्थानीय मञ्चहरूमा गीत गाएर हिँड्दा–हिँड्दै नेपाल आइडलको प्रतिस्पर्धामा आइपुगेका चितवनका सागर आलेका समर्थक पनि उत्तिकै छन् । सामाजिक सञ्जालमा अलि कम चर्चा भए पनि सागरको गायनको खुलेर प्रशंसा गर्ने संगीतकर्मीहरूको कमी छैन । आज शुक्रबार राति १० बजेपछि यी चारमध्ये तीन जनाले नेपाल आइडलको फाइनलको टिकट काट्नेछन् । फाइनल कार्यक्रम असोज ६ गते कतारमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।  

 

प्रकाशित :भाद्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्