फन्डा धर्मपुत्रीको

- साप्ताहिक संवाददाता

भाद्र २२, २०७४-

रामरहिमलाई २० वर्षको जेल सजाय सुनाइपछि उनीसँग जोडिएका अन्य कैयौं नाम पनि अहिले चर्चामा छन्, जसमा सबैभन्दा चर्चामा रहेको नाम हो— हनीप्रित इन्सान । कैयौं रिपोर्टमा यी युवतीलाई रहस्यमय पात्रका रूपमा प्रस्तुत गरिएको छ । हनीप्रित स्वयंले भने आफूलाई रामरहिमकी धर्मपुत्रीका रूपमा प्रस्तुत गर्दै आएकी छिन् । रामरहिम तथा कथित धर्मपुत्री हनीप्रितबीचको सम्बन्ध विवादास्पद मानिन्छ ।

हनीप्रितको विवाह सन् १९९९ मा विश्वास गुप्तासँग भएको थियो ।

विश्वासले रामरहिममाथि आफ्नी पत्नीलाई आफूबाट टाढा बनाएको, रामरहिम र हनीप्रितबीच शारिरीक सम्बन्ध भएको तथा त्यसलाई ढाकछोप गर्न धर्मपुत्रीको आवरण दिइएको दाबी गरिरहेका छन् । गुप्ताले हनीप्रितलाई डेरा सच्चा सौदा प्रमुखको कब्जाबाट मुक्त गर्न माग गर्दै सन् २०११ मा हरियाणा हाइकोर्टमा मुद्दासमेत दायर गरेका थिए । त्यसमा कोर्टले स्थानीय प्रशासनलाई आवश्यक कारबाही गर्न निर्देशनसमेत दियो । त्यसपछि हनीप्रितले विश्वाससँग डिभोर्स लिइन् । रामरहिम र हनीप्रित हरेक समय सँगसँगै देखिन्थे । रोचक त के भने हनीप्रितले जेलमा पनि रामरहिमसँगै बस्ने प्रयास गरेकी थिइन्, तर उनको उक्त मागको सुनुवाइ भएन् । हनीप्रितलाई सँगै राख्न रामरहिमले आफ्नो कम्मरको पीडाको कारण देखाउँदै उनलाई एक्युपंक्चर एक्सपर्टका रूपमा प्रस्तुत गरेका थिए । 

हनीप्रितको वास्तविक नाम प्रियंका तनेजा हो । उनलाई रामरहिमले सन् २००९ मा हरियाणाको फत्तेहावाद जिल्लाबाट एडप्ट गरेका थिए । हनीप्रितले रामरहिम आफ्नो गुरु भएको दाबी गर्दै आएकी छिन् । हनीप्रितलाई फेसबुकमा ५ लाखभन्दा बढीले लाइक एवं फ्लो गरेका छन् भने इन्स्ट्राग्राममा उनलाई १ लाख ५० हजारभन्दा बढीले पछ्याएका छन् । भारतीय मिडियाले रामरहिम जेल गएपछि डेरा सच्चा सौदाका साथै रामरहिमको आर्थिक साम्राज्यको कमान्ड हनीप्रितले सम्हाल्ने अनुमान गरेका छन् । हनीप्रितलाई रामरहिमको उत्तराधिकारीका रूपमा समेत हेरिएको छ । 

हनीप्रितले रामरहिमका सबै चलचित्रमा काम गरेकी छिन् । एकताका रामरहिमले चलचित्र ‘हिन्दका नापाक को जवाब’ मा २१ प्रकारको भूमिका निर्वाह गरेर हनीप्रितले हलिउड नायक ज्याकी च्यानको रेकर्ड तोडेको दाबी गरेका थिए । हनीप्रित सोसल मिडियामा अक्सर रामरहिमसँगको आफ्नो तस्बिर सेयर गर्दै ‘पापाकी परी’ भनेर लेख्थिन् । फेसबुकमा उनले आफ्नो परिचय पापा एन्जल, समाजसेवी, निर्देशक, सम्पादक तथा नायिकाका रूपमा दिएकी छिन् । हनीप्रितका पूर्वपति विश्वास गुप्ताका हजुरबुवा विधायक भएका बेला उनीहरूको परिवार डेरासँग नजिकिएको थियो ।  

 

प्रकाशित :भाद्र २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्