बलात्कारी बाबा रामरहिमको इतिवृत्त

- साप्ताहिक संवाददाता

भाद्र २१, २०७४- 

१५ वर्षपछि जेलमा 

सन् २००२ मा एक साध्वीले तत्कालीन प्रधानमन्त्री अटल विहारी बाजपेयीका साथै पन्जाब र हरियाणाका उच्च न्यायालयका मुख्य न्यायाधीशहरूलाई एउटै मजबुनको तीनवटा चिठी पठाइन् । उक्त चिठीमा डेरा सच्चा सौदा भित्र महिलाहरूमाथि सेक्सुअल ह्यारसमेन्ट हुने कुरा उल्लेख गरिएको थियो, जसमा गुरमित रामरहिममाथि यौनशोषणको आरोप लगाइएको थियो । त्यसपछि डेरा सच्चा सौदा प्रमुख गुरमितविरुद्ध छानबिन सुरु भयो । तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको आदेशमा अज्ञात साध्वीको आरोपमाथि छानबिन गर्ने जिम्मेवारी सीबीआईलाई दिइएको थियो । 

१५ वर्षपछि सीबीआईको स्पेसल कोर्टले गुरमित रामरहिम सिंहलाई दुई जना साध्वीको बलात्कार गरेको आरोपमा दोषी ठह्यायो । गत सोमबार उनलाई २० वर्षको जेलसजाय सुनाइएको छ । भनिन्छ, उक्त चिठ्ठी रामरहिमका लागि २० वर्ष ड्राइभिङ गरिसकेका रणजित सिंहकी बहिनीले लेखेकी थिइन् । पछि रणजितको हत्या भयो । रणजितको हत्या बाबा रामरहिमकै कमान्डोहरूले गरेको आरोप छ । अहिले यो केस पनि पंचकुलाको सीबीआई अदालतमा चलिरहेको छ । अदालतले दोषी ठहर्‍याएपछि गुरमित रामरहिमलाई सिरसाको सुनरिया जेल पठाइएको छ । रामरहिमविरुद्धका ४८ वटा बलात्कार तथा केही हत्याका मुद्दा अहिले पनि अदालतमा विचाराधीन छन् । 

जन्म र उत्थान

गुरमित रामरहिम सिंह बुवा–आमाका एकमात्र सन्तान हुन् । ५० वर्षीय रामरहिमको जन्म राजस्थानको श्रीनगरमा भएको थियो । उनको परिवार डेरा सच्चा सौदाको भक्त थियो । गुरमित सिंह सिद्धु मूलका पन्जाबी जाट हुन् । 

१० कक्षा पढ्दा–पढ्दै स्कुल छाडेका गुरमितले सहजातीय युवती हरजितसँग विवाह गरेका थिए । उनका एक छोरा जसमित र दुई छोरी चरणप्रित र अमरप्रित छन्, त्यसबाहेक उनले फतेहावादकी प्रियंका नामक युवतीलाई धर्मपुत्रीका रूपमा अपनाएका छन्, जसको नाम परिवर्तन गरेर रामरहिमले हनीप्रित बनाइदिए । रामरहिमकी श्रीमती तथा छोराछोरी उनीसँगै डेरा सच्चा सौदाको आश्रममै बस्छन् । उनीहरू सार्वजनिक रूपमा निकै कम देखिन्छन् । 

विवादसँग गुरमित रामरहिमको निकै पुरानो सम्बन्ध हो । उनी २३ वर्षकै उमेरमा १९९० मा डेरा सच्चा सौदाको प्रमुख भएका हुन् । डेराको स्थापना सन् १९४८ मा शाह मस्तानाले गरेका थिए । अहिले पूरै भारतमा यसका ५० भन्दा बढी आश्रम तथा लाखौं अनुयायी छन् । डेराको प्रमुख काम सामाजिक कार्य, रक्तदान एवं गरिबहरूका लागि सहयोग जुटाउनु हो । यतिमात्र होइन, डेरा प्रमुख रामरहिमले चलचित्रमा समेत लगानी गरेका छन् । 

गुरमित रामरहिमका आश्रम हरियाणा, पन्जाब, राजस्थान, महाराष्ट्र तथा उत्तरप्रदेशलगायत कैयौं भारतीय राज्यमा छन् । हरियाणाको सिरसामा सयौं एकड जग्गामा बनेका दुईवटा आश्रम छन् । डेरा सच्चा सौदा ट्रस्टको एउटा व्यापारिक कम्प्लेक्ससमेत छ, जसका प्रत्येक स्टोरको नाम ‘सच’ बाट प्रारम्भ हुन्छ ।

त्यसका अतिरिक्त डेराको स्वामित्वमा स्कुल, रेस्टुराँ, अनाथ युवतीहरूका लागि आवास, तीनवटा अस्पताल तथा होटलसमेत छन् । आफूलाई आध्यात्मिक गुरु बताउने बाबा रामरहिम अत्याधुनिक सुख सुविधायुक्त विलासी जीवन बिताइरहेका थिए । रामरहिम महँगा पहिरनका साथ प्वाँखको पगरी तथा चम्किलो जुत्ता लगाएर सुपर लक्जरी कारमा हिँड्थे । डेराको दावी छ कि यो एउटा आध्यात्मिक संस्था हो, जसका सातवटा एकाइ छन्, जसअन्तर्गत प्रशासनिक, चिकित्सकीय, शैक्षिक, आइटी तथा सामाजिक कल्याणका गतिविधिहरू सञ्चालन हुन्छन् । 

बीबीसी हिन्दीको सन् २०१५ को एक आलेखअनुसार डेराको एउटा राजनीतिक एकाइ पनि छ, जसले निर्वाचनमा कुन पार्टीलाई समर्थन दिने भनेर फैसला लिन्छ । पछिल्लो विधानसभा चुनावका दौरान डेरा सच्चा सौदाले भारतीय जनता पार्टीलाई समर्थन गरेको थियो भने भाजपाका कैयौं उम्मेदवारले बाबा रामरहिमको अगाडि शिर झुकाएका थिए । डेरा सच्चा सौदाको दाबीअनुसार बाबाको किड्नी दान, रक्तदान तथा नेत्रदानजस्ता कैयौं कार्यक्रमले बितेको एक दशकमा गिनिज र लिम्का बुक अफ रेकर्डमा स्थान बनाइसकेका छन् । 

गुफाको रहस्य 

करिब १ सय एकड जमिनमा फैलिएको गुरमित रामरहिमको आश्रमको लगभग बीच भागमा काँच र पर्खालले घेरिएको एउटा भवन छ, जसलाई बाबाको गुफा भनिन्छ । उक्त गुफाभित्र पुग्न दुई–तीनवटा अन्य ढोका पनि पार गर्नुपर्छ, जहाँसम्म बाबाको गाडीले भने सिधा प्रवेश पाउँछ ।

गुफासम्मको बाटोको पाइलैपिच्छे सादा पोसाक अथवा कमान्डो शैलीमा बन्दुक लिएका व्यक्ति तैनाथ गरिएको आजतक टेलिभिजनका एक संवाददाताले दाबी गरेका छन् । १० मिनेट हिँडेपछि बाबाको गुफामा पुग्न सकिन्छ । बाबाको गुफामा पुगेका सन्दीप सोनवलकरका अनुसार बाबाको गुफाको सान नै फरक छ । त्यहाँ सन्दीपलाई सानदार सोफा र चम्किलो पर्दा भएको हलमा राखिएको थियो । गुफाभित्र छिर्न बायोमेट्रिक सिस्टम जडान गरिएको थियो । विशेष तरिकाले चुनिएका उनका २ सय ९ जना शिष्या साध्वीको जस्तो गेरु वा सेतो वस्त्र लगाउँथे भने अक्सर केश खुलै छाड्थे । गुफामा बाबासँग भेटघाट गर्ने छुट्टै कोठा थियो । उनीसँग कैयौं देशमा सीधा कुरा गर्न सक्ने हटलाइन पनि थियो । पूरै गुफामा ऐस–आरामका लागि चाहिने सबै चीज थिए । रामरहिमले प्रवचन दिने ठाउँ पनि विशेष किसिमले बनाइएको छ । 

गुफामा एउटा गेस्टहाउस पनि छ, त्यहाँ सानदार सुइट्स मात्र होइन, स्वीमिङ पुल तथा रिभल्वि ङ रेस्टुराँसमेत छ, बिल्कुल मुम्बईको एम्बेस्डर होटलजस्तै । त्यसका अतिरिक्त आश्रममा पेट्रोलपम्प पनि छ, आश्रमका गाडीलाई डेराका अधिकारप्राप्त व्यक्तिको कुपनका आधारमा पेट्रोल दिइन्छ । आश्रममा सबै कुरा त्यहीभित्र उत्पादन हुन्छ, दाल–चामलदेखि आलु टमाटरसम्म । कपडा सिलाउने र मसाल बनाउनेसम्मको काम आश्रममै हुन्छ । रामरहिमको आश्रमभित्र घुम्न ब्याट्रीवाला कारको व्यवस्था पनि छ, जसमा सवार भएर बाबा कहिलेकाहीं आश्रमको चक्कर लगाउँथे । यतिमात्र होइन, आश्रममा विशाल वासिङ मेसिन पनि राखिएको छ, जसमा एकै पटक १० देखि १५ हजार कपडा धुन सकिन्छ । आश्रममा सिसिटिभी त छँदैछ, कन्ट्रोल रुम पनि छ जहाँबाट भारतका सबै टेलिभिजन च्यानल मनिटरिङ गरिनुका साथै बाबासम्बन्धी समाचार रेकर्ड गर्ने व्यवस्था छ । 

समाचारमा बताइएअनुसार गुफाको एउटा हलमा स्विमिङ पुल पनि छ, जहाँ जान कसैलाई अनुमति थिएन । बाबाको डेराबाट हरेक दिन रोएको–कराएको आवाज सुनिन्थ्यो । केही समयपछि गुरमित गुफाको माथिल्लो भागमा आएर झ्याल खोल्थे । गुरमित बस्ने ठाउँलाई गुफा बताइए पनि त्यो कुनै भूमिगत गुफा थिएन, त्यो एक किसिमले राजमहल नै थियो । यतिसम्म कि उनले आफूलाई राजाजस्तै बनाएका थिए, उनको सेवाका लागि २ सय बढी सुन्दर साध्वी राखिएका थिए, जसमध्ये दैनिक ३० जना साध्वी बाबाको सेवाका लागि तैनाथ गरिन्थे । अहिले ती सबैलाई डेराबाट गायब पारिएको बताइन्छ । बाबा खानपिनमा पनि निकै सौखिन थिए । उनमा अभिनेता तथा गायक बन्ने सौख समेत थियो । गुरमितका पूर्व ड्राइभर खट्टा सिंहले यी सबै जानकारी दिँदै जहाँ रामरहिमका साध्वीहरू रहन्थे त्यहाँ पुरुषको प्रवेशमाथि प्रतिबन्ध लगाइएको बताएका छन् । 

डेराका केही कर्मचारीले रामरहिमको जीवनशैली महाराजाको जस्तो भएको दाबी गरेका छन् । उनी शीश महलमा बस्थे । उनी राजाको जस्तो पोसाक लगाउन रुचाउँथे । उनका लागि दैनिक त्यस्तै पोसाक तयार राखिन्थ्यो, जसलाई बाबा स्वयं डिजाइन गराउँथे । यसका साथै बाबा रामरहिमसँग २ सयभन्दा बढी लक्जरी कार थिए । तीमध्ये केही करोडांै पर्ने गाडी थिए, जसको डिजाइन बाबा आफैंले गराएका थिए । 

स्वयंलाई रकस्टार दाबी गर्ने बाबाको डेरामा साध्वीहरूसँग गर्ने यौनिक दुव्र्यवहारका लागि ‘कोड वर्ड’ प्रयोग गरिन्थ्यो । उनी जुन महिलाका साथ सुत्थे, त्यसलाई रामरहिमका तर्फबाट मिलेको ‘माफी’ भनिन्थ्यो । जब कुनै पनि महिला वा युवतीलाई उनको आवास अर्थात् गुफामा पठाइन्थ्यो, चेलाहरू त्यसलाई ‘बाबाको माफी’ बताउँथे । 

ग्ल्यामरको प्रयोग 

डेरा प्रमुख गुरमित रामरहिमको छवि ग्ल्यामरस थियो । गुरमित स्वयं आफू कैयौं विद्यामा सिद्धहस्त भएको दाबी गर्थे । उनी हिपहप, फ्युजन, फोक, ज्याज, र्‍यापजस्ता विभिन्न विधामा आफूले सयौं कन्सर्ट दिइसकेको बताउँथे भने युवावस्थामा ३२ भन्दा बढी खेलमा भाग लिएको दाबी गर्थे ।

डेराअन्तर्गत रामरहिमले ‘एमएसजी२: द मेसेन्जर’, ‘एमएसजी: द वारियर लायन हार्ट’ ‘हिन्द का नापाकको जवाब: एसएमजी लायन२ हार्ट’ तथा ‘जट्ट इन्जिनियर’जस्ता फिल्म निर्माण गरे । ती सबै चलचित्रमा उनी स्वयं नायक थिए, जसलाई चमत्कारिक चरित्रमा प्रस्तुत गरिएको छ । ती चलचित्र सामाजसेवा र परोपकारका लागि निर्माण गरिएको दाबी रामरहिमको छ । रामरहिम आफूलाई समाजसेवी, धार्मिक नेता, नायक, फिल्म मेकर, गीतकार तथा गायकका रूपमा चिनाउँथे । 

माननीय प्रधानमन्त्रीज्यू, 

श्री अटलविहारी बाजपेयी (भारत सरकार) 

विषय: डेराका महाराजद्वारा सयौं केटीहरुमाथि गरिएको बलात्कारको जाँच गरिदिनुहुन । 

श्रीमान्ज्यू, 

म पन्जाब निवासी हुँ र पाँच वर्षदेखि डेरा सच्चा सौदा सिरसा (हरियाणा धन धन सतगुरु तेरा ही आसरा) मा साधु केटीका रूपमा कार्यरत छु । मजस्ता सयौं केटीहरु डेरामा १६ देखि १८ घण्टा सेवा गर्छन् । यहाँ हाम्रो शारीरिक शोषण गरिन्छ साथै डेराका महाराज गुरुमित सिंद्वारा यौनिक शोषण (बलात्कार) समेत हुन्छ । म बीए पास गरेकी केटी हुँ । मेरो परिवारका सदस्य महाराजका अन्ध श्रद्धालु छन्, जसको प्रेरणाबाट म डेरामा साधु बनेकी थिएँ । 

साधु बनेको दुई वर्षपछि महाराज गुरमितकी प्रेमीका साधु गुरजोतले एक रात १० बजे मलाई महाराजले गुफा (महाराज बस्ने स्थान) मा बोलाएको कुरा बताइन् । म पहिलो पटक त्यहाँ गैरहेकी थिए, त्यसैले एकदमै खुसी थिए । मलाई लागिरहेको थियो कि खुद परमात्माले मलाई बोलाएका छन् । गुफा माथि पुगेर हेर्दा महाराज बेडमा बसिरहेका थिए । उनको हातमा रिमोट थियो, अगाडिको टिभीमा ब्लू फिल्म चलिरहेको थियो । बेडको सिरानीमा रिभल्भर राखिएको थियो । त्यो सब देखेर म हैरान भए, मेरो खुट्टामुनिको जमिन भासियो । यो के भैरहेको छ ? महाराज यस्ता होलान भनेर मैले सपनामा पनि सोचेकी थिइन् । महाराजले टिभी बन्द गरे र मलाई साथमा बसाएर पानी पिलाए अनि भने मैले तिमीलाई आफ्नी खास प्यारी सम्झेर बोलाएको हुँ । त्यो मेरो पहिलो दिन थियो । महाराजले मलाई अंगालो मार्दै भने म तिमीलाई हृद्धयदेखि चाहन्छु । तिमीसँग प्रेम गर्न चाहन्छु, किनभने तिमीले साधु बन्ने समयमा तन, मन, धन सबै सतगुरुलाई अर्पण गर्ने कुरा बताएकी थियौं । त्यसैले अब तिम्रो तन, मन मेरो हो । मैले विरोध गर्दा उनले कुनै शंका छैन् म नै भगवान हुँ भने । जब मैले सोधे, के भगवानको काम यही हो ? उनले भने : 

१) श्री कृष्ण भगवान थिए, उनी कहाँ ३ सय ६० गोपिनी थिए जोसँग उनी हरेक दिन प्रेम लीला गर्थे, तै पनि मानिसहरू उनलाई परमात्मा मान्थे । यो कुनै नयाँ कुरा होइन् । 

२) मैले चाहे भने यो रिभल्बरले प्राणपखेरु उडाएर यही आश्रममा तिम्रो दाहसंस्कार गर्न सक्छु । तिम्रो घरपरिवार सबै प्रकारले ममाथि विश्वास गर्छ, उनीहरू मेरा गुलाम हुन् । उनीहरू मभन्दा बाहिर जान सक्दैनन्, यो कुरा तिमीलाई राम्रोसँग थाहा छ । 

३) हाम्रो सरकारमा धेरै चल्छ । हरियाणा र पन्जाबका मुख्यमन्त्री तथा केन्द्रीय मन्त्रीहरू मेरो चरण छुन्छन् । राजनीतिज्ञहरू सधैं हाम्रो समर्थन लिन्छन्, पैसा लिन्छन् त्यसैले हाम्रो विरोधमा कहिल्यै जानेवाला छैनन् । हामी तिम्रो परिवारका नोकरी लागेका सदस्यहरूलाई यहाँबाट बर्खास्त गरिदिनेछौं । म ती सबै सदस्यलाई मारिदिनेछु र प्रमाण पनि छोड्ने छैन् । यो तिमीलाई राम्रोसँग थाहा छ कि हामीले यसअघि पनि डेराका प्रबन्धक बजिर चन्दलाई समाप्त पारेका थियौं । हामी पैसाको बलमा राजनीतिज्ञ, पुलिस तथा न्याय खरिद गर्न सक्छौं । यसरी धम्क्याएर उसले मसँग यौन दुव्र्यवहार गर्‍यो र पछिल्ला तीन महिनामा २०—३० पटक यस्तै गरिसकेको छ । 

आज मलाई थाहा भयो कि मभन्दा पहिले पनि जुन केटीलाई उनले आफ्नो कोठामा बोलाउँथे उनीहरूसँग पनि यस्तै यौन दुव्र्यहार गरिन्थ्यो । डेरामा रहेका ३५—४० जना साधु महिला ३५—४० वर्षभन्दा माथिका छन् । जसको विवाहको उमेर घर्किसकेको छ, उनीहरूले परिस्थितिसँग सम्झौता गरिसकेका छन् । तीमध्ये धेरैजसो महिला बीए, एमए तथा बीएड उत्तीर्ण छन् । घरपरिवार कट्टर अन्धविश्वासी भएका कारण उनीहरू नरकको जीवन बिताइरहेका छन् । 

हामीलाई सेतो लुगा लगाउन, टाउकोमा चुन्नी राख्न, कुनै पुरुषलाई आँखा उठाएर हेर्न बन्देज लगाइएको छ भने लोग्ने मानिसहरूबाट पाँच—दश फुट टाढै बस्न महाराजको आदेश छ । हामी हेर्दा देवी हौं, तर हाम्रो हालत वेश्याको जस्तो छ । मैले एक पटक आफ्नो परिवारका सदस्यहरूलाई डेरामा केही पनि ठीक छैन भने तर परिवारका सदस्यहरू रिसाउँदै कराउन थाले–भगवानसँग बस्दा ठीक छैन भने कहाँ ठीक हुन्छ त ? तेरो मनमा गलत विचार आउन थाल्यो । सतगुरुलाई सम्मान गर । 

म एकदमै मजबुर छु । यहाँ सतगुरुको आदेश मान्नुपर्छ । यहाँ कुनै दुईवटी युवती आपसमा कुराकानी गर्न सक्दैनन्, घरपरिवारसँग टेलिफोनमा कुराकानी गर्न पाउँदैनन् । घरपरिवारको फोन आए पनि महाराजको आदेशअनुसार टेलिफोन वार्तामा पूर्णत: बन्देज लगाइएको छ । यदि कुनै युवतीले डेराको यो सत्यताका बारेमा कुरा गर्न थाले उसको मुख बन्द गरिदिनु भन्ने महाराजको आदेश छ । 

पछिल्ला दिनहरूमा जब भठिण्डा (पन्जाब)की एक साधु युवतीले महाराजका काला कर्तुत सबै महिलाहरूका अगाडि खुलासा गरिन तब कयौं साधु युवती मिलेर उनलाई कुटपिट गरे । घर गैसकेकी कुरुक्षेत्र जिल्लाको एक युवतीले घरपरिवारलाई डेराको यर्थात बताइदिइन् । उनका भाइ डेराका सेवादार थिए, उनले सेवा छाडेर डेरासँगको नाता तोडे ।

संगरुर जिल्लाकी एक युवतीले घर आएर छिमेकीहरूसँग डेरामा हुने कालो कर्तुतका बारेमा बताइन् । त्यसपछि बन्दुकले लैस डेराका गुण्डाहरू केटीको घर पुगे । उनीहरूले कोठाको चुकुल लगाएर विभिन्न धम्की दिँदै भविष्यमा कसैलाई केही नभन्न भने । यस प्रकारका कयौं युवती मानसा, फिरोजपुर, पटियाला, लुधियाना जिल्लामा छन्, जो घर पुगेर पनि चुपचाप छन् किनभने उनीहरूको ज्यानमाथि खतरा छ । यसैगरी सिरसा, हिसार, फतेहावाद, हनुमानगढ, मेरठ आदि जिल्लाका कयौं युवती डेराको गुण्डागर्दीका अघि केही बोल्न सक्दैनन् । 

अत: तपाईंसँग अनुरोध छ कि मैले यसमा आफ्नो नाम उल्लेख गरे भने ती सबै युवतीका साथसाथै मलाई पनि मेरो परिवारसँगै मारिदिनेछन् डेराका गुण्डाहरूले । यद्यपि म न त चुप बस्न सक्छु र न त मर्न नै चाहन्छु, म जनताका अघि सत्य ल्याउन चाहन्छु । यदि तपाईंले सञ्चार माध्यमबाट कुनै एजेन्सीलाई अनुसन्धान गराउने हो भने डेरामा रहेका ४० देखि ५० जना युवती, जो भय र डरमा छन्, पूरा विश्वास दिलाए सच्चाइ बताउन तयार छन् । 

हाम्रो डाक्टरी जाँच गराइयोस ताकि हाम्रा अभिभावक एवं तपाईंलाई थाहा हुनेछ कि हामी कुमारी हौं कि होइनौं ? यदि होइनौं भने कसबाट बर्बाद भएका हौं ? 

(डेरा सच्चा सौदामा कार्यरत अज्ञात साध्बीले १३ मई सन् २००२ मा तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई लेखेको पत्रको भावानुवाद)  

प्रकाशित :भाद्र २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्