हाम्रा खेलाडीको फिनिसिङ कमजोर देखियो

- साप्ताहिक संवाददाता

भाद्र २०, २०७४-

साफ यू–१५ च्याम्पियनसिपमा नेपाली टिम प्रशिक्षक सुनिल श्रेष्ठको नेतृत्वमा मैदानमा उत्रिएको थियो । लामो समयदेखि उमेर समूहको फुटबलमा प्रशिक्षकको भूमिका निर्वाह गरिहेका श्रेष्ठले हालसालै एसियाली फुटबल महासंघ (एएफसी) बाट ‘ए’ स्तरको लाइसेन्स प्राप्त गरेका छन् । उनको रेखदेखमा टिम यसपटक फाइनलसम्म त पुग्यो, तर उपाधि जित्न सकेन । श्रेष्ठसँग साप्ताहिकको पाँच प्रश्न : 

नेपाली टिमको मुख्य कमजोरी के रह्यो ?

हाम्रा खेलाडीको फिनिसिङ कमजोर देखियो र यो नै हाम्रो मुख्य समस्या हो । अवसर सिर्जना गरे पनि हामी फिनिसिङमा चुक्दै आएका छौं । 

समग्रमा नेपालको प्रदर्शन कस्तो रह्यो ?

हामी फाइनलमा पराजित भयौं, तर यो टिममा कमजोरी औंल्याउने धेरै ठाउँ छैन । नेपाली टिमको प्रदर्शनबाट म सन्तुष्ट छु । भारत निकै बलियो टिम हो र हामीले फाइनलमा त्यही टिमविरुद्ध अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेनौं । 

फाइनलमा हामी कहाँ चुक्यौं ?

भारतविरुद्ध हाम्रो रणनीतिले काम गरेको हो । डिफेन्समा देखिएको हाम्रो कमजोरीबाट भारतले फाइदा उठायो । हामीलाई यो प्रतियोगिताले धेरै फाइदा गरेको छ । हामीले आफ्नो कमजोरी थाहा पायौं र त्यसमा सुधार गर्ने अवसर पाएका छौं । 

के अहिलेको टिम यसअघिको यू–१६ को टिमभन्दा कमजोर थियो ?

म यसलाई मान्दिनँ । यसअघिको टिमले पनि साफ यू–१६ च्याम्पियनसिप जित्न सकेको थिएन् । यसरी दुई अथवा त्योभन्दा बढी टिमबीच तुलना गर्न मिल्दैन । 

अब टिमको ध्यान केमा केन्द्रित हुनेछ ?

अब नेपालले एएफसी यू–१६ को छनोट खेल्नेछ । त्यसमा भारतसँगै डिफेन्डिङ च्याम्पियन इराक र प्यालेस्टाइन छन् । अब हामी त्यसकै तयारीमा लाग्नेछौं ।

 

प्रकाशित :भाद्र २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्