क्षेत्रपाटीबाट समातियो ४३ करोड बढीको सुन

- साप्ताहिक संवाददाता

भाद्र १९, २०७४-

प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ४३ करोड बढी मुल्य पर्ने ८८ किलो अवैध सुन बरामद गरेको हो । आइतबार राति महानगरीय अपराध महाशाखाका डिएसपी नगेन्द्रप्रसाद उप्रेतीको कमाण्डमा खटिएको टोलीले यति ठूलो मात्रामा सुन बरामद गरेको हो ।

 

यसअघि सिआईबीले ३३ किलो सुन बरामद गरेको थियो । महाशाखाकाअनुसार क्षेत्रपाटीको सडकमा पार्किङ गरिएको बा १७ च ६४२७ नम्बरको गाडीमा शंका लागेर खोजतलास गर्दा आइतबार राति २ बजे उक्त सुन समातिएको हो ।

 

सडकमा पार्किङ गरी राखिएको गाडीमा शंका लागेपछि प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिएर चेकचाज र खानतलासी गर्ने क्रममा गाडीका विभिन्न पार्टपूर्जा खोली हेर्दा गाडीको पछाडिको भागमा कालो टेप बेरी १ किलो गोल्ड लेखिएको अवस्थामा ठूलो मात्रामा सुन भेटिएको थियो । उक्त ८८ किलो सुन सोमबार प्रति तोला सुनको बजार मुल्य ५७ हजारका दरले हिसाब गर्दा ४३ करोड १ लाख ८८ हजार ६ सय ७९ रुपैयाँ हुन आउँछ ।

 

प्रहरीले सुनसँगै गाडीका चालक २४ वर्षीय मनोज अधिकारीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको जनाएको छ ।

 

सूचना पहिले नै थियो : प्रहरी

प्रहरीले सुन तस्करीका विषयमा पूर्व सूचनाका आधारमा उक्त सुन बरामद गरेको जनाएको छ । ‘काठमाडौं उपत्यका भित्र केही ब्यक्तिहरुले भन्सार छलि अवैध रुपमा सुन चोरी पैठारी गरी रसुवा केरुङ नाका हुँदैं काठमाडौं भित्र्याई सुनको अवैध कारोबार गरेका छन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले केही दिनदेखि नै निगरानी राखेको थियो,’ महाशाखाका प्रवक्ता डिएसपी उप्रेतीले भने । 

प्रकाशित :भाद्र १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्