नेपालभन्दा अगाडि भारत

- साप्ताहिक संवाददाता

भाद्र १८, २०७४-

साफ यू–१५ फुटबल च्याम्पियनसिपमा त्यही टिम विजयी भयो, जुन वास्तवमै बलियो र सुदृढ थियो । भर्खरै काठमाडौंमा सम्पन्न उक्त प्रतियोगितामा भारत च्याम्पियन भयो र त्यसका लागि उक्त टिम वास्तवमै हकदार थियो । भारतले पूरा प्रतियोगिता भर राम्रो खेल्यो । भारतलाई चुनौती पेस गर्न सक्ने टिम सम्भवत: नेपाल मात्र थियो । फाइनलमा यिनै दुई टिम भिडे र, अन्त्यमा फेरि यो तथ्य सावित भएको छ, भारतीय फुटबल अब निकै दरोरूपमा अघि बढ्दैछ । 

सम्भवत: अब नेपालले भारतलाई छुन सहज छैन । अहिले पनि उमेर समूहमा मात्र होइन, राष्ट्रिय टिममै पनि भारत र नेपाल भिड्नुपर्छ, खेल प्रतिस्पर्धात्मक नै हुन्छ । यू–१५ को फाइनल पनि त्यसको अपवाद भएन् । खेलका क्रममा भारतीय टिम आफ्नो व्यवसायिकता प्रस्तुत गर्न सफल देखियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनलमा पनि नेपालले भारतविरुद्ध अग्रता लिएको थियो, तर भारत आत्तिएन र अन्तत: खेलमा फर्कन सफल भयो । 

फाइनल खेलको नतिजा भारतको पक्षमा २–१ रह्यो । नेपालले अग्रता लिँदा पनि धेरै विश्लेषकहरूलाई लागिरहेको थियो, भारतसँग खेलमा फर्कने क्षमता छ । नेपाल भारतका लागि सधैं बलियो प्रतिद्वन्द्वी रहँदै आएको छ, भारतीय प्रशिक्षक फर्नान्डेज भन्छन्– हाम्रा खेलाडीहरू मानसिक रूपमा बलिया छन् र फाइनल जित्ने क्रममा उनीहरूले यही गुण देखाए । साफ यू–१५ को यो चौथो संस्करण हो र यहाँसम्म आइपुग्दा नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन् । 

प्रत्येक पल्ट नेपालको चुनौती भारतको हातबाट समाप्त भएको छ र यसपल्ट पनि त्यस्तै भयो । लिग चरणमा पनि नेपाल भारतसँगै पराजित भएको थियो । पछिल्लो समय भारतीय फुटबलमा पर्याप्त सुधारको संकेत देखिन थालेको छ । अहिलेको यू–१५ टिम तयार गर्न भारतीय फुटबल संघले निकै मेहनत गरेको छ । काठमाडौंमा उत्रिएको टिमका लगभग सबै सदस्य संघको एकेडेमीका खेलाडी हुन् । भारतमा व्यवसायिक फुटबलको स्तर बढ्न थालेपछि त्यसको सकारात्मक असर उमेर समूहको टिममा समेत देखिन थालेको छ । 

सन् २०११ मा प्रारम्भ भएको यो प्रतियोगितामा भारतले दरिलो चुनौती पेस गर्दै आएको छ । भारत अहिले समेत गरेर दुई पटकको च्याम्पियन हो । जुन संस्करणमा भारतले उपाधि जित्न सकेको थिएन्, त्यो संस्करणमा ऊ कम्तीमा फाइनलसम्म पुग्न सफल रहँदै आएको छ । नेपाल भने फाइनलमा रोकिएको यो दोस्रो पटक हो । सन् २०१३ को फाइनलमा पनि नेपाललाई भारतले नै हराएको थियो । नेपाल यो प्रतियोगिताको चारवटै संस्करणको सेमिफाइलनसम्म पुग्न सफल टिम हो । 

यसपटकको प्रतियोगितामा कुल छ टिमको सहभागिता थियो । अफगानिस्तानले दक्षिण एसियाली फुटबल छाडेकाले प्रतियोगितामै भाग लिएन् । यसपटक सन् २०११ को पहिलो संस्करणको विजेता पाकिस्तान पनि सहभागी थिएन । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर गराइएको प्रतिस्पर्धामा समूह ‘ए’ बाट बंगलादेश र भुटानले सेमिफाइनलको यात्रा तय गरेका थिए । उक्त समूहको लिग चरणबाट बाहिरिने टिम श्रीलंका थियो । समूह ‘बी’ बाट भारत र नेपाल अगाडि पुगे भने माल्दिभ्स लिग चरणमै रोकियो । 

भुटानले पनि प्रतियोगितामा सुधारिएको खेल प्रदर्शन गरेको थियो र त्यसक्रममा श्रीलंकालाई ६–० ले हरायो । सेमिफाइनलमा भुटान भारतसँग ३–० ले हार्‍यो । तेस्रो स्थानका लागि भएको खेल भुटानका लागि सुखद रहेन् र उ बंगलादेशसँग ८–० को ठूलो अन्तरले पराजित भयो । बंगलादेश आफैं भने सेमिफाइनलमा नेपालसँग पराजित भएको थियो । प्रतियोगिताकै एक अर्को प्रतिस्पर्धात्मक खेलमा नेपालले बंगलादेशको चुनौती ४–२ ले रोकेको थियो । 

 

प्रकाशित :भाद्र १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्