यो झरीमा तिमीसँगै

- अविरल थापा

भाद्र १८, २०७४

 

झरी परेपछि खोलामा जति बाढी बढ्छ, मान्छेको मन पनि उत्तिकै उर्लिन्छ । पहिरो पहाडमा मात्र होइन, मनमा पनि खस्न थाल्छ, मन पनि डुबानमा पर्छ ! झरी पर्न थालेपछि त्यसै–त्यसै प्रेमिल अनुभूति हुन्छ । झरीध्ख्ले पुराना रोमाञ्चक यादहरू सतहमा ल्याइदिन्छ र मानिसलाई पानी–पानी बनाइदिन्छ ।

भनिन्छ, काँडाले नकोतरेको तन र पिरतीले नकोतरेको मन कसैको हुँदैन । अझ पिरतीले चिथोरेरै छोडेको मन छ भने त झरीमा मन भरिएर आइ नै हाल्छ ।

चाहेर वा विवशता जो–कोही झरीमा रुझेकै हुन्छन् । मन परेको मानिससँग कतै यात्रामा जाँदा रुझेको याद त अझ जीवनभर मनमा बसिरहन्छ । त्यो मानिस पछि छुटेर टाढा गएको छ वा अरू कसैको भैसकेको छ भने त झन् झरी पर्दा पुराना पल सम्झेर मानिस त्यसै तरंगित भैहाल्छ । 

मानिसहरूलाई आफ्नो जीवनमा घटेका पुराना घटना सबैभन्दा र सदैव प्रिय लाग्छन् । जे छैन त्यसकै चाह हुन्छ । यो भैदिएको भए यस्तो हुन्थ्यो, ऊ भैदिएको भए यस्तो हुन्थ्यो भन्ने जीवनभर लागिरहन्छ । हुनु र भैदिएको भए हुन्थ्यो बीच धेरै सम्भावना लुकेको हुन्छ । आफूसँग छउन्जेल वा आफूसँगै हुन्जेल उति वास्ता हुँदैन तर गुमाइसकेपछि बल्ल त्यो कुरा वा त्यो मानिस कति महत्वपूर्ण थियो भन्ने आभास हुन्छ । केही न केही गुमाएर र कसै न कसैलाई सम्झेर जीवन जिउनुपर्ने त मानिसको नियति नै हो । जवानीमा साना–तिना भूल र बदमासी धेरैले गर्छन् । माया–प्रेममा गरिएका बदमासी त जीवनभर मुटुमा सुल बनेर गाडिइरहन्छन् ।

नसम्झी बस्न सकिएला तर कसैले पनि ती कुरालाई पूरै विस्मृत गर्न सक्दैन । पींधमा बसेका यादहरूलाई परिस्थित र मौसमले सतहमा ल्याइदिन्छ । झरीको मौसम त्यस्तै मौसम हो जसले धेरै यादहरूलाई ह्दयमा उधिनेर अगाडि राखिदिन्छ । कसैसँग रुझ्ने चाह हुँदाहुँदै रुझ्न पाइएको हुँदैन । कहिलेकांही आफूलाई सँगै रुझ्न मन लागेको मान्छे अर्कैसँग रुझिरहेको हुन्छ । अझ स्कुल–कलेज जीवनमा आफूलाई मन परेको मान्छेलाई झरी पर्दा छाता दिन पाए हुन्थ्यो, सँगै ओढेर हिंडन पाए हुन्थ्यो भन्ने लाग्छ । आफूसँग छाता नहुँदा आफ्नै साथीको वा आफूलाई मन नपर्ने मान्छेको छाता ओढेर आफूलाई मन पर्ने मान्छेसँगै जाँदा मन कति चिरिन्छ ? कहिलेकाहीं झोलामा छाता भए पनि नभएजस्तो गरी धीत मर्ने गरी रुझ्दै कुरा गर्नुको मज्जा पनि बेग्लै हुन्छ । एउटै छाता ओढेर हिंड्दा हुने निकटताको अनुभूति धेरैले 

गरेका हुन्छन् । 

 

जवानीमा छाता र मन सापट लिएर फिर्ता नदिने पनि धेरै हुन्छन् । छाताको भन्दा पनि छाता र मन लानेको निष्ठुरी यादले सताइरहन्छ । कसैसँग फेरि एकचोटि भेटेर छुट्टिएपछि कहिल्यै भेट नै भएको हुँदैन । कसैको नाम सोध्न भ्याइँदैन, कसैको ठेगाना सोध्न भ्याइँदैन । जीवनमा जुन चिजको तृप्ति हुँदैन त्यही कुराको तलतल लाग्ने न हो । झरी परेपछि तिनै तलतल मेट्न मन लाग्छ । मन त्यसै–त्यसै बहकिएर आउँछ । छुटेकाहरूको सम्झना आउँछ । आफ्नो बनाउन नसकेकाहरूको याद आउँछ । 

 

आजकाल सामाजिक सञ्जालको उपलब्धताले भावना पोख्न र अरूका सामु अभिव्यक्त गर्न सजिलो भएको छ । यस्तोमा पानी पर्न थालेपछि कसैको याद आएको वा कुनै गीत सुन्न मन लागेको कुरा धेरैले व्यक्त गरेको देखिन्छ । मान्छेको मन हजारौं याद र गुनासाहरूले भरिएको हुन्छ । जिन्दगीमा कतै न कतै सबै चुकेकै हुन्छन् । झरीले अक्सर प्रेमिल यादहरूलाई सम्झाइदिन्छ । अहिले जोसँग भए पनि पहिले भोगेका क्षणहरू, बिताएका पलहरू झलझली ताजा गराइदिन्छ । त्यही मानिस अहिले सँगै भए पनि पहिले सँगै भोगेको समय फेरि दोहोर्‍याउन पाए हुन्थ्यो भन्ने लाग्छ । यस्तै–यस्तै अनेकन याद दिलाउँछ झरीले र हरेक मान्छे झरीसँगै आफू पनि भिज्न थाल्छ । झरीमा रुझ्नु र रुझाउनुको मज्जा जति छ सम्झनाको झरीमा निथु्रक्क रुझ्नुमा पनि उत्तिकै रमाइलो हुन्छ । झरीमा नआत्तिने र नमात्तिने मन कसको होला र ? यो झरीमा तिमीसँगै रुझ्न पाए जाती हुन्थ्यो  ओभानो यो जिन्दगीमा मन बुझाउने साथी हुन्थ्यो ।

 

प्रकाशित :भाद्र १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्