तोया : समय–समयको कुरा

- किशोर नेपाल

भाद्र १७, २०७४-

बुट्टा : तिमी अझै उस्तै रहिछौ

तिम्रो उमेरसम्म म के हुने हुँ

अचम्म पल–प्रतिपल किन भौंतारिरहेछौ

लाग्थ्यो—

तिमी कतै मरिसक्यौ

कतै गलिसक्यौ

तिमीलाई कस्तो मोह यो देशको

कैयन् राष्ट्रमा युद्धमा मुक्त/मुक्त सलबलाइरहन्छौ

आफ्नै देशका पनि कुरा भन्छौ.....

King is only decoration of my country.

चमक–दमक र हल्लाको यो दुनियाँमा एकपटक प्रसिद्ध भैसकेका नामहरू गुमनाम हुनु अस्वभाविक होइन । इतिहासको समझ र भविष्यको चिन्ताभन्दा वर्तमानको सुखमा बढी केन्द्रित यो समयमा कला, संस्कृति र साहित्य ओझलमा पर्नु र तिनमा ओस लाग्नु स्वभाविक हो । चमक–दमकको शताब्दी पक्कै होइन एक्काइसौं शताब्दी तर यस्तो लाग्छ यो शताब्दीलाई मानिसको व्यग्रता र हल्लाले थिच्न थालिसकेको छ । कम्तीमा पनि हाम्रो देशमा यस्तै भैरहेको छ । विषयहरू छरिएका छन । रंगहरू एकछिन टल्किन्छन् र खुइलिन्छन् । हिरोहरू पलपलमा जिरोमा परिणत हुन्छन् ।

तोया गुरुङ— धेरैलाई लाग्ला, म यो कसको कुरा गर्दैछु ? फेसबुक र इन्टरनेटमा नभेटिने को मानिस हो यो ? तोयाका बारेमा मानिसहरूको यो अज्ञान हुनु पनि पर्छ । अहिले सबै कुरा छोपिएको छ । समयको पर्दा एक दिन खुल्नेछ । त्यसपछि तोया र अरु प्रतिभाहरू टल्किनेछन् मानिसका आँखा चकाचौंध पार्दै ।

तोया गुरुङको स्मृतिका पाना खुलेका छन् । उनका सम्झनाहरूको सँगालो भनौं वा कवितामा मिसिएका निबन्ध भनौं प्रकाशित भएको छ ‘अस्पृश्य ।’ तोयाले अस्पृश्य शब्दको प्रयोग त्यत्तिकै गरेकी होइनन् । उनी भन्छिन्, ‘मैले सांकेतिक भाषामा आफूलाई पुरातन धरोहरका रूपमा प्रस्तुत गर्न खोजेकी हुँ । हाम्रा धरोहर हाम्रो जीवन हो । अहिले क्षय भैरहेको छ धरोहरको । यसलाई जस्ताको तस्तै बनाउने सामथ्र्य हामीसँग नभएको होइन, तर बनेको छैन । देशमा पैसा छ । सरकारले खर्च गर्न सकेको छैन । पैसा जाम भएर बसेको छ । काम भएको छैन ।’

तोया गुरुङ नेपाली साहित्यको समर्थ कवि हुन् । उनको दृष्टिकोण व्यापक रूपले उदार र परिवर्तनकारी छ । उनका कवितामा परिवर्तनका संकेत स्पष्ट देखिन्छन् । आधा दर्जनजति कविता–संग्रह सूर्यदह, पुनरावती, देवल घुमेपछि, धूपी (अंग्रेजी) र अन्य, प्रकाशित छन् उनका । तैपनि उनले सधैं ‘लो–प्रोफाइल’ बसेर जीवनलाई जितिन् । उनी एकेडेमिसियन भैसकेकी कवि हुन् । उनको माइती वाक्सिला (खोटाङ) हो, तर उनी जन्मिइन् तातोपानी (सिन्धुपाल्चोक) मा, जहाँ उनका बुबा सेनाका लप्टनका रूपमा कार्यरत हुनुहुन्थ्यो अनि उनको विवाह भयो ओखलढुंगाका घलेजीसँग ।

कुनै बेला उनी मोरङ कलेजको विद्यार्थी युनियनमा पनि उठेकी थिइन् नेपाल विद्यार्थी संघको प्यानलबाट । त्यतिबेला उनी नेपाल बैंक लिमिटेडको जागिरे पनि थिइन् । उनले गरेको एकदिने राजनीति थियो यो । साथीभाइको अनुरोधमा उनले बिहान उम्मेदवारी दर्ता गरिन्, दिनभर प्रचारमा लागिन, साँझ विद्यार्थी–विद्यार्थीबीचको झगडामा मतपत्र च्यातियो । चुनाव स्थगित भयो ।

उनको राजनीति पनि सकियो, तर टन्टा सकिएन । त्यो निर्दलीय निरंकुश पञ्चायत राजनीतिको जमाना थियो । कांग्रेस–कम्युनिस्टको राजनीति गर्न नपाइने जमाना । उनलाई बैंकले स्पष्टीकरण सोध्यो । स्पष्टीकरणको यो लहरो केन्द्रसम्मै तानियो । स्पष्टीकरण दिंदा उनले त्यही एकदिने राजनीतिको सूत्र अपनाइन र जोगिइन् । तोयाले लामै समय जागिर खाइन् नेपाल बैंक लिमिटेडको । काठमाडौं आएर नेपाल बैंकको प्रेस स्थापना, सञ्चालन, पत्रिका प्रकाशन तथा प्रचारमा उनको निकै खँदिलो योगदान रह्यो ।

तोया बीपी कोइरालाबाट प्रभावित र बीपीको सान्निध्य पाएकी कवि हुन् । तोयामा बीपीलाई भेट्ने हुटहुटी यति धेरै थियो कि उनी २०३३ सालको एक बिहानै तारिणीप्रसाद कोइरालाको जय बागीश्वरीस्थित घर जान भनेर हिंडिन्, तर उनले त्यो घरमा छिर्ने मूल ढोका फेला पार्न सकिनन् । उनमा तन्नेरी जोस थियो । घरको साँधमा लगाइएको काँडेतारको बार नाघेर उनी घरको पछिल्लो भागबाट घरभित्र पुगिन् । बीपीलाई भेटिन् र आफ्नो कविता सुनाइन् । अहिलेको जस्तो समय 

भएको भए त पक्कै सेल्फी खिच्थिन् होला । उनी त्यो क्षण सम्झन्छिन् र भावुक बन्छिन् । शैलजा आचार्यको दह्रो व्यक्तित्वबाट प्रभावित तोयाका बुबा सेनाको जागिरे भए पनि तोयाको संगत प्रजातन्त्रवादीहरूसँग थियो । कविताको संसारमा पनि उनको पहिचान प्रजातान्त्रिक धारकी महत्वपूर्ण कविका रूपमा स्थापित छ । तोया अहिले पनि सक्रिय छिन् । साहित्य राष्ट्रिय प्राथमिकताको तल्लो तहमा परेकोमा भने उनी खिन्न छिन । तैपनि उनी चित्त बुझाउँछिन्, ‘समय–समयको कुरा हो ।’ 

प्रकाशित :भाद्र १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्