लिगेसी मात्र सबै कुरा होइन

- जनक तिमिल्सिना, भिषा काफ्ले

भाद्र १६, २०७४-

अनिता यादव, पूर्व राष्ट्रपति डा. रामवरण यादवकी कान्छी छोरी हुन् । बेलायतको सरे युनिभर्सिटीकी ब्याचलर्स अनिता बेलायतकै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयकी मास्टर्स हुन् । उच्च शिक्षाका लागि झन्डै १० वर्ष बेलायत बसेकी अनिता पिता राष्ट्रपति भएपछि स्वेदश फर्किएकी हुन् । त्यसयता नेपालमा रहेर उनी पिता रामवरण यादवलाई सहयोग गर्नुका साथै समाजसेवा, योग प्रशिक्षणलगायतका काममा सक्रिय छिन् । आफ्ना विचार व्यक्त गर्न फेसबुकलाई रोज्ने अनिता स्थानीय निर्वाचनमा जनकपुर उपमहानगरपालिकाबाट मेयरको उम्मेदवार बन्ने कुरा अहिले चर्चामा छ । आकर्षक व्यक्तित्वकी धनी अनितासँग समाजसेवा तथा राजनीतिलगायतका विषयमा केन्द्रित रहेर जनक तिमिल्सिना तथा भिषा काफ्लेले गरेको कुराकानी : 

सामाजिक क्षेत्रमा निकै सक्रिय देखिनुहुन्छ यो क्षेत्रमा सक्रिय हुन केले प्रेरित गरिरहेको छ ? 

कसैले प्रेरित गरेको होइन । सानैदेखि मेरो झुकाव सामाजिक क्षेत्रमा थियो, साथै मेरो अध्ययनको विषय पनि सामाजिक शिक्षा नै हो । त्यही भएर पैसा नै कमाउने अवस्था नहँुदा पनि मैले सामाजिक क्षेत्रमा सक्रिय हुन छोडेकी थिइनँ र छाडिदिन पनि । म बेला–बेलामा जनकपुर जान्छु । त्यहाँ विभिन्न समुदायका मानिसहरूसँग भेट हुन्छ । त्यसमा केही दु:ख पाएका मानिसहरू पनि हुनुहुन्छ, उहाँहरूलाई भेट्दा सहयोग गर्न मन लाग्छ । मैले जहाँ जे गर्न सक्छु त्यो गरिरहेकै हुन्छु । 

तपाईं समय–समयमा जनकपुर जानुहुन्छ, त्यहाँ स्थानीय बासिन्दाहरूसँग भेट गर्दा कस्तो प्रतिक्रिया पाउनुहुन्छ ? 

तराईका जनता धेरै फ्रस्टेड छन् । जनकपुर पहिले धेरै राम्रो थियो । आन्दोलनले जनकपुर टुटफुट भएको छ, निराशा बढेको छ । देश एउटै हो तर त्यहाँका जनताको सोचमा हामी दुई वर्गका नागरिक भयौं भन्ने परेको छ । 

त्यस्तो निराशामा कुन फ्याक्टरले काम गरिरहेको छ ? 

संविधान जारी भएपछि जुन आन्दोलनहरू भए त्यसले त्यहाँको निराशा छर्लङ्गै देखाएको छ । आन्दोलनका कतिपय माग अझै पूरा भएका छैनन् । त्यही समयमा कतिपय मानिसले जातीयताको कुरा पनि उठाए । हुन त जातीयताको कुरा आइरहन्छ नै, तैपनि नेतृत्व गर्ने मानिसहरूले जातीयताको कुरा नउठाएको भए हुन्थ्यो । त्यसले समाजलाई विभाजन गर्छ । नेतृत्वले समाज विभाजनको कुरा उठाउने कुरामा मेरो मात्र नभएर तराईका मानिसहरूमा पनि असन्तुष्टि छ । जात र रंग भनेको केही होइन, तैपनि त्यसैका आधारमा भेदभाव हुन्छ भने निश्चित रूपमा त्यसले असन्तुष्टि जन्माउँछ । कसैले एकपटक हेंला भएको महसुस गर्छ भने त्यो सामान्य कुराले मात्र हट्न सक्दैन । त्यहाँका जनताले पनि प्रजातन्त्र ल्याउन ठूलो योगदान गरेका छन् । पहाडका मानिसले जति समय आन्दोलनका लागि दिएका थिए तराईंका मानिसले पनि त्यति नै समय दिएका छन् । यद्यपि यिनै कुरालाई लिएर कसैले नेपाललाई विभाजन गर्न खोज्छ र जातीयताका कुरा निकाल्छ भने त्यो साह्रै नराम्रो कुरा हो । 

पहिलेकै जस्तो जनकपुर बनाउन अब के गर्नुपर्ला ? 

जनकपुरलाई पहिलेकै अवस्थामा पुर्‍याउन धेरै काम गर्नुपर्नेछ । अहिले त्यहाँका मानिसहरूमा ठूलो निराशा पैदा भएको छ । उत्साह भन्ने कुरा देखिँदैन, हौसला छैन, सिंगो देशले हामीलाई फरक तरिकाले हेर्‍यो भन्ने परेको छ । पहिले त्यसलाई मेटाउनुपर्छ । जनकपुरले अहिले राम्रो राजनीतिक नेतृत्वसमेत प्राप्त गर्न सकेको छैन जुन पहिले थियो । त्यही भएर पहिलेकै अवस्थामा पुग्न धेरै काम गर्नुपर्नेछ । लामो समयपछि स्थानीय निर्वाचन हुन गैरहेको छ । यो निर्वाचनले जनताको सीधा पहुँच राज्यसम्म पुर्‍याउन सक्नुपर्छ, जसले त्यहाँको विकास निर्माणलाई गति दिन सकोस् । 

भनेपछि ठूला पार्टीले गरेका प्रतिबद्धता पूरा नगरेका कारण जनतामा निराशा बढेको हो ? 

त्यति मात्र होइन, तर केन्द्रबाटै विभाजन गरिन्छ भने त्यहाँबाट जितेर आएका नेताहरूले मात्र भनेर केही हुँदैन । कति नेताले जितेर आएपछि आफ्नो प्रतिबद्धता पूरा गरे–गरेनन्, त्यो केलाउने विषय होला । त्योभन्दा ठूलो कुरा केन्द्रका ठूला नेताहरूको सोचमा देशका जुनसुकै कुनाका जनता एउटै हुनुपर्ने हो नि । त्यसमा कुनै निश्चित क्षेत्रलाई अवहेलना गर्नु भएन । ठूला भनिएका पार्टीहरूबाट जितेर आएका नेताहरूले पनि तराईका समस्यालाई निश्चित ठाउँमा पुर्‍याउने र राज्यका कुरा जनतामा पुर्‍याउने जुन चेन चाहिने हो त्यसको अभाव पनि भएजस्तो लाग्छ । 

असोज २ मा प्रदेश नंं. २ को निर्वाचन हुँदैछ, त्यसमा तपार्इंको भूमिका के हुन्छ ?

समय पाएँ भने म पुन: त्यहाँ जान्छु । मलाई मन परेको उम्मेदवारलाई सहयोग गर्छु ।

सहयोग केका आधारमा गर्नुहुन्छ, पार्टीका आधारमा कि व्यक्तित्वका आधारमा ? 

खास भन्ने हो भने म व्यक्तिलाई नै सहयोग गर्छु । जहाँ पनि पार्टीकरण गर्ने प्रचलनले गर्दा देशमा एक किसिमको नराम्रो परिस्थिति सिर्जना गरिसकेको छ । पछिल्लो समय प्रहरी, सेनामा पनि पार्टीको कुरा आउन थालेको छ । यस्ता ठाउँमा त झनै पार्टी भन्ने कुरा हुनै हँुदैन । हामीले कतिपय ठाउँमा न्युट्रल भएर काम गर्नुपर्ने हुन्छ । त्यसले राम्रो संस्कारको विकास गर्छ । निर्वाचनमा म हाम्रोभन्दा राम्रोलाई हेर्छु ।

राम्रोलाई मात्र हेर्ने कि आफूले पनि नेतृत्व लिने ? 

अहिले नै होइन, तर मलाई इन्ट्रेस्ट लागे प्रत्यक्ष राजनीतिमा आउन सक्छु । 

अहिले जुन आधार निर्माण गर्दै हुनुहुन्छ ? त्यो राजनीतिमा हामफाल्ने तयारी त होइन ? 

कुनै पनि ठाउँबाट अर्को ठाउँमा जान कतै पनि रोकटोक छैन । अहिले म योगको माध्यमबाट सामाजिक क्षेत्रमा संलग्न छु । मलाई यसैबाट केही गर्नु छ, भविष्य बनाउनु छ । समाजमा अहिले मानिसहरूबीच दौडादौड छ, मानिस शान्त वातावरणमा बस्यो भने मात्र उसले नयाँ कुरा सोच्न सक्छ, त्यो सोचमा मैले गरेको यो कामबाट केही सहयोग होला र समाजलाई केही दिन सकिएला । मान्छे ठूलो, घर ठूलो, गाडी ठूलो भन्ने मान्यता बढ्दै गएको छ, तर जिन्दगी त्यति मात्र होइन । राजनीति भन्ने कुरा पछिको कुरा हो । जब मेरो चाहना राजनीतिमा हुन्छ त्यतिबेला राजनीति पनि गरौंला । अहिले मलाई तत्काल सामाजिक सेवाबाटै समाजलाई केही दिन सक्छु जस्तो लागिरहेको छ । 

बेलायतमा डिग्री गरेको मान्छे राम्रा अवसरहरू थिए होला, सबैे छोडेर आउनुभयो । अब आफैं नेतृत्व लिन किन अघि नबढ्ने ? 

मलाई अहिले नै राजनीतिमा आउने इच्छा छैन । मैले बाल्यावस्थादेखि नै राजनीतिलाई नजिकबाट हेर्दै आएकी छु, बुझ्दै आएकी छु । राजनीतिमा स्थापित हुन धेरै मेहनत गर्नुपर्छ, दु:खकष्ट सहन सक्नुपर्छ । यी सबै कुरा हुन ह्दयदेखि नै चार्म आउनुपर्छ, अहिले ममा त्यो चार्म छैन । भोलि त्यो चार्म आउन सक्छ त्यो बेग्लै कुरा हो । राजनीति बाहिर जति ग्ल्यामरस देखिन्छ, भित्र त्यस्तो छैन । मेरा पिताजी लामो राजनीतिक यात्राबाट आउनुभएको हो । त्यसमा कति दु:ख हुन्छ र कति धैर्यता चाहिन्छ मलाई थाहा छ । मानिसलाई गाली गर्न सजिलो छ, तर राजनीति गर्न त्यति सजिलो छैन ।

वैकल्पिक राजनैतिक नेतृत्वको बहस चलिरहेका बेला तपाईंजस्ता युवाले विकल्प दिने कि नदिने ? 

तपाईं जबसम्म आफूमा डिटरमिनेसन हुनुहुन्न राजनीतिमा नजानुहोस् । निर्वाचित भएर पाँच वर्षलाई मेयर भैहाल्छु नभए पनि ठीकै छ नि भन्ने भावनाले राजनीतिमा नहोमिनुहोस् । 

तपाईं जनकपुरको मेयर लड्ने चर्चा छ नि ?

त्यो कुनै ठूलो कुरा होइन, किनभने म जनकपुरकै बासिन्दा हुँ । त्यहाँका मानिसले मलाई मेयरको उम्मेदवार बनाउने सोच्नुभयो होला । अहिले नभए पनि भोलिका दिनमा त्यो अवस्था आउन सक्छ । 

भनेपछि राजनीतिमा लाग्न कुनै न कुनै आधार हुनैपर्छ भन्ने हो ? 

होइन, राजनीति गर्न जोसुकै स्वतन्त्र हुनुहुन्छ । तपाईं पनि राजनीतिमा लाग्न सक्नुहुन्छ । मेरो पारिवारिक ब्याकग्राउन्ड राजनीतिको छ । मेरो बुबा राजनीतिमा हुनुहुन्छ । उहाँप्रति मानिसहरूमा सकारात्मक धारणा बनेकाले उसकी छोरी पनि त्यति खराब नहोला भन्ने हुन सक्छ । अलिकति सहज त होला, तैपनि त्यो लिगेसीभित्र पनि दु:ख छ । लिगेसी मात्र सबै कुरा होइन । 

चर्चामा तपाईंको पनि केही इच्छा जोडिएको होला नि ?

मेरो इच्छा होइन, तर चर्चा स्वभाविक हो । म जनकपुर जान्छु, त्यहीं बस्छु, त्यहाँ हुँदा म रमाउँछु । मानिसहरूसँग भेट गर्छु । उहाँहरू पनि मसँग भेट्दा, गफ गर्दा खुसी हुनुहुन्छ । मैले सक्ने सहयोग पनि गरिरहेकी छु । जनकपुर मेरो जन्मस्थल हो । त्यहाँका बासिन्दाले तपार्इं आउनुपर्‍यो मेयरमा लड्नुपर्‍यो भनेका छन् । धेरै युवाहरूको चाहना पनि मैले मेयर लड्नुपर्‍यो भन्ने छ । 

चुनावलाई लिएर मधेसका युवाहरूमा कस्तो उत्साह छ ?

चुनावप्रति युवाहरू त्यति उत्साहित भएको मैले देखिनँ । जसरी अरू मानिसहरू निराश छन्, युवाहरूमा पनि निराशा छ । पहिले–पहिलेका चुनावमा जुन उत्साह देखिन्थ्यो त्यो अहिले देखिँदैन । समय र परिस्थिति नै यस्तो छ कि सबैतिर एक किसिमको नैराश्यता छाएको छ ।

 

निर्वाचन भएका तराईका अन्य क्षेत्रमा युवाहरूले उत्साहजनक रूपमा भाग लिएको देखियो नि ?

तराईमा अहिले युवाहरू नै छैनन् भन्दा हुन्छ, सबै विदेश गैसकेका छन् । गाउँमा वृद्धवृद्धा र बालबालिका मात्र छन् । वैदेशिक रोजगारीले पैसा त ल्यायो होला तर परिवारमा समस्या बढ्दै गएका छन् । समाज विभाजित भैरहेको छ । परिवार मात्र नभएर त्यसले देशमै पनि समस्या बढाउँदै गएको छ । विदेश गएका परिवारका बालबालिकाहरू भोलि अवश्य युवा हुन्छन् तर उनीहरूले पनि त्यही कुरा सिक्छन् । यी सबै राज्यले नै उब्जाएका समस्या हुन् । 

ठूला पार्टीका नेताहरू संविधानमा विभेद गरिएको छैन भनिरहेका छन् नि ?

अहिले लोकतन्त्र नै डगमगाइरहेको अवस्था छ । त्यत्रो मारकाट भएर, आन्दोलन भएर लोकतन्त्र आएको छ । त्यसलाई कसरी राम्रो गर्ने भन्नेतिर नगएर विपरीत हुँदै गएको छ । पहिलेकै कुरा गर्दा पनि यदि संविधान १० दिन पछि मात्र ल्याइएको भए पहिलेदेखि जुन कुरामा समस्या अल्झिरहेको छ त्यही कुरामा यति समय खर्च गर्नुपर्ने थिएन । अहिले सबैतिर भैसकेको चुनाव एउटा निश्चित राज्यमा भएन त्यहाँ पनि निर्वाचन भैसक्नुपथ्र्यो । किन पछाडि भयो भने हामीले त्यतिबेला नै गल्ती गरिसकेका छौं । त्यतिबेलै अलिकति समय लिएको भए यो समस्या आउँदैनथ्यो ।

त्यो समयमा संविधान नल्याएको भए संविधान नै आउँदैनथ्यो भन्ने कुरा पनि छ नि ? 

बाहिरको कुरा गरेर आफ्नो देशको जनतालाई दु:खमा पार्नु हँुदैन । बाह्य दबाब त परिरहेकै हुन्छ किनभने हामी सानो देशमा छौं, चाहे भारतबाट होस् वा चीनबाट, तर हामीले आफ्नो देशको फाइदा हेर्न सक्नुपथ्र्यो । विदेशीले त जहिले पनि आफ्नो फाइदा हेर्छन् तर हामी आफैंले आफ्नो देशका लागि किन नराम्रो काम गर्ने ? हामी नेपाली नै मिल्न सक्दैनौं भने बाहिरकाले कति दिन र कहिलेसम्म हामीलाई हेरिरहन्छन् । 

 

आशा गरिएका युवा नेताहरूले पनि व्यक्तिगत तथा पार्टीगत एजेन्डालाई मात्र केन्द्रमा राखेको पाइन्छ नि ? 

पार्टीबाट अवसर पाएपछि पार्टीको कुरा हावी हुनु स्वभाविक हो, तैपनि केही फरक भएन भने त्यो युवा होइन । युवा नेताको पार्टीभन्दा माथि व्यक्तिगत धारणा पनि हुनुपर्छ सबैलाई समेट्न सक्नुपर्छ । कतिपय युवा नेता बाहिर मासमा एउटा भाषण गर्नुहुन्छ तर कामचाहिँ पार्टीको निर्देशनभन्दा एक इन्च तलमाथि हँुदैन । त्यसलाई हामीले कसरी पनि बुझ्नुपर्छ भने राजनीतिक दलका नेतृत्वकर्ताहरू जसरी विदेशीको दबाबमा पर्नुहुन्छ, त्यसैगरी युवा नेताहरू पनि नेतृत्वको दबाबमा पर्नुहुन्छ ।  

 

यो पनि पढ्नुहोस् : राष्ट्रपतिकी छोरी अनिताको आनीबानी

 

प्रकाशित :भाद्र १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्