प्रोडक्सन डिजाइनर बिना छायांकन असम्भव छ

- साप्ताहिक संवाददाता

भाद्र १५, २०७४

एक दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा प्रोडक्सन डिजाइनर (म्यानेजर) का रूपमा कार्यरत कृष्ण कोइरालाले यस अवधिमा दर्जनौं चलचित्रमा काम गरेका छन् । सामान्यतया एउटा प्रोडक्सन डिजाइनर कुनै एउटा चलचित्रलाई चलचित्र विकास बोर्डमा शीर्षक दर्ता गर्नेदेखि लिएर उक्त चलचित्रलाई सिनेमा हलसम्म पुर्‍याउने दिनसम्म खटिन्छ । 

प्रोडक्सन डिजाइनरको मुख्य जिम्मेवारी के हो ? 

चलचित्रको निर्देशक तथा त्यसको स्क्रिप्टले मागेका सम्पूर्ण सामग्री छायांकन स्थलमा जुटाइ दिनेदेखि कलाकार तथा प्राविधिकहरूलाई समयमै छायांकन स्थलसम्म पुग्ने तथा फर्काउने व्यवस्था गर्ने । छायांकन स्थलमा हरेक दृश्यका लागि चाहिने आवश्यक सामग्री जुटाउनेदेखि सम्पूर्ण युनिटको खाने, बस्ने, सुत्ने व्यवस्था मिलाउने जिम्मेवारी पनि प्रोडक्सन कै हुन्छ । 

चलचित्रको छायांकनमा प्रोडक्सन डिजाइनर भएन भने के हुन्छ ? 

यो कुनै पनि कम्पनीमा म्यानेजर भएन भने के हुन्छ भने जस्तै हो । 

तपाईंले काम गरेकामध्ये सबैभन्दा कडा निर्देशक ? 

छायांकन स्थलमा डिमाण्ड गरेका कुरा पुर्‍याउनै पर्ने निर्देशक एनबी महर्जन तथा राजु अधिकारी, उहाँहरू कुनै पनि कुरामा सम्झौता गर्न चाहनु हुन्न । 

छायांकनस्थलमा दु:ख दिने निर्देक/कलाकार चाहिँ को–को हुन् ? 

निर्देशक तथा कलाकारले चाहेर हामीलाई दु:ख दिने होइनन्, त्यो त परिस्थितिले सिर्जना गर्ने कुरा हो । पछिल्लो समयका प्राविधिक तथा कलाकारहरू सम्झौता नगरौं भन्ने स्वभावका हुनुहुन्छ, पढेलेखेका हुनुहुन्छ । त्यसैले दु:ख दिने भन्ने कुरा हुँदैन । 

छायांकन स्थलमा रमाइलो गर्ने कलाकार चाहिँ को–को छन् नि ? 

नयाँ पुस्ताका प्राय: सबै कलाकार सेटमा रमाइलो गर्ने स्वभावका हुनुहुन्छ । जीवन लुइँटेल, विराज भट्ट, निशा अधिकारी, आयुष रिजाल, नीता ढुंगाना जस्ता कलाकार सेटमा रमाइलो गर्न विशेष रुचाउनु हुन्छ । 

यो कुरा खान्न, यही नै चाहिन्छ भनेर दु:ख दिने कलाकार पनि होलान नि ? 

अघिल्लो दशकका चलचित्रमा त्यस्ता कलाकार पनि थिए भन्ने सुनेको छु तर अहिले समय परिवर्तन भैसकेको छ । सेटमा पाकेको खानेकुरा खान्न भन्ने एक जना कलाकार पनि भेटेको छैन मैले । 

सेटमा पुगेर छायांकन नगरि फर्किनु परेको छ कि छैन ? 

चलचित्र चलेस बतास सुस्तरीका लागि हिउँ परेको दृश्य खिच्न भनेर दुई दिनका लागि कालिञ्चोक गएका थियौं । प्रतिकूल मौसमका कारण एक साता बस्दा पनि छायांकन पुरा नगरी फर्किनु पर्‍यो ।

छायांकनका क्रममा असाध्यै दु:ख पाएको कुनै चलचित्र छ ?

नेपाली क्रिकेटमा आधारित चलचित्र च्याम्पियनको छायांकनका क्रममा असाध्यै दु:ख पाइयो । कीर्तिपुरको क्रिकेट मैदानमा पानी परेर पिच बिग्रँदा निकै सास्ती खेपियो । त्यही चलचित्रका लागि चित्लाङमा एउटा गीतको छायांकन गर्न जाँदा पहिरोले बाटो थुनेपछि सेटसम्म सामग्रीहरू पुर्‍याउन धौ–धौ परेको थियो । 

 

प्रकाशित :भाद्र १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्