विवादका बिच गौरिकामय राष्ट्रिय पौडी

- साप्ताहिक संवाददाता

भाद्र १४, २०७४-

 

नेपाली पौडीको २० औं राष्ट्रिय संस्करण अघिल्लो साता हुने निर्णय भैसकेको थियो, तर हुने–नहुने टुंगो थिएन् । प्रतियोगितालाई लिएर आयोजित पत्रकार सम्मेलनमा फेरि नयाँ नियम बनेको घोषणा भयो, जसअन्तर्गत एक खेलाडीले बढीमा पाँच प्रतिस्पर्धामा मात्र भाग लिन पाउने भए ।अन्तर्राष्ट्रिय पौडीको नियमअनुसार कुनै पनि खेलाडीले आफूले चाहे अनुसार जति पनि स्पर्धामा भाग लिन पाउँछन् । अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) को नियमले पनि यही भन्छ ।

यी सबै घटनाक्रम भने एक खेलाडीतर्फ इंगित थियो र उनी थिइन्— गौरिका सिंह । लन्डनमा बसेर त्यहीं अभ्यास गरिरहेकी गौरिकालाई यसपटकको राष्ट्रिय प्रतियोगितामा भाग लिन नदिने र भाग लिन दिए पनि खास–खास स्पर्धामा मात्र सीमित राख्ने कुरालाई पौडी संघको षड्यन्त्रकै रूपमा लिइयो । आखिरमा राष्ट्रिय पौडी तोकिएको समयमै भयो र यसक्रममा गौरिकाले सिद्ध गरिन्, आफ्नो दमदार उपस्थिति । 

यसै क्रममा नेपाली पौडी संघका केही पदाधिकारी कति गलत रहेछन् भन्ने कुरा पनि सिद्ध भयो । गौरिकाले व्यक्तिगत रूपमा पाँचवटा स्पर्धामा लिइन् र सबैमा पहिलो भइन् । त्यति मात्र होइन, उनले ती सबैमा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाइन् । दुई दिन चलेको यो प्रतियोगितामा नौवटा राष्ट्रिय कीर्तिमान बने । गौरिकाले पाँच, शुभम श्रेष्ठले तीन तथा डुआन लामाले एक राष्ट्रिय कीर्तिमान बनाए । 

ओलम्पियन गौरिकाले प्रतियोगिताको पहिलो दिन दुई राष्ट्रिय कीर्तिमान बनाइन । गौरिकाले ५० मिटर बटरफ्लाई तथा २ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेकी थिइन् । उनले ५० मिटर बटरफ्लाई हिट्समै २९ दशमलव ४० सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । उनले सोफिया शाहले दुई वर्षअघि सातौं राष्ट्रिय खेलकुदमा बनाएको ३२ दशमलव ०६ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । 

गौरिकाले फाइनलमा भने २९ दशमलव ७८ सेकेन्ड लगाइन् । पछिल्लो दक्षिण एसियाली खेलकुद (साग) मा एक रजत र तीन कांस्य पदक जितेकी गौरिकाले २ सय मिटर फ्रिस्टाइलमा पनि सोफियाकै कीर्तिमान भंग गरिन् । यी १४ वर्षीया किशोरीले उक्त दूरी २ मिनेट ११ दशमलव ९४ सेकेन्डमा पूरा गरेकी थिइन् । यसअघि सोफियाले १२ औं सागमा २ मिनेट १३ दशमलव ३२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । दोस्रो दिन गौरिकाले १ सय मिटर फ्रिस्टाइल, १ सय मिटर बटरफ्लाई तथा ५० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाइन् ।

गौरिकाले १ सय मिटर फ्रिस्टाइल १ मिनेट शून्य दशमलव ७९ सकेन्डमा पूरा गर्दै ‘हिट्स’ मै कीर्तिमान बनाएकी हुन् । उनले गत वर्ष आइरिस ओपनमा बनाएको १ मिनेट ०१ दशमलव ७८ सेकेन्डको आफ्नै कीर्तिमान उछिनेकी हुन् । गौरिकाले फाइनलमा भने १ मिनेट ०२ दशमलव ०३ सेकेन्ड लगाइन् । रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडीका रूपमा चर्चित गौरिकाले १ सय मिटर बटरफ्लाईमा १ मिनेट ०७ दशमलव ६९ सेकेन्डको कीर्तिमान बनाइन् । उनले १२ औं सागको १ मिनेट १० दशमलव ९४ सेकेन्डको आफ्नै कीर्तिमान सुधार गरेकी हुन् । 

गौरिकाले ५० मिटर फ्रिस्टाइलको हिट्स २८ दशमलव ०९ सेकेन्डमा टुंग्याउँदै १२ औं सागमा सोफिया शाहले बनाएको २८ दशमलव ८५ सेकेन्डको कीर्तिमान तोडेकी हुन् । उनले फाइनल चरणमा भने २८ दशमलव ५० सेकेन्डमा उक्त दूरी पूरा गरेकी थिइन् । प्रतियोगिताको पहिलो दिन १२ वर्षीया डुआन पनि चम्किइन् । उनले २ सय मिटर ब्रेस्टस्ट्रोकमा विविधा रिमालको ११ वर्ष पुरानो कीर्तिमान तोडेकी छिन् । डुआनले ३ मिनेट ०७ दशमलव २२ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विविधाले कोलोम्बोमा सन् २००६ मा सम्पन्न दसौं सागमा बनाएको ३ मिनेट १२ दशमलव ८५ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

पुरुषतर्फ शुभम श्रेष्ठले २ सय मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट ३६ दशमलव ७५ सेकेन्डका साथ गत वर्ष कोलोम्बोमा बनाएको आफ्नै कीर्तिमान सुधार गरे । श्रेष्ठले दक्षिण एसियाली एक्वाटिक्स च्याम्पियनसिपमा गत वर्ष २ मिनेट ४२ दशमलव ६२ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले पुरुषतर्फ ५० तथा १ सय मिटर ब्रेस्टस्ट्रोकमा पनि राष्ट्रिय कीर्तिमान बनाए । उनले १ सय मिटरमा स्वर्ण जित्ने क्रममा १ मिनेट ११ दशमलव २४ सकेन्डको कीर्तिमान कायम गरे । 

श्रेष्ठले गत महिना हंगेरीमा भएको विश्व च्याम्पियनसिपमा निकालेको १ मिनेट ११ दशमलव ३४ सेकेन्डको आफ्नै कीर्तिमान सुधारेका हुन् । श्रेष्ठले ५० मिटर ब्रेस्टस्ट्रोकको हिट्समा ३२ दशमलव ४० सेकेन्डको कीर्तिमान बनाए । यस क्रममा श्रेष्ठले किरण कार्कीले २१ औं राष्ट्रिय खुला पौडीमा गत वर्ष बनाएको ३२ दशमलव ४५ सेकेन्डको कीर्तिमानलाई उछिने । श्रेष्ठले फाइनलमा भने ३२ दशमलव ८२ सेकेन्ड लगाए । 

नेपाली पौडीमा प्राय: दोहोरिएर आउने प्रश्न हो, हाम्रो अन्तर्राष्ट्रिय लक्ष्य के हो ? सागमा रजत पदकसम्मको उपलब्धि आत्मसात् गरिसकेकी गौरिका मात्र त्यस्ती खेलाडी हुन्, जसबाट नेपालले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकको अपेक्षा राख्न सक्छ । यस्तो स्थितिमा पनि उनलाई रोक्ने प्रयास किन हुन्छ ? दु:ख र पीडा त यसैमा छ ।  

प्रकाशित :भाद्र १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्