युवा पुस्ता एक्सपोजर चाहन्छ

- कृष्ण भट्टराई

भाद्र १३, २०७४-

चलचित्र कागबेनीबाट अभिनय क्षेत्रमा आएकी प्रतिभाशाली अभिनेत्री हुन् दिया मास्के । एक दिन एक रात, साँघुरो, फिटकिरी, सुनभागा, होस्टल रिटन्र्स, टाटा बाइबाइ, दोख आदि चलचित्रकी यी अभिनेत्री नृत्यमा पनि उत्तिकै पारंगत छिन् । ५ फिट ५ इन्च अग्ली दिया शास्त्रीयदेखि आधुनिक नृत्यमा समेत उत्तिकै कुशलता प्रदर्शन गर्न सक्छिन् । दिया अभिनेता तथा निर्देशक अनुप बरालकी जीवनसंगिनी हुन् । विगत आठ हप्तादेखि हिमालय टेलिभिजनबाट प्रसारण भैरहेको रियालिटी शो हिमालय रोडिजमा निर्णायकका रूपमा सहभागी दियासँग कृष्ण भट्टराईले गरेको कुराकानी :  

 

अहिलेको व्यस्तता कस्तो छ ? 

अभिनय क्षेत्रकै वरिपरि रमाइरहेकी छु । झम्सिखेलमा हाम्रो एक्टर्स स्टुडियो छ, त्यहाँ अभिनय पनि सिकाइरहेकी छु । पहिलो पटक कन्फ्रेन्स अफ द बर्ड शीर्षकको नाटक निर्देशन गर्दैछु । 

एक्टर्स स्टुडियोमा कतिवटा कक्षा लिनुहुन्छ ? 

मेरो भागमा फिजिकल मुभमेन्ट तथा नृत्यको कक्षा छ । म प्राय: हरेक दिन केही घण्टा पढाइरहेकी हुन्छु । 

अभिनय प्रशिक्षणका लागि कस्ता विद्यार्थी आइरहेका छन् ? 

प्राय: चलचित्र अभिनेता–अभिनेत्री बन्ने उद्देश्य लिएर आउनेहरू धेरै छन् । यसबाहेक अभिनय क्षेत्रमा सक्रिय कलाकारहरू समेत आफूलाई निखार्न अभिनयको कक्षा लिन आउन थालेका छन् । 

एउटा विद्यार्थीका लागि कति समयको पाठ्यक्रम छ ? 

कम्तीमा तीन महिनाको कक्षा लिनुपर्छ । सैद्धान्तिक तथा प्रयोगात्मक गरेर हरेक दिन पाँच घण्टा जति कक्षामा बिताउनुपर्छ ।

 

तपाईंलाई नयाँ चलचित्रमा कहिले देख्न पाइन्छ ? 

केही महिनाअघि दुईवटा चलचित्रबाट अभिनयको प्रस्ताव आएको थियो, तर रियालिटी शो रोडिजका कारण ती दुवै चलचित्रलाई समय दिन पाइन । 

निकट भविष्यमा कुनै चलचित्रमा आबद्ध हुँदै हुनुहुन्छ ? 

यो वर्षको अन्त्यसम्ममा एउटा चलचित्रमा अभिनय गर्नेछु । उक्त चलचित्रका लागि मैले 

आफ्नो शारीरिक बनावटमै परिवर्तन ल्याउनुपर्नेछ ।  

दोखपछि अन्य चलचित्रमा नदेखिने कारण ? 

त्यसपछि मैले दुईवटा छोटा चलचित्रमा अभिनय गरें । नयाँ चलचित्रमा अभिनय गर्ने तयारी हुँदै थियो, रोडिजमा निर्णायकका रूपमा सहभागी हुनुपर्ने प्रस्ताव पाएँ । मेरा लागि यो काम नयाँ तथा चुनौतीपूर्ण भएकाले मैले चलचित्रको साटो रोडिजलाई नै छानें । 

रोडिजमा कसरी सहभागी हुनुभयो ? 

भारतको भायोकोम–१८ को फ्रेन्चाइज हिमालय रोडिजमा मेरो सहभागिता कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीमार्फत भएको हो । विगतमा मैले उहाँसँग लिटिल च्याम्स शीर्षकको रियालिटी शो तथा चलचित्र दोखमा काम गरिसकेकी थिएँ । उहाँ मेरो स्ट्ेरट फरवार्ड स्वभावबाट प्रभावित हुनुभएको रहेछ । एक दिन फोन गरेर हिमालय टेलिभिजनको स्टुडियोमा स्क्रिन टेस्ट दिन बोलाउनुभयो ।  एमटिभी रोडिजको सिजन–८ का एक निर्णायक रघुको रिफरेन्स दिनुभएको थियो । रोडिजकै लागि भन्नुभएको थिएन । अन्य भिडियो जक्कीहरूसहित मेरो पनि स्क्रिन टेस्टको फुटेज भारत पठाइएको रहेछ । उतैबाट मलाई निर्णायकका रूपमा छनौट गरियो । 

त्यसअघि एमटिभी रोडिज कत्तिको हेर्नुहुन्थ्यो ? 

कहिलेकाहीं आक्कल–झुक्कल हेर्थें तर यो कार्यक्रमको प्रशंसक नै चाहिं थिइन । निर्णायकका रूपमा छनौट भैसकेपछि भने युट्युबमा उक्त कार्यक्रमका प्राय: सबै श्रृंखला हेरें, कन्सेप्ट बुझें र निर्णायकका रूपमा आफैंलाई ग्रुमिङ गर्न थालें । 

अडिसनका क्रममा सहभागीहरूको प्रस्तुति कस्तो पाउनुभयो ? 

विभिन्न स्थानका अडिसनपछि नयाँ पुस्ताका नेपालीहरूले हामी निर्णायकहरूको सोचलाई नै गलत सावित गरिदिए । हामीले अनुमान गरेभन्दा धेरै फरवार्ड, शारीरिक तथा मानसिक रूपले भित्रैबाट सशक्त सोच भएका युवाहरू फेला पार्‍यौं । नेपाली युवापुस्ताले एमटिभी रोडिजलाई यसरी फलो गरेको रहेछ कि बेला–बेलामा हामीलाई नै मूल्यांकन गर्न गाह्रो परेको थियो । यति प्रतिभाशाली सहभागी भेटिए कि कतिपयले त हामीलाई नै सिकाउनसम्म भ्याए । 

युवापुस्ताको मनोदशा कस्तो पाउनुभयो ? 

काठमाडौंसहित देशका मुख्य सहरमा अडिसन लिने क्रममा हामीले अत्यन्त उत्साही युवा–युवती फेला पार्‍यौं । हामीले प्रत्येक नेपाली युवा आफूलाई चिनाउने ठाउँको खोजीमा रहेको पायौं । उनीहरू कुनै न कुनै रूपमा अवसरको खोजीमा छन् । 

काठमाडौं र बाहिरका युवामा केही अन्तर पाउनुभयो कि ? 

काठमाडौं र मोफसलका युवामा रत्तिभर अन्तर छैन । हरेक ठाउँका युवा उत्तिकै सशक्त छन् । उनीहरूलाई केवल अवसरको खाँचो छ । बुटवलका युवाहरूले त भारतमा समेत गएर एमटिभी रोडिजका लागि अडिसन दिएका रहेछन् । 

युवा र युवतीमा को बढी सशक्त देखिए ? 

विश्वास गर्नुहुन्न होला, मैले युवाभन्दा युवतीहरूलाई अझ सशक्त पाएँ । सम्भवत: लामो समयदेखि समाजबाट दबाइएकाले पनि होला, आजका युवतीहरू खुल्न चाहन्छन् । अवसर प्रदान गरियो भने उनीहरू युवकहरूभन्दा माथि पुग्न चाहन्छन् र त्यसका लागि सक्षम पनि छन् । 

भारतमा प्रसारण हुने एमटिभी रोडिज र नेपालको हिमालय रोडिजमा के अन्तर छ ? 

एमटिभी रोडिजकै फ्रेन्चाइज भएकाले दुवैमा खासै अन्तर छैन । भाषा, निर्णायक, सहभागी तथा क्रू मात्र हामी नेपाली छौं, बाँकी सबै उस्तै हो । नेपालमा नेपाली प्राविधिकहरूले समेत अन्तर्राष्ट्रिय स्तरको रियालिटी शो निर्माण गर्न सक्छन् भन्ने कुरा हिमालय रोडिजले प्रमाणित गरेको छ । 

 

तपाईंको विचारमा अहिलेको युवापुस्ता के चाहन्छ ? 

हाम्रो युवापुस्ता परिवर्तन चाहन्छ । हरेक कुरामा केही फरक गर्न चाहन्छ । जसरी हुन्छ हरेक युवा आफूलाई अघि बढाउन चाहन्छन् । उनीहरू रोडिज मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय भएका हरेक रियालिटी शो नेपालमा आए त्यसमा सहभागी भएर केही न केही उपलब्धि हासिल गर्न चाहन्छन् । अहिलेको पुस्ता हरेक कुरामा स्पष्ट छ । खासगरी १८ देखि ३० वर्ष उमेर समूहका युवालाई उनीहरूको लक्ष्य के हो थाहा छ । उनीहरूलाई कसले के भन्ला, को रिसाउने हो, को खुसाउने हो भन्ने कुराको मतलब छैन । सामाजिक सञ्जाल तथा इन्टरनेटले आजका युवालाई कति फरवार्ड बनाएको छ भन्ने कुरा मैले यही कार्यक्रममा सहभागी भएपछि बुझ्ने मौका पाएँ । 

तपाईंले चाहिं यो कार्यक्रमबाट के सिक्नुभयो ? 

सबैभन्दा ठूलो कुरा मैले सहन सिकें । राम्रो तथा नराम्रो जस्तो प्रतिक्रिया आए पनि सहन सक्नुपर्ने रहेछ भन्ने कुरा सिकेकी छु । युवापुस्ताको मनोविज्ञानलाई नजिकबाट हेर्न पाएँ । यो कार्यक्रमले थिममा आधारित भएर बोल्न सिकायो । 

कार्यक्रमबाट बाहिरिने शैली फरक छ नि ? 

यो कार्यक्रममा दर्शकले भोट दिन पाउँदैनन् । सहभागी आफैंले अर्को सहभागीलाई भोट दिने हो । जसको धेरै भोट आउँछ, त्यही सहभागी बाहिरिन्छ । त्यसैले प्रत्येक सहभागीहरू एक–अर्कासँग मित्रवत् व्यवहार गरे पनि कुटिल राजनीतिबाट एक–अर्कालाई कार्यक्रमबाट बाहिर पठाउने विषयमै सोचिरहेका हुन्छन् । 

केही व्यक्तिगत कुरा । वैवाहिक जीवन कस्तो चलिरहेको छ ? 

विवाह गरेको तीन वर्ष भयो । अहिलेसम्म असाध्यै सुमधुर छ । 

वैवाहिक जीवनले अभिनय क्षेत्रमा कत्तिको प्रभाव पारेको छ ? 

विवाहपछि कामको प्रेसर अझ बढी बढेको छ । हामी दुवै एउटै क्षेत्रमा भएकाले पनि हुनसक्छ, एकअर्काको काममा सहयोगसमेत पुगेको छ । 

दुईबाट तीन हुने योजना बन्दै छ कि ? 

सोच्दैछौं, योजना नै बनाएका छैनौं, तर कुनै पनि बेला हामी दुईबाट तीन हुने बाटोमा अघि 

बढ्यौं भने अचम्म नमाने हुन्छ । म हरेक प्रकारले आमा बन्न तयार भैसकेकी छु ।  

प्रकाशित :भाद्र १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्