प्रश्नचिह्न पत्रकारहरूको व्यवसायिकतामा

- किशोर नेपाल

भाद्र १२, २०७४-

पत्रकार महासंघको एउटा अर्को अधिवेशन सम्पन्न भएको छ । पत्रकारहरूको चुनावलाई राजनीतिले गाँज्यो । अधिवेशनको पूरै वातावरण स्थानीय तहको चुनावभन्दा अलिकति बढी भयो, कम भएन । पत्रकारका समस्या र मुद्दा अलपत्र परे । किन पत्रकारहरूको इज्जत खस्किँदैछ ? किन पत्रकारहरूले पत्रुकारको अपमान बेहोर्नुपरेको छ ? किन प्रजातन्त्र पुनस्र्थापना र त्यसपछिको युगान्तकारी राजनीतिक परिवर्तनपछि पनि पत्रकारिता स्वाभिमानको पेसा बन्न सकेको छैन ? किन नेपाली पत्रकारिताका आत्मनिर्भर आधारहरू तयार हुन सकेका छैनन् ? किन नेपाली पत्रकारिता पत्रकारिताले राष्ट्रिय एजेन्डा सेट गर्ने कुरामा पछि परेको छ ? किन नेपाली पत्रकारिता राजनीतिक समाचारको सौदागरी र हाहाकारबाट माथि उठ्न सकेको छैन ? किन नेपाली भाषाका आयामहरू खुम्चिन थालेका छन् ? किन स्थानीय भाषाहरूको प्रचलन र प्रयोगमा कन्जुसी गरिएको छ ?

प्रश्नहरू दर्जनौं थिए, तर यसपटकको अधिवेशनले पूरै राजनीतिक रूप लियो । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष पत्रकार महासंघको अधिवेशनमा राजनीति, त्यसमा पनि दलीय प्रतिद्वन्द्विताका मुद्दा मात्र सतहमा आए । राजनीतिक दलका प्रमुखहरूले अध्यक्ष पदका लागि उम्मेदवारको चयनमा अत्यन्त बढी चासो देखाए । तीन दशकदेखि पत्रकार महासंघका अधिवेशनहरूमा रुचिपूर्वक भाग लिंदै आएका पूर्वाञ्चलका वरिष्ठ पत्रकार हर्ष सुब्बाको विचारमा पत्रकारका विषय र समस्यालाई राजनीतिले ढपक्कै ढाक्यो यसपटक । पत्रकारका समस्याहरू सभाहलमा प्रवेश नै गरेनन् । बिहानदेखि साँझसम्म जित–हारका कुराबाहेक केही सुनिएन । प्रचारमा पनि उम्मेदवारले निकै खर्च लगाएको देखियो । पत्रकार महासंघमा राजनीतिक दलहरूले चाख नलिने कुरा गर्न त नमिल्ला, तर पहिले–पहिलेको तुलनामा यसपटकको महाधिवेशन पूरै राजनीतिमा रंगियो ।

पोखराका वरिष्ठ पत्रकार बद्री विनोद प्रतीकले २०३४ सालदेखि नै पत्रकारहरूको अधिवेशनमा भाग लिँदै आएका छन् । यसपटक उनी मतदाता थिएनन् र पनि महाधिवेशनमा भाग लिए । उनले यसपटक रमाइलो मात्र हेरे । उनले कुनै उम्मेदवारको प्रचार पनि गरेनन् । बद्री भन्छन्, ‘पहिलेका अधिवेशनमा पत्रकारिताका कुरा हुन्थे । सभागृहमा पत्रकारका समस्याहरूका बारेमा कुरा उठाइन्थ्यो । पत्रकारको नेतृत्व जवाफदेही हुनैपर्ने आवश्यकता हुन्थ्यो । यसपटक त्यस्तो केही देखिएन । पत्रकारहरूको महासंघ राजनीतिक संगठनजस्तो प्रतीत भयो । हामी उतिबेला भाडाका साँघुरा कोठामा बसेर मिटिङ गथ्र्यौ । अभिव्यक्ति र प्रकाशन स्वतन्त्रता, विधिको शासन र प्रजातन्त्रका कुरा उठाउँथ्यौ । अहिले महासंघ सुविधासम्पन्न छ । सरकारले तुलनात्मक हिसाबले राम्रै सहयोग उपलब्ध गराएको छ, तर पत्रकार महासंघले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको परिप्रेक्ष्यमा पत्रकारहरूको दायित्व एवं भूमिकाका सम्बन्धमा छलफल चलाएको देखिएन । 

कञ्चनपुर निवासी वरिष्ठ पत्रकार चित्रांग थापाको विचार पनि सुब्बा र प्रतीकको भन्दा फरक छैन । २०५० सालदेखि पत्रकार महाधिवेशनमा नियमित सहभागी हुँदै आएका थापाको अनुभवमा संगठनको गुणात्मक चरित्र खस्किएको छ । पत्रकार महासंघ बौद्धिक व्यक्तिहरूको संगठन होइन भन्ने देखिन थालेको छ । यसपटकको महाधिवेशनमा राजनीति हाबी भएको स्वीकार गर्छन् थापा । उनी भन्छन्, ‘यस विषयमा पत्रकारहरू आफैं पनि सजग एवं सचेत हुनुपर्छ । सञ्चार व्यवसायीहरूको यो मञ्चमा आएको राजनीतिलाई पन्छाउनुको सट्टा सञ्चारकर्मीहरू उल्टै त्यसलाई रिझाउन लाग्छन् भने यस्तो राजनीतीकरण स्वभाविक हो ।’

पत्रकारहरूको महाधिवेशन सकिए पनि समस्याहरू यथावत् छन् । महासंघ नराम्रोसँग गिजोलिएको छ । यसका पछिल्ला नेतृत्वले राजनीतिक स्वार्थका लागि पत्रकारहरूका बीच झगडा बढाएका छन् । एउटै छाता संगठनका साथीहरूसँग राजनीतिक हिसाबले पक्षपात गरेका छन् । राजनीतिक नेतृत्वको आशीर्वाद प्राप्त गर्न समुदायको उपेक्षा गरिएको छ । यो कसैबाट छिपेको कुरा होइन । मुख्य प्रश्न हो, आगामी दिनमा नयाँ नेतृत्वले पत्रकारहरूको भूमिका कसरी निर्धारित गर्नेछ ? महाधिवेशनको परिदृश्य हेर्दा नयाँ नेतृत्वले पनि परिवर्तनको विषयलाई अघि बढाउला भन्ने धेरै आशा गर्न सकिँदैन । हर्ष सुब्बाले भनेजस्तै लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस र परिवर्तनकारी शक्तिका रूपमा माओवादीको विचारको सही मिलन हुन सके केही परिवर्तन होला पनि । होइन भने महासंघ देशका राजनीतिक दलको इसारामा काम गर्ने पत्रकारहरूकै संगठनका हिसाबले अघि बढ्नेछ ।

काठमाडौंबाहिरका पत्रकारहरूका लागि पत्रकार महासंघले आफ्नो स्वरूप राम्रै राखेको छ । भवन राम्रो छ । सुविधा अनेक छन्, तर अनुहार जतिसुकै राम्रो देखिए पनि यसको स्वास्थ्य उति राम्रो छैन । पेसागत काममा लागेका व्यक्तिहरूले ब्ल्याकमेलिङ गरेको तथ्य सामुन्ने आएपछि महासंघले त्यसमा निर्णायक भूमिका निर्वाह गर्नुपथ्र्यो, तर त्यसो भएन । नयाँ पुस्ताका एक जना पत्रकारको अनुभवमा पत्रकार महासंघ ‘दाइहरू भेटेर आफ्नो भविष्य निश्चित गर्ने स्थान भएको छ । दाइहरूले राजनीतिका केन्द्रहरूमा सम्पर्क नराखे त हामी कुनै पनि दलका नारा लगाउँदैनौं नि ।’ 

हो, दाइ पत्रकारहरूले गति नछाडे त भाइ पत्रकारहरूले गति छाडनै पर्दैन नि । 

प्रकाशित :भाद्र १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्