पलेटीमा मीना, दर्शक भक्कानिए

- साप्ताहिक संवाददाता

भाद्र ११, २०७४- 

गायिका मीना निरौलाले नेपालयको पलेटी शृंखलामा प्रस्तुति दिएकी छन् । शुक्रबार कालिकास्थानस्थित आरशालामा उनले अग्रज गीतकार बैरागी काइँला र मञ्जुलका गीत ‘औंलाहरू चुमेर...’ र ‘आज राति सपनामा...’ बाट प्रस्तुति थालिन् । यसपछि उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘जिन्दगीको मौसम...’ र ‘आप्सराको रूप...’ गाइन् । 

सन् २००७ देखि नै पलोटी शृंखलासित आबद्ध मीना यसअघि थुप्रै वरिष्ठ संगीतकार र गीतकारहरूका साथ पलोटीमा प्रस्तुत भइसकेकी छन् । उनी भारतको मणिपुरमा हुर्केर विवाहपछि नेपाल आएकी हुन् । अम्बर गुरुङ, शान्ति ठटाल, कर्म योञ्जन, प्रेमध्वज, रत्नशमशेर थापा, दिनेश अधिकारीजस्ता अग्रज साधकहरूसित पलोटीमा प्रस्तुत भइसकेकी मीनाको यो पहिलो एकल प्रस्तुति हो । आभासको एकल संगीत रहेको प्रस्तुतिको अर्को चरणमा उनले कवि श्रवण मुकारुङका आधा दर्जन गीत प्रस्तुत गरिन् । सामाजिक इस्यु आधारित मुकारुङका गीतहरूमा दर्शक गम्भीर बनेका थिए । मीना गाउँदै थिइन् । 

बाबा मलाई मार्नै छ भने तिमी आफैं मार

आगोले जलाई बिन्ती नमार

मान्छेलाई जिउन चाहिन्छ आगो

आगोलाई यसरी बिटुलो नपार

कवि मुकारुङले मीनाको स्वरको प्रशंसा गर्दै नेपाली संगीतसित र कविहरूका सम्बन्धबारे समेत बोले । नारायणगोपाल, अम्बर गुरुङ, गोपाल योञ्जनजस्ता गायक संगीतकारको पुस्ताले पुस्ताले राम्रा र अर्थपूर्ण गीतका लागि हरिभक्त कटुवाल, भूपी शेरचनजस्ता कविहरूको खोजी गरेको बताउादै उनले अहिले त्यस्तो हुन नसकेकोप्रति गुनासो गरे । प्रस्तुतिको समापन भने बालगीतहरूबाट भएको थियो । आभास र मीनालाई वाद्यवादनतर्फ सुरज प्रधानले गितार, दिनेश रेग्मीले किबोर्ड, बुद्ध लामाले बाासुरी, सुन्दर महर्जनले पर्कसन र सन्देश महर्जनले तबलामा साथ दिएका थिए । 

प्रकाशित :भाद्र ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्