चोर हुँ

- अधिकारी रवीन्द्र

भाद्र ११, २०७४

 

 

गणेश चतुर्थीमा कतिले चौथी खेल्ने, चोर्ने वा बिगो गर्ने योजना बनाइरहेका बेला मचाहिँ एउटा कन्फेसन वा स्वीकारोक्ति गर्न चाहन्छु । म विभिन्न चरित्र मिसिएर बनेको मानव हुँ । म भन्न नमिल्ने धेरै नराम्रा गुणले भरिएको छु, तसर्थ म चोर पनि हुँ । 

हरेक पेसाका विधाहरू छुट्टिएझैँ चोरी पेसाका पनि भिन्नभिन्न हाँगाबिँगा छन् । ती हाँगामध्ये मेरो चोरीविधा क्लेप्टोमेनिया वर्गअन्तर्गत पर्छ । हो, यो त्यही चोरी रोग हो जुन रोगबाट ब्रेकिङ ब्याड सेरिजकी स्काइलरकी बहिनी वा लागूऔषध नियन्त्रणका पोलिस अफिसर ह्यान्क स्रेडरकी पत्नी म्यारी पनि पीडित थिइन् । 

म बिब्लियोफाइल हुँ र म किताब चोर्न औधी मन पराउँछु । मैले आजसम्म किताबबाहेक अरू केही चोरेको पनि छैन । मलाई किताब पढ्नभन्दा चोर्न निकै मज्जा लाग्छ । चोर्नु एक अद्भुत कला हो, पढ्नु होइन । चोरेर पढेका किताब बढी चाखलाग्दा हुन्छन् र यो एउटै पुस्तकमा पनि लागू हुने कुरा हो । कोर्सबुकबाहेक मैले जीवनमा अहिलेसम्म पढेका पुस्तकमध्ये करिब ८० प्रतिशत चोरेरै पढेँको हुँ । कुनै समयमा मलाई साहित्यिक पुस्तक यति अध्ययन गर्नुपथ्र्यो कि किनेर र मागेर मात्र साध्यै नचल्ने । आईओएम होस्टलमा बस्दा कुर्जी उपनामले चिनिने र किताब किन्नमा सौखिन उमेश भुसाल त मलाई देख्नेबित्तिक्कै किताब माग्छ भनेर तर्सिदै भाग्थे । अजिङ्गरको आहारा दैवले पुर्‍याउँछन् भनेझै म पनि आफ्ना रुचिका पुस्तक खोजी–खोजी चोरेर बटुल्थेँ । 

हुन त साहित्यिक पुस्तकहरू धेरैजसोका लागि हातका मैलाजस्ता हुन् । कहीं लामो यात्रा वा भ्याकेसनमा उनीहरू ती पुस्तक किन्छन् । तोकिएको अवधिमा मुस्किलले पढेर भ्याउँछन् र पढिसकेका ती पुस्तक कसै न कसै गरी उनीहरूको हातबाट फुत्किएकै हुन्छ । एकपटक पढिसकेको भनेपछि उनीहरूलाई ती पुस्तकमा त्यति दिलचस्पी नहुनुले कुनै अवसरको माध्यमबाट कसैगरी ती पुस्तक सजिलै यात्रा गर्दै मजस्ता क्लेप्टोमेनियाकको गोप्य आल्मारीमा आइपुगिहाल्छन् । यहाँ चोर्नु बाध्यता पनि हो र नशा पनि ।

मिल्ने साथीको स्टडी टेबलमा मन परेको पुस्तक हुँदाहुँदै बुकसपमा खल्ती रित्याउन जाने कुरा भएन । फ्याट्ट मागाँै, पैसो परेको चीज उसले दिन जरुर आनाकानी गर्छ । कि पढिसकेको छैन भन्छ, कि धीत मरेको छैन दोहोर्‍याएर पढ्छु भन्छ कि भाइको साथीको वा मामाको छोरीको भनेर टार्छ । मेरो पुस्तक प्यास यस्ता झिना–मसिना बहानाले टर्दैन । सोधेर उसले नदिने अनि केही दिनमै उसको त्यही किताब हराउने भयो भने आशंका सीधै ममाथि उब्जिने वातावरण सिर्जना गर्नुभन्दा आँखा छलेर स्वाट्ट ब्यागमा घुसार्‍यो टन्टै साफ । 

किताब चोर्ने नशाले मान्छेलाई कहाँ–कहाँ पुर्‍याउँछ ? मनले चाहेको पुस्तक त बरु किनेरै पढ्न सकिएला, तर आँखाले जे देख्यो त्यही पढ्नुपर्ने मानसिकतालाई सकेजति र भ्याएजति चोरेरै पनि किताबरूपी खुराक नपुग्ने । एकपटक आरएनएसीका अगाडि खुला फुटपाथमा राखिएको एउटा पुस्तक सुटुक्क सर्टमुनि हालेर हतारहतार महाराजगन्ज जाने टेम्पो चढ्न लाग्दा ढोकैबाट पछाडि कठालो समातेर पसलेले तानेको लज्जास्पद समय पनि छ मसँग । घरमा पहिलेदेखि नै तीन थान डिक्सनरी भए पनि कहीँ–कतै म्यारियम वेब्स्टर देखे खुस्काउन मन लागिहाल्ने । नव युवा र अन्तर्राष्ट्रिय मञ्च त चोरेरै खाटमुनि कति चाङ बनाएँ हिसाब छैन ।

चोरेका किताब पढ्न त मजा हुने भैहाले, थुपारेर राख्न अझ बेग्लै मज्जा । ब्ल्याक मनीजस्तै यी पुस्तक प्राय: लुकाएरै राख्नुपर्ने हुन्छ । खुला स्थानमा राखे फेरि जुनसुकै समय असली हकदार टुप्लुक्क आएर घाँटी निचोर्न बेर लाउँदैन, तर किताब चोरी केसमा त्यस्तो सांघातिक हमलाको सम्भावना शून्यप्राय हुन्छ । पुलिस उजुरी र जेल सजाय पनि हुँदैन । त्यसैले डेट एक्स्पायर हुने बेला बरोइङ कार्डबाट त भन्नै परेन, स्टडी कार्डबाट पनि किताब घर लगेर फिर्ता नल्याउने चलन थियो मेरो । मैले काठमाडौंका नामुद लाइब्रेरीहरूबाट नामी–नामी पुस्तक झ्याप पारेको छु । अहिले त पढ्ने फुर्सद पनि हुँदैन र साँचै भनौं भने चोर्ने आँट पनि आउँदैन, तर सुन्छु धेरै लाइब्रेरीमा हिजोआज सिसी टीभी राखेर निकै कडाइसमेत गरिएको छ । यो सुधार कुनै जमानामा मजस्ता चोर नभैदिएको भए सम्भव हुँदैनथ्यो, तसर्थ चोर भनेको प्रणालीमा निरन्तर सुधार आवश्यक छ भनेर घचघच्याइरहने सुधारतत्व पनि हो । 

चोरको अस्तित्व छ र त मान्छे यति धेरै सतर्क छन् । सतर्क र सजग हुनु मानिसका लागि हरेक हिसाबले राम्रो हो । चोर नभैदिएको भए ताल्चा–साँचो, झ्याल–ढोका, दराज, चुकुल र पास्कोड प्रोभाइडरको ब्यवसाय कहाँ पुग्थ्यो ? सबै चोरी आर्थिक फाइदाका लागि मात्र गरिँदैनन् । एउटा चोरी सफल पार्न चोरले कति धेरै धैर्यता, अध्ययन र लगाव दिएको हुन्छ, कल्पना गर्नसम्म सकिँदैन । सरोकारवाला कसैलाई पनि चालै नदिई टार्गेटलाई आफ्नो स्वामित्वमा ल्याउन सक्नु कम्ता चुनौतीपूर्ण हुँदैन ।

चोरहरू चोरेरै जिउँछन् र चोरिसकेर सज्जनको समाजमा सहजै घुल्छन् । पुलिस र न्याय जबसम्म रहिरहन्छ चोरको अस्तित्व पनि कायमै रहन्छ । किनभने चोर जति नै समातिए पनि त्योभन्दा बढी चोर नसमातिएरै जिउँछन् । एउटा कुख्यात चोरको जीवनको बढी क्षण खुला आकाशमुनि समाजबीचमै व्यतीत हुन्छ । किताब र धनसम्पत्ति मात्र किन ? परीक्षा हलमा चिट चोर्ने पनि चोर हो, बस स्टेसनमा सुन्दरीको नजर चोर्ने पनि चोर हो, मोटरसाइकल पुछ्ने टालो चोर्ने पनि चोर हो, तारे होटलको रेस्टरुमबाट ट्वाइलेट पेपर वा स्याम्पुको स्यासे चोर्ने पनि चोर हो, सुटुक्क टोरेन्टबाट फाइल डाउनलोड गर्ने पनि चोरै हो । यसरी धेरै चोर सज्जनको हूलमा सज्जनकै नाटक गरेर हिँडिरहेका हुन्छन् ।  

ravinems@iom.edu.np

प्रकाशित :भाद्र ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्