Teej banner

भदौ ९ देखि १५ गतेसम्मको साप्ताहिक राशीफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

भाद्र ९, २०७४

मेष 

यो साता समाजसेवा गर्नेहरूलाई विशेष फाइदा मिल्नेछ । पारिवारिक सम्बन्ध फितलो हुने सम्भावना छ । अरूलाई प्रभावित तुल्याई विविध अवसर हात पार्न सकिनेछ । प्रतिष्ठा र पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा पहिचान गरे उचाइमा पुगिनेछ । स्वास्थ्यको ख्याल राख्नुहोला । 

वृष 

कार्यक्षेत्रमा बोझिलो कार्यभार आइलाग्न सक्छ । पैतृक धन खर्च गरी सवारी साधन खरिद गर्न आकर्षित भइनेछ । योजनाभन्दा बढी खर्च हुनाले सहकर्मीहरूबीच विवाद बढ्न सक्छ । पारिवारिक भेटघाटले दिनहरू रमाइलोसँग बित्नेछन् । घरायसी काममा भने रुचि घट्नेछ । 

मिथुन 

लेनदेनमा विवादको सामना गर्नुपर्ला । नगरेका गल्तीको आरोप आइलाग्ने सम्भावना छ । बुधबारपछि भाग्यले साथ दिँदै काममा सफलता हात पर्नेछ । मठ–मन्दिरको भ्रमणले कार्य सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ । हरियो रंग प्रयोग गर्न सके विभिन्न समस्याबाट जोगिन सकिनेछ । 

कर्कट

सजिलै अरूको मन जित्न सकिनेछ । गहकिलो जिम्मेवारी वहन गर्ने समय आएको छ । मित्रवर्गले पुर्‍याएको सहयोगकै कारण विशेष उपलब्धि हात पर्नेछ । गुलिया वस्तु कमै सेवन गर्नुहोला । अपेक्षाकृत लाभ हासिल भै दिगो लगानिको ढोकासमेत खोलिनेछ । 

सिंह 

मंगलबारपछिको समय प्रेरणादायक सावित हुनेछ । भोज–भतेरसम्बन्धी सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला । पहेंला धातु तथा विलासिताका सामान खरिद गर्न पारिवारिक मत मिल्नेछ । साताको अन्त्यमा प्रशंसकहरूले समेत आलोचना गर्न थाल्नेछन् । यात्रा गर्दा समयको ख्याल गर्नुपर्नेछ । 

कन्या 

सहपाठी मित्रले मन पराएको अवस्था छ । व्यवसायमा देखिएका ढिलासुस्तीले सोमबारपछि गति लिनेछ । नजिकका नातेदारलाई समय नदिँदा गुनासो बढ्नेछ । आफ्नै क्षमताले व्यवसायलाई उचाइमा पुर्‍याउन सकिनेछ । खानपानमा सावधानी अपनाउनुहोला । 

तुला 

भविष्यको चिन्ताले सताउन सक्छ । स्वार्थी साथीका कारण मन खिन्न रहनेछ । कार्य सम्पन्न गर्ने क्रममा अपजसको सामना गर्नुपर्ला । धार्मिक कामले संयमित रहन प्रेरित गर्नेछ । नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । मौसम प्रतिकूल हुनाले स्वास्थ्यप्रति सचेत रहनुहोला । 

वृश्चिक 

लगनशीलताले विजय दिलाउनेछ । विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । प्रेमजाल रच्नेहरूले झुक्याउन सक्छन् । आर्थिक पक्ष सबल रहनेछ भने अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्‍याउनुपर्नेछ । पुराना साथीहरूसँगको जमघटले सम्बन्ध सुमधुर बनाउन थप भूमिका निर्वाह गर्नेछ । 

धनु 

ढिलै भए पनि तथ्य कुरा पत्ता लगाई असहज परिस्थितिको सामना गर्न सकिनेछ । आफ्नो क्षमता प्रदर्शन गरी इनाम प्राप्त गर्ने समय छ । मन मिल्ने साथीको सुझावमा मात्र भर पर्दा पछि परिएला । नाटकीय प्रेम गरी झुक्याउनेहरूसँग सचेत रहनुहोला । साताको अन्त्यमा पूण्य कार्यमा संलग्न भइनेछ । 

मकर 

आम्दानी तथा खर्चको मात्रा नमिल्दा आर्थिक समस्या आइलाग्न सक्छ । नयाँ काममा हात हाल्ने अवसर छ । घरायसी व्यवहारबाट टाढा रहँदा अपजसमुक्त भइनेछ । आफूलाई मन पराइएको प्रस्ताव आए विचार पुर्‍याएर निर्णय गर्नुहोला । अध्ययनका निम्ति विदेश जाने कुरामा अपेक्षाकृत नतिजा हात लाग्नेछ । 

कुम्भ 

पारिवारिक आत्मीयताको भावनामा वृद्धि हुनेछ । धेरैले आफ्नो कामको प्रशंसा गर्नेछन् । सामाजिक मान–सम्मान प्राप्त भै आयआर्जनका स्रोतहरू बढ्नेछन् । उपहारसहित भेट्न आउनेसँग सजग रहनुहोला । साताको अन्त्यमा दु:खद समाचार प्राप्त भै आकस्मिक रूपमा धन खर्च हुन सक्छ । 

मीन 

प्रेममा दुविधा बढ्न सक्छ, हतारमा निर्णय नगर्नुहोला । तत्काल लगानी गर्न समस्या भए पनि दिगो आम्दानी हुने व्यवसाय हात लाग्ने सम्भावना छ । तपाईंको उन्नति देखेर ईष्र्या गर्नेहरू छट्पटाउनेछन् । पश्चिमतर्फको यात्रामा सहभागी हुँदा आफ्नो प्रतिष्ठा तथा समयलाई नबिर्सनुहोला । 

 

प्रकाशित :भाद्र ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्