एउटा बूढो रूखको कथा

- अधिकारी रवीन्द्र

भाद्र ८, २०७४-

 

यो एकादेशको एउटा रूखको प्रचलित कथा हो । कुनै समयमा त्यो देशमा स्याउको रूख थियो । त्यो रूखमा खेल्न भनेर दिनहुँजसो एउटा सानो फुच्चे आउँथ्यो, उसको नाम राम थियो । राम दिनभरि त्यो रूख वरिपरि बस्थ्यो । घरी रूख चढ्थ्यो त घरी त्यसको वरिपरि घुम्ने खेल खेल्थ्यो । भोक लागेपछि त्यो रूखको स्याउ टिपेर खान्थ्यो । त्यो रूख र राम एक–अर्काका साथी थिए । उनीहरू घन्टौँ  गफ पनि गर्थे । 

एक दिन चाँडै घर जानु छ भनेर गएको राम धेरै समयसम्म रूख वरिपरि देखिएन । रूख साह्रै निराश भयो । ऊ बिल्कुल एक्लो भयो । साथी आउँछ कि भनी आँखा पर–परसम्म फैलाउन छाडेन उसले, तर राम आएन । रूखले लगभग रामको माया मारिसकेको थियो । पाँच वर्षपछि बल्ल राम टुप्लुक्क आइपुग्यो । रूख ज्यादै खुसी भयो र उसले तत्काल भनिहाल्यो— ‘राम कस्तो छौ ? तिमी त कति ठूलो भैसकेछौ । आऊ न, सँगै खेलौ । मेरो हाँगामा चढ, आऊ ।’ रामले रिसाउँदै भन्यो— ‘काम नपाएर कहीं रूखसँग पनि खेल्छन् ? मेरा मजस्ता थुप्रै साथी छन् । म त उनीहरूसँग खेल्छु ।’ उसको कुरा सुनेर रूख दु:खी भयो । रामले फेरि भन्यो— ‘मलाई साइकल किन्नु छ, तर मसँग पैसा छैन ।’ रूखले भन्यो— ‘के गर्नु त ? मसँग पनि पैसा छैन । नत्र म तिमीलाई सहयोग गर्थे ।’ रामको निन्याउरो अनुहार देखेर रूखले समाधान सुझायो— ‘मसँग एउटा उपाय छ । मसँग भएका सबै स्याउ लगेर बेच अनि कमाएको पैसाले साइकल किन ।’ राम खुसी हुँदै सबै स्याउ टिपेर गयो । त्यस दिनपछि कहिल्यै देखा परेन । 

जवान भएपछि राम फेरि अँध्यारो मुहार लगाउँदै रूखको नजिकै आयो । साथी आएको देखेर रूखले खुसी हुँदै भन्यो— ‘के भो राम ? फेरि साइकल किन्न पैसा भएन ? लग न, मेरो हाँगाभरि फलेका सबै स्याउ टिपेर लग अनि साइकल किन ।’ रामले जवाफ फर्कायो— ‘म अब ठूलो भैसकँे । यो साइकल खेल्ने उमेर होइन । मलाई घर बनाउनु छ । तिमी के सहयोग गर्न सक्छौ ?’ रूखले एकछिन सोचेर भन्यो— ‘तिमीलाई सहयोग गर्न पाउनु मेरो अहोभाग्य हो । मेरा हाँगाहरू काटेर लग अनि यिनै हाँगाहरूले घर बनाऊ ।’ रामले रूखका सबै हाँगा काटेर लिएर गयो । त्यसपछि ऊ निकै समय देखा परेन । रूख पुन: राम आउने प्रतीक्षामा बसिरह्यो । हल्का केश फुलेपछि राम फेरि रूखलाई भेट्न आयो । यसपटक उसले डुङ्गामा भ्रमण गर्न जाने कुरा रूखलाई भन्यो, तर ऊसँग डुङ्गा थिएन । रूखले आँसु खसाल्दै मायालु स्वरमा भन्यो— ‘राम, म पनि अब बूढो भैसकेँ । मलाई काटेर मेरो टिम्बाबाट डुङ्गा बनाऊ र तिमी घुम्न जाऊ ।’ रामले त्यसै गर्‍यो । राम आउला कि भनेर रूख 

फेरि कुरिरह्यो । 

करिब दस वर्षपछि सेतै केश फुलेको राम रूखको ठुटोमा आयो । रूखको ठुटोले भन्यो– ‘राम, तिमी निकै बूढो र थकित देखिन्छौ । आज मसँग स्याउ छैन, नत्र तिमीलाई खान दिन्थे ।’ रामले भन्यो— ‘मसँग स्याउ खाने दाँत पनि त छैन ।’ रूखले फेरी भन्यो— ‘मसँग तिम्लाई फेरि अर्को घर बनाउन दिनका लागि हाँगाहरू छैनन् ।’ रामले भन्यो— ‘आफुले बनाएको त्यही एउटा घरमा त को बसिदियोस् जस्तो भएको छ । छोराछोरीहरू पढ्न र जागिर खान बिरानो देशतिर गएका छन्, घर रित्तो छ ।’ रूखले पुन: दुखेसो पोख्यो– ‘मसँग अब तिमीलाई डुङ्गा बनाउन दिन काठ पनि छैन । हेर, मसँग ठुटो र जरा मात्र बाँकी छ ।’ रामले सुस्केरा हाल्दै भन्यो– ‘म थाकिसकेँ । म कतै भ्रमणका लागि जान सक्दिनँ । म तिम्रै ठुटो र जरोमा विश्राम लिन चाहन्छु । मलाई तिमीबाट केही चाहिँदैन ।’ रूख जरासमेत सुकेर मर्न आँटिसकेको थियो, तर ढिलै भए पनि साथी फर्किएर आएकोमा रूख खुसी भयो । 

यो एउटा प्रतीकात्मक कथा हो, सदैव त्यागी प्रवृत्ति बोकेको बूढो रूख अरू कोही नभएर तपाईं–हाम्रै बा हुनुहुन्छ, जसले हरदम सन्तानको खुसीका लागि केही दिइ नै रहेको हुन्छ, नपत्याए एकछिन मनन गर्नुहोस् । बुबाको मुख हेर्ने औंसी (कुशे औँसी)को उपलक्ष्यमा संसारका सम्पूर्ण नि:स्वार्थी पिताहरूलाई ह्दयदेखि नै नमन । 

प्रकाशित :भाद्र ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्