जनताका लागि जनता

- सुविन भट्टराई

भाद्र ८, २०७४- 

बहत्तरको भुइँचालो र नाकाबन्दीपछिको ठूलो संकट बनेर आयो यसपटकको पूर्वी तराईको बाढी । म यहाँ बाढीको क्षतिको आँकडा प्रस्तुत गर्न चाहन्नँ । सरकारी लाचारीलाई व्यङ्ग्य गर्न पनि चाहन्नँ । किनभने यो देशको सरकार अनि दलहरूमा म पनि थोरै मिसिएको हुँदो हुँ ।

त्रासको अनुभूति जात, धर्म, लिङ्ग, सिमानाअनुसार फरक नहुँदो रहेछ । संसारको जुनसुकै कुनामा जाउँ, त्रास सबैमा एउटै, उस्तै हुन्छ । बाढीमा आधा शरीर पानीमा र आधा हावामा भएका त्रसित अनुहारलाई काठमाडौंको आफ्नै निवासमा खाटमा अढेस लागेर फेसबुकका भित्ताहरूमा वा अखबारका पन्नाहरूमा देख्दा त्यो त्रासको आंशिक अनुभूति मात्रले पनि सिरिङ्ग तुल्याउँछ ।

घरको पनि आखिर घर हुँदो रहेछ । म यो बुझ्न खोजिरहेथेँ कि वर्षौंदेखि जरा गाढेर बसेका घरहरू, जो जरैदेखि उखेलिएर बाढीमा बगे र आफैँ बेघर भए, तिनलाई कस्तो भएको हुँदो हो ? सम्झिल्याउँदा मात्र पनि भावुकताले तरल बनाउँछ ।

त्यसैले लगत्तै सहयोगी हातहरू, जाँगरिला पाइलाहरू अनि हिम्मतिला काँधहरू देखेर नसकिने, गनेर नभ्याइने रूपमा देखिए । हामी अक्सर आफ्नो धेरै माया लागेको बेला र आफैँका उपर दया पलाएका बेला सरकारलाई गाली गर्छौं । हरेक समस्यामा एकपटक देशलाई दोष दिन्छौँ र आफू कोसौँ पन्छिन्छौँ । चियापसलमा बसेर हरेक क्षेत्रका कमी–कमजोरीका नालीबेली निकाल्न र राज्यको दुर्बलताको झ्याली पिट्न पाउँदा हाम्रो आँतले आराम पाउँछ । 

देशको प्रशासन चुस्त भएन भनेर ठूलो–ठूलो स्वरले चिच्याउन पाउँदा हामीमा बडो फुर्ती आउँछ । हरेक जनतासँग निराशाको यही एउटा सुस्केरा छ, जो ऊ कहिले चियापसल, कहिले चौतारा त कहिले सार्वजतिक यातायातमा बिसाउँछ । 

यद्यपि सरकार आफैँ बन्दैन । नेता दुलोबाट मुसा निस्किएजस्तो आफैँ निस्कने होइनन् । कुनै दल देशको सबैभन्दा ठूलो दलको उचाइमा राणाकालमा झैँ भाइभारदारलाई मारेर सिंहासनमा पुगेजसरी आफैँ पुग्दैन । यी सबै कुराका सिर्जनाकार थोरबहुत हामी स्वयं हौँ । त्यसैले भनेको, नेता र देशलाई गाली गर्दा थोरबहुत छिटा आफैँलाई पनि लागिरहेको हुन्छ ।

विपत्तिको बेला छ, सरकारसित क्रुद्ध हुनेभन्दा युद्धस्तरमा जुटेर बाढीपीडितहरूलाई राहत दिलाउने बेला हो यो । धेरै सहयोगी मनहरू त लागि नै रहेका छन् । चाहे श्रम दिएर होस्, चाहे अर्थिक सहयोग गरेर होस्, नेपालीहरूले आफ्नो विशिष्टता देखाइसकेका छन् ।

हरेक क्षेत्रबाट, देशमा बस्ने हुन् वा विदेशमा बस्ने हुन्, चाहिनेजति सहयोग छोटो समयमै उठिसकेको छ । नेपाली जनताले पुष्टि नै गरिसकेका छन् कि विपत्तिमा सहयोग गर्न उनीहरू कहिल्यै पछि हट्दैनन् । परेका बेला गर्नुपर्छ भन्ने कुरा जो–कसैले नेपालीहरूबाट सिक्न सक्छन् ।

जनताका लागि जनताले नै गर्नुपर्ने रहेछ । हिजो भूकम्पका बेला जनताका लागि धेरैभन्दा धेरै जनताले नै गरेका हुन् । नाकाबन्दीमा जनताका पिरमर्कामा जनता नै काम आएका हुन् । आज पूर्वी तराईको बाढीको समस्या देख्न नसकेर सरकारभन्दा पहिले जनता नै पुगेका छन् । यो बेला भनेको जुरुक्क उठेर आफ्ना तर्फबाट सक्नेजति गरिहाल्ने बेला हो । आफ्नो ठाउँबाट जुन कोटीको सहयोग दिन सकिन्छ दिने बेला हो यो । गालीगलौजमा अलमलिने, प्राकृतिक प्रकोपजस्तो संवेदनशील समस्याका बेला पनि एक–अर्कामाथि दोषारोपण गरेर त्यसलाई राजनीतिक मुद्दा बनाउने बेला होइन । सरकारलाई झकझकाउने त आफ्नो ठाउँमा छँदै छ, यही बेला हो डुबिरहेकाहरूलाई किनारामा लाने । आफन्त गुमाएकाहरूको पीडामा काम आउने ।

सबैभन्दा ठूलो र महान् राजनीति गर्नु छ भने पीडितको उद्धार गर, हजारौँ–लाखौँ जनताले सलाम गर्नेछन् । लाखौँ हातले आशीर्वाद दिनेछन् । करोडौँ मनमा बस्नेछौ ।  

 

प्रकाशित :भाद्र ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्