यस्तो चलचित्र २ रुपैयाँको जन्म कथा

- साप्ताहिक संवाददाता

भाद्र ६, २०७४- 

‘यसलाई सेल्फि भन्छ भन्छ मोरा’ ‘खुर्रर जाएगा, खुर्रर आएगा’ लगायतका संवाद अहिले सामाजिक सञ्जालदेखि युवा पुस्तामा निक्कै लोकप्रिय बन्दै गएका छन् । माथिका संवादहरु यहि भदौ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र २ रुपैयाँका हुन् । चलचित्रका ‘कुटुमा कुटु’बोलको गीतले पनि निक्कै लोकप्रियता कमाएको छ । यो गीतलाई युट्युबमा छोटो समयमा नै १ करोड ७० लाखभन्दा बढी पटक हेरिएको छ । त्यसैले पनि यो चलचित्रका बारेमा धेरैलाई धेरै जिज्ञासा हुन सकछ । दशैंका लागि दर्शकलाई मनोरञ्जन दिन प्रदर्शनमा आउन लागेको यो चलचित्रको कथा कसरी जन्मियो होला भन्ने पनि धेरैलाई लाग्न सक्छ । 

चलचित्रको केन्द्रीय कथा–सार आशिफ शाहले निर्देशक तथा कलाकार निश्चल बस्नेतसँग भेटेर सुनाए पछि उनीलाई नै यो चलचित्रको निर्माणमा संलग्न हुने आग्रह गरे । बस्नेतको निर्माण कम्पनि ब्ल्याक हर्स र शाहको निर्माण कम्पनि जि टु वान पिक्चर्सले मिलेर नै ‘२ रुपैयाँ’को निर्माण गर्ने घोषणा र्गयो । घोषणा लगत्तै नै चलचित्रकर्मीहरू माझ यो चलचित्रको चर्चा चल्न सुरू भइसकेको थियो । 

निश्चल बस्नेत भन्छन्, ‘आशिफ दाइले कथा सुनाउने बित्तिकै नै मैले आफूलाई जुरेलीको पात्रमा देखो । यदि मैले अभिनय गर्ने हो र प्रमुख पात्र नै बनेर अभिनय गर्ने हो भने म यस्तो खालको पात्र खेल्छु भन्ने सोच मेरो पहिल्यै नै थियो । दाइले त्यो पात्रका बारेमा सुनाउने बित्तिकै नै म अभिनय र निर्माण दुबैका लागि हौसिएँ ।’

कथाकार आशिफ शाहले चलचित्रको लेखनको सिलसिलामा नै सह–लेखकहरूमध्ये एकको भूमिका निर्वाह गर्न निर्देशक असिम शाहलाई अनुरोध गरे । चलचित्रको लेखन कार्यदेखि नै यसरी संलग्न भए पछि निर्देशक असिम शाहले पात्र, चरित्र, कथाको मोड र कथाको गतिलाई पूर्ण आत्मसात गरे । 

निर्देशक असिम शाह भन्छन्, ‘यो चलचित्रमा निर्देशकको मात्र भूमिका भइदिएको भए सायद मैले एक्सन र कट् बाहेक अरू केही गर्नु पर्दैनथ्यो होला । तर जुन समयदेखि २ रुपैयााको जरा गाडिएको थियो, म त्यही बेलादेखि नै यसमा मल-जल गर्दै छु । त्यसैले यसमा मेरो मिहिनेत र लगनमात्र जोडिएको छैन, मेरो भावना र अन्तरङ्ग पनि जोडिएको छ ।’

कलाकार बुद्धि तामाङ र विशेष भूमिकामा देखिएकी अभिनेत्री स्वस्तिमा खड्का यो चलचित्रसँग आबद्ध हुनुको पनि आफ्नै छुट्टै रमाइलो प्रसङ्ग छ । चलचित्रमा असईको भूमिकामा को रहने भनेर ‘२ रुपैयाँ’को टोलीले खोजी गरिरहेकै थियो । कलाकार बुद्धि तामाङलाई कथा सुनाइए पछि उनी असईको भूमिकामा आफू ठीक हुन्छु होला त भन्ने कुरामा शङ्का गरिरहेका थिए । बुद्धि तामाङ भन्छन्, ‘आशिफजीले कथा सुनाउन्जेल पनि म आफू कुन चैँ भूमिकामा ठीक हुन्छु होला त भन्ने कुरा सोच्दै थिएँ । कथा भन्दै जानुभो, म सुन्दै गए । आफू कुन पात्रमा हुन्छु भन्ने सोचै आएको थिएन । अनि कथाको अन्त्य सुनाउनु भयो – साह्रै नै मजा लाग्यो । अनि आफैँ प्रश्न गरेँ – के मैले असईको भूमिका गर्ने हो ?’

त्यसैगरी ‘कुटुमा कुटु’ गीतका लागि को अभिनेत्री ठीक होला त भन्ने सोचमा थियो ‘२ रुपैयाँ’ टोली । कुनै/कुनै अभिनेत्रीहरूसाग कुरा पनि चलिरहेकै थियो । चलचित्रको छलफलको क्रममा नै कलाकार आशिफ शाहले निश्चल बस्नेतलाई आग्रह गरे, ‘घरमै मान्छे हुँदा/हुँदै हामी किन बाहिर खोज्दै छौँ ? स्वस्तिमा भए हुन्न र ?’ निश्चल बस्नेतलाई यो प्रस्ताव ठीक हो जस्तो लाग्यो र स्वस्तिमा खड्कासँग कुरा अगाडि बढ्यो । 

निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीले पनि चलचित्र र चलचित्रको गीतलाई चर्चामा ल्याउन सहयोग गर्‍यो । 

प्रकाशित :भाद्र ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्