विपद् कसैको कमाउने माध्यम नबनोस्

- मनोज गजुरेल

भाद्र ६, २०७४-

 

अहिले देश दुखिरहेको छ । पहाडमा पहिरो गएको छ । तराईमा बाढी आएको छ । बाढी–पहिरोका कारणले मानिसहरूको बिजोग छ । पशुको दुर्दशा छ । पन्छीको बिल्लीबाठ छ ।

यो सबैलाई थाहा भएकै कुरा हो । थाहा भएर नै मानिसहरू सेवामा जुटिरहेका छन् । सहयोगका हात उठिरहेका छन् । सद्भावको लहर चलिरहेको छ । मानवीय सवेदना जागृत भएको छ । राष्ट्रिय एकता बलियो बनेको छ । कहिलेकाहीं त यस्तो लाग्छ, विपत्ति नै राष्ट्रिय एकताको शक्तिशाली माध्यम हो ।

यद्यपि बुझ्नुपर्छ, यो अस्थायी स्थिति हो । किनभने केही दिनपछि हामी सोचाइको पूर्वअवस्थामै फर्कन्छौं । बिस्तारै बिजोग मत्थर हुन्छ । समाजसेवीहरू 

आफ्नो नियमित काममा लाग्छन् । राज्यले वक्तव्य निकाल्छ । यति राहत वितरण गरियो । त्यतिलाई उद्धार गरियो । स्थिति नियन्त्रणमा आइसक्यो । अब देश उन्नतितर्फ लाग्छ आदि–इत्यादि ।

सरकारले उद्धार भैसक्यो भने पनि पीडितको खेतमा बाली हुँदैन । घरमा अन्न हुँदैन । लगाउने कपडा हुँदैन । ओढ्ने–ओछ्याउने हुँदैन । समाजसेवीहरूले एक प्याकेट चाउचाउ दिएरसहयोग गरेका तस्बिर फेसबुकमा पोस्ट गर्छन् । उनीहरू बाढीपीडितसँग हल्का सेल्फी लिँदै हुन्छन् । सेल्फी हल्का भए पनि पीडितको पीडा निकै कडा हुन्छ । सहयोगी हातहरू पनि बिस्तारै मत्थर हुन्छन् । सञ्चारमाध्यम पनि पीडितबाट टाढिँदै जान्छन् । समाजसेवीहरू सेवाको अर्को मेवा टिप्न थाल्छन् । गोहीको आँसु झार्नेहरू पनि लाखापाखा लाग्छन् । त्यसपछि पीडितहरूको जीवन बाढीले विनाश गरेको घर मर्मत गर्दै बित्न थाल्छ । उनीहरू खेतबारी सफा गरी बस्न थाल्छन् । दु:खीलाई त्यही बाढीले विनाश गरेको घरले छोड्दैन, बरु ती घर देखाएर समाजसेवाको खेती गर्नेहरूले अर्को महल थप्न सक्छन् ।

यी यस्तै हुन्छ भनेर ठोकुवा कसरी गर्न सकिन्छ ? कसरी भने हिजो हामीले भूकम्पपीडितको अवस्था देखे–भोगेका छौं । देशबाट थुप्रै पैसा उठेको थियो । विदेशबाट धेरै सहयोग आएको थियो । कतिले घर बनाइदिन्छु भनेका थिए । कतिले बस्ती निर्माण गर्ने आश्वासन दिएका थिए । कतिले त देशै बनाउने घोषणा गरेका थिए ।

तर भूकम्पको पीडा जस्ताको तस्तै छ । भूकम्पपीडितको अवस्था जहाँको तहीं छ । यदि हामी चुप लागेर बस्यौं भने बाढीपीडितको अवस्था पनि योभन्दा फरक हुनेछैन भन्ने गजुरियल अनुमान छ ।

यो अनुमानलाई गलत सावित गर्न केही एक्सन गर्नुपर्ने देखिन्छ । सेवाको सेल्फी खिच्न बन्द गर्नुपर्छ । सेल्फी भनेको आत्मप्रचार हो । अत्मप्रचारले सेवालाई व्यवसायमा परिणत गरिदिन्छ । राहतका लागि एकद्वार नीति लागू गर्नु नराम्रो होइन, तर झ्यालहरू पनि खुला राख्नुपर्छ ताकि एकद्वारमा जाम भयो भने झ्याल, जस्केला, कौसी वा भर्‍याङबाट पनि सेवा गर्न सकियोस् ।

भूकम्पका बेला राज्यकोषमा अर्बौं रुपैयाँ जम्मा भएको थियो । बंगलादेशले पठाएका चामल अहिले पनि कुनै सरकारी गोदाममा कुहिएको अवस्थामा होलान् । संघसंस्थाले उठाएको राहत रकमको हिसाब–किताव न राज्यले खोजेको छ, न त संघ–संस्थाहरूले नै बुझाएका छन् । व्यक्तिगत रूपमा उठेका सहयोगको क्रस चेकिङ कतैबाट भएको छैन ।

सावधान, यो विपद्मा पनि त्यस्तो नहोस् । सोझा जनतालाई आएको विपद् बाठाहरूको कमाउने अवसर नबनोस् । 

प्रकाशित :भाद्र ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्