फरक समुदायको तीज

- साप्ताहिक संवाददाता

भाद्र ५, २०७४-

नेपालमा खासगरी ब्राह्मण–क्षेत्री समुदायले तीज मनाउँदै आएको पाइन्छ, तैपनि अन्य समुदायका व्यक्तिहरूले पनि अचेल धूमधामका साथ तीज मनाउन थालेका छन् । तीजको चहल–पहल बढेपछि डकुमेन्ट्री मेकर छोटी शेर्पाको मनमा एक प्रकारको खुसीको लहर छाउँछ । स्कुल–कलेज पढ्दा आफ्नो समुदायभन्दा बाहिरका साथी बढी हुन्थे । उनीहरूसँग संगत भयो । शेर्पा भन्छिन्– तीज लागेपछि सबै दिदीबहिनी तथा साथीहरूको भेला हुन्छ, नाचिन्छ, गाइन्छ । वर्षभरिको दु:ख बिर्संदै बेग्लै संसारमा पुगे जस्तो लाग्छ । हाल ओस्कार इन्टरनेसनल कलेजमा चलचित्र निर्देशन विषयमा स्नातक तेस्रो वर्ष अध्ययनरत छोटीलाई शेर्पा समुदायको आलुको रोटी, ठेन्दुक मन पर्छ, तर तीजका बेला जे छ त्यही मीठो लाग्छ । छोटी भन्छिन्– त्यसमा पनि सेलरोटी अझ मन पर्छ । 

छोटीजस्तै धादिङकी लता घले पनि तीज मनाउँछिन् । हाल अष्ट्रेलियाको सिड्नीस्थित भिक्टोरियन इन्स्टिच्युट अफ कुलिनरी आर्टस् एन्ड टेक्नोलोजीमा अध्ययनरत घलेको पनि स्कुल र कलेज पढ्दा विभिन्न समुदायका साथीहरूसँग संगत भयो । त्यसकै प्रभावले होला, उनी हरेक वर्ष विशेष रूपमा तीज मनाउँछिन् । घले नेपाल बाहिर भए पनि साथीभाइ जम्मा भएर नेपाली परम्पराअनुसार तीज मनाउँछिन् ।

उनी अष्ट्रेलियामा आयोजना हुने तीजका विभिन्न कार्यक्रममा सकेसम्म सहभागी हुन्छिन् । त्यही मौकामा नाच्ने, गाउने, रहर पूरा गर्छिन् र मीठा–मीठा परिकार तयार पार्छिन् । काठमाडौंकी सहनशिला श्रेष्ठ आफू नेवार समुदायको भए पनि तीज मनाउँछिन् । उनी साथीभाइहरूसँग भेटघाट गर्नुका साथै राजधानीमा आयोजना हुने तीजका विभिन्न कार्यक्रममा सहभागी हुन्छिन् । श्रेष्ठ अन्य नेवार चाडहरू जस्तै उत्तिकै महत्वका साथ तीज मनाउँछिन् । साथीहरूलाई आफ्नो घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउन पाउँदा खुसी लाग्छ, –सहनशिला बताउँछिन् । 

खोटाङ घर भएकी गायिका बिन्दु राईले दुबईलाई आफ्नो कर्मथलो बनाएकी छिन् । राई पनि धूमधामका साथ तीज मनाउँछिन् । बिन्दु दुबईमा हुने विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुन्छिन् र आफ्नो प्रस्तुति सुनाउँछिन् । परदेशमा भए पनि साथीसंगीहरू भेटेर रमाइलो गर्न पाउँदा खुसी लाग्छ– उनी भन्छिन् ।  

 

प्रकाशित :भाद्र ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्