विदेशमा तीज

- साप्ताहिक संवाददाता

भाद्र ५, २०७४-

अहिले अस्ट्रेलियाका विभिन्न ठाउँमा तीजका कार्यक्रमहरू सञ्चालन भैरहेका छन् । हालै नेप्को इभेन्ट्सको आयोजनामा मेलबर्नस्थित इस्टोनिया हाउसमा तीजको भव्य कार्यक्रम सम्पन्न भयो । उक्त तीज मेलामा लोकगायक खुमन अधिकारी, लोकगायिका देवी घर्ती, रमिला न्यौपाने तथा नायिका वर्षा राउतको उपस्थिति थियो ।

आयोजकहरूका अनुसार लोकदोहोरीको भाकामा तीजलाई विशेष बनाउन उक्त मेलाको आयोजना गरिएको हो । नेप्को इन्टरटेन्मेन्टका प्रमुख विराज थापाले मेलबर्नमा अब छिट्टै अर्को लोकदोहोरी कार्यक्रम सञ्चालन गर्न लागिएको समेत बताए । ‘यस्ता कार्यक्रमले नेपाली लोकसंगीत एवं संस्कृतिको जगेर्ना गर्न हौसला प्रदान गर्ने थापाले बताए । 

गत आइतबार इजरायलको हाइफामा भव्यताका साथमा तीज मनाइयो । त्यहाँ इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावना दूत भगवती बस्नेतको संयोजकत्व तथा राजदूत निरन्जनकुमार थापाको प्रमुख आतिथ्यमा विभिन्न कार्यकमका साथ तीज मनाइएको थियो ।

उक्त अवसरमा नेपालका बाढीपीडितहरूका लागि रकम संकलनसमेत गरिएको बस्नेतले बताइन् । इजरायलको दोस्रो ठूलो सहर तेलअविवका विभिन्न ठाउँमा पनि तीज कार्यक्रम सम्पन्न भएका छन् । इजरायलमा रहेका सम्पूर्ण नेपाली संघ–संस्थाको आयोजनामा आउने साता हुन लागेको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरू बद्री पंगेनी, सुजित थापा, कालिका रोक्का मगर, भूमिका गिरी आदि सहभागी हुँदैछन् । 

नेपाली समुदायले गत साउन २० गते गायिका सुनिता दुलाललाई निम्तो दिएर अस्ट्रेलियामा भव्य रूपमा तीज मनायो । सुमन मञ्जरीका अनुसार त्यसपछि समय मिलाएर पालैपालो एक–अर्काको घरमा दर खाने कार्यक्रमहरू आयोजित भैरहेका छन् । दिनभर काम गरेर भए पनि बेलुका सकेसम्म सबै महिला दिदी–बहिनी एक ठाउँमा भेला भै दर खाने मन्जरीले बताइन् । विदेशमै भए पनि चाडबाडमा हामी नेपालीहरू एक ठाउँमा भेला भएर रमाइरहेका छांै, मन्जरी भन्छिन्– तीजकै दिनचाहिँ छुट्टी नपाइने रहेछ । त्यो दिन बिहानै हिन्दू मन्दिर पुगेर पूजा गर्ने अनि काममा लाग्ने धेरैको योजना छ । अस्ट्रेलियामा नेपाली समुदायको साझा कार्यक्रम सम्पन्न भए पनि अब पालैपालो एक–अर्कालाई बोलाउने र दर खाने योजना रहेको मन्जरीले बताइन् । यसबीच तीज कार्यक्रमकै सिलसिलामा अस्ट्रेलिया पुगेका गायक पशुपति शर्माले त्यहाँ आधा दर्जनभन्दा बढी कार्यक्रम घन्काइसकेका छन् ।

तीज कार्यक्रमकै लागि शंकर बिसी तथा पार्वती राई अमेरिका पुगेका छन् । अमेरिकाको टेक्सासमा बसोबास गरिरहेकी श्रद्धा श्रेष्ठका अनुसार अन्य कलाकार पनि अमेरिका पुग्दैछन् । जापानका विभिन्न ठाउँमा तीजका कार्यक्रमहरू सञ्चालन भैरहेका छन् । एनआरएनका पूर्वउपाध्यक्ष जुनु गुरुङका अनुसार दक्षिण कोरियाको राजधानी सोलमा तीजको भव्य कार्यक्रम आयोजित हँुदैछ । त्यसैगरी मलेसिया, बेलायत, दुबई तथा कतारमा पनि तीजका सामूहिक कार्यक्रमहरू सञ्चालन भैरहेको त्यहाँस्थित नेपालीहरूले बताएका छन् । 

 

प्रकाशित :भाद्र ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्