फैलिँदो तीजको तीन रूप

- साप्ताहिक संवाददाता

भाद्र ५, २०७४

नेपाली क्षितिज फैलँदो छ नेपालीहरू संसारभर फैलिएका छन्, विज्ञान–प्रविधिले पनि ठूलो फड्को मारेको छ । प्रविधिले यो संसारलाई नै एउटा सानो गाउँ बनाइसकेको छ । यस्तोमा नेपाली क्षमता वा सामथ्र्य, नेपालीहरूका आकंक्षा एवं महत्वाकांक्षा अनि रहरहरूको आकाश अझ विस्तृत हुनु स्वभाविक हो । नेपाली समाजको फैलँदो क्षितिजसँगै नेपालीहरूले मनाउने चाडपर्व, रीतिथिति, परम्परा आदिले पनि विस्तार पाएका छन् । समयको गतिसँगै तिनले परिष्कार र परिमार्जनको स्वाद पनि चाखिरहेका छन् । 

तीजकै कुरा गर्दा तीज अब कुनै एउटा जातिको पर्व रहेन, यो क्रमश: नेपाली महिलाहरूको साझा पर्व बन्ने क्रममा तीव्र गतिमा अघि बढिरहेको छ । नेपाली समाजको विशेषता नै हो— अरूको कुरालाई सहज रूपमा ग्रहण गर्नु, सामाजिक सद्भाव, प्रेम र भाइचारा कायम राख्नु । यसकै परिणाम मान्नुपर्छ होली र छठले जसरी राष्ट्रव्यापी मान्यता प्राप्त गर्दै आएका छन् त्यसैगरी तीजलगायत अन्य तमाम चाडपर्व आमनेपालीका साझा पर्व हुन थालेका छन् । 

तीज नेपालमा मात्र होइन, विदेशी भूमिमा मनाइने एउटा महत्वपूर्ण नेपाली चाड सावित हुँदैछ । हङकङ होस् कि अफ्रिका, सियोल होस् कि सनफ्रान्सिस्को, कतार–दुबई होस् कि सिंगापुर, नेपालीहरू साना–ठूला ठाउँ जहाँ–जहाँ पुगेका छन् त्यहाँ–त्यहाँ तीजको रौनक पुगेको छ । स्थानीयदेखि लिएर नेपालबाट पुगेका कलाकारहरूसम्मले त्यहाँ तीजको रौनक बढाएका छन् । नेपाली दिदी–बहिनीहरूले बिना कुनै भेदभाव तीजका ती समारोहमा उत्साहपूर्वक सहभागिता जनाएर आफ्नो संस्कृति एवं परम्पराप्रति माया दर्साएका छन्, त्यसलाई निरन्तरता दिएका छन् । विदेशको मात्र के कुरा, स्वदेशमै पनि तीजको क्षितिज निरन्तर फैलँदो छ । तिजको मौकामा माइतीले चेलीलाई बोलाएर दर ख्वाउने चलन अहिले टोल, समाज, विभिन्न सामाजिक संघ–संस्था, क्षेत्रीय संगठन, पेसागत संगठन, राजनैतिक दल हुँदै कर्पोरेट हाउसहरूसम्म पुगेको छ र यो दर खाने–ख्वाउने कुरामा मात्र सीमित छैन, आपसी प्रेम, सद्भाव एवं भाइचारा बढाउने अनि आपसमा रमाउने एउटा दरिलो माध्यमसमेत सावित भएको छ ।  

प्रकाशित :भाद्र ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्