सामाजिक सन्जालको जन्जाल

- किशोर नेपाल

भाद्र ४, २०७४- 

खै कुन्नि किन हो, यस पटक तीजअगाडिको मनमोहक वातावरण बिथोलियो । नाचगानका दृश्यले सामाजिक सन्जाल भरिन पाएनन् । धेरैका सेल्फी फोनमै सेल्फिए । महिना दिनअघिदेखि नै तीजको दर खाएर व्रत बस्ने दिनका लागि पूर्वतयारी गर्ने चलनले पाउनुपर्नेजति निरन्तरता पाएन । चुनावका कारण पार्टी गर्न रौसिने नेतृहरूले नाच्ने–गाउने र पिउने–पिलाउने फुर्सद पाएनन्, जसले गर्दा धेरैजसो पार्टी प्यालेस तथा फुडल्यान्डको व्यापारमा मन्दी आयो । एक फुडल्यान्ड सञ्चालकको टिप्पणी थियो, ‘यो पटक पोहोरको जस्तो रौनक छैन । अलिकति त स्थानीय चुनावले पनि बिगार्‍यो ।

चुनावका लागि घर फर्किएका दिदी–बहिनीहरू गाउँ–सहरतिरै अलमलिए । जितेको जोस र हारेको रोष उतै निखारेर फर्कने मन बनाए होलान् । अहिलेको ज्यानमारा झरीले त आउन चाहने मानिसको बाटोसमेत रोकिदियो । खै के भनौं र ?’

बाढी–पहिरोले तीजको पूर्वसन्ध्यामा हुने तीजको दर पार्टीलाई सखापै तुल्याइदियो । सबैले महिलाहरूको तीज पार्टीलाई नै भिलेन बनाए । तीजको दर खाने पैसाले बाढीपीडितलाई सहयोग गर्नुपर्नेसम्म कुरा लेखे । तीजको विरोध चाहिने भन्दा बढी नै भएपछि पत्रकार बबिता बस्नेतको मन अमिलो भएछ । उनले फेसबुकमा आफ्नो स्टाटस राखिन्, ‘महिलाहरूले तीजको दर खाने पैसाले बाढी–पहिरोपीडितलाई सहयोग गरौं भन्ने सुझाव धेरै आए, राम्रै हो । पुरुषहरूका साँझका अनौपचारिक सत्रहरू बन्द गरे अझ बढी सहयोग जुट्ने थियो कि ? साथै मनमा प्रश्नले हिजैदेखि ठाउँ लिइरहेको छ, तीजलाई नै किन तारो बनाइयो ?’ बबिताको प्रश्न जायज थियो । हो त, किन बनाइयो तीजलाई नै तारो ?

साँच्चै किन बन्यो तीज सबैको तारो ? तीज मात्र होइन, महिलाहरूले रमाई–रमाई मनाउने साउनको सोमबार र यस्ता अरू चाडमा पनि धेरै प्रश्न उठेका छन् । यसमा पुरुषले बोल्दा हस्तक्षेप सावित हुन सक्छ । चेतनशील महिलाले आफैं ठम्याउने काम गरे भने धर्म र संस्कृति, समाज र संस्कृति तथा आर्थिक स्वतन्त्रता र संस्कृतिबीचका सम्बन्धले स्पष्टता पाउनेछन् । महिला स्वतन्त्रताको अपूर्णता र समावेशी चरित्रलाई आत्मसात् गर्न नसकेको हाम्रो समाजमा धेरै अमिल्दा कुरा छन् । ती अमिल्दा कुरा हटाउन बुद्धिजीवी महिलाहरूको सक्रियता आवश्यक हुन्छ । यद्यपि उहाँहरूको आशयमा देशमा बुद्धिको कुनै काम छैन जस्तो देखिन्छ । मानौं कि बुद्धि हरियो सोमबारजस्तै हो । संसार सनातनी झञ्झावातबाट मुक्त भैरहेका बेला हामीचाहिँ त्यही सनातनमा रमाउनु कति जायज होला ?

तैपनि सामाजिक सन्जालहरू सक्रिय थिए तीजको गीत सुनाउन । आधुनिकमा सबैभन्दा धारिलो र सेक्सिलो गीत सुनाउने गायिका ज्योति मगरदेखि तीजका शास्त्रीय गीत र भजन गायिका कोमल वलीका गीतहरू सन्जालमा गुन्जिँदै थिए । यसबीच दर्कियो पानी देशमा । डाँडा–पाखाबाट झरेको पानीले खोलानाला भरियो । मधेस–तराई पानीसँग एकछत्त भयो । बलेसीको पानीले घर डुब्यो, गाउँ डुब्यो, बाटो र पुल भत्किए । एकथरी मानिस बाढी र पहिरोले दिएको पीडामा रुन पनि सकिरहेका थिएनन् भने अर्काथरी मानिस ती निरीह पीडितको काँधमा हल्लाको बन्दुक राखेर गालीको तोप पडकाउँदै थिए । गाईजात्रा सकिएपछि सुरु भएको थियो मानिसको गाईजात्रा ।

देशमा सामाजिक सन्जालको प्रयोगले समाचारको सत्यतामा कालो पोत्ने काम गरेको छ । यसले व्यक्तिका आफ्ना रिस, ईबी, कुण्ठा र क्षोभलाई संस्थागत तुल्याउन मद्दत गरेको छ । सन्जालमा हरेक मानिस हरेक मानिसको मित्र बनेर छिर्छ । बाहिर निस्कँदा ऊ हरेकको दुस्मन भैसकेको हुन्छ । सन्जालका बारेमा सुवास ढकालले एउटा परिभाषा दिएका छन्— अहिलेको बाढीमा बहेर भन्दा फेसबुकमा बहेका आँसुमा बहेर धेरै मानिस मरेका छन् । सुवासको यो भनाइले हाम्रो सामाजिक सन्जालको असली हुलिया बताउँछ । यस्तो पनि देखियो, एउटा मन्त्री भैसकेको कुनै मानिसको भनाइमाथि एउटा कुनै प्रयोगकर्ताले सन्जालमा अशिष्ट शब्द लेख्यो : कुकुर भुक्यो । त्यसलाई मन्त्री भैसकेको र साहित्यकार भनिने एउटा अर्को कथित बुद्धिजीवीले सेयर (बाँडचुँड) गर्‍यो ।

यतिबेला नेपालमा जुकको फेसबुकले युद्धभूमिको रूप लिएको छ । नेपालीहरू गोर्खाल्यान्डको मुक्तियुद्ध यहींबाट लड्दैछन् । भुटानको दोक्लाममा जुटेका चीन र भारतका वीर लडाकुहरूलाई यहींबाट हौस्याउँदैछन् । फेसबुकबाटै माओवादी विप्लवलाई कोसी बाँध भत्काउन आह्वान गर्दैछन् । मरेर सिनो पल्टिएको साम्यवादी राजनीतिको प्रतिस्पर्धा फेसबुकबाटै हुँदैछ । छोरो जन्मिएको, बाबु मरेको, श्रीमती पोइल गएको, व्यापारमा घाटा परेको, उद्योगले नाफा कमाएको, कतारबाट श्रीमान्ले दु:ख गरी–गरी कमाएको पैसा केटा खेलाएर सकेको आदि–इत्यादि सबै समाचारको बिस्कुन फेसबुकमा लगाउने गरिएको छ । यो भाँडो नभए पनि नहुने, भएर पनि नहुने अचम्मको जिनिस भएको छ भने अब गर्ने के ? फेसबुकका प्रयोगकर्ताले सोच्नुपर्ने प्रश्न हो यो ।

प्रकाशित :भाद्र ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्