Teej banner

बाढीपीडितका लागि कलाकारको अग्रसरता

- साप्ताहिक संवाददाता

भाद्र २, २०७४

अभिनेता सीताराम कट्टेल बाढी आएको दोस्रो दिन अर्थात् गत आइतबार नै तराई झरेर राहत तथा उद्धारमा सहभागी भैसकेका छन् भने काठमाडौंमा रहेका थुप्रै कलाकारले सहयोगको घोषणा गरेका छन् । कतिपय कलाकार यही साता राहत सामग्रीसहित तराई झर्ने तयारी गर्दैछन् । 

बाढीपीडितलाई लुगा, खाने पानी, औषधी तथा बासस्थानको समेत अभाव भैरहेको अवस्थामा चलचित्र निर्माण कम्पनीहरू जि टु वान पिक्चर्स तथा ब्ल्याक हर्स पिक्चर्सले सहयोगको हात अगाडि बढाएका छन् । मोबाइल र इन्टरनेटबाटै पैसा आदान–प्रदान गर्न सकिने इ–सेवासँगको सहकार्यमा निर्देशक तथा अभिनेताद्वय निश्चल बस्नेत तथा आशिफ शाहले यो अभियान प्रारम्भ गरेका हुन् । अभियानमा दुवैले ५०–५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् भने इ–सेवाले पनि २ लाख रुपैयाँ सहयोग गरेको छ ।

निर्देशक शाहका अनुसार बाढीपीडितका लागि ४ लाख ५१ हजार रुपैयाँबाट अभियानको थालनी भैसकेको छ । निर्देशक तथा अभिनेता दीपकराज गिरीले बाढीपीडितहरूका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् भने अभिनेत्री पूजा शर्माले पनि १ लाख रुपैयाँ सहयोग गर्ने बताएकी छिन् । अभिनेत्री शर्माले पीडितहरूका लागि खाना तथा कपडाको समेत व्यवस्था गरिरहेको उल्लेख गरेकी छिन् । 

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, अभिनेता जितु नेपाल तथा केदार घिमिरेले मोरङ समाज, नेपालमार्फत जनही ५१–५१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् भने अभिनेत्री प्रियंका कार्कीले पनि ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् । 

चलचित्र कलाकार संघ नेपालले बाढीपीडितका लागि ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ । अध्यक्ष रामकेशर बोगटीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोषमा उक्त रकम जम्मा गरिनेछ । बोगटीका अनुसार उनीहरूको कोषमा किरण केसी तथा राज केसीका तर्फबाट १ लाख तथा मह जोडीबाट १ लाख एवं संघको ६५ हजार गरी कुल २ लाख ६५ हजार रुपैयाँ संकलन भैसकेको छ ।  

निर्देशक तथा अभिनेता निर्मल शर्मा, गायक संजय श्रेष्ठ तथा सञ्चारकर्मी प्रभात रिमालको पहलमा बाढीपीडितहरूको सहयोगका लागि पिपुल टु पिपुल अभियानको घोषणा गरिएको छ । उक्त समूहमा समाजका प्रतिष्ठित व्यक्तित्वहरू जोडिने क्रम जारी रहेको तथा उनीहरूको समूह आज शुक्रबार अत्यावश्यक सामग्रीसहित सप्तरी पुग्ने निर्देशक शर्माले बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले समितिका तर्फबाट १ लाख रुपैयाँ तथा खाद्य सामग्री प्रभावित क्षेत्रमा पुगेर वितरण गर्ने बताएका छन् । 

चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले संघका तर्फबाट १ लाख १ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् भने गायिका कोमल वलीले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् । 

गायक प्रमोद खरेल तथा हेयर स्टाइलिष्ट नील डेविड कटवाल विपत्तिमा फैलाउँm सहयोगी मनहरू अभियान थालेका छन् । यो अभियानअन्तर्गत हालसम्म ३ लाख २० हजार रुपैयाँ संकलन भएको तथा अभियानले झापाबाट राहत सामग्री वितरण कार्य थालनी गर्ने गायक खरेलले बताएका छन् । 

अभिनेत्री श्वेता खड्काले चलचित्र कान्छीको घोषणा कार्यक्रममै बाढीपीडितहरूलाई नगद १ लाख रुपैयाँ प्रदान गर्ने बताएकी छिन् भने चलचित्र प्रेमगीत–२ ले आज शुक्रबारको प्रदर्शनबाट संकलन हुने सम्पूर्ण रकम बाढीपीडितका लागि प्रदान गर्ने निर्माता सन्तोष सेनले घोषणा गरेका छन् । 

 

प्रकाशित :भाद्र २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्