कलाकारहरू कहाँ, के गर्दैछन्?

- सुव्रत आचार्य

भाद्र १, २०७४-

 

वि.सं.२०५० को दशकमा राजेश हमालको माग यति धेरै थियो कि उनी एकै दिन तीन सिफ्टमा काम गर्थे । बिहान एउटा चलचित्रको छायांकनमा भेटिने राजेश हमाल साँझ अर्को चलचित्रको सेटमा हुन्थे भने राति फेरि अर्को चलचित्रको सेटमा । उनी यति व्यस्त रहन्थे कि सम्भवत: त्यसैले आफ्ना लागि जोडी खोज्नेसम्म फुर्सद पाएनन् । उमेर ढल्किँदै गएपछि विवाह–बन्धनमा बाँधिएका राजेश अहिले पनि व्यस्त छन्, चलचित्रमा होइन, श्रीमतीसँग । हमाल प्रत्येक दिनजसो फेसबुकमा श्रीमतीसँग घुमेका, समय बिताएका तस्बिर अपलोड गरिरहेका हुन्छन् । चलचित्रमा उनको सक्रियता लगभग घटिसकेको छ । कुनै बेला राजेश हमाललाई आफ्नो चलचित्रमा साइन गराउन लाम लाग्ने निर्माताहरूको भीड अहिले छाँटिइसकेको छ । वास्तवमा आजको मितिमा राजेश हमालसँग कुनै चलचित्र छैन, तर उनको जीवनमा रोमान्सचाहिँ फर्किएको छ । 

पुराना अभिनेताहरूमध्ये एक्सन स्टारका रूपमा कहलिएका शिव श्रेष्ठसँग पनि कुनै चलचित्र छैन । कुनै बेला नेपाली रजतपटमा एकाधिकार जमाएका श्रेष्ठ अहिले भैंसेपाटीमा कफी सप खोलेर बसेका छन् । फुर्सदको सदुपयोग गर्न कफी सप खोलेको उनको भनाइ छ । साईबाबाको पूजा–आराधना, साथीभाइहरूसँग दिन बिताउने र कान्छी श्रीमतीबाट जन्मिएको सानो छोरा साइसुन्दरसँग समय व्यतीत 

गर्ने शिव श्रेष्ठ एक जना कहलिएका निर्देशकको चलचित्रबाट पुनरागमन गर्न लागेका छन् । 

अर्का पुराना स्टार भुवन केसीको व्यस्तता त जगजाहेर नै छ । उनको अहिलेको व्यस्तता छोरा अनमोल केसीको करियरसँग जोडिएको छ । दुई वर्षअघि छोरा अनमोललाई नायक लिएर बनाएको चलचित्र ‘ड्रिम्स’बाट निर्देशनमा फड्को मारेका केसी निर्देशनमा सफल भएपछि अर्को चलचित्र निर्देशनको तयारीमा छन्, तर त्योभन्दा पनि उनले सुवास गिरीसँग मिलेर चलचित्र ‘कृ’को निर्माण गरेका छन्, जसमा अनमोललाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । केही समयअघिसम्म अनमोललाई कोइलीले अन्डा लुकाए जसरी लुकाएर राखेका भुवन केसीको फेसबुकमा अहिले उनको भन्दा अनमोल केसीका तस्बिर एवं सामग्री बढी अपलोड हुने गरेको छ । भुवन आफै भने अहिले कुनै पनि चलचित्रमा काम गरिरहेका छैनन् । 

चलचित्र ‘कृ’का लागि ज्यान एवं गेटअप बनाउने कार्यमा बाधा नहोस् भनेर हराएका अनमोल केसी धेरै समयको गुप्तवासपछि फेरि सार्वजनिक जीवनमा फर्किएका छन् । यद्यपि कहीं–कतै नदेखिने अनमोल अहिले पनि चलचित्र ‘कृ’को छायांकनमै व्यस्त छन् । तिहारमा प्रदर्शन हुने भनिए पनि त्यो मितिमा सार्वजनिक हुन नसक्ने बहुप्रतीक्षित चलचित्र ‘कृ’ले अर्को मिति भने तय गर्न सकेको छैन । 

व्यस्तमै दरिएका दयाहाङ राईको चर्चा अचेल त्यति भैरहेको छैन र उनका नयाँ चलचित्र आइरहेका छैनन् । आउने क्रममा भने आधा दर्जन चलचित्र छन् । भदौ लागेपछि दयाहाङ राई श्वेता खड्कासँग चलचित्र कान्छीको छायांकनमा व्यस्त हुँदैछन् । 

रेखा थापाले भर्खरै आफ्नो होम प्रोडक्सनको चलचित्र रुद्रप्रियाको गीत रिलिज गरेर त्यसबाट आउने मिश्रित प्रतिक्रियाहरू चाखिरहेकी छिन् भने उनी आबद्ध राप्रपा नेपाल विभाजित भएको असर उनको राजनैतिक करियर पनि पर्ने देखिएको छ । रुद्रप्रियाका अभिनेता आर्यन सिग्देलले गत साता आफ्नो जन्मदिन मनाए, नजिकका साथीभाइ एवं परिवारका सदस्यहरूका साथ । 

रंगकर्मबाट चलचित्रमा आएका दयाहाङले साथीहरूसँग मिलेर मण्डला थिएटर चलाएका छन् । त्यहाँ दिनहुँजसो नाटक मञ्चन भैरहेको छ । दयाहाङले भने धेरै समय भयो, नाटकमा अभिनय एवं निर्देशन गर्न पाएका छैनन् । गत वर्ष उनले नाटक रमाइलोमा अभिनय गरेका थिए, दयाहाङ अहिले पनि रंगकर्मीका क्रियाकलापहरूमा समय मिलेसम्म सहभागी हुन्छन् । रंगकर्मबाटै आएका सौगात मल्लको कुरा भने बेग्लै छ । कुनै बेला रंगमञ्चका व्यस्त सौगातले रंगमञ्चमा पाइला नटेकेकै धेरै भैसकेको छ । एकपछि अर्को चलचित्रमा उनको व्यस्तता अझै पनि छ । सौगात भदौमा छायांकन हुने चलचित्र पञ्चेबाजाको तयारीका सार्थ पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँगको डेटिङमा व्यस्त छन् ।

प्रियंका कार्की दुई चलचित्र छक्का पञ्जा टु र फाटेको जुत्ताको छायांकन सकेर अमेरिका पुगेकी छिन् । अमेरिकामा आयोजित मिस भुटान युएसएमा कोरियोग्राफर तथा अतिथिको भूमिका निर्वाह गर्ने प्रियंका नेपाल फर्केर आएपछि साइन गरेका केही चलचित्रको छायांकन तथा प्रदर्शोन्मुख छक्कापञ्जा–टु, ह्याप्पी डेजको प्रचार–प्रसारमा लाग्नेछिन् । 

अभिनेत्री केकी अधिकारीको चर्चा पहिलेजस्तो नभए पनि उनको व्यस्तता दिनानुदिन बढिरहेको छ । उनले अभिनय गर्ने चलचित्र हुर्रेको घोषणा यसै साता गरिएको छ भने उक्त चलचित्र भदौमा छायांकनमा जाने भएको छ । यसैगरी केकीले म्युजिक भिडियोका व्यस्त निर्देशक विशाल भण्डारीको अघोषित चलचित्रमा पनि मुख्य भूमिका निर्वाह गर्ने पक्का भैसकेको छ । यसबीच केकी अमेरिकामा हुन लागेको एक डान्स कम्पिटिसनमा निर्णायक हुन लागेकी छिन् । 

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले इन्टु मिन्टु लन्डनमाको छायांकनका क्रममा लन्डन पुगेकी छिन् । उक्त चलचित्रको छायांकनका कारण उनी आफ्नो बहुप्रतीक्षित चलचि त्र ए मेरो हजुर–टुको प्रदर्शनका बेलामा नेपालमा नहुने सम्भावना प्रबल छ । अर्की व्यस्त अभिनेत्री वर्षा राउत अहिले तीजका कार्यक्रमका लागि अस्ट्रेलियामा छिन् । उनी छक्का पञ्जा टुको छायांकन सकेर उता लागेकी हुन् । नेपाल फर्किएपछि राउत चलचित्रको छायांकनमा व्यस्त हुने बताइन्छ । 

म यस्तो गीत गाउँछुको सफलतापछि पुलकित अभिनेत्री तथा निर्मात्री पूजा शर्मा अहिले त्यही चलचित्रको सफलताको स्वाद चाखिरहेकी छिन् । नयाँ चलचित्रमा काम गर्ने कुरामा अहिले केही समय लाग्ने शर्माले बताएकी छिन् । म यस्तो गीत गाउँछुका अभिनेता पल शाह भने प्रदर्शोन्मुख चलचित्र जोनी जेन्टलम्यानको बाँकी रहेको एउटा गीतको छायांकन सकेर आगामी साता चलचित्र म यस्तो गीत गाउँछुको शोका लागि हङकङ जाँदैछन् भने फर्केर आएपछि फेरी त्यही चलचित्रको प्रदर्शनका लागि अस्ट्रेलिया जाने भएका छन् । 

 

सफल चलचित्र प्रेमगीत–टुका अभिनेता प्रदीप खड्का भने अब केही समयमा चलचित्र रानी महलको छायांकनमा व्यस्त हुने तयारीमा छन् । अभिनेता दीपकराज गिरी तथा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाको व्यस्तता त जगजाहेर नै छ । यी दुवै असोज ११ गते प्रदर्शन हुने चलचित्र छक्कापञ्जाको प्राविधिक कार्य तथा प्रचार प्रसारमा अहोरात्र खटिएका छन् । त्यसका साथै उनीहरू हरेक साँझ गाइजात्रे कार्यक्रममा पनि व्यस्त छन् । 

एक्सन अभिनेता निखिल उप्रेतीका पछिल्ला चलचित्रले उल्लेख्य उपलब्धि हासिल गर्न नसके पनि उनी भने एकपछि अर्को चलचित्रमा व्यस्त भैरहेका छन् । यतिबेला निखिलको व्यस्तता उनकै निर्देशनमा तीन करोडभन्दा बढी लगानीमा निर्माण हुन लागेको चलचित्र कमिटमेन्टको तयारीमा केन्द्रित छ । 

निर्देशक तथा अभिनेता निश्चल बस्नेत आफू नायक भएको चलचित्र दुई रुपैयाँको प्रदर्शनका क्रममा स्वदेशमा झुल्किने भन्दै अहिले नयाँ दिल्लीमा आमाको स्वास्थ्य उपचारमा व्यस्त छन् । दिल्ली बसाइकै क्रममा उनलाई टेलिश्रृंखला भद्रगोलका कलाकार कुमार कट्टेल तथा अर्जुन घिमिरेले नयाँ चलचित्रका लागि अनुबन्ध गराएका छन् । 

प्रकाशित :भाद्र १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्