राजेश हमालकी फ्यान

  • मेरा लागि राजनीति नै सर्टिफिकेट हो

- साप्ताहिक संवाददाता

भाद्र १, २०७४-

साढे ३ महिनाअघि भरतपुर महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्न माओवादी केन्द्रकी नेतृ रेणु दाहाल चितवन झरेकी थिइन् । माओवादीबाट मेयरको प्रत्याशी को हुन्छ भन्ने अन्यौल चिर्दै गत वैशाख १५ गते उनको उम्मेदवारी घोषणा गरियो । त्यस क्रममै कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल समेत भयो । मेयरमा दाहाल र उप–मेयरमा कांग्रेसकी पार्वती साह मैदानमा उत्रिएसँगै मुलुकभित्र र बाहिर भरतपुरको चर्चा चुलियो । कोठे गफदेखि सामाजिक सञ्जालसम्म रेणुको चर्चा र आलोचनाले रंगिए । पिता पुष्पकमल दाहाल माओवादी अध्यक्ष भएकै कारण उम्मेदवारी पाएको भन्दै उनको तीव्र आलोचना गर्नेहरू प्रशस्तै निस्किए । वैशाख ३१ गते मतदानपछि गणना अन्तिम चरणमा पुग्दा १९ नम्बर वार्डको केही मतपत्र च्यातियो । मतपत्र च्यात्ने कार्यमा माओवादी कार्यकर्ताको संलग्नता भएको भन्दै रेणुले थप आलोचना खेप्नुपर्‍यो । सर्वाेच्च अदालतको आदेशपश्चात् भरतपुर–१९ मा पुन: मतदान भयो । त्यसपछिको मतगणनामा रेणुले आफ्ना प्रमुख प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीलाई २ सय ३ मतान्तरले पछाडि छोडिन् । रेणुको यो चुनावी आरोह–अवरोह तथा उनको व्यक्तिगत राजनीतिक जीवनका सम्बन्धमा साप्ताहिककर्मी दीपेन्द्र बडुवाल तथा विमल खतिवडाले उनीसँग लामो कुराकानी गरेका थिए ।  

महानगरको मेयर बन्नुभयो, कस्तो महसुस भैरहेको छ ? 

मैले यसलाई महानगरवासीको विजय तथा चुनौती र अवसरका रूपमा लिएकी छु । यी चुनौतीलाई आगामी दिनमा सही ढंगले ट्याकल गर्दै जानेछु । म सबै पक्षलाई समेटेर लानेछु । यो मेरा लागि काम देखाउने अवसर पनि हो । 

प्रतिस्पर्धी एमालेले तपाईंको जितलाई कृत्रिम जित भनेको छ नि ? 

मतपत्र च्यातिनु गलत हो । आगामी दिनमा त्यस्तो हुन नदिन म आफ्नो ठाउँबाट जिम्मेवारी लिन्छु । त्यस्तो परिस्थिति आइसकेपछि पार लगाउनैपर्‍यो । कानुनी मूल्य–मान्यताअनुसार अघि बढ्नुपर्‍यो । स्थानीय तह निर्वाचन ऐनमा जे व्यवस्था छ, प्रचलित नियम कानुनले के भन्छ त्यसैअनुरूप अघि बढ्ने हो । पुन: निर्वाचनको विकल्प थिएन, कानुनमा स्पष्ट व्यवस्था छ । कानुनमा पोख्त उहाँहरू पनि हुनुहुन्छ तर, जनताको सेन्टिमेन्टलाई दिग्मभ्रमित गर्ने, सस्तो लोकप्रियतामा रमाउने हिसाबले त्यसलाई प्रचारको विषय बनाइयो । अहिले त्यसो गर्नु गलत भयो भन्दै समीक्षा गर्नुभएको छ । 

भरतपुरलाई कांग्रेसको गढ भनिन्छ, माओवादीले पनि यहाँ आफ्नो राम्रो जनाधार भएको दाबी गर्छ तर जित/हार झिनो अन्तरले भयो कसरी ?

पहिलो संविधानसभा निर्वाचनमा माओवादीले चितवनका ५ मध्ये ४ निर्वाचन क्षेत्र जितेको हो । दोस्रोमा कांग्रेस र एमालेले जित हात पारे, माओवादीले जित्न सकेन । समय सधैं एकनासको हँुदैन । जनताको मत पनि परिवर्तनशील हुन्छ । जनता परिवर्तनको पक्षमा हुन्छन्, यथास्थितिमा रहन चाहँदैनन् । हाम्रा अध्यक्षको नेतृत्वको माओवादी–कांग्रेस सरकारले केही सकारात्मक काम गरेको थियो । संविधान निर्माण गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु, स्थानीय तहको निर्वाचन, लोडसेडिङ अन्त्य गरी उज्यालो नेपाल बनाउनु जस्ता लोकप्रिय कामहरू भएका थिए । त्यसैले जनताले विश्वास गरेर हामीलाई मत दिन्छन् भन्ने थियो । 

गठबन्धनमा ढिलाइ भएको हो ? 

सुरुवातमा कांग्रेस र माओवादीबाट छुट्टा–छुट्टै उम्मेदवार दिइयो । म अलि अघि आएँ । कांग्रेसले उम्मेदवारी दर्ताकै दिन उम्मेदवार टुंगो लगायो । उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनुभन्दा केही समयअघि एकाएक उम्मेदवारी फिर्ता गराउँदा एक खालको झड्का जसलाई पनि लाग्छ, त्यो स्वभाविक हो । पहिले नै तयारी गरेर माथिल्लो तहमै होमवर्क गरिएको भए हामीले अत्यधिक मतले जित्ने थियौं । यहाँ कांग्रेसको पनि राम्रो संगठन छ र माओवादीको पनि नराम्रो थिएन । यद्यपि एलायन्स गर्न ढिला भयो । यसबीच प्रतिस्पर्धीहरू खेल्न सफल भए । 

आधा जस्तो वडा जितेको एमालेलाई विश्वासमा लिने आधार के–के छन् ?

गठबन्धनको बहुमत पुग्छ, तर एउटा ठूलो जनमत उहाँहरूसँग पनि छ । म त्यो जनमतको कदर गर्छु । म सँग–सँगै जितको नजिक पुग्नुभएका देवी ज्ञवालीको पनि कदर एवं सम्मान गर्छु । म यो कुरालाई भोलि व्यवहारमै सावित गरेर देखाउँछु । म सबै पक्षको भावनालाई समेटेर सिंगो भरतपुर महानगरपालिकावासीको मेयर बन्न चाहन्छु । यद्यपि उहाँहरू पनि त्यही हिसाबले आउनुपर्‍यो ।

तपाईंले महिला तथा ६० वर्ष माथिका वृद्धवृद्धालाई भरतपुर अस्पतालको बहिरंग सेवामा टिकट नलाग्ने निर्णय गर्नुभएछ, यो सस्तो लोकप्रियताका लागि गरिएको निर्णय भएन ? 

यसलाई म सस्तो लोकप्रियता भन्दिन, सामान्य निर्णय हो । यो त्यति ठूलो निर्णय पनि होइन । यद्यपि एकदमै महत्वपूर्ण निर्णयचाहिँ हो । यसमा जनताको पक्षबाट सकारात्मक प्रतिक्रिया पाइएको छ । देशका ६ महानगरमध्ये ५ महानगरमा चुनाव भैसकेको छ । अरू बाँकी कुनै पनि महानगरको प्रमुख नेतृत्वमा महिला हुनुहुन्न । मेयर र उप–मेयर दुवैमा महिला भएको एकमात्र महानगरका रूपमा हामीले यो पहिलो निर्णय गरेका हौं । जे सम्भव हुन्छ त्यस आधारमा निर्णय गरिएको हो । यसमा ज्येष्ठ नागरिकका रूपमा पुरुषहरू पनि लाभान्वित हुनुहुन्छ । 

भरतपुर–१९ बाट विकासको सुरुवात गर्छु भन्नुभयो, जिताउन भूमिका खेलेबापतको उपहार हो ? 

म यो महानगरका सबै वडामा एक–एकचोटी त पुगे तर १९ नम्बरमा मेरो २ महिना बित्यो । त्यहाँका जनतासित गहिरो सम्बन्ध बन्यो । म प्रत्येक घर, प्रत्येक व्यक्ति–व्यक्तिसँग अन्तरघुलित भए । अहिलेलाई १९ नम्बर भनेपछि छुट्टै खालको अनुभूति हुन्छ । मैले जसरी मेहनत गरे, त्यसरी नै १९ नम्बर वडावासीहरूले पनि अथक मेहनत गर्नुभयो । सुरुवात कहाँबाट गर्ने भन्ने कुरा उठेपछि १९ बाट गर्ने भन्ने कुरा आएको हो । 

महानगरको प्रमुख, उप–प्रमुखमा दुवै महिला निर्वाचित हुनुभएको छ अब महानगरलाई कस्तो बनाउनुहुन्छ ? 

यसलाई मैले जिम्मेवारीको पद हो भन्ने बुझेको छु । विगतमा योभन्दा माथिल्लो पदमा रहेर पनि काम गरियो । संविधानसभा सदस्य भएर पनि काम गरियो । यद्यपि यो त्योभन्दा ठूलो जिम्मेवारी हो, भूमिकाको हिसाबले महत्वपूर्ण हो । भरतपुरका जनताले एउटी महिलाका रूपमा मलाई यो महानगरको नेतृत्व गर्ने अवसर दिनुभएको छ । हिजोको पितृसत्तात्मक सोचअनुरूप दुवै जना महिला भन्नेहरूलाई महिलाले के गर्न सक्छन् र भन्ने पनि लागेको होला, हामीले कामबाटै त्यस्तो सोचलाई दरिलो झापड दिनुछ । 

तपाईंलाई प्रचण्ड पुत्रीका रूपमा मात्र चित्रित गरिन्छ, तपाईंको वास्तविक नाम कतै आउँदैन, किन होला ? तपाईंको आफ्नै पहिचान छैन ?

मलाई यसमा असाध्यै ठूलो गर्व छ । बुवा युवा अवस्थादेखि नै परिवर्तनका लागि मर्न तयार हुनुभयो । पार्टीको नेतृत्व सम्हाल्दै भूमिगत भएर जनयुद्धमा होमिनुभयो । त्यतिबेला हामी पढ्दै थियौं । बुवाको यत्रो ठूलो योगदान छ भने हामीले पनि केही गर्नुपर्छ भन्ने भावनाले हामी पनि पार्टीमा लागेको हौं । म राजनीति बुझेर भन्दा पनि परिवर्तनका लागि जनताका छोराछोरी मर्न तयार भएका छन् भने हामीले पनि केही गर्नुपर्छ, बुवालाई सपोर्ट गर्नुपर्छ भनेर लागेकी हुँ । मैले जनयुद्ध सुरु भएपछि रोल्पा, रुकुमदेखि लिएर प्रवासमा पनि रहेर लामो समय काम गरें । १० वर्ष काठमाडौंमा नेतृत्व गरे । म काठमाडौं जिल्लाको पार्टी सचिव थिए । अहिले महिला संगठनको महासचिव छु । यी सबै कुराका बाबजुद एउटा यर्थात के हो भने म प्रचण्ड पुत्री हुँ र त्यसोभन्दा म आफूलाई गौरवान्वित महसुस गर्छु । 

तपाईंको राजनैतिक यात्राचाहिँ कसरी सुरु भयो ?

०४६ सालको आन्दोलनताका हामी सानै थियौं । मैले चितवनकै पटिहानीस्थित अमर माविमा पढेकी हुँ । त्यति बेला म स्कुलमा हुने गतिविधिहरूमा सहभागी हुन्थे । ०५२ सालमा जनयुद्ध सुरु भयो । जनयुद्ध सुरु भएपछि भाइ, बहिनी र मसहित हामी परिवारै भूमिगत भयौं र पढाइ समेत छोड्यौं । त्यतिबेला पार्टीप्रति प्रतिबद्ध भएर अघि बढियो । जनयुद्ध सुरु भैसकेपछि सक्रिय भएर त्यसमा लागियो । उक्त युद्धको आदर्श बुवा हुनुहुन्थ्यो । बुवाकै एउटी आदर्श छोरीका रूपमा म निरन्तर राजनीतिमा सक्रिय भएँ । 

जब चुनाव आयो त्यसपछि मात्र तपाईं चितवनमा देखिनुभयो, किन होला ? 

यो मेरो व्यक्तिगत कुरा होइन, आवश्यकताले हुने कुरा हो । हिजो मेरो आवश्यकता रोल्पामा थियो । पछि शान्ति प्रक्रियामा काठमाडौंमा आवश्यकता भयो । मैले दोस्रो संविधानसभामा चितवनबाटै निर्वाचन लड्न चाहेकी थिएँ, त्यति बेला टिकट पाइनँ । मलाई व्यक्तिगत रूपमा काठमाडौं–१ बाट लड्ने रहर थिएन । त्यो त्यति बेलाको पार्टीको आवश्यकता एवं निर्णय थियो । अहिले पनि म यहाँ सबैको माग र पार्टीले गरेको निर्णयलाई स्वीकार गरी आएकी हुँ । 

तपाईंकै पार्टीबाट जिल्लामा बसेर लामो समयदेखि राजनीति गर्ने धेरै थिए, उनीहरूमध्ये केही मेयरमा टिकट पाउने आशामा थिए, तर तपाईंले टिकट पाउनुभयो, बुबा अध्यक्ष भएकाले छोरीलाई सहजै टिकट दिए भन्ने आरोप पनि सुनियो ? 

मेरो उम्मेदवारीको निर्णय चितवन जिल्ला पार्टी कमिटीले सर्वसम्मत रूपमा गरेको हो । मैले चाहना देखाएको होइन । जिल्लामा थुप्रै नेता हुनुहुन्थ्यो । यसमा उहाँहरूको हक पनि थियो । तपाईंहरू तयार हुनुहोस्, पहिलो हक तपाईंहरूको हो, तपाईंहरू कोही नभएको खण्डमा र पार्टीले ल भन्छ भने सोचौंला भनें मैले । यो कुरा मैले जिल्ला नेतादेखि माथिल्लो तहका नेताहरूसम्मलाई भने तर उहाँहरूले मलाई नै उम्मेदवार बनाउनुभयो । अब प्रान्तीय चुनाव हुन्छ, केन्द्रको चुनाव हुन्छ, त्यसमा पनि मेरो संभावना थियो । त्यसो हुँदाहुँदै पनि मैले पार्टीको निर्णय स्वीकार गरेकी हुँ । 

तपाईंलाई जिताउनैका लागि कांग्रेससँग गठबन्धन गरियो होइन ? 

गठबन्धन यहाँ मात्र भएको होइन, अन्यत्र पनि भएको छ, अरू पार्टीहरूबीच पनि भएको छ । यो केन्द्रीय तहमा भएको नीतिगत निर्णय हो । एलायन्स गर्न सक्नेसँग गर्ने भन्ने त पार्टीको नीति नै थियो । यस्तै नीति अरू पार्टीको पनि रह्यो त्यस क्रममा धेरै जस्तो ठाउँमा कांग्रेससँग हाम्रो गठबन्धन भयो । सरकारमा सँगै भएकाले पनि यो गठबन्धन सहज र स्वभाविक थियो । रेणुलाई जिताउनैका लागि गठबन्धन भएको होइन । यो कसैको व्यक्तिगत इच्छा र चाहनामा हुने कुरा पनि होइन । 

तपाईंले कतिसम्म अध्ययन गर्नुभयो ? 

मैले एसएलसी उत्तीर्ण गरेकी छु । पछि परीक्षा दिन मात्र आउनुस् पनि भनिएको थियो तर, २० वर्षअघि गरेको अध्ययनलाई २० वर्षपछि कसरी अघि बढाउनु ? भनेर मैले थप अध्ययन गर्न चाहिन । मलाई राजनीति नै प्यारो लाग्यो । मेरा लागि राजनीति नै सर्टिफिकेट हो । जनताको पक्षमा काम गर्न सके भने त्यही नै मेरा लागि ठूलो सर्टिफिकेट बन्छ । राजनीति गर्नेहरूका लागि त्योभन्दा ठूलो सर्टिफिकेट केही हुँदैन । जनताको मन जित्न सक्नु नै सबैभन्दा ठूलो कुरा हो । जनयुद्धको बेला एसएलसी दिइयो । त्यतिबेला अध्ययनलाई नै निरन्तरता दिन पनि सकिन्थ्यो होला तर त्यसलाई आवश्यक मानिएन । 

गिरिजाप्रसाद कोइरालाले सुजातालाई अवसर नदिनुभएको भए आज उनी यो अवस्थामा हुने थिइनन् भनिन्छ, उनी आफ्ना बुवाकै आशीर्वादमा अघि बढेकी हुन् भन्ने आरोप अहिले पनि लगाइन्छ, आज तपाईंमाथि पनि यस्तै टिप्पणी भैरहेको छ । के अब तपाईंलाई प्रचण्डको उत्तराधिकारीका रूपमा 

बुझ्दा हुन्छ ? 

गिरिजाप्रसादको कुरा उहाँसँगै सम्बन्धित थियो । त्यसमा मैले बोल्ने कुरा भएन । मेरो हकमा भन्ने हो भने म २५ वर्षदेखि निरन्तर राजनीतिमा छु । मेरो राजनैतिक उद्देश्यबाहेक अरू केही उद्देश्य छैन, अरू कुनै पेसा, व्यवसाय छैन । मैले अरू केही उद्देश्य राखेकी पनि छैन । म निरन्तर जनताको सेवामा छु । प्रचण्डकी छोरी हुँदैमा मैले अरू कार्यकर्ता सरह पाउने अधिकारबाट बञ्चित हुनुपर्छ भन्ने पनि छैन । 

तपाईंको विचारमा राजनीति के रहेछ ? 

सबैले जनता र राष्ट्रका लागि राजनीति गर्दैनन् । राष्ट्र र जनताका लागि आफ्ना सबै व्यक्तिगत इच्छा–चाहनाहरू त्यागेर समर्पित हुने कुरा सबैबाट सम्भव पनि छैन । यद्यपि मेरा लागि राजनीति त्यही त्याग, समर्पण र सेवा हो ।

परिवारमा को–को हुनुहुन्छ ? 

म शिवनगर, भरतपुरमै जन्मिएकी हुँ । विवाह पछिको मेरो घर गुल्मी हो । हामी भरतपुरमा भाडामा बसेका छौं । मेरो परिवारमा छोराछोरीका साथमा सासू–ससुरा तथा श्रीमान् हुनुहुन्छ । 

अब जनताको प्रतिनिधि बन्नुभएको छ परिवारलाई समय दिन भ्याउनुहुन्छ ? 

खासै समय दिन भ्याएकी छैन । मेरी छोरीले जनयुद्धका बेला भनेको एउटा कुराले मलाई भावुक बनाएको थियो, जतिबेला म रोल्पा जाँदै थिए । छोरी सात–आठ वर्षकी थिई । उ सबैका ममी घरमा बस्नुहुन्छ, तपाईं मात्र किन यस्तो ? भन्थी । अहिले पनि छोराले ममीले चुनाव हारिदियोस् भन्थ्यो । सँगै बस्न पाइँदैन भनेर ऊ यस्तो कुरा गथ्र्याे । मेरी छोरी १८ वर्ष तथा बाबु ९ वर्षका भए । 

कति वर्षको उमेरमा विवाह गर्नुभयो, जनवादी विवाह भएको होला होइन, कसरी भयो विवाह ? 

०५३ साल माघमा १९ वर्षको उमेरमा हाम्रो विवाह भएको हो । हाम्रो विवाह भूमिगतकालमै भएको हो । बुवाहरू भूमिगत नै हुनुहुन्थ्यो । उहाँहरू भारतको बोर्डर साइडमा हुनुहुन्थ्यो । हामी यता थियौं । हाम्रो विवाह लखनउमा सम्पन्न भयो । विवाहका बेला रामबहादुर थापा बादल, पम्फा भुषाल, हिसिला यमी र हाम्रो परिवार मात्र उपस्थित थियो । सानो कोठामा हाम्रो विवाह सम्पन्न गरियो । जनयुद्ध सुरु भएपछि हामीलाई काठमाडौं बस्न समस्या थियो । के गर्नेभन्दा बिहे गरिदिने भन्ने कुरा भयो । पार्टीमा सल्लाह भयो । आकस्मिक रूपमा विवाह भयो । विवाह भएपछि मात्र श्रीमान् (अर्जुन पाठक) सँग मेरो चिनजान भएको हो । उहाँ अखिल नेपाल–भारत नेपाली विद्यार्थी संघको (त्यतिबेला संस्थापक अध्यक्ष बाबुराम भट्टराई हुनुहुन्थ्यो) महासचिव हुनुहुन्थ्यो । प्रवासमा काम गर्नुहुन्थ्यो । म चाहिँ त्यति बेला पार्टीको सदस्य थिए । 

मतपत्र च्यातिनुअघि तपाईंप्रति केही सहानुभूति पनि थियो, सामाजिक सञ्जालहरूमा तपाईंको राम्रै चर्चा थियो, तर मतपत्र च्यातिएपछि गालीगलौज धेरै आए, ती सबै टिकाटिप्पणीलाई कुन रूपले लिनुभयो ? 

कुनै पनि चिजमा अति हुनु हुँदैन । अति भएपछि प्रतिक्रिया त्यही रूपमा आउँछ । त्यति बेला ममाथि अति आक्रमण भएको हो । हरेक इसुमा, हरेक स्टेपमा यति धेरै आक्रमण भयो कि ममाथि त्यति धेरै आक्रमण गर्नुपर्ने कुनै कारण थियो जस्तो मलाई लाग्दैन । खासगरी मलाई भन्दा पनि बुवालाई एट्याक गर्न त्यसो गरिएको थियो । अति भएपछि खति हुन्छ भनेझैं त्यसको प्रतिक्रिया यति धेरै सकारात्मक रूपमा आयो । मतपत्र मैले च्यातेकी पनि होइन, मैले च्यात्न लगाएकी पनि होइन । त्यसमा मलाई जोडेर टिकाटिप्पणी गर्नु न्यायसंगत हुँदैन । 

तपाईंको बाल्यकालको सपना के थियो ? 

बाल्यकालको एउटा मुख्य सपना धेरै पढ्ने भन्ने नै थियो । पढेर सम्पन्न परिवारमा बिहे गर्ने, आरामको जीवन जिउने भन्ने थियो । यद्यपि त्यो केटाकेटी छँदाको कुरा हो । राजनीतिमा चासो भएपछि राजनैतिक ढंगले सोच्न थालेपछि जे उद्देश्यले अघि बढियो त्यसपछि म त्यही उद्देश्यमा अडिग छु । 

जनयुद्धताका कुनै लडाइँमा सहभागी हुनुभयो वा हतियार बोक्नुभएको थियो, कम्ब्याट ड्रेस लगाउनुभयो ?

त्यस्तो केही पनि गरिएन । मैले हतियार बोकिनँ, लडाइँमा सहभागी पनि भइनँ र कम्ब्याट ड्रेस पनि लगाइनँ । म संगठनकर्ता थिए । पार्टीमा संगठन, सेना, मोर्चा आदि भन्ने थियो । त्यसमध्ये म संगठनमा थिए । संगठनले मोर्चा बनाउने हो । आन्दोलनका लागि जनतालाई तयार गरेर ल्याउने हो । उनीहरूलाई संगठित गर्ने हो । त्यतिबेला म रोल्पाको सह 

इन्चार्ज थिए । 

फिल्म कत्तिको हेर्नुहुन्छ ? 

कहिलेकाहीँ हेर्छु । चुनाव सकिएपछि चुनावी ह्याङ थियो । सबैले चलचित्र हेर्न जाउँ फ्रेस भइन्छ भन्नुभयो । त्यही भएर सलमान खानको ट्युबलाइट हरेँ  ।

 

तपाईंलाई मन पर्ने कलाकारको हुन् ? 

 मलाई मनपर्ने कलाकारचाहिँ राजेश हमाल । मैले युगदेखि युगसम्मदेखि नै उहाँका चलचित्र हेर्न थालेकी हुँ । हमाल आफ्नो पेसामा अडिग हुनुहुन्छ । मैले हेरेको पछिल्लो नेपाली चलचित्रचाहिँ वडा नम्बर–६ हो ।  

 

प्रकाशित :भाद्र १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्