‘प्लेब्वाइ’ झाँक्री ?

- घनश्याम खड्का

श्रावण ३२, २०७४- 

सेतो गन्जी, सेतो धोती लगाएपछि घाँटीमा रुद्राक्षको माला लगाए । एक माना चामल, एउटा कुखुराको अन्डा, ५ फरक–फरक रंगका साना कपडाका झोली र एक रुपैयाँको सिक्का पैसा चरेसको थालीमा राखेपछि ‘ॐ नम शिवाय: ॐ विष्णु, ॐ ब्रह्मा... दुर्गाकाली, सरस्वती... आकाशका सूर्य देउता, पातलका जलदेवता, पृथ्वीका अग्नि देवता....’ मन्त्र उच्चारण गर्दै ५९ वर्षीय कर्णबहादुर सार्की परम्परागत तान्त्रिक विधिद्वारा उपचार गर्न भन्दै झाँक्री बसे । 

०७४ साउन ३ गते मंगलबार दिउँसो म्याग्दीको बेनी नगरपालिका–३ स्थित डाँडाखानी मण्डलीमा उनले कुखुराको भालेपोथी जोडीको पूजा गरे । साँझ सोही गाउँमा आफ्नै दाजुभाइको घर भए पनि कर्णबहादुर मितेरी नाताले भाउजूको घरमा बास बसे । ‘भाउजू पनि सोही दिन मण्डली थान पुज्न गएकी थिइन् । राति बास बसेको ठाउँमा उनले आफू चलेको ‘नामी’ धामीझाँक्री भएको र ‘अन्डा’बाट सबै रोगको उपचार गर्न सक्ने बयान गरे । साँझ एक जना महिलाको ‘झारफुक’ गरे र अन्डाबाट ‘अङ्गार’ निकालेर देखाए । 

भोलिपल्ट ४ गते गाउँमा राम्रो धामी आएको हल्ला फैलियो । अर्की एक अधबैंसे महिला पनि ढाड/कम्मर दुख्ने, पेट पोल्ने आदि समस्या निको हुने विश्वासमा झाँक्रीसँग झारफुक गराउन आइन् । झाँक्रीले आफ्नै विधिअनुसार मन्त्रोच्चारण गर्दै महिलाको झारफुक गर्न ‘जोखना’ हेरे र भने— ‘टुनामुना’ले पछ्याएको रहेछ । ‘जोखना’ हेर्दै झाँक्रीले भने, ‘यी महिलालाई भित्र अँध्यारो कोठामा लैजाऊ, कुखुराको अन्डा ल्याऊ । म मन्त्रबाट ‘टुनामुना’ झारेर अन्डामा राखी बाहिर ल्याउँछु ।’ त्यसपछि घरका सदस्य र हेर्न आएका छिमेकीहरूलाई समेत बाहिर राखी भित्र ‘झारफुक’ गर्न थाले । 

झाक्रीको ‘टुनामुना’ ले बिरामी निको हुनुपर्ने, तर खबर ठ्याक्कै त्यसको विपरीत आयो । हप्ता दिनपछि बाग्लुङ नगरपालिका–६ का ५९ वर्षीय झाँक्री कर्णबहादुर किसान ‘काजु’ले झारफुक गर्ने बाहनामा बलात्कार गरेको भन्दै बेनी नगरपालिका–३ का ४८–५० वर्ष समूहका दुई जना महिला प्रहरी गुहार्न पुगे । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उनीहरूले झाँक्री किसानविरुद्ध किटानी जाहेरी गरे । पीडितको उजुरीका आधारमा जिल्ला प्रहरीको अनुरोधमा अञ्चल प्रहरी कार्यालय बाग्लुङले किसानलाई उनकै घरबाट गिरफ्तार गर्‍यो । 

प्रहरी जाहेरीमा पीडितले भनेका छन्, ‘टुनामुनाले पछ्याएकाले कुखुराको अन्डामा टुनामुना झारिदिने भन्दै घरभित्र अँध्यारोमा लगी भित्रबाट ढोका थुनी धारिलो हतियार, तामातुलसी छुन लगाई धामीझाँक्रीको झारफुक र टुनामुना झिक्ने बेला प्रयोग भएको मन्त्र तथा उपचार विधि बाहिर कसैलाई भन्ने छैन, भने तेरो भष्म हुन्छ भन्दै सयौं पटक कसम खान बाध्य पारी बलात्कार गरेका हुन्,’ जाहेरीमा भनिएको छ, ‘ॐ नम शिवाय: आदि मन्त्र भन्दै कुखुराको अन्डालाई टाउकोबाट मन्साउँदै तल–तल गर्दै यौनांगछेउ पुर्‍याएपछि साडीमाथि सार्न लगाई योनि पूजा गरी बिस्तारै बलात्कार गरेका हुन् । लोकलाजले गर्दा तत्काल प्रतिकार गर्न नसेकेकी हुँ ।’ 

म्याग्दीकी प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काका अनुसार ‘यौनपिपासु’ झाँक्रीले महिलाको ढाड/कम्मर दुख्ने, तल्लो पेट दुख्ने रोगलाई ‘सूत्र’ का रूपमा प्रयोग गर्दै अन्य महिलाहरूको पनि यौनशोषण तथा यौनहिंसा गरेको पाइएको छ । प्रहरीका अनुसार छिमेकीमा आफ्नो जस्तै रोगको धामी बाले झारफुक गरेपछि अर्की महिला पनि बलात्कारीको पञ्जामा पुगेकी थिइन् । दोस्री महिलाले झाँक्रीले आफ्नो यौनशोषण गरेको भन्दै पहिलो महिलालाई के भएको थियो भनी सोध्दा दुवैले आफूहरू बलात्कृत भएको जानकारी पाएका थिए । धामीको उपचारका नाममा आफूहरू शोषणमा परेकाले प्रहरीमा पुगेको उनीहरूको भनाइ छ । 

‘पक्राउ परेका झाँक्रीले आफ्नो अपराध स्वीकार गरेका छन्, तथापि बलात्कारको प्रमाणका रूपमा आवश्यक केही इलिमेन्ट पुगेको छैन,’ प्रनाउ खड्काले भनिन्, ‘झाँक्रीको आवरणमा बलात्कार गर्दै आएका कर्णबहादुर पक्राउ परेपछि धेरै महिलाले फोन गरी हामीले उजुरी गर्न सक्ने अवस्था नभए पनि आफूहरू पनि पीडित भएको बताएका छन् ।’

महिलाहरूले बलात्कार गरेको बताए पनि आरोपित धामी कर्णबहादुरले भने त्यस्तो आरोप पूर्ण रूपमा नकारेका छन् । आरोपित कर्णबहादुरले प्रहरी बयान र अदालतको बयानमा समेत आफ्नो निजी कामविशेषले डाँडाखानी मण्डली देवताको पूजा–अर्चना गर्न गएका बेला स्थानीय बासिन्दाकै आग्रहमा आफूले जानेको झाँक्री विधिअनुसार झारफुक गरेको तर कसैलाई बलात्कार वा यौनहिंसा नगरेको दाबी गरेका छन् । 

प्रहरी अनुसन्धानपछि बलात्कारको आरोपमा मुद्दा दर्ता गर्न जिल्ला अदालत पुर्‍याइएका कर्णबहादुरले साप्ताहिकसँग भने, ‘ती महिला टुनामुनाले पछ्याएकाले रोगी भएकी थिइन् । त्यसैले अन्डा प्रयोग गरी टुनामुना झार्न धामीझाँकीको मन्त्रले फुक्दै शिरदेखि पाउसम्म मन्साउँदै उपचार गरेको हुँ ।’ उनले उपचारका क्रममा कतै यौनांग हातले छोइएको भए आफूलाई थाहा नभएको दाबी गरे । ‘धामीझाँक्री विधिद्वारा उपचार गर्दा हातले यौनांग छोइएको भए म जान्दिनँ, तर मैले कुनै गलत मनसायले यौनहिंसा वा बलात्कार गरेको छैन्,’ उनले थपे, ‘बाहिर बिरामीका परिवार तथा छिमेकीहरूका बीचमा, त्यो पनि मेरो यो ६० वर्षको उमेरमा, जसको यौनांग (लिङ्ग) समेत उत्तेजित हुँदैन, कसरी बलात्कार गर्नु ?’ कर्णबहादुरको प्रश्न छ ।

प्रतिवादी कर्णबहादुरविरुद्ध बलात्कारको अभियोगमा दायर मुद्दामा जिल्ला अदालत म्याग्दीका न्यायाधीश रामप्रसाद शर्माको इजलासले थुनामा राखी पुर्पक्ष गर्न आदेश भएअनुसार अहिले उनलाई कारागार पठाइएको छ । आजसम्म कति जना ‘यस्ता खालका बिरामी महिलाको झारफुक गरी उपचार गर्नुभयो ? भन्ने साप्ताहिकको प्रश्नमा कर्णबहादुरले भने, ‘अनगिन्ती । कतिको सामान्य खरानी मन्त्रेर फुके हुन्छ, कसैलाई अलि तातोपानीले ।

झाँक्री बसेपछि रोगअनुसार देउता (भाउँतो) चढ्छ अनि त्यसै गर्नुपर्छ । अहिले गरेको विधिबाट पनि धेरैको उपचार गरेको छु । मेरो उपचार विधिमा कहिल्यै पशु बलि दिन्नँ’ । वि.सं. ०५१ देखि ०५४ सालसम्म चार वर्ष घरभित्रै गुप्तबासझंै बसेर भगवान् शिवको कठोर तपस्या गरी यो मन्त्र प्राप्त गरेको उनको दाबी छ । ‘बाजे/बराजुको पालादेखि हामी झाँक्रीका सन्तान हौं । त्यसैले पनि सजिलो भयो,’ उनले थपे, ‘अब उप्रान्त कोही बिरामी फुक्लुक्क आँखाअगाडि मरे पनि उपचार गर्दिनँ ।’

जिल्लाको गाउँमा मात्र होइन सदरमुकाम बेनीमा समेत धामीझाँक्रीमा विश्वास गर्ने मानिस निकै छन् । सदरमुकाम बेनीमा पनि दैनिकजसो ढ्याङ्ग्रो ढोक्दै धामीझाँक्री बसेको भेटिन्छ । अशिक्षित र अनपढहरू मात्र होइन पढेलेखेका र शिक्षित भनिनेहरूले समेत सामान्य रोगमा पनि धामीझाँक्री लगाउने, झारफुक गराउने प्रचलन छ ।

एलोपेथिक औषधी खाँदै धामीको उपचार पनि सँगै गराउनेहरू पनि धेरै छन् । झाँक्रीले किन राति मात्र झारफुक गर्छन् र धामी बस्छन् ? दिउँसो किन धामीझाँक्री बस्दैनन् ? किन महिलाहरू मात्र बढी धामीझाँक्रीबाट उपचार गराउँछन् ? कसैलाई थाहा छैन । स्वयं झाँक्रीलाई पनि थाहा छैन, साप्ताहिकसँगको कुराकानीमा कर्णबहादुरले भने, ‘खै बाजे–बराजुहरू सबै राति नै झाँक्री बस्थे, हामीले पनि त्यही सिकेको हो । दिनमा सबैको काम हुने र समाजका अनेक थरी मान्छेले डिस्टर्ब नगरून् भनेर राति गरिएको होला ।’

फिल्मजस्तै घटना  

एउटा नेपाली चलचित्र छ– ‘कबड्डी कबड्डी’, जसमा गाउँमा झाँक्रीले महिलामाथि गर्ने यौनशोषणको एउटा कथा समेटिएको छ । चलचित्रमा झाँक्रीको भूमिकामा रहेका उपेन्द्र सुब्बा ‘झाँक्री बा’ गाउँमा निकै कहलिएका झाँक्री हुन्छन् । कतिसम्म भने उनी आफ्नो देउताको तागतमा कसैलाई सन्तान दिनेसम्मको हैसियत राख्छन् । ग्रामीण मानिसहरूले पनि ‘झाँक्री बा’लाई यस्तै तिलस्मी व्यक्तिका रूपमा विश्वास गरेका हुन्छन्, तर उनीहरूलाई उनको वास्तविकता थाहा हुँदैन । 

बुद्धि तामाङ ‘हैट’ र उनकी श्रीमती सन्तानविहीन हुन्छन् । गाउँका अरू महिलाझैँ  हैटकी श्रीमती पनि झाँक्री बाको झारफुकबाट सन्तान हुने आशा पालेर झाँक्री बा कहाँ पुग्छिन् । झाँक्री बाले सन्तानको लालसा लिएर आफूकहाँ आएकी हैटकी श्रीमतीको भूमिकामा रहेकी पशुपति राई (हैटीकी बूढी) लाई खीर लिएर आफूकहाँ आउन भन्छन् । उनी खीर पकाएर झाँक्रीकहाँ पुग्छिन् । 

झाँक्रीले मन्त्र भन्छन् र झारफूक गरेजस्तो गर्छन्, खीरमा निद्रा लाग्ने औषधीको धूलो मिसाउँछन् । त्यसपछि हैटकी श्रीमतीलाई खीर ख्वाउँछन् अनि आफ्नो हातका औंला देखाउँदै कति औंला छ भनेर सोध्छन् । निद्राको औषधीले लट्ठिएकी हैटकी श्रीमतीले ठम्याउन सक्दिनन् । त्यही मौका छोपेर ‘झाँक्री बा’ ले उनीसँग शारीरिक सम्बन्ध राख्छन् । त्यसबाट हैटकी श्रीमती गर्भवती हुन्छिन् । लामो समयपछि हैटलाई उनकी श्रीमतीले झाक्रीको बच्चा पेटमा बोकेको कुरा सुनाउँछिन् । त्यसपछि हैटले झाँक्रीलाई गाउँबाट लखेट्छन् । एक वर्षअघि प्रदर्शित ‘कबड्डी कबड्डी’सँग लगभग मिल्छ, म्याग्दीका झाँकीले महिलामाथि गरेको भनिएको शोषणको घटना पनि । 

 

प्रकाशित :श्रावण ३२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्