मान्छेको भीडमा

- सुविन भट्टराई

श्रावण ३२, २०७४-

 

पाँच वर्षयता म पूर्णकालीन लेखक भएको छु, ‘फुल टायम राइटर’ । दुई वर्षयताको एउटा अनुभव मसित यस्तो रहँदै आएको छ, जसलाई मैले त्यसअघि कहिल्यै केलाएको थिइनँ । आजकाल मैले आफ्नो अनुभव वा कार्यशैलीका सम्बन्धमा विवेचना गर्ने मौका पाएको छु । विश्लेषण गर्ने साहस गरेको छु । 

पूर्णकालीन लेखक भएपछि मैले आफैँलाई थुन्न थालेँ । मेरो घर नै मेरो अफिस भएको छ । दिउँसो घर करिब–करिब खाली–खाली अवस्थामा भएपछि मेरो लेखकत्व सल्बलाउँछ, जसरी राती बत्ती निभाएपछि साङ्लाहरू सल्बलाउँदै आफ्ना गतिविधि बढाउँछन् । 

दिउँसो भएपछि म लेख्न वा पढ्न वा सिनेमा हेर्न थाल्छु । म बाहिरफेर निस्कन त्यति रुचाउँदिनँ । समयको बर्बादी लाग्छ बाहिर यसै निस्कनु । निस्किएँ भने एकैपटक लामो यात्रा अथवा हाइकिङ गर्न मात्र निस्कन्छु । 

यसबीचमा मैले आफूलाई बाह्य सम्पर्कबाट चुँडालेर राख्न थालेँ । आफूलाई धेरैभन्दा धेरै समय मिलोस् भनेर आफ्नै धेरै ख्याल राख्न थालेँ । कुनै कार्यक्रममा कतैबाट आमन्त्रित भएँ वा कुनै अन्तर्वार्तामा बोलाइएँ भने मात्र निस्कन्छु, भरसक ती पनि टार्न खोज्छु, अन्यथा मेरो घरमा रहेको मेरो आफ्नै कोठामा बसेर संसारलाई पढ्ने, बुझ्ने गरेको छु । म आत्मकेन्द्रित हुन थालेँ ।

यसरी आफैँलाई थुनेर राखेको धेरै भयो, वर्षौं । कहिलेकाहीं लाग्छ म ब्रोइलर कुखुरा हुँ । लाग्छ, म चिडियाखानामा थुनिएको जनावर हुँ । कहिलेकाहीं होइन, यता धेरै दिन, महिना, सातादेखि नै यस्तो लाग्न थालेको छ । मेरो जीवनका धेरै आयामहरू मसँग छैनन् । मेरो जीवनको ठूलो भाग मैले अन्तै कतै छाडेको छु । मसँग मेरो आफ्नै एउटा अंश छैन जस्तो लाग्न थालेको छ ।

कुनै जमाना थियो, म दिनहुँ घर बाहिर निस्कन्थेँ । एक्लै लखरलखर भौंतारिन्थेँ । मानिसहरू भेट्थेँ । चिया गफमा साथीभाइहरूसित बसेर कैयौँका कुरा काटिन्थ्यो, हाँसिन्थ्यो । अरूका कुरा सुनिन्थ्यो । आफ्ना दुखेसो पोखिन्थ्यो । मलाई समय खेर गएजस्तो लाग्दैनथ्यो । 

यद्यपि आजभोलिका यी भावहरू विचित्रका छन् । पैसाभन्दा समय खर्च गर्न बढी लोभ लाग्न थालेको छ । संगतभन्दा एकान्त महँगो लाग्न थालेको छ । हिँड्नुभन्दा बस्नु प्रिय लाग्न थालेको छ ।

मलाई घर बसिरहे कमसेकम एउटा पुस्तक त पढुँला, एउटा सिनेमा त हेरुँला, एक पन्ना त लेखुँला भन्ने लोभलेसताउँछ, तर विषयवस्तुको लामो खडेरीमा मस्तिष्क तप्त भएका धेरै उदाहरण आफैँसित छन् । संगत भएन भने विचारहरूको ढुकढुकी निस्तेज हुँदो रहेछ । मस्तिष्कमा चिसा सन्नाटाहरूमा मात्र विचार उम्लिन नसक्दो रहेछ ।धेरैपटक एकान्तमा प्रश्नले आफैँलाई ठुङिरहेँ ।

जवाफ यस्तो आउन थालेको छ— मानिसलाई पढ्नका लागि मानिस नै चाहिन्छ । हरेक मानिस कम्तीमा एउटा किताब हो । हरेक मानिस एउटा उपन्यास हो, नभए एउटा कथा त पक्कै हो, जसलाई पढिन जरुरी छ । हरेक मानिस दर्शनको एउटा पोको हो, जसलाई खोतल्न जरुरी छ । मानिस रमाउने मानिससितै हो । मानिसलाई हाँस्न मानिस नै चाहिन्छ । मानिसलाई रुन पनि मानिस नै चाहिन्छ । मानिसलाई मिल्न पनि मानिस नै चाहिन्छ र झगडा गर्न पनि मानिस नै चाहिन्छ । 

मान्छे, मान्छेको समूहबाट भागेर अधुरो हुन्छ । मानिसका पैँताला जति चल्छन्, मानिस अरूसित जति बोल्छ, उति नै उसको मस्तिष्कमा कुरा खेल्छ । मानिस बुद्धिमान छ अरूसित संगत गर्न पाएकाले । 

मैले महसुस गरेँ, आखिर म कसका लागि लेखिरहेछु ? मानिसकै लागि होइन ? जसका लागि लेखिरहेको छु, उनीहरूका बारेमा लेख्न मैले उनीहरूकै नजिक जानुपर्छ । उनीहरू हिँड्ने बाटोमै हिँड्नुपर्छ । उनीहरूकै लयमा गाउनुपर्छ । धूलोलाई चिन्न धुलोमै हिँड्नुपर्छ । हिलो के हो बुझ्न हिलोमै टेक्नुपर्छ ।

म मानिसबाट भागेर मानिसका कथा लेख्न नसक्ने रहेछु ।

म माानिसको महत्व भुलेर मानिस नरहने रहेछु । म मानिसबाट भागेर खुसी नहुने रहेछु । म मानिसबाट भागेर दु:खी पनि नहुने रहेछु । खुसी नै हुन नसके, दु:खी नै हुन नसके मानिस हुनुको भाव नै कहाँ रह्यो र ? मानिसबाट भाग्नु भनेको विचारहरूबाट भाग्नु रै’छ । अनुभवहरूबाट भाग्नु रै’छ । समग्रमा मानिसहरूबाट भाग्नु भनेको आफैँबाट पनि भाग्नु रै’छ, जसले मानिसलाई कहीँ पुर्‍याउँदैन ।  र, जिन्दगीको अर्थ एकान्तमा मात्र होइन, मान्छेकै भीडमा पनि भेटिन्छ । 

 

प्रकाशित :श्रावण ३२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्