किन फुट्छन् पार्टीहरु ?

- मनोज गजुरेल

श्रावण ३१, २०७४-

 

यो प्रसंग राप्रपाको फुटसँग सम्बन्धित छैन । सन्दर्भ राप्रपाको फुट भए पनि प्रसंग फुटको परम्परासँग सम्बन्धित छ । किनभने टुट–फुट नेपाली राजनीतिको क्यान्सर हो । यो रोग हरेक पार्टीमा छ । आजको गजुरियल यही फुटमा केन्द्रित रहनेछ ।

कुरा त ताजा खबरबाटै सुरु गर्नुपर्‍यो नि † जस्तो कि महान् अनि शक्तिशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी फुट्यो । फुट्यो भन्दा पार्टीप्रति अन्याय हुन्छ, त्यसैले भन्नैपर्छ— राप्रपा फेरि फुट्यो । किनभने फुट्ने र जुट्ने टम एन्ड जेरीको खेलमा राप्रपाको ऐतिहासिक योगदान छ ।

हो, राप्रपा फुट्यो । किन भन्दाखेरि कुरो मिलेन रे । कुरो किन मिलेन भन्दाखेरि कहानी बिग्रियो । कहानी किन बिग्रियो भन्दाखेरि बानी नै त्यस्तो रे । जुट्नेलाई शुभकामना दिने चलन छ । त्यसैले पनि फुट्नेलाई समवेदना दिन परिगो । फुटंगत आत्माहरूप्रति हार्दिक श्रद्दाञ्जली ।

राप्रपा फुटको ताजा सिकार मात्र हो । पुराना थुप्रै पार्टी यसको सिकार भैसकेका छन् । एमाले फुटेर माले बनेको भर्खरै जस्तो लाग्छ । कांग्रेसबाट प्रजातान्त्रिक कांग्रेस भन्ने बच्चा जन्मिएको थियो । माओवादी त यति धेरै फुटेको छ कि फुटबलको एउटा टिम नै तयार हुन्छ अर्थात् माओवादी झन्डै एक दर्जन टुक्रामा फुटेको छ । पार्टीहरू किन फुट्छन् ? आउनुहोस्, गजुरियल विश्लेषण गरौं ।

फुट्नेहरूको आ–आफ्नै तर्क हुन्छ । कोही सैद्धान्तिक मतभेद भन्छन् । कोही वैचारिक भिन्नता भन्छन् । कोही राजनैतिक दृष्टिकोण नमिलेको कुरा गर्छन् । कोही व्यवहारिक एकता सम्भव नभएको बताउँछन् । गजुरियल विश्लेषणका आधारमा हेर्ने हो भने पार्टीहरू तीन किसिमले फुट्छन्, सत्तादान्तिक मतभेद, भत्तादान्तिक भिन्नता र सुरापान शैली ।

सैद्धान्तिक मतभेदका आधारमा फुटेको बताउने नेताहरू खासमा आर्थिक कारणले फुटेका हुन्छन् । पैसामा कुरा नमिलेकाले फुट्नुपरेको भन्न नमिलेर त्यसलाई सैद्धान्तिक मतभेदको जलप लगाइन्छ । गजुरियल बुझाइमा अहिले नेपालमा पैसालाई सिद्धान्त भनिन्छ । त्यही सिद्धान्त नमिलेर धेरै पार्टी फुट्ने गजुरियल ठम्याइ छ ।

त्यसैगरी कार्यशैली नमिलेर फुटेको बताउने पार्टीहरू भत्ताका कारणले फुटेका हुन्छन् । सरकारमा गयो भने कमिसन र भत्ता मिल्छ । भत्ता र कमिसन भयो भने पार्टीभित्र र बाहिर शक्तिशाली बन्न सकिन्छ । त्यसैले आफू वा आफ्नो गुट सरकारमा जान पाएन भने त्यसैलाई कार्यशैली नमिलेर फुट्नुपरेको भ्रम छरिन्छ ।

सुरापान पार्टी फुटको अर्को कारण हो । सुरा पिएपछि भुरा पनि नेता हुन्छन् । सुन्दरी लिएपछि कुरा पनि अलग हुन्छन् । सुराले मानिसलाई सुरो बनाइदिन्छ । आफूभन्दा ठूलो नेतालाई पनि भुरो बनाइदिन्छ । सुराको तालमा एउटाले उचाल्छ । अर्कोले पछार्छ । त्यही सनकमा गुट सिर्जना हुन्छ । त्यही गुटले अन्त्यमा फुटको अवस्था ल्याउने गजुरियल ठम्याइ छ ।

फुटमा बल देख्नेहरू फुटबल खेल्न मन पराउँछन् । यो पार्टीबाट त्यो पार्टी, त्यो गुटबाट यो गुटमा पस्छन्, निस्कन्छन् । अरूलाई पनि निकाल्छन्, पसाल्छन् । न तिनले राजनीतिमा कहिल्यै गोल गर्न सक्छन्, न त पोस्टमा बसेर विपक्षीको गोल रोक्न नै सक्छन् ।

त्यसैले अब उप्रान्त फुटवालाहरूको तर्कलाई यसरी बुझ्नुहोस्—‘सैद्धान्तिक मतभेद’ भन्नाले ‘पैसामा कुरो मिलेनछ ।’ ‘एजेन्डामा विवाद’ भन्नाले ‘ट्वाँट पिउने बेलामा झगडा गरेछन् ।’ ‘विदेशलाई हेर्ने दृष्टिकोण मिलेन’ भन्नाले ‘कोटामा आफ्नो मान्छे परेन ।’ ‘सांस्कृतिक विचलन’ भन्नाले ‘मेरो गोप्य कुरा थाहा पाउने भएकाले ।’ ‘राष्ट्रियताप्रतिको विचार फरक भयो’ भन्नाले ‘सरकारमा को जाने भन्ने विषयमा लफडा परेछ ।’ ‘विदेश नीतिमा कुरा मिलेन’ भन्नाले ‘ठूलो विदेशी नेतासँग साँठगाँठ भएछ ।’ 

 

प्रकाशित :श्रावण ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्