साउनको सोमबार

- किशोर नेपाल

श्रावण ३०, २०७४- 

 

आज सोमबार साउन महिनाको अन्तिम हो ।  सोमबारदेखि नेपालका भद्र महिलाहरूको हरियो र रातो पहिरनको सिजन सकिँदैछ । केही वर्षअघिसम्म साउनको सोमबारको यति ठूलो क्रेज थिएन । महादेवको बारका रूपमा सोमबारको पवित्रता स्थापित थियो । यद्यपि अहिलेको जस्तो मेलाका रूपमा यसको कल्पना गरिएको थिएन । आधा आकाश ढाकेका भद्र महिलाहरूले साउनको सोमबारको महिमा स्थापित गरेपछि त्यसको सम्मान नगर्ने कुरै भएन । देश धर्मनिरपेक्ष भएपछि हिन्दू नेपालीका धार्मिक आग्रह तिखारिन थालेका छन् । धर्मप्रतिको समर्पण बढेको छ । हरियो सारी र हरियो चुराका व्यापारीहरूको किस्मत खुलेको छ । पहिले पशुपतिनाथको मन्दिरमा लाग्ने भीड अहिले गाउँ, टोल, दोबाटो, चौबाटो जतासुकैका शिवालयहरूमा लाग्न थालेको छ । भीमेश्वर, डोलेश्वर, उकालेश्वर, ओरालेश्वर अनेकन नामधारी महादेवको लर्कन लागेको छ ।

धर्मशास्त्रले साउनको सोमबारका बारेमा के भनेको छ ? श्रुति, स्मृति र परम्पराहरूको के निर्देश छ ? यसको हेक्का यो स्तम्भकारले मात्र होइन, कसैले पनि राखेका छैनन् होला । यो श्रुति र स्मृतिले भन्दा पनि मान्यताले स्थापित गर्ने कुरा हो । नेपालका भद्र महिलाहरूले कहिले यो मान्यता स्थापित गर्नुभएको हो ? त्यसको तिथिमितिको ज्ञान भएन । काठमाडौंमा नव–धनाढ्य वर्गको विस्तारसँगै साउनको सोमबार पनि नव–मेलाका रूपमा स्थापित भयो । साउनको सोमबार भद्र महिलाहरूको साज–श्रृंगारलाई मात्र हेर्ने हो भने यो कुराको पुष्टि हुनेछ । प्रत्येक महिलाले आफनो शरीरमा पहिरिएको पोसाक र गहनाको तौल दस किलोभन्दा कम त के होला र ?

पोसाक होस् वा गरगहना, काठमाडौंमा फेसन यसरी नै फैलिने हो । सोमबारको व्रत पनि धार्मिक फेसन हो । धर्मका धेरैजसो विधि–विधानमा अध्यात्म हुँदैन, आडम्वर हुन्छ । यो आडम्वरसँग टक्कर लिनु सहज छैन । किनभने, शासन, सरकार, राज्य, व्यवस्था सबैले आडम्बरको अनुसरण गरेका हुन्छन् । विरोधीहरूले यसैलाई केन्द्र बनाएका हुन्छन् । त्यो केन्द्रको झ्यालमा ढुंगा हिर्काएपछि त्यसको आवाजले विरोधीहरू नै तर्सिन्छन् । देश धर्मनिरपेक्ष भएपछि धर्मनिरपेक्षतालगायतका संवैधानिक विशिष्टता एवं जनताको अधिकारको रक्षा गर्न एक जना राष्ट्रपति चुनिन्छन् । हामीकहाँ पनि त्यही चलनअनुसार राष्ट्रपति चुनिएका हुन्छन् । हाल चुनिएकी राष्ट्रपतिको रुचि धर्मकर्म र तीर्थाटनमा बढिरहेको देखिएको छ । यो अस्वभाविक होइन । अवसर पाएका बेला कुन हिन्दूू नेपालीलाई आरामसँग, दर्शनार्थीहरूको भीडबिनाको होलो मन्दिरमा बसेर पशुपतिनाथको दर्शन मन नलाग्दो हो ? कुन हिन्दू नेपालीलाई दक्षिण भारतका मन्दिर, मठ र पीठहरूमा आफ्नो माथा टेक्न मन नलाग्दो हो ? जे गर्नु छ अहिले अवसर पाएको बेला नै गर्ने हो । भोलिको त के ठेगान भयो र ?

साउनमा सामाजिक सन्जाल पनि हरिया, राता र पहेंला नै हुन्छन् । एकथरी भद्र महिलाहरू महादेवको स्तुतिमा लिप्त रहेका बेला यस्तो व्रतको विरोध गर्ने अर्काथरी भद्र महिलाहरू सोमबारको व्रतलाई नै खुइल्याइरहेका हुन्छन् । यसको कुनै अर्थ छैन । दुनियाँमा एकथरीको गतिविधिलाई अर्काथरीले खुइल्याउनु कुनै नयाँ कुरा होइन । यस्तो चली नै रहन्छ । किनभने यस्तो परम्परा सनातनदेखि चलिआएको छ । समस्या त्यतिबेला चर्कन्छ जतिवेला खुइलिने र खुइल्याउने दुवैमा विचारको दरिद्रता देख्न पाइन्छ ।

काठमाडौं उपत्यका अर्थात् नेपाल देशमा ऐतिहासिक कालदेखि नै कुनै प्रकारको ड्रेसकोड थिएन । गुन्यू–चोलो पहाडतिरको पहिरन थियो भने हाकुपटासी यो उपत्यकाको फेसन थियो । राणाशासन सुरु भएपछि साडी ब्लाउज र धोती चोलोको जमाना आयो । त्यतिबेला स–साना केटीले पन्जाबी सुरुवाल र घाँघर लाउँथे । वि.सं. २०४२ मा नेपाल टेलिभिजन खुलेपछि त्यसले पाकिस्तानी टेलि सिरियलहरू देखाउन थाल्यो । ती टेलिसिरियल राम्रा पनि हुन्थे । सिरियलका अभिनेताले पाकिस्तानी पोसाक लगाउँथे भने अभिनेतृहरूले सलवाल–कुर्ता र सल प्रयोग गर्थे । त्यही वेलादेखि काठमाडौंका गृहलक्ष्मी र रमणीहरूले सलवाल–कुर्ता प्रयोग गर्न थाले । लगाउन सजिलो, देख्दा राम्रो, कारचोपी भरेको–नभरेको । सलवाल–कुर्ता खुब चल्यो । हेर्दाहेर्दै यसले साडी ब्लाउज र धोती चोलोलाई विस्थापित गर्‍यो । अहिले त साडी ब्लाउज लगाएको हेर्नलाई कि त साउनको सोमबार कि विहे–व्रतबन्ध जस्ता ठूलै कार्यक्रममा सहभागी हुनुपर्ने भैसकेको छ । यत्ति हो कि सलवाल–कुर्तालाई सरकारले राष्ट्रिय पोसाकको दर्जा दिइसकेको छैन ।आज सोमबार साउनको अन्तिम सोमबार मात्र नभएर कृष्ण–जन्माष्टमी पनि हो । सोमबार सबैका लागि शुभ रहोस् ।

प्रकाशित :श्रावण ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्