स्प्लिट भिल्लामा पहिलो नेपाली युवती

- साप्ताहिक संवाददाता

श्रावण २९, २०७४-
एमटिभीको लोकप्रिय कार्यक्रम स्प्लिट भिल्लाको सिजन १० मा एउटी नेपाली मोडल पनि प्रतिस्पर्धी छिन् । मोडलका रूपमा स्थापित हुने क्रममा रहेकी भैंसेपाटी, ललितपुरकी इशा खड्का चौधरीले प्रेमी खोज्ने अवधारणामा आधारित उक्त रियालिटी शोमा प्रतिस्पर्धा गर्ने मौका पाएकी हुन् । २० वर्षीया इशा युवापुस्तामाझ सधैं चर्चामा रहने उक्त कार्यक्रममा सहभागिता जनाउने सम्भवत: पहिलो नेपाली हुन् ।

इशा सहभागि भएको उक्त कार्यक्रम साउन ८ गतेदेखि प्रारम्भ भएको हो । यो कार्यक्रम प्रत्येक आइतबार साँझ साढे सात बजे प्रसारण हुन्छ । पर्सि आइतबार उक्त कार्यक्रमको चौथो श्रृंखला प्रसारण हुँदैछ । 

‘यो माया–प्रेम खोज्ने प्रतियोगिता हो जसमा सेलिब्रेटी युवा–युवतीहरूले मात्र भाग लिन पाउँछन्, काठमाडौंबाटै अनलाइन अडिसन दिएर प्रतियोगिताका लागि छनौट भएपछि इशा मुम्बई पुगेकी थिइन् ।

आफू सहभागी कार्यक्रमको सम्पूर्ण श्रृंखलाको छायांकन पूरा गरेर काठमाडौं फर्किएकी इशाले प्रतियोगिता कति भागको हुनेछ, प्रतियोगितामा उनी कुन चरणसम्म पुग्न सफल भइन् आदि विषयमा कुनै जानकारी दिएकी छैनन् । ‘हामीलाई कार्यक्रमका बारेमा धेरै जानकारी नदिन भनिएको छ, एउटा जिज्ञासामा इशाले भनिन्– ‘हामीसँग गरिएको सम्झौता पत्रमा प्रसारण हुन बाँकी श्रृंखलाका बारेमा बोल्न नमिल्ने कुरा उल्लेख गरिएको छ । त्यसैले म कार्यक्रम बारेमा धेरै कुरा भन्न सक्दिनँ ।’ 

कक्षा १२ को परिक्षा दिएपछि उनी यो कार्यक्रमका लागि तयार भएकी हुन् । यो अवधिमा इशाले भारतको नयाँ दिल्लीमा केही समयका लागि आरजे/भिजेको कोर्ससमेत गरेकी थिइन् । सेन्टमेरिज कलेजबाट उच्च शिक्षा पुरा गरेकी इशा आफूलाई जनावरप्रेमी बताउँछिन् । ‘मलाई कुकुर तथा बिरालाहरू मन पर्छन्,’ इशाका अनुसार भविष्यमा उनी यी दुई जनावरका लागि फाउन्डेसन नै खोल्ने योजनामा छिन् ।

इशाले सन् २०११ मै काठमाडौंमा सम्पन्न परम्परा फेसन शोमा मिस पर्सनालिटीको उपाधि जितेकी थिइन् । ‘मलाई चलचित्रमा अभिनय गर्न मन छ, इशा भन्छिन्– ‘म चलचित्र उद्योगको सदस्य बन्न चाहन्छु, तर त्योभन्दा पनि महत्वपूर्ण कुरा म आममानिसको जीवनमा परिवर्तन ल्याउन चाहन्छु ।’ 

 

प्रकाशित :श्रावण २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्